Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कसरी गर्ने कार्यालयमा खाली समयको सही सदुपयोग?

Posted on September 23, 2019 by mysansar

-प्रतिभा थापा-

अहिलेको भागदौड र प्रतिस्पर्धी जिन्दगी, सास फेर्ने फूर्सद छैन। सबैका लागि समय बहुमूल्य छ। तर पनि यदाकदा काम वा व्यस्तताका बीच खाली समय आउन सक्छ। थकित अहिलेका युवा पुस्ता हामी, यस्तो समयमा के गर्ने सोच्दासोच्दै बित्छ। हामीसँग ठोस उपाय वा योजना पनि हुँदैन, कार्यालयमा खाली समयको सही सदुपयोग गर्ने। प्रायः त्यस्ता समय उसै बित्छ र पछि थकथकी लाग्छ उक्त समयको सदुपयोग गर्न नसक्दा। खाली दिमाग सैतानको घर भन्ने भनाई नै छ। प्रायजसो यस्तो समय कुरा काट्दैमा वा अनुत्पादक कार्य गर्दैमा बित्छ।

कसैसँग भेटको कार्यक्रम रद्द हुँदा, तोकिएका कार्यक्रम ढिला गरी सुरु हुँदा, तोकिएको काम समय अगावै सम्पन्न हुँदा, यस्तै यस्तै थुप्रै परिस्थिति हामीले कहीँ कतै पक्कै सामना गरेका छौं। अहिलेको युगमा यति बहुमूल्य समयको सदुपयोग यस्ता परिस्थितिमा कसरी गर्ने त?

व्यक्ति पिच्छे फरक धारणा र अभिरुचि हुन्छन् नै, तर समग्रमा कार्यालयमा खाली समयको सही सदुपयोग कसरी गर्न सकिन्छ त? केही उपयोगी तरिकाहरु यस्ता छन्-

१)अध्ययन

सबै क्षेत्रमा कमै व्यक्ति पोख्त हुन्छन्। अध्ययनले नै मानिसलाई अघि बढ्न मद्दत गर्दछ। व्यस्तता बीच खाली समय आए के गर्ने त? आफू संलग्न क्षेत्रमा के हुँदैछ, त्यसबारे अध्ययन गर्न सकिन्छ। आफू काम गर्ने क्षेत्र कता जाँदै छ? के नयाँ कुराहरु हुँदैछन् त? यस बारे सक्रिय, सजग भई जानकारी राख्दा धेरै फाइदा हुन्छ नै। साथै कसैले जिज्ञासा राख्दा निर्धक्क जवाफ दिन सकिन्छ। बौद्धिकता बढ्छ र आफै संलग्न क्षेत्र बारे सदैव जानकार र विज्ञ भइन्छ। यसका लागि सम्बन्धित पुस्तक, लेख रचना, वेबसाइटहरुबाट सजिलै जानकारी लिन सकिन्छ। यो समयको सदुपयोग गर्ने सजिलो अनि कम खर्चिलो उपाय पनि हो। अहिले ज्ञान प्रप्त गर्न वा अध्ययन गर्न खासै गाह्रो छैन, आफ्नो कम्प्युटर, मोबाइलमा इन्टरनेटमार्फत् जे बारे पनि अध्ययन गर्न सकिन्छ।

अंग्रेजी पत्रकार विलियम गडविनले भनेका छन् “हि ड्याट लभ्स् रिडिङ ह्याज एभ्रिथिङ विथइन हिज रिच” अर्थात् जो व्यक्ति अध्ययन गर्न मन पराउँछ, उसको पहुँचमा सबैथोक हुन्छ।

२) लेखन

खाली समयको सदुपयोग लेखेर पनि गर्न सकिन्छ। सबैलाई लेखनमा रुचि नहुन पनि सक्छ। तर लेखन अहिलेको युगमा अपरिहार्य भइसकेको छ। आफ्नो भावना व्यक्त गर्नदेखि कार्यालयको संचारको माध्यम पनि लेखन नै हो। लेखन सीप नभए भन्न खोजेको कूरा अरुलाई बुझाउन पनि गाह्रो हुन्छ। निखारिएको लेखनले नै आफ्नो सन्देश सबैले बुझ्ने गरी सम्प्रेषण गर्न सकिन्छ। साथै, निरन्तर लेख्ने बानीलाई रुचि बनाउन सके विभिन्न पत्रपत्रिका लगाएत विभिन्न माध्यमबाट आफ्नो भावनालाई कथा, कविता, निबन्ध, लेख, रचना आदि मार्फत सबै सामू राख्न सकिन्छ।

लेखक तथा पत्रकार बेन्जामिन फ्रन्कलिनले भनेका छन्, “आइडर राइट समथिङ वर्थ रिडिङ अर डू समथिङ वर्थ राइटिङ।” अर्थात् कि तिमी पढ्न लायक केही लेख अथवा लेख्न लाएक केही गर। यी भनाईहरुबाट हामी लेखनको महत्त्व बुझ्न सक्छौं र खाली समयको सदुपयोग गरी लेखन सीपको विकास गर्न सक्छौं।

३. इमेल

व्यस्तता कारण हामी आफ्नो इनबक्समा आएका इमेल पढ्न पनि फूर्सद नपाइराखेको अवस्था हुनसक्छ। त्यसैले खाली समयमा आफ्नो इमेल पढ्ने र चाहिएको खन्डमा उक्त इमेलहरुको प्रत्युतर लेख्ने गरेर पनि समयको सही सदुपयोग गर्न सकिन्छ। आफ्नो इमेल इनबक्स खाली हुँदा पनि निकै बोझ कम भएको महसूस हुने गर्दछ र निकै नै खुशी प्रदान गर्दछ। एक पटक अवश्य प्रयास गर्नुहोला। अफिसियल इमेल बाहेक व्यक्तिगत इमेलमा पनि थुप्रै मेल थन्किएका हुनसक्छन्, जुन खाली गर्दा पनि समयको सदुपयोग त हुन्छ नै साथै निकै आनन्दित पनि तुल्याउँछ।

४. फाइलिङ

व्यस्त समयमा कामलाई प्रथमिकतामा गर्ने गरिन्छ। फाइलिङ अर्थात् कामसँग सम्बन्धित कागजातहरु मिलाउने काम प्रायः कम प्राथमिकतामा पर्छ वा यसका लागि हामी अरुको सहायता खोज्छौँ। तर खाली समयमा फाइलिङ गर्दा पछि आउनसक्ने झन्झटबाट मुक्ति मिल्नुका साथै हलुका भएको अनुभव हुन्छ र यो एक प्रकारले हाम्रो बानी बन्छ। अवश्य नै यसबाट समयको सही सदुपयोग पनि हुन्छ।

५. दोहोरी रहने काम

प्राय: कामको प्रकृति अनुसार कुनै काम दोहरी रहने खालका हुन्छन्। खाली समय त्यस्ता काम गरेर पछिको समयको बचत पनि गर्न सकिन्छ। यसो गर्दा बोझ कम भएको भान हुन्छ।

६. जनसम्पर्क

खाली समय जनसम्पर्क बढाउन लगाउँदा पनि समयको सही सदुपयोग हुन्छ। अहिलेको समयमा जनसम्पर्कको धेरै महत्व छ। जनसम्पर्कले मान्छेहरुको हाम्रो बारे सोचाईमा परिवर्तन हुन्छ। जनसम्पर्क बढ्दा हामीलाई काममा पनि फाइदा हुन्छ।

७. सफाई

आफू काम गर्ने थलोलाई मन्दिर समान मान्नुपर्छ। त्यस्तै, काम गर्ने टेबललाई सधैँ सफा र चिटिक्क राख्नुपर्छ। यसो गर्दा काममा ध्यान जानुको साथै जोसजाँगर बढ्छ र काम गर्ने प्रेरणा पनि मिल्छ। तर व्यस्तताको बीच आफ्नो टेबल सधैँ चिटिक्क कसरी पार्ने त? खाली समयको सदुपयोग गरेमा सो सम्भव छ। समयको सदुपयोको साथै सफा टेबलमा बसेर काम गर्नुको मजा नै बेग्लै हुन्छ।

खुशी खोज्न टाढा जानु पर्दैन भनेझैँ खाली समयको उपयोग गर्न पनि धेरै सोच्न पर्दैन र आफ्नै टेबल वरपर नजर डुलाउने र समयको सही उपयोग गर्ने परिपाटी विकास गरे पुग्छ। सफल व्यक्तिहरु सधैँ समयको सदुपयोग गरेर नै अरु भन्दा भिन्न र अगाडि रहन्छन्। सफलता भनेकै समयको सम्मान र सही सदुपयोग हो। यो कुरा जति चाँडो बुझ्यो त्यति छिटो सफलता नजिक पुग्न सकिन्छ। अब हामी पनि समयको सदुपयोग गरी सफलता पथमा लम्किन किन ढिला गर्ने त?

1 thought on “कसरी गर्ने कार्यालयमा खाली समयको सही सदुपयोग?”

  1. shailendra dhakal says:
    September 24, 2019 at 3:00 pm

    यो लेख पढेर आजको खाली समयको सदुपयोग गरियो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme