Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एउटा नाथे ज्ञानबहादुर शाहीदेखि डराएको गणतन्त्र

Posted on September 16, 2019September 16, 2019 by Salokya


१२ वर्षमा खोलो फर्कन्छ भन्ने उखान लागू होस्-नहोस्, १४ वर्षमा परिस्थिति उल्टिएको देख्न पाइएको छ। १४ वर्षअघि ०६२/६३ को आन्दोलनताका ठ्याक्कै अहिलेको जस्तो माहौल थियो- राजा र राजतन्त्रविरुद्ध चर्को आक्रोश। उनीहरुको विरोध गर्नेहरुलाई राजतन्त्र समर्थक मण्डलेहरुले पाए जति सबै विकल्प प्रयोग गर्ने।

अहिले ठीक उल्टो भएको छ। नेताहरुले जनअपेक्षा अनुसार काम नगरेको भएर उनीहरुविरुद्ध आक्रोश छ। त्यसलाई भड्काउन लागिपरेका छन् राजावादीहरु। अनि अनेक अरुवादीहरु। अनि उनीहरुलाई ठीक पार्न भने उतिबेलाका राजतन्त्र समर्थक मण्डलेहरु जस्तै यतिबेलाका गणतन्त्र समर्थक मण्डलेहरु उत्रिएका छन्। आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता भन्ने तर भ्रष्टाचारको विरोधमा भाषण बाहेक अरु केही नगरेरै भाइरल बन्न सफल एउटा नाथे ज्ञानबहादुर उर्फ ज्ञानेन्द्र शाहीदेखि गणतन्त्र डराएको देख्दा अचम्म लाग्नुपर्ने स्थिति छ।

सामन्ती राजतन्त्र उखेलेर फ्याँकेर हाम्रो सरकार बन्यो भने देश बन्छ भन्थे। जनताले उनीहरुलाई भोट दिएर चुने।

आफैले संविधान बनाउनु पर्छ। संविधान बनेपछि देश विकास हुन्छ भन्थे। दुई दुई पटक संविधान सभाको निर्वाचनमा भोट हाले जनताले।

अस्थिर सरकार भएर देश विकास भएन भन्थे, यसपालि दुई तिहाई मत दिए।

तर अहँ, जनअपेक्षा अनुरुप काम हुन सकेन। जनताको अपेक्षालाई गफले मात्र सधैँ पूरा गर्दैन। काम पनि गर्नुपर्छ। काम गरिरहेको भए अथवा काम हुनेछ भन्ने आशा मात्र देखाएको भए जनताले चुनेका नेता र जनताले लडेर ल्याएको गणतन्त्र एउटा नाथे ज्ञानबहादुरदेखि डराउनु पर्ने स्थिति थिएन। स्वयं श्री ५ ज्ञानेन्द्रलाई गद्दीच्युत गर्न सफल भइसकेका नेताहरु किन डराउँदैछन् ज्ञानबहादुरदेखि?

यसपालि इन्द्रजात्रामा केही दर्जन मानिसलाई पक्राउ गरियो राष्ट्रपति आउनुभन्दा अघि। राष्ट्रपतिको विरोध गर्न लागेको भएर पक्रेको भनियो। उनीहरुबाट कालो झण्डा बरामद भयो रे। हामीले ल्याएको गणतन्त्रमा शान्तिपूर्ण रुपमा विरोध प्रदर्शनको अधिकार त छ नि हैन? के भो त राष्ट्रपतिको अगाडि कालो झण्डा देखाएर केही नाराबाजी गरे त। गर्न दिउँ। कालो झण्डा हल्लाउँदा हात दुख्ला, नाराबाजी गरेर घाँटी सुक्ला। राजतन्त्र हुँदाका बखत् ज्ञाने चोर देश छोड भनेर नारा लगाएकै हौँ क्यारे। अहिले राष्ट्रपतिविरुद्ध केही पनि चुइँक्क बोल्न हुन्न र? हो, कानुन तोड्नु हुँदैन। तर कानुनको सीमाभित्र बसी नारा लगाउन र कालो झण्डा देखाउँदा त के बिग्रियो र।

बरु पूर्व भइसकेका राजालाई पनि इन्द्रजात्रामा बोलाएर सँगै इन्द्रजात्रा हेर्ने नयाँ परम्परा सुरु गरिदिए ती विरोध गर्न तम्सिएका राजावादीहरु पनि चुप लाग्थे होला। आखिर राष्ट्रपतिकी छोरीको बिहेमा पूर्व राजा र पूर्व राजाले नातिको व्रतबन्धको भोजमा राष्ट्रपतिलाई बोलाएकै हो क्यारे। राष्ट्रपति र राजाले सँगै बसेर इन्द्रजात्रा हेरिदिएको भए कसको के बिग्रन्थ्यो र। राजा भएर पनि ज्ञानेन्द्रले शान्तिपूर्ण रुपमा सत्ता र गद्दी छाडिदिएकै हुन्। यस्तो त इतिहासमा कतै भएकै थिएन।

राजतन्त्रवादी र गणतन्त्रवादी बेकारमा के लफडा गरिरहेको। देश बनाए भइगो मिलेर।

ज्ञानबहादुर उर्फ ज्ञानेन्द्र शाहीले नेपालगंजमा केही तमाशा गरे। त्यसमा दुवैतर्फको दोष थियो। मन्त्री योगेश भट्टराई ढिला आएकै हुन्। उनले त्यही विमानस्थलमा वा विमानभित्रै स्थिति सामान्य बनाउन सक्थे। यसो यसो कारणले म ढिला हुन पुगेँ, भोलि राजधानीमा जरुरी काम भएकोले फर्कनै पर्ने थियो भनेर माफी मागिदिएको भए कुरै सकिन्थ्यो। यात्रुहरु पनि नबुझ्ने हुन्थेन होला। सबै ज्ञानबहादुरले उचालेका मात्र त थिएनन् होला।

ज्ञानेन्द्र शाहीले पनि एक घण्टा ढिला भएको, मन्त्रीलाई रामधुलाई गरेको भन्दै अभद्र भाषामा फेसबुकमा लेखेर स्थिति उत्तेजक बनाए। बिस्तारै बुझ्दै जाँदा थाहा भयो, मन्त्रीका कारण बुद्ध एयरको विमान १५ मिनेट चाहिँ ढिला भएको रहेछ। बढी ढिला चाहिँ त्यही होहल्लाका कारण भएको रहेछ। एक पटक सञ्चार मन्त्रीलाई नपर्खी उडेको बुद्धले यस पटक पनि त्यस्तै गर्न सक्थ्यो, गरेन। विमानभित्र होहल्ला सुरक्षाको दृष्टिले पनि संवेदनशील विषय थियो। तर त्यो सिभिल एभिएसन एक्ट नै लगाउनु पर्ने भनी अहिले चर्चामा आए जस्तो व्यवहार पनि थिएन। आक्रोशित भएर सिटबाट उठेर मन्त्रीको सिट नजिक गई प्रश्न सोधेको देखिन्थ्यो।

काठमाडौँ फर्किएर मन्त्री योगेश भट्टराईले मन्त्रीका कारण भएको ढिलाइप्रति उब्जिएको आक्रोशलाई राजावादीको भड्काउ व्यवहारको रुप दिए- पारसविरुद्ध हस्ताक्षर बुझाएको भनेर भिडले भनेको भन्दै। जबकि सार्वजनिक भएका कुनै पनि भिडियोमा त्यस्तो भनेको सुनिएको थिएन। भिडियोमा नभएको तर उनको कानले सुनेको भए अर्कै कुरा।

फेसबुक स्टायटसले नपुगेर स्वकीय सचिवालयबाटै विज्ञप्ति नै जारी भयो दुई पाने

फेरि ट्विस्ट एन्ड टर्न आयो ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलनमा। पत्रकार सम्मेलनमा गणतन्त्रका मण्डलेहरुले हुलहुज्जत गरे। तर पक्राउ परे ज्ञानेन्द्र शाही। सुरुमा सुरक्षाका लागि नियन्त्रणमा लिएको भन्ने प्रहरीले पछि प्रहरीमाथि अभद्र व्यवहार गरेको भन्दै जरुरी पक्राउ पूर्जी दिएर थुन्यो।

यो विवादलाई जति लम्ब्यायो, घाटा सत्ता पक्षलाई नै हुने निश्चित छ। सरकारको काम जनअपेक्षा अनुरुप हुन थाले वा कम्तिमा हुने आशा देखाए यस्ता नाथे ज्ञानबहादुर शाहीदेखि डराउनु पर्दैन। दुई तिहाई जनसमर्थन पाएको सरकार पो हो त। अब मन्त्रीलाई प्रश्न गरे भन्दै थुन्ने र देखाइदिन्छौँ भन्ने पाराले प्रस्तुत हुने हो भने त झन् भड्काउने काम मात्रै हुन जान्छ।

12 thoughts on “एउटा नाथे ज्ञानबहादुर शाहीदेखि डराएको गणतन्त्र”

  1. Pingback: सत्ता समर्थकको प्र ति ग म न का री बाटो, विचारले नसकेपछि हा न्ने? « Mysansar
  2. Nil says:
    September 18, 2019 at 9:54 pm

    corruption is a form of dishonesty or criminal activity undertaken by a person or organization entrusted with a position of authority, often to acquire illicit benefit, or, abuse of entrusted power for one’s private gain

    मन्त्रि ले आफ्नो पद को दुरुपयाग गरके हो . उनि यो कुरा मा दोषी छन्.
    भ्रस्टाचार भाको पैसा खाने खेल मात्र होइन सिस्टम लै आफ्नो फाइदामा लगाउनु पनि भर्स्ताचार हो

    Reply
  3. madan bajracharya says:
    September 16, 2019 at 10:18 pm

    अभद्र घटना, बिचार आदि सबै हुनुको अन्य कारण बाहेक अचेल धेरैलाई युतेवे भाईरस लागेकोले पनि हो/ यस्तो रोग लागे भाईरले हिरो हिरोईन हुन् पागल जस्तै बन्ने हुन्छ/ अचेल यो रोगको प्रकोप सट्टा समर्थक र सट्टा बिरोधिहरुमा अलि ज्यादै ब्यापक बनेको देखियो/

    Reply
  4. Sundar says:
    September 16, 2019 at 10:15 pm

    यहाँ सवाल गणतन्त्रको होइन, तर गणतन्त्रको मतियार भई टोपलेका गलत व्यक्ति र उनीहरुको चरित्रको हो। अर्थात, छेपारो झैँ रंग फेर्ने नेताहरु को हो। गोही झैँ आफु डम्म अघाएर आँसु देखाउने, अनि जनताको सहानुभूति बटुल्न खोज्ने धुर्त पात्रहरुको हो। बगलीमा छुरा बोकेर, सम्मुख परेको व्यक्तिलाई ‘राम राम’ भन्ने प्रवृतिको हो। आफुले चाहिँ एकपछि अर्को गल्ति गर्दै जाने,अनि आम नागरिकले त्यस्ता गलत हर्कतको बिपक्षमा औंला ठड्याए, गणतन्त्र धरापमा पर्दैछ भनेर आफ्नो गल्तिलाई ढाकछोप गरेर आफु स्वयमलाई नै गणतन्त्रको पर्यायवाची ठान्ने छद्मभेषी छट्टु स्यालहरुको हो।गल्ति वा पाप गर्ने मान्छे आफ्नै छायाँसंग पनि डराउँछ। त्यसैले आजको दिनमा, सचेत नागरिकहरुको खबरदारीमा, गलत चरित्र बोकेका केहि पात्रहरु डराएका हुन् सक्छन। यसलाई गणतन्त्र नै डराएको भनेर बुझ्नु चाहिँ सहि होइन कि?

    Reply
  5. nimesh says:
    September 16, 2019 at 7:48 pm

    यो त्यति साह्रो ठूलो इस्यु जस्तो लागेन, नानि मैया दाहाल कै यति हैसियत थिएन होला यो ज्ञानेले लिनु साटो लिइयो भट्टराई एमाले दप्फ्हको

    Reply
  6. SanjayM says:
    September 16, 2019 at 1:12 pm

    बिद्यार्थी भन्नेहरु सारै अराजक रहेछ

    Reply
  7. श्रीकृष्ण अधिकारी says:
    September 16, 2019 at 12:19 pm

    मन्त्रीको कारणले होस या अन्य कारणले होस विमान उड्न १ घण्टा ढिला भएकै हो । तैपनि मन्त्रीकै भनाईलाई आधार मान्ने हो भने उनको कारणले विमान उड्न १५ मिनेट ढिला भयो । सुन्नमा आए अनुसार विमानमा करिब १०० जना यात्रु थिए । १ जनाको १५ मिनेटको दरले जम्मा समय २५ घण्टा खेर गयो । देश विकास गर्नको लागि २५ घण्टाको समय पनि कहिलेकाँही प्रशस्त हुन्छ । अझ १ घण्टा नै ढिलो भएको हो भने त करिब सवा चार दिन खेर गएको देखिन्छ । मन्त्री भए भन्दैमा कुनै एक व्यक्तिले सर्वसाधारण जनताको सवा चार दिन खाईदिन मिल्छ त ? यस्ता चेतना कहिले आउने नेपाली नेताहरुमा ?

    Reply
  8. Shankar says:
    September 16, 2019 at 9:21 am

    मलाई त् के लाग्छ भने अनर्गल हल्ला गरेर , गरिब मारेर , सोसक पोसेर , सामती को पिछलग्गु भएर क्रान्ति हुदैन ,र अल्लि कडाइ न गरि , मुट्ठी न कसी सासन पनि हुदैन |
    हाम्रो देश मा त् गाउको जमिन्दार ब्यग्ग्राउन्द भएका , पण्डित पुरातन बादीका सन्तान लाल कम्निस्ट , अझ भनौ उग्र कम्निस्ट , खोक्रो पेट चिच्याउने कति स्कुले सिक्श्यक हरु चै बुजुर्बा भनेर मारिए , कांग्रेसी भएकै आधार मा | पछि तेही कांग्रेसी को टाउके गिरिजाको पुछार समातेर आफुलाई महान क्रान्तिकारी भन्ने प्रचण्ड , बाबुराम सहर पसे पस्ने मात्र न भै गिरिजा लाइ युग कै महान नेता भनेर प्रसंसा समेत गरे |
    आर्को कुरा जुन राजतन्त्र लाई सामन्ती भनेर जसको बिरुद्द हामीले रक्त क्रान्ति गरेम भन्थे , त्यो राजा नाटकीय रुप मा लुरुक्क दर्बार छोडेर निस्के | आर्को नाटक फेरी तिसामन्ती बिरोधि भनिएका नेताहरुले नै नागार्जुन दर्बार लगेर राखे |
    हिजो मेरो लोग्नेलाई हत्या गरियो भन्ने , आज आफै देश को मुख्य मान्छे हुदा हत्यारा न खोज्ने , एस्तो क्रियाकलाप विश्व को कहिँ इतिहास मा हुन्छ ?
    पाखे हरुले उनीहरुको पाखे राजनीतिक घेरा भित्र न पर्नेलाई मण्डले भन्छ , अनुहार र चालचलन हेर्यो भने आफै बादर जस्तो हुन्छ | प्रबृत्ति डाका को हुन्छ |
    यो सब नाटक , चटक जुन भैरहेछ , येसरी विधिको सासन बसला , भ्रास्ताचार मुक्त होला भनेर आर्को ५० बर्स सम्म पनि न चिताए हुन्छ | १९४७ देखि इन्डिया मा यहि ब्यबस्था त् छ , भ्रास्ताचार नेपाल मा भन्दा झन् बढी छ त् |
    देश मा राजा ले सासन गरोस , बा पाखेको झुण्ड ले सासन गर्ने भनेपछि अलि कति कडाइ त् गर्ने पर्छ , फेरी पनि नेपालि ले नै सासन गर्ने हो , कुनै चेन्ज देखिन्न | जुन दिन भारतीय लाइ नागरिकता बाडेर बनाइएका नेपालि को हात मा सासन जान्छ , तेस्पछि चै दह्रो परिबर्तन देखिन्छ | ढिलो चाडो त्यो त् हुनेवाला नै छ |
    तेस्कैलागी भारत , केहि खुफिया नेपालि नेता हरु लागिपरेका छन् |

    Reply
  9. Bikash says:
    September 16, 2019 at 8:10 am

    Neta haru kina esta chor bhaye bhaneko esta bhakta puchhar harule garda na ho.
    Question pani SLC fail ho re? Ani Gyan Bahadur lai kina Gyanendra banako re?
    Jhagada suru garna nai pathako ho.. looks all planned..
    Hindi film bhanda kam chaina hamro desh ko ghatana haru

    Reply
  10. daanbahadur says:
    September 16, 2019 at 5:29 am

    अचम्म लागो जवाफ रहेछ स्वकीय सचिब को / येसैबाट थाहा भयो यो सरकार जनताको हो कि नेकपा को भनेर. / मदनभण्डारी को कथन उद्घोष गरेर नेपाल सरकार उद्दृत गरेको लेटर प्याद मा बिज्ञप्ति ? १ २ ३ यो नेपाली जनताको सरकार हुदै होइन / धिक्कार छ एस्तो पार्टी ले त ५ प्रतिशत पनि भोट नल्याओस अर्को चुनाब मा /

    Reply
  11. Pratik says:
    September 16, 2019 at 2:54 am

    Thank you Salokya

    This is perhaps beginning of downward spiral of Yogesh Bhattarai

    During my student life, I spent many years supporting and being cadre of communist politics in Nepal

    However, the direction our country is heading in recent years, I sometimes strongly think we need Kingship in our country.

    The blatant and open corruption, the weakness in national sovereignty, irresponsible and selfish politicians, lack of democratic rights such as freedom of press, peaceful protest.

    This is not democracy. This is monopoly of small group of people.

    Reply
  12. Yogendra Karmacharya says:
    September 16, 2019 at 1:47 am

    नाथे १ घन्टा होस वा १५ मिनेट हो सहि नेताले बिनम्र पुर्बक माफि मागे नेपालि जनताले शिरमा राख्थे / त्येत्रो ३० वर्ष देखि देश बिकास गर्छन कि भनेर यी नेताहरुको मुख हेरर बसेका नेपालि जनताले बसेका छैनन् र ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme