Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीजको त्यो चर्चित गीत जसको शब्दमा सबै झुक्किन्छन् : ‘तीजको रहर आयो बरी लै’

Posted on September 3, 2019 by Salokya


यस पटकको तीज पनि सकियो। यो पालि ‘हामी पनि नाच्नु पर्छ बीच्च बीच्चमा’ले बजार पिट्यो। तर सदाबहार गीत त उही ‘तीजको रहर आयो बरी लै’ नै हो। यति धेरैले मन पराएको र हरेक वर्ष बज्ने गीत भए पनि अचम्मको कुरा के भने यो गीत धेरैले गलत गाउने गर्छन्। यो गीतका वास्तविक शब्दहरु धेरैलाई थाहै छैन।

गीतको सुरुको बोलदेखि नै गलत बुझाई छ। खासमा ‘तीजको रहर आयो बरी लै’ हो। तर कतिपयले गाउँदा ‘तीजको लहर आयो बरी लै’ पनि भन्ने गर्छन्। तीजको ‘लहर’ त कसरी आउँछ र, ‘रहर’ चाहिँ आउने हो।

तँ बढी जान्ने भएको? तँलाई चाहिँ कसरी थाहा भो के हो भनेर सोध्नुहोला। यो गीत लेख्ने चेतन कार्की हुन्। उनैले भनेको कुरा त पत्याउनु हुन्छ होला नि। कार्कीका अनुसार ‘तीजको रहर’को अर्थ माइती जाने, आमा भेट्ने, घरको गुनासो गर्ने, दर खाने आदि हो।

गीत सुरु हुन्छ ‘गा‍‍औँ स्वर खोलेर दिदी र बहिनी’बाट।

तर यसलाई केहीले ‘गाउँ सहर खोलेर’ देखि ‘गाउँ सहर छोडेर’समेत गाउने गरेका छन्।

‘गाऔँ स्वर खोलेर दिदी र बहिनी’ पछिका शब्दमा पनि कन्फ्युजन धेरै छ। धेरैले ‘नाचौँ न मिलेर नाम लिई सैनी’ भन्ने गर्छन्। त्यसो हैन गीत लेख्ने चेतन कार्कीका अनुसार ‘नाचौँला मिलेर दामली सैनी’ हो।

के हो त दामली भनेको? नाम लिई भनेको भए अर्थ पनि छ। दामलीको अर्थ के ?

गीतकार कार्कीका अनुसार ‘दामली’को अर्थ ‘उमेर मिल्ने कोही’ हुन्छ। अनि सैनी भनेको नि?

सैनीको अर्थ भने गण्डक क्षेत्रमा ‘मितिनी’ हो।

अर्थात् गीत यस्तो हैन-

गाउँ सहर छोडेर दिदी र बहिनी

नाचौँ न मिलेर नाम लिई सैनी

तीजको लहर आयो बरी लै

तीजको लहर आयो बरी लै

गीत यस्तो चाहिँ हो

गाऔँ स्वर खोलेर दिदी र बहिनी

नाचौँला मिलेर दामली सैनी

तीजको रहर आयो बरी लै

तीजको रहर आयो बरी लै

8 thoughts on “तीजको त्यो चर्चित गीत जसको शब्दमा सबै झुक्किन्छन् : ‘तीजको रहर आयो बरी लै’”

  1. Kamal Bishwokarma says:
    September 5, 2019 at 11:09 pm

    चेतन कार्की ज्यूलाई नै मेरो सुझाव
    तीजको लहर आयो बरी लै भने राम्रो हुन्छ अरु त थाहा थ्यो। मैले त लहर नै सुन्थें । रहर भन्दा लहर धेरै सुहाउँछ।

    Reply
  2. Sandesh Sharma says:
    September 4, 2019 at 8:32 pm

    चरी भरर भन्ने गीत पनि तेस्तै छ। “यो मायाले हेरेन फर्की, अन्तै माया लाउने पो मन छ कि” हुनुपर्ने मा सबैले गलत गौछन: “यो मायाले हेरेर फर्की, अन्तै माया लाउने पो मन छ कि”. हेरेर होइन, हेरेन फर्की हो ग्वाचेहरु. अलि राम्रोसंग हेडफोन लाएर सुन्नुहोस, हेरेन फर्की हो.
    हेर्नुस ओरिजिनल: https://www.youtube.com/watch?v=Rts05EBbLiw
    अनि एसको कभर मा अनुप्रस्था ले गरेको गल्ति हेर्नुस: https://www.youtube.com/watch?v=kEZIu4q0Xs0

    Reply
  3. bibek kunwar says:
    September 4, 2019 at 7:41 pm

    https://www.youtube.com/watch?v=ooMeMvww2oA

    खै के खै के मेरो कान जचाउनु पर्ने बेला भयो जस्तो छ तपाई “नाचौँ न मिलेर नाम लिई सैनी” हैन भन्नु हुन्छ तर मेरो कानले तेइ सुन्छ,

    Reply
    1. Salokya says:
      September 4, 2019 at 8:16 pm

      यस्तो रिमिक्स सुनेर हुन्छ त, ओर्जिनल सुन्नु परो नि हजुर
      https://www.youtube.com/watch?v=qe1tqcJNFI0

      Reply
  4. Salokya says:
    September 4, 2019 at 11:25 am

    उसो त पानी पनि कहाँ खाइन्छ र पिइन्छ हैन?
    तर पानी खाने निहुँले तिम्रो घरमा आउँला भन्ने गीत पनि छ भनेर विमति राख्न पाइएला नि 😛

    Reply
  5. KN Chapagain says:
    September 4, 2019 at 12:53 am

    “रहर लाग्छ” र “लहर आउँछ” हजुर, गीतकै लेखक कार्कीसंग पनि बिमति राखियो। अर्थ बोधगम्य भए पनि “भोक निदायो”, “ढोका फुकाल्नुस”, “जुत्ता सिउरिनुस”, वा “पिसाब बस्नुहोस” त्रुटिपूर्ण सुनिन्छन्। अब, “नेपाली भनेको तैंले बोलेको मात्र ठीक हो र?” भन्नुहुन्छ भने “नमस्ते”।

    Reply
  6. Santosh says:
    September 3, 2019 at 11:49 pm

    बूढा संग भेटेरै सोध्या हो ?

    Reply
    1. Salokya says:
      September 4, 2019 at 11:24 am

      हो त, हेर्नुभएन त्यहाँ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme