Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हुँदाहुँदा आँखामा स्कर्ट लगाएकी युवती रे! दिमाग यसरी भ्रष्ट पार्दै फेसबुक र युट्युब, तह लगाउने तरिका जानौँ

Posted on August 23, 2019August 23, 2019 by Salokya


एक दुई वटा दोहोरी गीत गाएका दिनेश भुजेललाई फेसबुकमा भाइरल हुने लहड चलेपछि अहिले बिजोग भएको छ। मर्नुअगाडि बनाएको शालिकरामले बनाएको भिडियोमा उनको आँखामा मान्छे देखियो भनेर दावी गर्दै फेसबुकमा लेख्न थालेपछि उनका फलोअर बढेका छन्। पोस्टहरुमा हजारसम्म कमेन्ट र सयौँको संख्यामा सेयर हुन थालेका छन्। हुँदाहुँदा उनले आज उनको आँखाको नानीमा स्कर्ट लगाएकी युवती भेट्टाएको समेत दावी गरेका छन्। अनि त्यसैलाई मान्दै युट्युबले भिडियोहरु बनाएर हाल्न थालेका छन्। यस्तो भिडियो हाल्नुको अर्थ धेरै भ्युज अनि धेरै पैसा कमाई। पैसाको लोभमा नै यस्ता फेक जानकारीले दिमाग भ्रष्ट बनाउँदैछन् मानिसका।

त्यो युट्युब भिडियोको थम्बनेल हेर्नुस् त-

आँखामा के के देखियो भन्ने तर तपाईँ हामीले हेर्दा केही नदेखिने। यो युट्युबको भिडियोको थम्बनेलमा भने केटी नै फोटोसप गरेर राखिएको छ। अझ नजिकबाट हेर्नुस् त-

अझै नजिकबाट हेर्नुस् त-

आँखाको नानीभन्दा बाहिर पनि कहीँ देखिन्छ मान्छेको प्रतिबिम्ब? अनि टाउको चाहिँ किन नदेख्या?

किनभने यो तपाईँ हाम्रो दिमाग भ्रष्ट पार्नका लागि फोटोसप गरेर राखिएको कन्टेन्ट हो। यो भिडियो अपलोड गर्ने च्यानलको यो रहेछ-

भिडियो क्रेडिटमा पनि उनकै नाम छ। उनैले एउटा भिडियोमा मेरो टाइटल आँसु हो भनेका छन्। यो उनकै च्यानल रहेछ उसो भए?

उनले एउटा युट्युब भिडियोमा चितवनमा भएका पत्रकारहरुलाई जानुस् तपाईँहरु गएर होटलमा गएर सोध्नुस् केटी आएकी छन् कि छैनन् भनेका थिए।

अनि यो हेर्नुस् त युट्युबे आर्मीले चितवनको होटलमा गरेको आक्रमण। आम्मामा, यी पत्रकार हुन् कि केरकार शाखाका अधिकारीहरु? सालिकराम झुण्डिएको होटेलको साउनीले गरे डरलाग्दो खुलासा,केटी आएको संखा,बाहिरियो अर्को रहस्य। के खुलासा गरिएको छ त? केही पनि छैन। के रहस्य बाहिरियो त? केही पनि छैन। अनि भ्युज हेर्नुस् त झण्डै ६ लाख। ट्रेन्डिङमा।

गजबको तमाशा चलिरहेको छ देशमा।

पत्रकारिता भनेको के हो थाहा नभएका, समाचार संकलन गर्ने तरिका नजानेका युट्युबरहरुले पत्रकारिताको खिल्ली उडाइरहेका छन्। माइकको बुम बोक्ने जतिलाई पत्रकारै भन्ठान्नाले पनि यस्तो भएको हो कि।

ट्रेन्डिङको खोजीमा रहेका युट्युबरले पत्रकारिताको, फेसबुके अनुसन्धानकर्मीले प्रहरीको भूमिका लिएपछि के हुन्छ? दिमाग भ्रष्ट। निर्मला काण्डमा पनि हुँदै नभएको भिआइपी अपराधीको हौवा फिजाइयो, हल्लैहल्लामा अम्बाको रुखमा झुण्ड्याइयो, ब्याउँदै नब्याएको भैँसी ब्यायो, बम दिदी बहिनीको घरमा एसपीको छोरा पठाइयो। अब अहिले जे गरे पनि हुने रहेछ भने आँखामा स्कर्ट लगाएकी केटीसमेत देखाइयो।

खेम भण्डारीलाई केही भएन। म पनि खेम भण्डारी हुन्छु भन्ने पारामा मान्छे निस्किन थाले। यो खेम भण्डारी भाग २ बन्न खोज्ने दिनेश भुजेलले पनि मलाई ज्यानको खतरा छ भनी हिजो भनिसके। अनि आज चाहिँ चितवन जान्छु भनेर लेखे।

यिनकै दाजु भने भाइको खुस्कियो कि के हो भनेर चिन्तामा छन्। उनले भाइकै फेसबुकमा यस्तो कमेन्ट लेखेका छन्-

फेसबुक र युट्युब चलाउन जान्ने सबै तपाईँ जस्तो जान्ने हुँदैनन्। त्यसैले भिडले पत्याइरहेको छ। तपाईँको काम त्यस्तो मिथ्या (फेक) जानकारीलाई फैलनबाट सकेसम्म रोक्ने हुनुपर्छ। के गर्न सक्नुहुन्छ त तपाईँले?

युट्युबको कम्युनिटी गाइडलाइन अनुसार भिडियोमा नभएको कुरा थम्बनेल वा टाइटलमा राख्न पाइन्न। थम्बनेल भनेको युट्युबको भिडियोमा क्लिक गर्नुअघि देखिने चित्र हो। माथिको भिडियोमा केटी देखिने गरी राखेको थम्बनेल युट्युबको नियम अनुसार राख्न पाइन्न। त्यसो राख्दा यसरी हटाउन सकिन्छ। हेर्नुस् भिडियो-

फेसबुकमा फेक जानकारीलाई कसरी रिपोर्ट गर्ने?

फेसबुकमा कुनै मिथ्या (फेक) जानकारी देखिएमा त्यसमा कमेन्ट गर्ने, रियाक्ट गर्ने वा यो गलत हो है भनेर लेखेर सेयर गर्ने गर्नुभएमा झन् त्यो जानकारी फैलाउन तपाईँले मद्दत गरिरहनुभएको हुन्छ। यस्तोमा गर्नुपर्ने काम भनेको रिपोर्ट गर्ने हो। कसरी ? सजिलो छ। आउनुस् प्रक्रिया बुझौँ-

१) सबैभन्दा पहिला रिपोर्ट गर्नुपर्ने पोस्टको दायाँ छेउमा रहेको … ठाउँमा थिच्ने।

२) त्यसपछि सबैभन्दा मुनि रहेको Find supprot or report post मा क्लिक गर्ने। त्यसपछि यस्तो खुल्छ

३) त्यसमा False news मा क्लिक गर्ने र Send बटन थिच्ने।

यी कुरामा ध्यान दिनुस्-

  • कुनै पनि सामग्री पढेपछि तुरुन्तै विश्वास नगर्नुहोस्, प्रकाशित सामग्री मिथ्या हुन सक्छन् भनेर सचेत हुनुहोस्।
  • समय छ भने सामग्री सही छन् कि छैनन् भनेर परीक्षण गर्नुहोस् ।
  • कुनै पनि सामग्री आफ्नो सोसल मिडियामा सेयर गर्न वा त्यसका सूचनाका आधारमा आफ्नो विचार राख्न हतार नगर्नुहोस् ।
  • सोसल मिडियामा कतिपय अवस्थामा प्रयोगकर्ताले पढेका आधारमा समाचार धेरैमा देखिने हुँदा शीर्षकमा शङ्का लागेका वा गलत साइटमा प्रकाशित सामग्री पढ्न खोजेर समय खेर नफाल्नुहोस् ।
  • सोसल मिडियामा सेयर गरिएका विचार वा सामग्री को र कति जनामा पुग्छ भन्ने कुराको अनुमान गर्न कठिन हुन्छ । यसर्थ अनावश्यक कुरा वा गलत सूचना रमाइलो वा अन्य कुनै कारणले पनि लेख्ने वा सेयर गर्ने नगर्नुहोस् ।
  • मिथ्या समाचार हो भन्ने थाहा पाउनेबित्तिकै आफ्नो सोसल मिडियामा त्यो मिथ्या समाचार हो भनेर जानकारी गराउनुहोस् । तर यसरी जानकारी गराउँदा त्यो समाचारको लिङ्क भने नराख्नुहोस् ।
  • कुनै पनि सामग्री सोसल मिडियामा सेयर गर्दा वा लेख्दा त्यो सामग्री सही र तथ्यपरक छ भन्ने पूर्ण विश्वस्त भएपछि मात्रै राख्नुहोस् । अलिकति पनि शङ्का छ भने कुनै पनि अवस्थामा (यो के हो भनेर सोध्नसमेत) त्यो सामग्री सेयर नगर्नुहोस् ।
  • कुनै पनि सामग्री सेयर गरेपछि त्यसमा आएका प्रतिक्रिया हेर्नुहोस् र कसैको भनाइले शङ्का उत्पन्न गरेमा तुरुन्तै सच्याउनुहोस् । अरु कसैले सेयर गरेको सामग्री मिथ्या भएको थाहा भए कमेन्टमार्फत जानकारी गराउनुहोस् ।
  • फेक न्युजबारे थप यो सामाग्री पनि पढ्दा फाइदै होला-
    के हो मिथ्या समाचार (फेक न्यूज)?

    सम्बन्धित ब्लग
    रवि प्रकरणमा हाम्रो ‘FBI’ को अनुसन्धान : शालिकरामको आँखामा हत्यारा नै फेला पार्न सफल भएछन् रे

4 thoughts on “हुँदाहुँदा आँखामा स्कर्ट लगाएकी युवती रे! दिमाग यसरी भ्रष्ट पार्दै फेसबुक र युट्युब, तह लगाउने तरिका जानौँ”

  1. Pingback: किन उर्लिए चितवनमा यसरी हजारौँ ? मूलधारे मिडियामा नआएका आजका केही फोटोसहित – Mysansar
  2. अरुण राई says:
    August 23, 2019 at 8:11 pm

    मलाइ सारै अचम्म लागेको कुरा चै यी व्यक्ति किन यस कुरामा मरिहत्ते गरेर लागिरहेका छन् ताकी उनले जानी जानी यसो गरिरहेका छन् वा उनि आफै नै भ्रममा परिरहेका छन् । त्यो भन्दा पनि यसमा धेरै मानिस हरुले यो कुरा साचो हो भनि विश्वास गरेको देख्दा अति अचम्म साथै दुख पनि लाग्यो यो कुरा सम्झेर कि कसैले भनेको मेरो देश नेपाल हल्लाइ हल्ला को देश हो भनेर । हुन सक्छ भोलि अनुसन्धान बाट पुडासैनी को हत्या नै भएको हो भनि पुस्टि होला तर मलाइ लाग्दैन कि त्यो आखामा देखिएको प्रमाणले हत्या पुस्टि गर्यो भएर ।

    तथापी आज सरकारलाइ जनताले बिस्वास गर्ने बाताबरण भइदिएको भए सायद यी जनताहरुले आधारहीन र असत्य कुराहरुलाई यसरि विश्वास गर्नु पर्ने थिएन होला अनि कतिपयको भनाइ जस्तै भेडा जस्तै भएर सडकमा तातो घाममा नारा लगाउदैनन थिए होला एक पत्रकारको लागि जसलाई उनीहरुले टेलिभिजन मा बाहेक कतै देखेका छैनन् ।

    रबि लामिछाने लाइ पुडासैनी काण्डमा फसाउने छल देखिएको कुरामा धेरै जनता सहमत छ तर यसै अबसरमा सामजिक संजाल हरुमा भ्रमात्मक कुरा हरु फैलाउने हरुलाई निरुत्साहन गर्न जरुरि छ । यस बिषयमा टिप्पणी लेख्नुभएकोमा सालोक्य जी लाइ धेरै धेरै धन्यवाद अनि यी भुजेल भाइ लाइ पनि यस्तो भ्रम सामाजिक संजालमा प्रचार नगर्न र आफु सुरक्षित रहन आग्रह गर्न चाहन्छु ।

    Reply
  3. Narayan says:
    August 23, 2019 at 2:37 pm

    Kamse kam mysansar ka pathak jati le chai yesto false news lai report garne sake fasle news ali kam garna sakinthyo ki

    Reply
  4. रवि दाहाल says:
    August 23, 2019 at 10:04 am

    फेसबुकमा बिहानै गुनासो दर्ता गरियो ।
    यस्ताले अलि अलि भाको दिमाग नि भुटेर खाने भए।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme