Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘सीधा कुरा’मा खाली कुर्सी, रवि लामिछाने पक्राउ, अबको कानुनी प्रक्रिया के? कहिलेसम्म हिरासतमा?

Posted on August 15, 2019August 15, 2019 by Salokya


लाइभ प्रसारण हुने ‘सीधा कुरा जनतासँग’ सुरु हुनु एक घण्टा २५ मिनेट अगाडि न्युज २४ टिभी कार्यालय परिसरबाट प्रहरीले प्रस्तोता रवि लामिछाने र उनका सहयोगी युवराज कँडेललाई पक्राउ गरेपछि कार्यक्रम अवरुद्ध भएको छ।

कार्यक्रम प्रसारण हुने निश्चित समय पौने ९ बजे टेलिभिजनले खाली कुर्सीसहितको टिभीको सेट देखाएको थियो।

खाली कुर्सी र लोगो म्युजिकसहित रवि लामिछानेको ट्विट र उनी पक्राउ परेको जानकारीसहित छानबिनमा सहयोग गर्ने उनको प्रतिवद्धतालाई टेलिभिजन स्क्रिनको तल देखाइएको थियो।

केही समयअघि मात्र न्युज २४ टिभी छाडेका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रविलाई पक्राउ गरेको हो। हिजोमात्रै शालिकरामले मर्नुअघि रेकर्ड गरेको भनिएको भिडियो सन्देश सार्वजनिक भएको थियो। भिडियोमा आफ्नो मृत्युका लागि रवि लामिछाने, उनका सहयोगी युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की दोषी रहेको उनले रुँदै बताएका छन्।

चितवन प्रहरीले विज्ञप्ति जारी गर्दै तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ-

अबको प्रक्रिया के?

विभिन्न टेलिभिजनहरुलाई अन्तर्वार्ता दिँदै चितवन जिल्ला प्रहरी प्रमुख दानबहादुर मल्लले उनीहरुलाई आजै चितवन ल्याइने जानकारी दिएका छन्।

एभिन्युज टेलिभिजन हेरिरहेको थिएँ अघि। त्यसमा दिइएको जानकारी अनुसार जरुरी पक्राउ पूर्जी जारी गरी उनलाई पक्राउ गरिएको हो।

पक्राउ पूर्जी बुझ्दै रवि लामिछाने। फोटो : न्युज २४

केही अनलाइनहरुमा आएको समाचार अनुसार रविले आजको कार्यक्रममा अस्मिता कार्कीसित लाइभ कुराकानी गर्न खोजेका थिए। कार्यक्रमका प्रोड्युसर दीपक बोहोराले हिजै आफ्नो फेसबुकमा अस्मिताको मेसेजका स्क्रिनसटहरु सार्वजनिक गरेका थिए।

मुलुकी फौजदारी कार्यविधि नियमावली,२०७५ अनुसार कसैलाई पनि पक्राउ गर्नका लागि पक्राउ पूर्जी जारी गर्ने अनुमति अदालतबाट लिनुपर्छ। जरुरी पक्राउ पुर्जी भनेको त्योभन्दा अर्जेन्ट अवस्थामा पक्राउ गर्नका लागि अपनाइने प्रक्रिया हो। यसका लागि पनि स्वीकृतिका लागि अदालतमा पेश गर्नुपर्छ। नियमावलीमा भएको व्यवस्था यस्तो छ-

५. जरुरी पक्राउको स्वीकृति लिनेः (१) अनुसन्धान अधिकारी वा प्रहरी कार्यालय वा अनुसन्धान गर्ने कार्यालयको प्रमुखले ऐनको दफा ९ को उपदफा (६) बमोजिम जरुरी पक्राउ पूर्जी जारी गरी अनुसूची -४ बमोजिमको ढाँचाको निवेदनमा देहायका विवरण उल्लेख गरी पक्राउ गरेको व्यक्ति र सम्बन्धित कागजातहरु सहित पक्राउको स्वीकृतिका लागि अदालतमा पेश गर्नु पर्नेछः-

  • पक्राउ गरेको व्यक्तिको नाम, थर, वतन वा अन्य परिचयात्मक विवरण,
  • पक्राउ गरेको मिति, समय र स्थान,
  • वारदात मिति, समय र स्थान,
  • कसूरको नाम,
  • सम्भव भएसम्म पक्राउ गरेको व्यक्तिको संलग्नता देखिने प्रमाण,
  • खानतलासी गर्दा दशी प्रमाण बरामद भएको भए सोको मुचुल्का,
  • जरुरी पक्राउ पूर्जी जारी गरी पक्राउ गर्नु परेको कारण ।

(२) उपनियम (१) बमोजिम निवेदन पेश भएपछि पक्राउको कारण मनासिब देखिएमा अदालतले पक्राउको स्वीकृति दिन सक्नेछ ।

(३) उपनियम (२) बमोजिम अदालतले स्वीकृति दिएकोमा  सोको अभिलेख अनुसूची -५  बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।

अनुसन्धानका लागि हिरासतमा

पक्राउ पुर्जी जारी भएर नियन्त्रणमा लिएर चितवन लगिसकेपछिको अर्को प्रक्रिया हुन्छ- अनुसन्धानका लागि हिरासतमा राख्ने। यसका लागि पनि प्रहरीले उनीहरु तीनै जनालाई अदालतमा लग्नुपर्छ।

यसका लागि नियमावली अनुसार ऐनको दफा १४ बमोजिम अनुसन्धानको लागि अभियुक्तलाई हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भएमा अनुसन्धान अधिकृतले अनुसूची -६ बमोजिमको ढाँचामा सरकारी वकिल कार्यालय मार्फत अदालतमा निवेदन दिनु पर्नेछ।

ऐनको दफा १४ को उपदफा -७_ मा उल्लिखित कसूरका सम्बन्धमा अभियुक्तलाई थप अवधि हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भएमा अनुसन्धान गर्ने अधिकारी र सरकारी वकिल दुवैले अदालतमा निवेदन दिन सक्नेछन् ।

यस नियम बमोजिम दिइने निवेदनमा अनुसन्धान सन्तोषजनक रुपमा भएको र अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण तथा सम्पन्न गर्नुपर्ने कामहरुको विवरण समेत खुलाउनु पर्ने नियमावलीमा उल्लेख छ।

भिडियो हिजो मात्रै मिडियामा सार्वजनिक गराइएको भए पनि आफन्त र प्रहरीले घटना भएको दिनै पाइसकेको थियो। त्यही आधारमा एक चरणको अनुसन्धानसमेत भइसकेको थियो।

अनुसन्धान स्रोतका अनुसार रविको टिमले चलाउने १० वटा मोबाइल नम्बर, रवि आफैले चलाउने तीन वटा नम्बरको प्राविधिक अनुसन्धान भइसकेको छ। ती नम्बरहरुको कल डिटेल, एसएमएसहरु सब अनुसन्धान भइसकेको छ। शालिकरामको मोबाइल र त्यसमा भेटिएको भिडियोको पनि डिजिटल फरेन्सिक ल्याबले अनुसन्धान गरिसकेको छ।

भिडियोमा भनिए अनुसार रवि लामिछानेले शालिकरामलाई टर्चर दिएको हो कि हैन? शालिकरामसित सम्पर्क भएको छ कि छैन ती सब यो केसमा अनुसन्धान र प्रमाणको आधार बन्ने छ। स्रोतका अनुसार न्युज २४ टिभी छाडिसकेपछि शालिक र रविको सम्पर्क प्रारम्भिक अनुसन्धानमा देखिएको छैन। तर उनले आफै नभएर अरुलाई लगाएर टर्चर दिएको पो हो कि भन्ने कोणबाट अनुसन्धान भइरहेको छ।

कति दिन रवि हिरासतमा?

प्रहरीले अब बयान गराउने, कागज गराउने जस्ता प्रक्रिया गर्नेछ। यसका लागि कति समय लाग्छ अहिले नै यकिन भन्न सकिन्न। यो ११ दिनसम्ममा प्रारम्भिक अनुसन्धान र टेक्निकल अनुसन्धान भइसकेको हुनाले धेरै समय नलगाउन पनि सक्छ प्रहरीले। वा यही मौका हो भनी कसैको रिस भए त्यसलाई फेर्न उनलाई लामो समय थुन्ने सम्भावना पनि नहोला भन्न सकिन्न।

भोलि शुक्रबार अदालतमा पेश गरी प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्न केही दिनको म्याद लिनसक्छ। बढीमा २५ दिनसम्म यसरी हिरासतमा म्याद थप्दै राख्न सकिन्छ। यसका लागि अदालतले अनुमति दिनु पर्छ। अथवा अदालतले रविलाई हिरासतमा राखेर अनुसन्धान गर्न जरुरी छैन भनेर अनुमति नदिन पनि सक्छ।

धेरै कुरा बाहिरी परिस्थितिले पनि निर्धारण गर्नसक्छ नेपाल जस्तो देशमा। रवि लामिछानेका समर्थकहरु आन्दोलनमा उत्रिएर एक किसिमको दबाब सिर्जना गर्न सक्छन्। मिडिया, सोसल मिडियाले जनमत कस्तो बनाउँछन् त्यसमा पनि भर पर्न सक्छ।

अनुसन्धान सकिएपछि प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालतमा मुद्दा दायर गर्छ। पहिले आत्महत्या हो भने कुनै पनि कारबाही हुँदैन थियो। तर गत वर्ष भदौ १ गतेदेखि लागू भएको कानुनमा आत्महत्यालाई पनि कानुनी दायरामा ल्याइएको छ। आत्महत्या गर्न दुरुत्साहन दिने र आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्थासहितको “मुलुकी अपराध संहिता ऐन, २०७४” ले गरेको छ।

शालिकरामले मर्नुअघि बनाएको भिडियोमा उनको दावीका आधार खोजेर हो/हैन थप प्रमाण जुटाउने अब प्रहरीको काम हो। उनले आवेशमा भनेका हुन् कि वास्तवमै बाध्य बनाएको हो वा उनलाई त्यस्तो लागेको वास्तवमा त्यसो नभएको- के हो खास कुरा ? उसले गरेको दावी सत्य हो/हैन थप आधार खोज्नेछ प्रहरीले।

यो केसमा आत्महत्याको कारण युवतीको बलात्कारको आरोप र कार्यक्रम प्रसारण धम्की देखिन्छ मृतकको दावी अनुसार। अब यसको पुष्टि आवश्यक हुन्छ। मर्नुअघि कसैले पनि झुटो बोल्दैन भन्ने मानिन्छ। रविको सहयोगीले कुरा गरेको भन्ने देखिएको छ। युवतीले के बयान दिन्छिन्। रविले शालिकरामसित र युवतीसित फोन, मेसेज, सामाजिक सञ्जाल आदिमा कुराकानी गरेको छ कि छैन यसलाई आधार बनाइन्छ।

आत्महत्याको दुरुत्साहनको परिभाषा मात्र हेर्ने हो भने अस्ति भ्रष्टाचारको आरोप लागेपछि सुसाइड गर्ने कर्मचारीको सुसाइड नोटको आधारमा अख्तियार प्रमुख नि तानिनुपर्ने हो। त्यसैले भर्खरै लागू भएको यो कानुनको कार्यान्वयनको प्रक्रिया हेर्न बाँकी छ।

केही अघि मात्र समता अस्पतालको केसमा उत्तम सन्जेलकी पत्नीसहित दुई कर्मचारी मृतकसित भेटिएको चिटको आधारमा दुरुत्साहनको मुद्दा चलेको थियो। अदालतमा प्रारम्भिक सुनुवाईका क्रममा उनीहरुलाई तीन तीन लाख रुपैयाँ धरौटीमा छाडिएको थियो। मुद्दा जारी छ। फैसला भइसकेको छैन।

रवि लामिछानेको केसमा पनि दुरुत्साहनको मुद्दा अदालतमा पुगेपछि तीन वटा सम्भावना हुनसक्छ- साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने अथवा पुर्पक्षका लागि थुनामा पठाउने।

यो केसमा अधिकतम सजाय पाँच वर्षसम्मको भएको हुनाले पुर्पक्षका लागि थुनामा राख्ने आदेश पनि हुँदैन भन्न सकिन्न। मुद्दा कस्तो छ? प्रमाणहरु कसरी राखेका छन्? यस्ता कुराले आदेशमा असर गर्छ। प्रमाणित हुन गाह्रो जस्तो देखिए साधारण तारेखमा छाड्न सकिन्छ। दोषी देखिने पर्याप्त आधारहरु भए पुर्पक्षका लागि थुनामा पठाउन पनि सक्छन्।

अहिलेको अवस्थामा रवि लामिछाने अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा हुन्। अदालतले थुनामा राख्न अनुमति दिएपछि न्यायिक हिरासतमा हुनेछन्। दोषी हो कि हैन चाहिँ तपाईँ हामीले हैन अदालतले निर्क्यौल गर्ने हो।

सम्बन्धित ब्लग
पत्रकार पुडासैनी प्रकरण : मर्नुअघि बोलेको भिडियो सार्वजनिक, अब के हुन्छ?

6 thoughts on “‘सीधा कुरा’मा खाली कुर्सी, रवि लामिछाने पक्राउ, अबको कानुनी प्रक्रिया के? कहिलेसम्म हिरासतमा?”

  1. Pingback: किन उर्लिए चितवनमा यसरी हजारौँ ? मूलधारे मिडियामा नआएका आजका केही फोटोसहित « Mysansar
  2. Pingback: युट्युबरको ‘फैसला’ विपरीत अदालतले थप्यो रवि लामिछानेसहित तीन जनालाई पाँच दिनको म्याद, अबको प्रक्रिया यस्तो हुन्छ – Mysansar
  3. Pingback: रवि प्रकरण : ५ दिन म्याद आज सकियो, अब के हुन्छ? यस्तो छ कानुनी प्रक्रिया « Mysansar
  4. Pingback: रविलाई अदालतले पाँच दिन म्याद थप्दै गर्दा बारे कसले के भने? – Mysansar
  5. madan bajracharya says:
    August 16, 2019 at 9:46 pm

    ज्यानै मारेको व्यक्तिलाई पनि जमानतमा छोडेकै छ/ तर यहा त् आफ्नै कर्तुतको कारणले आत्महत्या गर्ने व्यक्तिले उसको कर्तुत मिडियामा ल्याउन लागेकोले आफुले आत्म हत्या गरेको नोट लेखेकै भरमा यक जना पत्रकारलाई प्रहरीले हिरासतमै लिनु पर्ने कारण को पछाडी कानुन मात्रै भयको पत्याउन सकिंदैन/ प्रहरीले उसलाई बोलायको बेला उपस्थित हुने निर्देशन दिन सक्थ्यो तर थुनि हाले/ आरोप प्रमाणित नभय सम्म कोहि अपराधि हुँदैन; त् थुने किन; माथिको; प्रहरीमा आफ्नो प्रभाव भयको व्यक्तिले “रविलाई थुन” भनेकोले?

    रवि ज्यु आफ्नो पेसामा सफल व्यक्ति हुनु हुन्छ; उसको पनि प्रतिष्ठा त् छ नै/ तेतिकै कसैले भनेकै भरमा खोरमा थुने पछि उसको प्रतिष्ठाको हनन हुँदैन? नेपालमा कुनै पनि प्रकारको प्रभावसालि तथा ठुला हौँ भन्ने व्यक्तिहरु स्वेच्छाचारी भयको मूल कारण उनीहरुको कारणले पिडित भयकाले छ्यतिपुर्ति भराउन पाउने कानुन नभयकैले हो/ यहि कारणले डाका ज्यानमारा लुटेरा भन्नु पर्ने प्रेसरकुकरेहरुलाई “नेता” मान्नु परेको हो/ यदि नागरिक लाई बिना अपराध र गल्ति पिडित हुन् बाध्य गर्नेलाई नागरिकले छ्यतिपुर्ति पाउन र पिदकलाई सजाय होस् भनि रित राख्न पाउने कानुन बनेको भय “कुन कुजातले पड्किने प्रेसर कुकर देखाउंदै तराईरहन सक्थे?

    रवि ज्युले अहिले प्रमाणित नै नभयको आरोप लगायर ठुनेकोलाई “देसमा नागरिकहरुलाई अधिकार सम्पन्न बनाउन र तर्साउने देखि डराउनु नपर्ने बनाउनको निमित ससक्त संघर्ष गर्ने अवसर को रुपमा प्रयोग गरुन”/ आसा छ अनन्य पत्रकारहरु र अधिवक्ताहरुले पनि उहालाई साथ् त् दिनेनै छ/

    कानुनन होईन माथिको आदेश र निर्देशनको कमाराहरु देखि लाग्ने “घिन” लाई अब कसैले थेग्नै नसक्ने “प्रतिकार” को रुप दिनु पर्छ/ कानुन र अधिकार सम्पन्न नागरिकले नटेरे को राजा को नेता को प्रहरी!!!

    Reply
  6. Pingback: नेताको नाम लिएर कोही मरे के हुन्छ? प्रतिवेदनमा कानुन दुरुपयोगको सम्भावना र नियन्त्रणका उपाय यस्तो « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme