Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पत्रकार पुडासैनी प्रकरण : मर्नुअघि बोलेको भिडियो सार्वजनिक, अब के हुन्छ?

Posted on August 14, 2019August 14, 2019 by Salokya

१० दिनअघि चितवनको एउटा होटलमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा आज नयाँ मोड आएको छ। पुडासैनीले मर्नुअघि खिचेको भनिएको एउटा भिडियो आज सार्वजनिक भएको छ। भिडियो छ र त्यसमा उनले आफूले आत्महत्या गर्नुपर्ने कारण बताएका छन् भन्ने चर्चा यसअघि पनि भएको थियो। तर भिडियो के थियो र कस्तो थियो भन्ने अहिलेसम्म सार्वजनिक भएको थिएन। आज बिहान जनआस्था साप्ताहिकले यसबारे समाचार छापेसँगै दिउँसो नेपालआज अनलाइनले भिडियो सार्वजनिक गरेको छ।

मुग्लिङबाट नारायणगढ आउने हाइवेमै जोडिएको छ एउटा बसपार्क। पोखरा जाने बस पाइने हुनाले हो कि किन हो त्यो ठाउँलाई पोखरा बसपार्कका नामले पनि चिनिन्छ। बसपार्क वरपर प्रशस्त होटलहरु छन्। ती मध्ये एक हो- होटल कङ्गारु।

नारायणगढको यही होटल कङ्गारुमा गत हप्ता नाग पञ्चमि (साउन २० गते) को दिन तनाव थियो। कोठा नम्बर २०२ मा गएर बसेका एक गेस्ट लामो समयदेखि निस्किएका थिएनन्। होटलका कर्मचारीहरुलाई शंका भयो। उनीहरुले प्रहरीलाई खबर गरे।

प्रहरीले कोठाको ढोका फुटायो। भित्र एक युवक पंखामा नाइलनको डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिए। प्रहरीले घटनास्थलको मुचुल्का उठायो। उनको साथमा रहेको परिचयपत्रका आधारमा पहिचान खुल्यो- नुवाकोट बेलकोटगढी नगरपालिका घर भएका शालिकराम पुडासैनी। प्रहरीले त्यही रात परिवारका सदस्यलाई खबर गर्‍यो।

पुडासैनी अहिले माउन्टेन टेलिभिजनमा ‘मिसन न्युज’ कार्यक्रम चलाउँथे। धेरै भएको थिएन उनी माउन्टेन टिभी गएको। त्यसअघि उनी न्युज २४ टिभीमा काम गर्थे- रवि लामिछानेको ‘सीधा कुरा जनतासँग’ कार्यक्रममा।

सुरुमा पुडासैनीको परिवारले हत्याको शंका गरे। उनीहरु होटल साहुप्रति आक्रोशित देखिएका थिए। परिवारले होटल साहुविरुद्ध जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा पनि लियो।

भोलिपल्ट साउन २१ गते दैनिकी अनलाइनमा एउटा खबर आयो। ‘रवि लामिछानेका कारण पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेकाे खुलासा, अडियो भेट्टियो’ शीर्षकको यो समाचारमा पुडासैनीको अडियो सन्देशमा रवि लामिछाने र उनको समूहका सदस्यहरुको कारण आत्महत्या गर्नुपरेको उल्लेख थियो।

सामाजिक सञ्जालमा यो खबर फैलन थालेपछि अनुसन्धान प्रभावित नपार्न अनुरोध गर्दै चितवन जिल्ला प्रहरी कार्यालयले एउटा विज्ञप्ति निकाल्यो-

साउन २१ गते पशुपति आर्यघाटमा पुडासैनीको अन्त्येष्टि गरियो। त्यहाँ पनि तनाव भयो। रवि लखेटिए भनी सामाजिक सञ्जालमा भिडियोहरु आए।

त्यही दिन रवि लामिछानेले आफ्नो फेसबुकमा लाइभ गर्दै घटनाबारे बोले। २१ मिनेट लामो त्यो लाइभमा उनले शालिकरामलाई आफ्नो बारेमा भ्रम परेको हुनसक्ने बताएका थिए।

रविका अनुसार न्युज २४ बाट शालिकराम माउन्टेन टिभीमा गएको दुई महिनामात्रै भएको थियो। प्रहरीले अनुसन्धान गरोस् भन्दै उनले भिडियोमा भनेका थिए-

प्रहरीले अहिलेसम्म हामीलाई सोधेको छैन, अनर्गल प्रचार भइरहेका छन्। शालिकराम जीको एउटा व्यक्तिगत जीवनमा भएको कमजोरीलाई लिएर कसैले मैले रवि दाइसँग पनि कुरा गरेको छु, दीपक दाइसँग पनि कुरा गरेको छु, अब यो कुरा सीधा कुरा जनतासँगको कार्यक्रममा देखाउन उहाँहरुले हुन्छ भन्नुभएको छ। तयार हुनुभएको छ। तिमीमाथि बलात्कारको मुद्दा लगाउँछौँ त्यसपछि तिम्रो बेइज्जत हुन्छ भनेर कसैले शालिकरामलाई भन्नुभएको रहेछ। त्यो भन्ने मानिस अहिलेसम्म मेरो सम्पर्कमा छैन। शालिकरामजीसँग रिपोर्टिङको बाहेक कहिल्यै केही कुरा गरेको छैन। मेरो कल डिटेल, मेरो म्यासेजको डिटेल, अन्य डिटेल जहिले पनि चेक गर्न सकिन्छ….शालिकराम जीले एक पटक हामीसँग क्रस भेरिफाइ गर्नुभएको हुन्थ्यो तर उहाँले गर्नुभएको देखिएन। उहाँलाई लागेको हुनसक्छ म अर्को टेलिभिजनमा गएँ त्यसकारण मेरो विरुद्धमा पक्कै रिपोर्ट बनाउन खोजे कि मलाई केही गर्न खोजे कि। उहाँलाई विवश पारिएको सम्बन्धमा हामीलाई जानकारी आएको छ। स्क्रिनसट राखेको छु। म प्रहरीलाई उपलब्ध गराउन तयार छु।

रविको यो लाइभ आउन्जेल खास कुरा के हो कसैलाई पनि थाहा थिएन। शालिकरामबाट भेटिएको भनिएको भिडियोमा के छ भन्ने पनि सर्वसाधारणलाई जानकारी थिएन।

घटनाको १० दिनपछि आज साउन २९ गते जनआस्था साप्ताहिकमा एउटा समाचार छापियो-

​पत्रकारले मर्दामर्दै खोलेको पोल :: http://janaaasthanews.com.np

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको हो । २०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखित समाचार प्रकाशित

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ । मृतकका परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको हो । २०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लिखित समाचार प्रकाशित

पत्रकारले मर्दामर्दै खोलेको पोल शीर्षकको समाचारमा जनआस्थासँग दुई वटा अडियो भिडियो रेकर्ड सुरक्षित रहेको उल्लेख थियो। जनआस्थाले त्यही भिडियोको विवरणका आधारमा समाचार लेखेको छ। समाचारमा विवरण यस्तो उल्लेख छ-

‘मलाई रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै टर्चर दिए । तर्साएर वेलकम विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाहरूबाट करोडौं कमाउने तर रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने । कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पु¥याए । थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४–५ हजार खर्च हुने, कोठाभाडा, यताउता सबै त्यसैले पु¥याउनुपर्ने । प्यारी सम्झना, मैले कसरी सक्नु ! रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ । केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन । दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ । मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ । तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्नेछ ।’ कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदारुँदैको अवस्थामा दुई हात जोडेर उनले भनेका छन्– ‘सम्झना, तिमी भर्खर २२–२३ वर्षकी भयौ, अर्काे बिहे गर, मलाई माफ गरिदेऊ ।’

‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरु डिपेन्डेण्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छौं भन्दै रालुका गाविस ओखलढुंगाकी केटी….कार्कीको पछि लगाए । त्यही केटीलाई मैले बीपी स्मृति हस्पिटल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान–बिहान पुर्‍याइदिएँ । पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ । त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ । त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने षड्यन्त्र गर्नुभयो । त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्नँँ ।’

नेपालआज अनलाइनले दिउँसो भिडियो नै सार्वजनिक गर्‍यो-

शालिकरामले रुँदै बोलेको भिडियोमा आफ्नो पीडा पोखेका छन्। उनले सीधै रवि लामिछानेलाई नै सम्बोधन गरी विभिन्न आरोप लगाएका छन्-

रवि लामिछाने, तिमीलाई एक दिन पाप लाग्छ। तिमी जस्तो अधर्मी यो देशमा कोही छैन। दुनियाँलाई थर्काएका छौ, लुटेका छौ। कतिसँग करोडौँको घुस लिएका छौ। मलाई भनिस् भने मार्दिन्छु भन्थ्यौ। रवि लामिछाने तिमीलाई एक दिन पोल्नेछ त्यो पैसाले हेर्दै गर…

उनले रविले सीधै पैसा नलिई वेलकम एडभर्टाइजिङमार्फत् उठाउने गरेको भिडियोमा बोलेका छन्।

भिडियो सार्वजनिक हुनुअघि प्रोड्युसर दीपक बोहोराको पनि नाम आएको भए पनि सार्वजनिक भएको भिडियोमा भने शालिकरामले दीपक दाइको केही दोष छैन भन्दै रवि लामिछाने, कार्की थरकी युवती र सीधा कुराकै टिमका युवराज कँडेललाई दोषी भनेका छन्।

के आयो प्रतिक्रिया?

रवि लामिछानेले आफ्नो फेसबुकमा यो भिडियो सार्वजनिक भए लगत्तै स्टायटस लेखेर मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित गर्न चुनौति दिएका छन्। उनले थप जानकारी केही समयमा गराउने भन्दै ‘सारा आरोप सुन्दा शालिकराम लाई ठुलो भ्रम परेको’ लागेको लेखेका छन्-

शालिकरामले पोलेका अर्का पत्रकार युवराज कँडेलले पनि स्टाटसमा आरोपहरुमा एउटा पनि गल्ती भएको रहेछ भने मर्न तयार भएको लेख्दै सबै कुरा छानबिन गर्न भनेका छन्।

त्यसैगरी सीधा कुरा टिमकै अर्का सदस्य दीपक बोहोराले शालिकरामले आफ्नी बहिनी र प्रेमिका लाई पठाएका केही म्यासेजहरु सार्वजनिक गरेका छन्-

प्रहरी के गर्दैछ ?

सर्वसाधारणले आज मात्रै यो भिडियो हेर्न पाएको भए पनि प्रहरीको हातमा भने यो १० दिनअगाडि नै परिसकेको हो। प्रहरीले यसैलाई आधार बनाएर अनुसन्धान पनि अघि बढाइसकेको हो।

भिडियोमा उल्लेख भएका पात्रहरुको विषयमा प्रहरीले एक चरणको अनुसन्धान गर्न भ्याइसकेको छ। अनुसन्धानमा संलग्न स्रोतका अनुसार न्युज २४ टिभी छाडेर गइसकेपछि शालिकरामको रविसित कुनै सम्पर्क भएको प्रमाण भेटिएको छैन। रविले पनि अस्ति लाइभ भिडियोमा कल डिटेल, मेसेज सब चेक गर्न चुनौति दिएकै थिए।

यो प्रकरणको केन्द्रमा एक युवती छिन्। शालिकरामले भिडियोमा त्यो केटीको नामै लिएकी छिन्। अनुसन्धानमा संलग्न स्रोतका अनुसार युवती र शालिकरामबीच शारीरिक लगायत सबै किसिमको सम्बन्ध थियो। उनैसँग शालिक अस्ट्रेलिया डिपेन्डेन्ट भिसामा जाने तयारी पनि थियो। बीचमा दुई बीच खटपट हुन्छ। खटपट हुनुको कारण थाहा भएको छैन। खटपट भएपछि युवती शालिकबाट टाढिन खोज्छे। विवाद हुन्छ।

युवती शालिकरामले यसो गर्न खोज्यो भन्दै न्युज २४ टिभीमा पुगेको र कार्यक्रम बनाउन लागेको भन्ने खबर शालिकरामले पाएको हुन्छ। युवती साँच्चिकै न्युज २४ टिभीमा पुगेकी हुन् कि हैनन्, त्यहाँ सीधा कुराको टिमले वा रविले उनीविरुद्ध रिपोर्ट बनाउँछु भनेका हुन् कि हैनन्- यो विषय अनुसन्धानमा खुल्न बाँकी छ।

रवि दाइसँग पनि कुरा गरिसकेँ, उहाँले रिपोर्ट बनाउँछु भन्नुभएको छ। अब तँलाई बलात्कारको मुद्दा लाग्छ भनेपछि विवाहित शालिकराम तनावमा आएको बुझिएको छ। उनले डिप्रेसनको औषधि पनि खान थालेका थिए।

अनुसन्धानकर्मीहरुका अनुसार कानुनको सामान्य सिद्दान्त मर्नेले झुट बोल्दैन भन्ने हुन्छ। यसअघि आत्महत्या गर्दा आत्महत्या गर्ने नै दोषी हुन्थे। तर भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी ऐन अनुसार आत्महत्या गर्न उक्साउने अर्थात् दुरुत्साहन गर्नेलाई पनि सजायको व्यवस्था छ। सामान्य अवस्थामा हुन्थ्यो भने मर्नुअघिको यही सन्देश नै रविलाई पक्रेर अनुसन्धान गर्ने आधार हुनसक्थ्यो।

यसअघि उत्तम सन्जेलको समता अस्पतालको केसमा त्यहाँ कार्यरत एक महिला कर्मचारीले आत्महत्या गर्दा उनीसँग भेटिएको चिटको आधारमा सन्जेल पत्नीसहित अस्पतालका दुई कर्मचारीलाई अभद्र व्यवहारमा म्याद थप गरेर आत्महत्या दुरुत्साहन गरेको अभियोगमा अदालतमा मुद्दा लगिएको थियो। अदालतले तीन लाख धरौटीमा उनीहरुलाई थुनाबाहिर बसेर मुद्दा लड्न अनुमति दिएको थियो।

यो केसमा के हुन्छ त?

थाहाखबरमा चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले रविलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउने बताएका छन्। उनलाई उद्‍धृत गर्दै समाचारमा लेखिएको छ, ‘म यही विषयमा लागि रहेको छु । प्रहरीले उहाँ (रवि लामिछाने) लाई सम्पर्क गरिरहेको छ। अब पक्राउ गरी कावाही प्रकृया अघि बढाइन्छ। म त्यो प्रकृयामा लागिसकेको छु।

एसपी मल्लले पुडासैनीको मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो फरेन्सिक ल्याबमा परीक्षण भइसकेको र आवाज पुडासैनीकै पुष्टि भएको बताएको समाचारमा उल्लेख छ।

सुसाइड नोट, कल रेकर्ड वा अन्यलाई पनि प्रमाण मानिन्छ। यो केसमा भिडियो नै उपलब्ध भइसकेको छ। भिडियोमा छेडखानी गरेर भ्वाइस ओभर गरिएको हो कि भनी फरेन्सिक ल्याबमा पठाइएको थियो। भिडियोमा छेडखानी गरेको नदेखिएको रिपोर्ट आएको रहेछ।

अब परिवारको किटानी जाहेरी आयो भने प्रहरीले रविलाई पक्रन सक्ने संकेत देखिन्छ। तर रविको फ्यान फलोइङ प्रशस्त भएको हुँदा उनलाई पक्रेर अनुसन्धान गर्न उच्च तहको अनुमति पनि आवश्यक हुनसक्ला।

अबको अनुसन्धानको घेरामा शालिकरामले भिडियोमा दोष लगाएका रवि लामिछाने, युवराज कँडेल ती युवती पर्ने देखिन्छ। शालिकरामले भने जस्तै टर्चर रवि र उनको टिमले दिएको हो कि हैन त्यसमा पनि थप अनुसन्धान हुनेछ।

के छ कानुनी व्यवस्था?

पहिले आत्महत्या हो भने कुनै पनि कारबाही हुँदैन थियो। तर गत वर्ष भदौ १ गतेदेखि लागू भएको कानुनमा आत्महत्यालाई पनि कानुनी दायरामा ल्याइएको छ। आत्महत्या गर्न दुरुत्साहन दिने र आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्थासहितको “मुलुकी अपराध संहिता ऐन, २०७४” ले गरेको छ।

२००५ देखि २००९ सम्ममा नेपाल प्रहरीमा २१७२ जनाले आत्महत्या गरेको घटना (४-२१ उमेर समूह) दर्ता भएको छ। त्यसमा उल्लेख भएका कारणहरुमा ३५% घरेलु हिंसा, २४% मानसिक हिंसा, १५.८% शैक्षिक असफलता र ८.७ असफल प्रेम सम्बन्ध रहेको छ।

शायद् यो कानुन ल्याउनुको उद्देश्य यही घरेलु हिंसाको ठूलो प्रतिशतलाई सम्बोधन गर्न हुनुपर्छ।

तर शैक्षिक असफलताको प्रतिशत पनि ठूलो छ। यसमा कसलाई दोषी बनाउने ? प्रेम सम्बन्ध असफल रहेको प्रतिशत पनि कम छैन। के प्रेमी वा प्रेमिकालाई लगेर थुन्ने त्यसो भए ?

यस्ता प्रश्न उठेपछि यस्तो कानुन किन ल्याउनु परेको भन्ने विषयमा तपाईँलाई जिज्ञासा लाग्यो होला। कारण यस्तो छ-

यो आत्महत्या गर्न बाध्य पार्नेलाई अपराध घोषणा गर्नुपर्ने आवश्यकतासम्बन्धी अध्ययन प्रतिवेदन (२०७२) को अंश हो

आत्महत्या गर्न बाध्य पार्ने कार्यलाई घोषणा गरेका मुलुकहरूको कानूनी व्यवस्था हेर्दा संयुक्त अधिराज्यमा आत्महत्या गर्न वा सोको उद्योगमा सघाउने, दुरूत्साहन गर्ने, सल्लाह दिनेव्यक्तिलाई बढीमा १४ वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको छ । इटलीमा आत्महत्या
गर्न कसैलाई सघाएमा वा दुरूत्साहन गरेमा पीडितको ज्यान मरेको भए ५ देखि १२ वर्ष कैद र ज्यान मर्न नपाएको भए १ देखि ५ वर्ष कैद सजाय हुने र १४ वर्ष मुनिको नाबालकलाई आत्महत्या गर्न सघाएमा वा दुरूत्साहन गरेमा उक्त कार्यलाई कर्तव्य ज्यानकै रूपमा हेरिने
उल्लेख छ ।

अष्ट्रेलियाको भिक्टोरिया बाहेक अन्य राज्यहरूमा आत्महत्या गर्न सघाउने, सल्लाह दिने वा दुरूत्साहन गर्नेलाई जरिवानाको सजाय तोकिएको छ। क्यानडामा आत्महत्या गर्न सल्लाह दिने, सघाउने वा दुरूत्साहन दिनेलाई परिणाम जेसुकै आएतापनि १४ वर्षसम्म कैद हुने कानूनी व्यवस्था रहेको छ । रूसी महासंघको अपराध संहिताको दफा ११० बमोजिम यदि कसैले धम्की, क्रुर व्यवहार वा सुनियोजित अपमानको माध्यमबाट कसैलाई आत्महत्या गर्न बाध्य पार्दछ भने त्यस्तो कारणीलाई ५ वर्षसम्म कैद सजाय गर्ने व्यवस्था रहेको छ । छिमेकी मुलुक भारतमा आत्महत्या दुरूत्साहन गर्ने व्यक्तीलाई बढीमा १० वर्ष कैद र जरिवाना हुने व्यवस्था गरेको छ ।

नेपालको कानूनी सुधारको क्रममा आत्महत्या गर्न दुरुत्साहन दिने कार्यलाई कसूर कायम गर्नको लागि पटक पटक प्रयास भएको पाइन्छ । फौजदारी कानूनको सुधारको लागि तर्जुमा गरिएको दण्ड विधानलाई अन्तिम रुप दिनको लागि २०१३ सालमा सर्वसाधारण जनता र अड्डाहरुको राय लिन कानून मन्त्रालयबाट नेपाल राजपत्रमा प्रकाशन गरिएको दण्ड विधानको मस्यौदाको दफा २३३ ले आत्महत्याको लागि दुरुत्साहन दिएकोमा सो दुरुत्साहनबाट आत्महत्या भएछ भने सोह्रबर्ष मुनिका वा बौलाएको, होस ठेगानमा नभएको, लठेब्रो वा मात लागेको व्यक्तिलाई दुरुत्साहन दिएमा जरिवानासहित चौधवर्षसम्म कैद र त्यस्ता व्यक्ति बाहेक अरु व्यक्तिलाई दुरुत्साहन दिएमा जरीवाना सहित दश वर्षसम्म कैद हुने व्यवस्था प्रस्ताव गरिएको पाइन्छ।

२०१३ सालमा प्रकाशित यस दण्ड विधानले कानूनी रुप लिन सकेको पाइएन । कानूनी सुधारको क्रममा कानून आयोगद्धारा २०३१ सालमा प्रस्ताव गरिएको अपराध संहिताको मसौदामा समेत आत्महत्याको दुरुत्साहनलाई कसूर कायम गर्नको लागि प्रस्ताव गरिएको पाइन्छ । अपराध संहिताको प्रस्तावित मस्यौदाको दफा १२९ मा कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिएमा निजलाई दश वर्षसम्म कैद हुने र जरिवाना
पनि हुनसक्ने व्यवस्था प्रस्ताव गरिएको थियो।

अहिलेको यो व्यवस्थाले प्रत्यक्ष रुपमा दुरुत्साहन दिने वा अप्रत्यक्ष रुपमा आत्महत्या गर्न परिस्थिति खडा गर्ने कार्यलाई अपराधको रुपमा परिभाषित गरेको हुँदा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको खण्डमा नेपालमा आत्महत्याको दरमा कमी हुन जाने तथा आत्महत्या गर्न बाध्य गर्ने व्यक्तिहरु पनि यस्तो आपराधिक कार्य गर्नबाट हतोत्साहित हुने देखिन्छ।

त्यसैगरी लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७१ को विधेयकबाट संशोधनको लागि प्रस्ताव गरिएको घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ मा मानसिक यातना भन्नाले शारीरिक यातनाको डर धाक देखाउने वा धम्की दिने, आत्महत्या गर्न दुरुत्साहन दिने वा आत्महत्या गर्ने परिस्थिति खडा गर्ने हदसम्मको कार्यहरु समावेश गर्न प्रस्ताव गरिएको छ ।

दुरुपयोगका सम्भावना
अध्ययनमा प्रस्तावित कानूनी व्यवस्थाको दुरूपयोगको संभावना र दुरूपयोग नियन्त्रणका उपायहरू पनि उल्लेख गरिएका छन्।

कानुन निर्माणसँगै सोको दुरुपयोगको संभावनासमेत जन्मिन्छ । वास्तविक पीडितलाई न्याय र दोषीलाई सजाय दिने उद्देश्यले कानुन बनाइने भएतापनि समाजका केही स्वार्थी तत्वहरुले विभिन्न कारणवश निर्दोष व्यक्तिलाई षडयन्त्रमा पार्नसक्ने संभावना कायमै रहन्छ ।

फेरि, सबुद, प्रमाणभन्दा पनि व्यक्ति विशेषको बयानमा हाम्रो फौजदारी न्यायप्रणाली अडिएको सन्दर्भमा दोष निर्दोष छुट्याउने कार्य दुरुह बन्न सक्छ । फेरि, यस्तो मुद्दामा सबैभन्दा अहं साक्षीको रुपमा रहने पीडित स्वयंको मृत्यु हुने हुँदा दूषित अभियोजनको संभावना बढ्न सक्छ । यस्तो संभावित दुरुपयोग पछाडिका मुख्य कारणहरु निम्न देखिन आउँछन्ः

 पारीवारिक रिसइबी साँध्ने

 मृतकका कमजोरीहरु ढाकछोप गर्ने

 कुनै अनुचित लाभका लागि आरोपित पक्षसँग सौदाबाजी गर्ने

 हल्लामा विश्वास गरी जाहेरी दिने

 भीडबाट निर्देशित हुने

 अवैज्ञानिक अनुसन्धानको फाइदा लिन खोज्ने ।

उपरोक्त दुःसंभावनाको बारेमा स्थलगत छलफलको क्रममा (परिच्छेद ६) सरोकारवालाहरुले चिन्तासमेत व्यक्त गरेको पाइन्छ । अतः दुरुपयोगको उपरोक्त संभावनालाई निस्तेज पारी सही याचकलाई न्याय दिँदै व्यक्तिहरुलाई अनावश्यक रुपमा हैरानी दिई चरित्रहत्या
गर्न खोज्ने प्रवृत्तिलाई हतोत्साहित गर्न निम्न कानुनी सुरक्षणहरु को प्रबन्ध गर्नु वान्छनीय देखिन्छ :

 जाहेरीलाई घटनाको सूचनाको रुपमा मात्र लिई गोप्य अनुसन्धान अघि बढाई प्रथम दृष्टिमा अभियुक्त कसूरदार देखिएमा मात्र निजलाई पक्राउ गर्ने ।

 घटना हुनुभन्दा केही समयअघिदेखि मृतक वा प्रतिवादीका क्रियाकलाप, उद्देश्यको अध्ययन गर्ने।

 घटनाको दिन र सोको तत्काल अघि वा पछि प्रतिवादीको क्रियाकलाप र अवस्थिति अध्ययन गर्ने।

 स्थानीय समाजबाट गोप्य रुपमा सूचना संकलन गर्ने ।

 प्रतिवादीलाई आफ्नो पक्षका कुरा राख्ने खुला अवसर दिने ।

 जाहेरवालाको उजुरी झूठो ठहरिएमा निजलाई रु ५० हजारसम्म जरिवाना गरी ५ वर्षसम्म कुनै अड्डा अदालतमा साक्षी बस्न नपाउने गरी निगरानीमा राख्ने।

 जाहेरी झुठो साबित भएमा प्रतिवादीलाई लागेको कानुनी प्रतिरक्षाको सम्पूर्ण खर्च जाहेरवालाबाट दिलाई भराई लिने ।

उपरोक्तानुसारका कानुनी सुरक्षणहरु अवलम्बन गर्न सकिएमा दूषित उजुरीहरु र सो कारण उत्पन्न हुने मनोसामाजिक क्षतिलाई न्यूनीकरण गरी वास्तविक मुद्दाहरुमात्र अदालत पुग्नसक्ने वातावरण बन्ने देखिन्छ ।

17 thoughts on “पत्रकार पुडासैनी प्रकरण : मर्नुअघि बोलेको भिडियो सार्वजनिक, अब के हुन्छ?”

  1. Pingback: रवि प्रकरण : ५ दिन म्याद आज सकियो, अब के हुन्छ? यस्तो छ कानुनी प्रक्रिया – Mysansar
  2. Pingback: रविलाई अदालतले पाँच दिन म्याद थप्दै गर्दा बारे कसले के भने? « Mysansar
  3. प्रशान्त श्रेष्ठ says:
    August 16, 2019 at 9:27 pm

    सम्बन्धित निकायले तदारुकताका साथ बिना मोलाहिजा यो घटनाको छानबीन गरे दोषी पक्कै पता लाग्छ। तर नेपालमा यस्तो हुनसक्ने संभावना एकदमै कम छ। यस्तो हुँदो हो त आजसम्म दरबार हत्याकाण्ड, मदन भण्डारी हत्याकाण्डका दोषीहरू पता लागीसक्नुपर्ने हो। तसर्थ सही छानबीन होला जस्तो लागेको छैन। ‘आत्महत्या ‘ गर्नु भन्दा अगाडि खिचिएको र सामाजिक संजालमा भाइरल भएको भिडिओमा धेरै प्रश्न गर्न सकिने दृश्यहरु छन्। भिडिओमा देखेको लुगा र ‘झुण्डिंदा’ लगाएको लुगा, धेरै नजिकबाट खिचिएको भिडिओमा दुबै हात जोडेर बोल्दा क्यामेरा नहल्लिनु, लाखौं आम्दानि हुने काम छोडेर धेरैकम तलबमा ‘सिधा कुरा’मा काम गर्न थाल्नु, एकातिर थोरै तलबमा काम गर्नु परेर डिप्रेसन भएको भन्नु तर अर्कोतिर करोडौंको सम्पति जोडेको कुरा गरेको छ। मृतकको शरीरमा नीलडाम हुनु र ‘झुण्डिएको’ भनेको शरीरको एउटा खुट्टाले बेडमा छोएको भनाईहरु पनि बाहिर आएका छन्। यसरी हेर्दा यो आत्महत्या नहुन पनि सक्छ। हुनसक्छ कुनै शक्तिशाली गिरोहले एक तीर दुई निशाना बनाएको होस्। एकातिर शालिग्रामलाई हत्या गरी झुण्ड्याइयो र अर्को तिर उसलाई झुण्ड्याउनु अगाडि तर्साएर रबि र अरुको विरुध्द बोल्न लगाएर भिडिओ खिचियो। हेरौं सम्बन्धित निकायले कतिको निष्पक्षताका साथ यो घटनाको छानबीन गर्दछ।

    Reply
  4. Pingback: नेताको नाम लिएर कोही मरे के हुन्छ? प्रतिवेदनमा कानुन दुरुपयोगको सम्भावना र नियन्त्रणका उपाय यस्तो « Mysansar
  5. chitra says:
    August 16, 2019 at 9:43 am

    घरि धेरै ऋण लग्यो भनेको छ घरि करोडौ को सम्पति छ भन्या छ कुरा बुझिन

    Reply
  6. Pingback: ‘सीधा कुरा’मा खाली कुर्सी, रवि लामिछाने पक्राउ, अबको कानुनी प्रक्रिया के? कहिलेसम्म हिरासतमा? « Mysansar
  7. Pingback: पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की पक्राउ « Mysansar
  8. Bibek kunwar says:
    August 15, 2019 at 7:08 pm

    8:47 who said “Kina?”. 100% edited video.

    Reply
  9. PP says:
    August 15, 2019 at 12:13 pm

    यो त जटिल कानुन पो रैछ | कोहि कमजोर मानसिकताको मान्छेले कसैलाई इर्श्या या रिस-इवी साधेर दुख दिनकै लागि आरोप लगाएर आत्म-हत्या गर्यो भने के हुन्छ ?

    सत्य तथ्य त प्रहरीको अनुसन्धानले ल्याउला, तर सरसर्ती हेर्दा घरमा २२-२३ बर्षकि श्रीमतीलाइ धोखा दिएर प्रेमिका लिएर हिड्ने, अनि प्रेमिकाले छोडेपछि डिप्रेसन भएको जस्तो लाग्यो | त्यसमाथि रवि लामिछानेले रिपोर्ट बनाएर श्रीमतीले थाह पाउली भनेर त्यो भन्दा पहिले नै मृत्यु रोजेको जस्तो लाग्छ | केटि भिडाएर फसाउन खोजे भन्ने आरोप् पनि फितलो छ, किन कि अरुले भिडाए नै भने पनि श्रीमतीलाइ छुपाएर अर्की केटि तिर लाग्नु नै सरासर नराम्रो कुरा हो |
    येसो हेर्दा रबि लामिछानेले यसबारेमा रिपोर्ट बनाए नै भने पनि कसूर नलाग्नु पर्ने | नत्र पत्रकारले कुनै नराम्रो काम गर्ने को बारेमा रिपोर्ट नै नगर्ने?

    Reply
  10. Pawan Raj Khanal says:
    August 15, 2019 at 10:15 am

    यो घट्नाकाे प्रकृति हेर्दा जस्ले शालिकरामलाइ मारे, उनिहरुलेनै शालिकराम लाई मार्नु अघि बाेल्न बाध्य पारेर मारेको हुनु पर्छ, धेरै ठुलो षड्यन्त्र गरेर रबि लाई फसाउन लागि परेका छन केही भ्रष्ट र माफियाहरू , यदि उनिमाथी अन्याय भको थियो भने उनी जिबित हुदै त्यसको प्रतिकार गर्न सक्ने हिम्मत भयको मान्छे हो।
    महिनाको एकलाख पचास हजारको कमाइ गर्ने मान्छे पन्ध्र हजार तलब मा किन गयो।
    ऋणको कारणले डिप्रेशनमा गाको भन्छ सुरूमा 18 हजार ऋणको किस्ता तिर्नु पर्छ रे पछि करोडौको सम्पती छ रे।
    भिडियोको 8 मिनेट ४७ सेकेन्ड तिर अर्को ब्यक्तिको आवाज र हात देखिनु ।
    मृत सरिरमा चोट हरु हुनु र शव झुण्डिएको भन्दा नि झुण्डाइएको जस्तो देखिनु। भयवित भयर बोल्नु जस्ता धेरै संकेत हरू छन सत्य तत्थ पत्ता लगाउन । video हेर्दा जबरजस्ती यातना दिएर सुनियोजित रूपमा बोल्न लगाए जस्तो देखिन्छ गम्भीर छानबिन होस अनायास कोहि फस्नु हुदैन कोहि उम्किनु पनि हुदैन।

    Reply
  11. Ajay Lopchan says:
    August 15, 2019 at 10:14 am

    सालीकरामको आखा हेर्नुहोला उनि स्क्रीन पडिरहेको छ उस्को आगडी लिखित स्क्रीन्छ ।

    Reply
  12. Saroj Baral says:
    August 15, 2019 at 10:13 am

    सालिकराम पुडासैनीको आत्महत्या गर्नुको कारण सहितको भिडियो भनेर नेपाल आजबाट सार्वजनिक गरिएको भनिएको भिडियोका बारेमा केही प्रश्नहरु:
    १. पुरै भिडियोमा उनी रुँदै बोल्नुको कारण ?
    २. बोल्दा एकपटक पनि क्यामेरा तर्फ नहेर्नुको कारण ?
    ३. बेलाबेला अगाडी यसरी हेरेको लाग्छ कि अगाडी कोही छ भिडियो खिच्दै गरेको ।
    ४. उसले रुँदै केही पढिरहेको अनुभुती हुन्छ ?
    अन्तिम तथा प्रमुख प्रश्न:
    ५. “मसँग त्यसको प्रमाणहरु अझै पनि छ, तर मैले केही गरिंन” नेपाल आजबाट सार्वजनिक गरिएको भनिएको भिडियोमा करिब ८ मिनट ५० सेकेण्ड तिर पुडासैनीले यसो भन्दैगर्दा “किन” भनेर प्रश्न सोध्ने व्यक्ती को हो ?
    उनले आत्महत्या गर्नु पहिले बनाएको भिडियोमा यो “किन” भनेर प्रश्न गर्ने व्यक्ती कसरी उपस्थित भयो ? यो आत्महत्या हो कि उनलाई कुटेर लिखित बयान पढ्न लगाइ हत्या गरियो ?
    यो किन र कुन प्रयोजनका लागि बनाइयो र उसको हत्या कसले गर्‍यो ? यो आत्महत्या त होइन जस्तो पो छ त ?

    Reply
  13. Eka Raj Agasti says:
    August 15, 2019 at 10:12 am

    नेपाल मा कानुन लाग्ने भनेको सामान्य मान्छे लाई मात्रै हो। केही समय अगाडि छवि र सिल्पा बिरुद्ध परेको बहु बिबाह को केसमा यदि छवि र सिल्पा साधारण मान्छे हुन्थे भने प्रहरी ले तेहि दिन पक्रीयर जेल मा कति यातना दिई सकेको हुन्थ्यो, यस्तै सालिकराम ले अर्को कुनै साधारण मान्छेको नाम लिएको भए तेहि दिन प्रहरी ले पक्रीएर उस्तै परे इन्काउन्टर नै गर्न बेर लगाउन्नथ्यो। छबी, रबि र शिल्पा हरु माथी अनुसन्धान कस्ले गर्ने?!!
    यस्को अर्थ फेरि ठ्याक्कै रबि र छवि दोशी नै हुन भन्न खोजेको चै होइन, मात्र हाम्रो प्रहरी प्रसासन ले गर्ने बेबहार कति फरक छ भन्ने कुरा हो।

    Reply
  14. Basanta Thapa Magar says:
    August 15, 2019 at 10:12 am

    धन र जन हुनेलाइ कानुन लाग्छ त ? भिड ,आन्दोलन र सडकले न्याय दिन्छ त ?
    नेपाली जन , दल , अदालत र सरकार यसको लागी निस्पक्ष र काबिल हुन सक्छन त ?

    Reply
  15. Surendra Limbu says:
    August 15, 2019 at 10:11 am

    I think ..pudasaine jo maryo uskai galti ho,why he wants to go Australia with a lady,what was happened with her and his relation and he afraid with Rabi lamichane …

    Reply
  16. Tulsi Jung Basnet says:
    August 15, 2019 at 10:10 am

    In the law of evidence, a dying declaration in common law nonetheless be admitted as evidence in criminal law

    Reply
  17. Shankar says:
    August 15, 2019 at 5:40 am

    नेपालि हरु अलि चर्चित भए , इमान्दार र अलि दयालु स्वाभाब का पनि होलान कि भन्ने लागेको थ्यो , तर रविको कुरा डोको जत्रो ठुलो भएपनि मान्छे चै धुर्त रहेछ | जेठी स्वास्नीलाई पनि एसले धो का दिएको हुन् सक्छ | मिडल इस्ट मा दुख मा परेको मान्छेको आवाज को सायद ब्यापार पो थ्यो कि ?
    प्रचण्ड को जनान्दोलन प्रदुसित भए झैँ भोलि धुर्मुस को समाज सेवा ब्यापार वा ढोंगी भएको चै सुन्न पनि न परोस र देख्न पनि न परोस , यहि कामना छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme