– आकाश,अस्ट्रिया –
समय साह्रै बलवान छ। त्यही समयलाई जित्न नसकेर म यो विदेशी भूमिमा बली चढे। म आफ्नो प्राण भन्दा पनि माया गर्ने मेरी धर्म पत्नीलाई धोका दिई र मेरी सानी छोरीको मुखमा काली पोती यहाँ अर्काको लोग्ने र बाउ बने। यहाँ बसोबास गर्न पाउने कागजपत्र कै कारण मैले बिहे गरे पनि, मैले यो कुरा कसैलाई रमाएर भन्न सक्दिन। मेरी यहाँकी श्रीमती भने निकै खुसी थिइन्, उनी आफ्ना बिहेका दिन साह्रै खुसी भएकी थिइन् रे, उनैले भनेको। जे होस मेरा कारणले उनले तेस्रो चोटि खुसी हुने मौका पाइन् र मलाई अहिले पनि कृतज्ञता प्रकट पनि गरी रहन्छिन्।
उनको र मेरो चिनजान फेसबुकबाट आज भन्दा चार वर्ष अगाडि भएको हो। जिन्दगीदेखि विरक्त लागेर एक दिन बेलुका पब गएको थिएँ, हुन त मलाई हरेक बेलुका जस्तो विरक्त लाग्थ्यो र त्यो दिन पनि अपवाद भएन। तर त्यो एक दिन चाहिँ विशेष नै भयो, मोबाइल चलाउँदै थिए एउटीले ‘हाई’ लेखी, हो त्यो दिनदेखि माछी बल्छीमा।
उसले सोझै भनी उमेर ४७, १ छोरा पहिलो पतिबाट अर्की छोरी दोस्रो पतिबाट र अहिले सिङ्गल। उसले यसरी सबै सत्य भन्छे भन्ने थाहा पाएको भए म के खाएर झुटो बोल्थे। आफू पहिलै जान्ने भएर अविवाहित भनिसकेको थिएँ। उ मलाई साँचीकै माया गर्छु भन्छे, म पनि त्यसै भन्छु। अब यो भन्देको मायालाई म कसरी धोका दिन सक्थे। धोका दिनलाई पनि पहिले त काम बन्नु पर्यो नि। बिहे गरेको दुई तीन वर्ष नबिती कहाँ काम बन्ने थियो र । कारण जे सुकै भए पनि तेती बेला म धोकेबाज हुन सक्दिन थिए।
उसले सबै कुरा साँचो भने पनि मेरा धेरै जसो कुरा झुटा थिए, न म यता साँचो बोल्न सक्थे न उता। उता पनि कागजको काम हुँदैछ, हुन साथ तिमी र छोरीलाई ल्याई हाल्छु भन्ने आश्वासन हरेक दिन जस्तो दिन्थे। यता आफ्नो चर्तिकला अर्कै छ, कामकाज केही थिएन दिन भरी घर कुर्यो। बेलुका भए पछि बुढीलाई माया ओइराएर रित्तियो। अनि सुत्यो। यो माया ओइराको भएर मात्र हो मलाई निन्द्रा पनि लागेको नत्र त जिउ थाके पो।
समय बित्दै गयो २ वर्ष, ३ वर्ष, बल्ल बल्ल कागज बन्यो तर यो २-३ वर्षको अन्तरालमा हामी नवविवाहित जोडी अब कहिल्यै नछुट्टिने गरी जोड्डी सकेका थियौँ। सुरुमा जे सुकै सोचेर सम्बन्ध अगाडि बढाए पनि, शरीर नजिक हुनुको साथै एक अर्काको भावना सँग पनि एकाकार गर्न सकियो र मायाहरू मध्यको पवित्र माया बस्न गयो। यो पवित्र माया सँग मैले मेरा साँचा कुराहरू भने। उनले पनि खासै नराम्रो मानिनन्। उनी पनि म देखी खुसी नै छिन, हामी एक अर्काको खुसीमा विशेष ध्यान राख्छौँ र यही कारणले हाम्रो उमेर धेरै फरक भए पनि सम्बन्ध निकै झाँगिएको छ।
तर मेरो मनले भने मलाई अपराधी घोषणा गरी सकेको थियो। त्यो अपराध बोधले भित्र भित्र म पिल्सिनै थिए। झ्याई झ्याई बाजा बजाएर ल्याएकी आफ्नी पहिली श्रीमतीको पहिलो रातले मेरा अहिलेका हरेक रातलाई गिज्याई रहेका छन्। यहाँ पो साँचो कुरा भने उता त साँचो कुरा गर्ने म सँग आँट नै कहाँ थियो र। बिहे पछि ४-५ वर्ष सँगै बसेर बिदेसिएको अहिले १० वर्ष पुग्दा पनि मेरै बाटो कुरेर बसेकी मेरी श्रीमतीका आँखाले मेरो मुटुका हरेक कुनामा छिया छिया पार्छन्। छोरी पनि अब त १३ पुगी। बुवा आउने दिन कुरेर आफ्ना आमाको पिडा सुनाउन आतुर भएर बसेकी होली तर उसलाई के थाहा उसका दाजु र दिदीहरू उसकी आमाका उमेरका छन् भन्ने। यो साँचो थाहा पाए पछि उसले पुरुष प्रति आफ्नो कस्तो धारणा बनाउँ छे होली? आफ्नो पतिव्रता आमाको पति अर्को पत्नी सँग सुतेको देख्दा उसको मनले के सोच्ला? के म उसको आँखा हेरेर बोल्न सकुँला? म उसको आदर्श र भावनाको दोषी हुँ र म उसकी आमाको अपराधी हुँ। अब प्रायश्चित गर्नेलाई भए पनि मैले मेरी छोरीलाई यहाँ बोलाउँदै छु, मेरो जीवन जस्तो भए पनि उसको जीवन राम्रो बनोस् भन्ने मेरो प्रमुख उद्धेश्य हो। मलाई थाहा छ उसले मलाई हरेक पल घृणा गर्छे र म त्यो घृणा सँगै हरेक क्षण मर्नेछु।
वीदेसीको सत्य कथा जो हार्मो आखाले सधै देखीरहेको छ। लेखकको आफ्नै जीवनमा नघटेको पनि हुनसक्छ तर पढने धेरै लाई मेरै कुरापो लेखे जस्तो लाग्ने छ।