डा.कमल राज सुवेदी
जण्डिस हुने थुप्रै कारणहरु मध्ये पित्त नलिमा अवरोध हुनु पनि एउटा प्रमुख कारण हो। साधारणतया पित्तरस कलेजोमा बन्छ। पित्तनलीको माध्यमबाट सानो आन्द्रामा जान्छ जसले खाएको खाना पचाउन मद्धत गर्छ। पित्त नलीमा अवरोध गराउने मुख्य दुई कारणहरु हुन्छन।
१. पित्तनलीमा ढुङ्गाबन्ने वा पित्त थैलीको ढुङ्गा नलीमा जाने।
२. पित्त नली साँघुरिने वा च्यापिने।
पित्तनलीमा ढुङ्गा भएमा माथिल्लो पेट दुख्ने, आँखा वा शरिर पहेलो भएर आउने, पिसाव गाढा पहेलो भएर जाने लक्षणहरु देखिन्छन्। त्यस्तै पित्तनली साँघुरिने वा च्यापिने भएमा केही समय देखी जन्डिस बढदै जाने, जिउ चिलाउने र पिसाव गाढा पहेलो हुने हुन्छ। तर, पेट दुख्ने साधारणतया हुदैन्। पित्तनली साँघुरिने कारणहरु चाहि नली सुन्निने, खत बस्ने अथवा पित्त नलीकै कारणले हुन सक्छ। पित्तनली च्यापिने कारण पित्त थैलीमा भएको ठुलो ढुङ्गाले, पित्तथैलीको क्यान्सरले वा प्यानक्रियाज क्यान्सरले हुन्छ। पित्तनलीको मुखको क्यान्सरमा पनि यस्तो लक्षण देखिन्छ।
यस्तो कुनै समस्या देखिएमा तुरुन्तै अपरेशन गर्नु पर्ने बाध्यतालाइ इआरसिपी (ERCP) प्रविधिले कम गरेको छ । इआरसिपी मुखबाट ईन्डोस्कोपी (Endoscope) पसाएर पेटको बाटो हुदै आन्द्रामा रहेको पित्तनलीको मुख (Ampulla) मा पुगिन्छ। अनि विभिन्न उपकरण प्रयोग गरी नलीको मुखलाई ठूलो बनाएर पित्तनलीको ढुङ्गा आन्द्रामा निकालिन्छ र रोग निको हुन्छ। नली साधुरो भएको भाग भन्दा माथि पर्ने गरी पाईप (Stent) राखिन्छ जस्को कारणले पित्तरसको (Bile) को बहाव सुचारु हुन्छ, अनि जन्डिस र दुखाई कम हुन्छ। यहि नै इआरसिपी गर्नुको उद्देश्य हो।
पित्तनलीको ढुङ्गा ठूलो भएमा त्यसलाई नली भित्रै फुटाएर वा नलीको तल्लो भागलाई तन्काएर ठूलो बनाई निकाल्न सकिन्छ। प्यानक्रियाजको समस्या भएका विरामीहरुलाई माथिल्लो पेट दुखिरहने, खाना नपच्ने समस्या हुन्छ। त्यस्तो विरामीका प्यानक्रियाजको नलीमा ढुङ्गा बन्ने र नली साधुरिने हुन्छ। त्यस्तो विरामीहरुलाई पनि इआरसिपी ले धेरै फाईदा गर्छ। प्यानक्रियाजको नलीको ढुङ्गा निकालियो वा त्यहा ‘स्टेन्ट’ राखियो भने यस रोगको लक्षणहरु कम हुन्छ।
इआरसिपी को सुरुवात कालमा यसको प्रयोग पित्तनली वा प्यानक्रियाजको नलीको रोग पत्ता लगाउन भए पनि अहिले यो सोही अंगहरुको उपचारको लागि मात्र प्रयोग गरिन्छ। यो प्रविधिमा पेट चिर्नु वा पेटमा प्वाल पार्नु पर्दैन । विरामीलाई अप्ठ्यारो नहोस भनेर साधारणतया इआरसिपी एनेस्थियाको प्रयोग गरी बेहोस बनाएर गरिन्छ। धेरैजसो अवस्थामा इआरसिपी गरे पछि केहि घण्टा अब्जरबेशनमा बसेर सोहि दिन घर जान सकिन्छ।
सुवेदी ह्याम्स अस्पतालमा कार्यरत छन्।