Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालको विश्वकप सपना समाप्त : यसरी चकनाचुर भयो २०२० को T20 विश्वकप खेल्ने योजना

Posted on July 28, 2019July 28, 2019 by Salokya

सन् २०१४ को जस्तै अर्को वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी २० विश्वकपमा नेपाली खेलाडीहरुलाई हेर्ने हाम्रो आशामा आजैदेखि पूर्णविराम लागेको छ।

विश्वकपसम्म पुग्ने बाटो अझै धेरै लामो थियो। तर खेल्न पाउने कि नपाउने भन्ने प्रश्नको जवाफ भने आजको सिङ्गापुरविरुद्धको खेलले दिन्थ्यो। यो खेल जित्यो भने नेपालको सम्भावना कायमै रहन्थ्यो, हार्‍यो भने अन्त्य। अन्ततः हार्‍यो। सपना चकनाचुर भयो।

नेपालले एसिया क्वालिफायरमा जम्मा चार वटा खेल खेल्नुपर्ने थियो। ओडिआइ वरियता प्राप्त नेपाल यो समूहमा सबैभन्दा राम्रो टिम थियो। त्यसमध्ये पहिलो खेल कतारसँग चार विकेटले हार्न पुग्यो। बाँकी दुई खेलमा भने मलेसिया र कुवेतविरुद्ध जित हासिल गर्‍यो।

अङ्क तालिकामा सिंगापुर ५ अङ्कसहित शीर्ष स्थानमा र नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा थियो।

विश्वकप क्रिकेटको संरचना फुटबलको जस्तो हैन। यसमा आइसिसीले कहिले के नियम लगाइदिन्छ कहिले के। एसिया क्वालिफायरमा पनि सुरुमा दुई वटा टिम छनौट हुने भन्ने थियो। तर पछि ग्लोबल क्वालिफायर प्रतियोगिताको होस्ट भएको नाताले युएई स्वतः छनौट हुने घोषणा गरिदियो। जसका कारण एसिया क्वालिफायरबाट जम्मा एक टिम मात्र ग्लोबल क्वालिफायरमा जाने भयो। त्यही एक स्थानका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल भिड्दै थियो।

तर महत्त्वपूर्ण खेलमा नेपालको प्रदर्शन निराशाजनक रह्यो। टस जितेर सिङ्गापुरले आफ्नै ग्राउन्डमा पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो।

ओपनर रोहनले नै ४९ रन ठोके। डेभिडले ७७ र मनप्रीत सिंहले ४२ रन बनाएपछि १९२ रनको विशाल लक्ष्य नेपालले पायो।

सन्दीप लामिछानेको जादू यो खेलमा पनि चल्न सकेन। ३ ओभर बलिङ गर्दा ३ छक्का र २ चौकासहित ३४ रनको चुटाइ भेटेका उनले एक विकेट पनि लिन सकेनन्। स्पिनरले चुटाइ खाइरहेको बेला शरद भेषावकरलाई बलिङ गर्न लगाएको पनि समर्थकले देखे। शरदले एक छक्का र एक चौकासहित ३ ओभरमा २५ रन दिए बिना कुनै विकेट।

नेपालको ब्याटिङ पनि निराशाजनक रह्यो। मात्र २७ रन बनाउँदा कप्तान पारस र ज्ञानेन्द्रको जोडी टुट्यो। पारस १२ मा फर्किए, ज्ञानेन्द्र ३९ मा। ऐरीले २३ रन बनाए पछि सोमपालले बाहेक अरु कसैले दोहोरो अङ्कमा पनि रन बनाउन सकेनन्। करण, सन्दीप र अविनाश त ० मा आउट भए। ५ ओभरको खेल बाँकी छँदै नेपाल १०९ रनमा अल आउट हुन पुग्यो।

अब अलि सकारात्मक कुरा पनि गरौँ न-

ठीकै भो, यस्तो हिसाबले विश्वकपमा गएर धेरै चुटाइ खानुभन्दा विश्वकप नपुगेकै जाति।

२०२० को विश्वकपमा सहभागी हुन नपाए के भो त, २०२१ मा भारतमा हुन लागेको च्याम्पियन्स ट्रफीलाई पनि आइसिसीले नगर्ने निर्णय गर्दै त्यसलाई T20 विश्वकपकै स्वरुप दिने भनेको छ। त्यसमा सहभागी हुने बाटो खोलिएला नि !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme