Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अस्ट्रेलियामा अर्को वर्ष हुने T20 विश्वकप क्रिकेट नेपालले खेल्न पाउला? बाटो टाढा तर जवाफ आइतबार

Posted on July 27, 2019 by Salokya

यसपालिको ट्वान्टी २० विश्वकप क्रिकेट नेपालले खेल्न पाउला?

विश्वकपसम्म पुग्ने बाटो अझै धेरै लामो छ। तर खेल्न पाउने कि नपाउने भन्ने प्रश्नको जवाफ भने भोलि आइतबार पाइनेछ। आइतबार खेल्न पाउने सम्भावना कायम रहने कि अन्त्य हुने भन्ने प्रश्नको जवाफ पाइनेछ।

भोलि नेपालले सिंगापुर विरुद्ध एसिया क्वालिफायरको अन्तिम खेल सिंगापुरमा खेल्दैछ। यो खेल जित्यो भने नेपालको सम्भावना कायमै रहनेछ, हार्‍यो भने अन्त्य।

नेपालले एसिया क्वालिफायरमा जम्मा चार वटा खेल खेल्नुपर्ने थियो। त्यसमध्ये पहिलो खेल कतारसँग चार विकेटले हार्न पुग्यो। बाँकी दुई खेलमा भने मलेसिया र कुवेतविरुद्ध जित हासिल गर्‍यो।

अङ्क तालिकामा सिंगापुर ५ अङ्कसहित शीर्ष स्थानमा र नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा छ। सिंगापुरसँग नै अन्तिम खेल भएकोले त्यो खेल जसले जित्यो उही विश्वकपको होडमा कायम रहनेछ।

विश्वकप क्रिकेटको संरचना फुटबलको जस्तो हैन। यसमा आइसिसीले कहिले के नियम लगाइदिन्छ कहिले के। एसिया क्वालिफायरमा पनि सुरुमा दुई वटा टिम छनौट हुने भन्ने थियो। तर पछि ग्लोबल क्वालिफायर प्रतियोगिताको होस्ट भएको नाताले युएई स्वतः छनौट हुने घोषणा गरिदियो। जसका कारण एसिया क्वालिफायरबाट जम्मा एक टिम मात्र ग्लोबल क्वालिफायरमा जाने भयो। त्यही एक स्थानका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल अहिले भिड्दैछ।

सिंगापुरविरुद्धको भोलिको खेल ड्र भएर वा पानी परेर रद्द भएर पनि पुग्दैन, नेपालले जित्नै पर्छ।

जित्यो भने के हुन्छ?
जित्दैमा अस्ट्रेलियामा सन् २०२० मा हुने विश्वकप खेल्न पाइने भने हैन फेरि। यो जितपछि फेरि अर्को क्वालिफायर खेल्नुपर्छ जसमा सबै महादेशबाट क्वालिफायर खेलेर जितेर आएका टिमहरु हुन्छन्।

यो आइसिसी टि २० विश्वकप क्वालिफायर युएईमा आगामी ११ अक्टोबरदेखि ३ नोभेम्बरसम्म हुँदैछ। १४ देशका टिम यसमा सहभागी हुनेछन् जसबाट मात्र ६ टिम विश्वकपका लागि छनौट हुनेछन्।

सहभागी हुने १४ देशमध्ये स्कटल्यान्ड, जिम्बाब्वे, नेदरल्यान्डस, हङकङ, ओमान र आयरल्यान्ड टि २० आई वरियता क्रममा ११ देखि १६ सम्म रहेका कारण स्वतः छानिएका हुन् भने युएई होस्टको नाताले छानिए।

बाँकी ७ टिम भने क्षेत्रीय प्रतियोगिताहरु जितेर सहभागी हुनेछन् जसमध्ये इस्ट एसिया प्यासिफिकबाट पपुवा न्युगिनी, अफ्रिकाबाट केन्या र नामिबिया र युरोपबाट जर्सी छनौट भइसकेको छ। एसियाबाट एक टिम आइतबार छनौट हुनेछ भने अमेरिकाबाट दुई टिम अगस्तमा हुने प्रतियोगिताबाट छानिने छ।


ग्लोबल क्वालिफायर जितेपछि के हुन्छ?
यो ग्लोबल क्वालिफायरको शीर्ष ६ टिममा परेपछि अस्ट्रेलियामा हुने विश्वकप क्रिकेटमा सहभागी त हुन पाइन्छ। तर त्यसको मतलब सीधै भारत वा पाकिस्तान जस्ता टिमसँग खेल्न पाइने भने हैन।

विश्वकपमा उनीहरुको छुट्टै वर्ग छ। सुपर १२ भनिने ग्रुप चरणमा उनीहरु यसअघि नै पुगिसकेका छन्। ग्रुप १ मा पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड र वेस्ट इन्डिज छन् भने ग्रुप २ मा भारत, इंग्ल्यान्ड, साउथ अफ्रिका र अफगानिस्तान छन्।

ग्लोबल क्वालिफायर जितेर आएका ६ टिमहरु विश्वकपको पहिलो चरणमा दुई समूह बनाएर श्रीलंका र बंगलादेशसँग भिड्ने छन्। प्रत्येक समूहका दुई दुई गरी चार वटा टिममात्रै सुपर १२ मा पुग्नेछन्।

सुपर १२ का दुई समूहका दुई शीर्ष टिमहरु सीधै सेमिफाइनलमा पुग्नेछन्। त्यसका विजेताले फाइनल खेल्नेछन्।

नेपालको विश्वकपको बाटो
नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टि २० विश्वकपमा खेलिसकेको छ। नेपाल क्रिकेटको यो अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो। त्यो विश्वकपमा नेपालको प्रदर्शन पनि सराहनीय थियो।

नेपालले पहिलो खेलमा हङकङलाई ८० रनले हराएको थियो। पहिले ब्याटिङ गर्दै नेपालले ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो भने हङकङलाई १७ ओभरमा ६९ रनमा अल आउट गरेको थियो।

दोस्रो खेलमा आयोजक बंगलादेशविरुद्ध पहिले ब्याटिङ गरी नेपालले ५ विकेटको क्षतिमा १२६ रन बनाएको थियो भने बंगलादेशले १५.३ ‌ओभरमै लक्ष्य प्राप्त गरी आठ विकेटको जित हासिल गरेको थियो।

अन्तिम खेलमा अफगानिस्तानविरुद्ध पहिले ब्याटिङ गरी ५ विकेटको क्षतिमा १४१ रन बनाएको थियो नेपालले। अफगानिस्तानलाई भने २० ओभरमा आठ विकेटको क्षतिमा १३२ रनमै सीमित पार्न सफल भएपछि नेपाल ९ रनले विजयी भएको थियो।

समूह चरणमा नेपाल र बंगलादेश दुई जित र एक हारसहित समान ४ अङ्कमा रहे पनि नेट रनरेटका आधारमा मात्रै बंगलादेश अर्को चरणमा पुगेको थियो।

के नेपालले त्यही इतिहास दोहोर्‍याउन सक्ला? दुई शर्त छन्-

त्यसको लागि सबैभन्दा पहिले आइतबार हुने सिंगापुरविरुद्धको खेल जित्नुपर्छ।

त्यसपछि युएईमा अक्टोबरमा हुने ग्लोबल क्वालिफायरमा राम्रो प्रदर्शन गरेर शीर्ष ६ टिममा पर्नुपर्छ।

भोलिको त्यो महत्त्वपूर्ण कहाँ हेर्न पाइन्छ त?

सिंगापुर क्रिकेट एसोसिएसनको फेसबुक पेजमा। यहाँ क्लिक गर्नुस्। खेल नेपाली समय अनुसार आइतबार बिहान ७:१५ मा सुरु हुनेछ। क्रिकइन्फोमा बलैपिच्छे अपडेट हेर्न यहाँ क्लिक गर्नुस्।

1 thought on “अस्ट्रेलियामा अर्को वर्ष हुने T20 विश्वकप क्रिकेट नेपालले खेल्न पाउला? बाटो टाढा तर जवाफ आइतबार”

  1. Yamraj says:
    July 27, 2019 at 11:06 pm

    Nepal will be win this seris

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme