Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अहिलेसम्म नभएको गजबको थ्रिलिङ विश्वकप फाइनल : खेल बराबर, सुपर ओभर बराबर, नियमले जितायो इंग्ल्यान्डलाई

Posted on July 15, 2019July 15, 2019 by Salokya


आइतबार मध्यरातसम्म तन्किएको इंग्ल्यान्ड र न्युजिल्यान्डबीच विश्वकप क्रिकेट फाइनलको लाइभ तपाईँले हेर्नुभयो? छुटाउनु भएको भए तपाईँले जीवनकै एउटा महत्त्वपूर्ण, रोमाञ्चक खेल प्रत्यक्ष हेर्न चुक्नुभयो।

अहिलेसम्मको विश्वकप क्रिकेटका कुनै पनि फाइनल खेल यति रोमाञ्चक र अनिश्चित थिएन। त्यसो त क्रिकेटलाई अनिश्चितताको खेल भनिन्छ। तर यति अनिश्चित पनि हुन्छ भनेर चाहिँ धेरैले अनुमानै नगरेको हुनुपर्छ। खेलको अन्तिम बल फ्याँक्दासम्म पनि कसले जित्ने हो कसले हार्ने, टुङ्गो लागेको थिएन।

५० ओभरको खेल बराबर भयो, जितहार छुट्याउन सुपर ओभर राखियो, त्यसमा पनि बराबरी भयो। अन्तिममा नियमले आयोजक इंग्ल्यान्डलाई विजयी बनायो। जितको मुखैमा पुगिसकेको न्युजिल्यान्ड उपविजेतामा सीमित भयो।

यो गजबको थ्रिलर खेलमा अन्तिम ओभरमा इंग्ल्यान्डलाई १५ रन आवश्यक थियो। दुई विकेट बाँकी थियो। म्यान अफ दि म्याच बेन स्टोक्स थिए सबैभन्दा बढी रन बनाएका। उनलाई साथ दिन आउनेहरु धमाधम आउट हुँदै थिए। संयोग के भने स्टोक्स जन्मिएका चाहिँ न्युजिल्यान्डमा।

अन्तिम ओभर बलिङ गर्दै थिए ट्रेन्ट बाउल्ट। पहिलो बलमा कुनै रन बनेन। अब ५ बलमा १५ रन आवश्यक।

दोस्रो बलमा पनि कुनै रन बनेन। अब ४ बलमा १५ रन आवश्यक। इंगल्यान्डको पराजय लगभग निश्चित देखिँदै थियो। तर त्यसपछि आयो टर्निङ।

तेस्रो बल योर्करमा स्टोक्सले एउटा घुँडा टेकेर यति पावरफूल ब्याट घुमाए कि बल मिड विकेटमाथिबाट उडेर सीधै छक्का बन्यो। अब ३ बलमा ९ रन आवश्यक रह्यो।

चौथो बलमा न्युजिल्यान्डको मिसफिल्डिङ र क्रिकेटको नियम घातक रह्यो। फिल्डरले हानेको बल स्टोक्सको ब्याटमा लागेर बलले बाउन्ड्री लाइन पार गर्‍यो, यता दुई रन बनिसकेको थियो। चार रन थप बनेपछि कूल ६ रन बन्यो। यो नै खेलको टर्निङ प्वाइन्ट रह्यो। अब २ बलमा ३ रन आवश्यक भयो।

पाँचौँ बलमा स्टोक्सले एक रन लिए तर अदिल रसिद रन आउट भए। अब २ बलमा २ रन आवश्यक भयो।

छैटौँ तथा अन्तिम बल। एक रन बनाए खेल बराबर भई सुपर ओभरमा जान्थ्यो। दुई रन बनाए जित। विश्वकप उचाल्न पाइने। अन्तिम बलमा स्टोक्सले एक रन लिए तर यो क्रममा मार्क वुड रन आउट भए।

५० ओभरको खेलमा न्युजिल्यान्डले २४१/८ बनाएको थियो भने इंग्ल्यान्डले सबै विकेट गुमाई २४१ नै बनायो।

अब सुरु भयो सुपर ओभर। सुपर ओभरको नियम अनुसार दोस्रो ब्याटिङ गर्ने टोली अर्थात् इंग्ल्यान्डले पहिलो ब्याटिङ गर्ने भयो।

पहिलो बल- ३ रन बन्यो।
दोस्रो बल- १ रन बन्यो। इंग्ल्यान्ड ४/०
तेस्रो बल- स्टोक्सले चौका ठोके। इंग्ल्यान्ड ८/०
चौथो बल- १ रन बन्यो। इंग्ल्यान्ड ९/०
पाँचौँ बल- २ रन बन्यो। इंग्ल्यान्ड ११/०
छैटौँ बल- बटलरले चौका ठोके। इंग्ल्यान्ड १५/०

जितका लागि न्युजिल्यान्डले १६ रन बनाउनु पर्ने भयो। हेर्नुस् त कस्तो संयोग। केही समय अघिसम्म अन्तिम ओभरमा इंगल्यान्डले १५ रन बनाउनु पर्थ्यो जितका लागि। मार्टिन गुप्टिल र जिमी निशम

पहिलो बल- आर्चरको बल वाइड। न्युजिल्यान्ड १/०। ६ बलमा १५ रन आवश्यक
पहिलो बल- दुई रन बन्यो। न्युजिल्यान्ड ३/० । ५ बलमा १३ रन आवश्यक
दोस्रो बल- निशमले छक्का ठोके। न्युजिल्यान्ड ९/० । ४ बलमा ७ रन आवश्यक
तेस्रो बल – दुई रन बन्यो। न्युजिल्यान्ड ११/० । ३ बलमा ५ रन आवश्यक
चौथो बल- दुई रन बन्यो। न्युजिल्यान्ड १३/० । २ बलमा ३ रन आवश्यक
पाँचौँ बल- १ रन बन्यो। न्युजिल्यान्ड १४/० । १ बलमा २ रन आवश्यक।

विश्वकप क्रिकेटको अन्तिम बल। यो बलमा १ रन बन्यो भने सुपर ओभर टाइ हुन्थ्यो र नियमका आधारमा बढी बाउन्ड्री हानेकोले इंगल्यान्डले जित्थ्यो। एक भन्दा बढी कुनै पनि रन बन्यो भने न्युजिल्यान्ड विजयी भई विश्वकप उचाल्न पाउँथ्यो।

अन्तिम बल आर्चरले गुप्टिललाई प्रहार गरे। गुप्टिलले डिप मिड विकेटमा बल पठाई दुई रन लिने प्रयास गरे। बल सीधै फिल्डरको हातमा पर्‍यो। त्यहाँबाट भएको थ्रो किपरतिर हान्दा राम्रोसँग पास भएको थिएन। तर किपरले बल समाते र बेल हुत्याइदिए। यता गुप्टिल कुद्‍दै आइरहेका थिए। तर उनको ब्याटले लाइन छुनुभन्दा अघि नै बेल उखालिसकिएको थियो। मतलब उनी रनआउट भइसकेका थिए।

अर्थात् सुपर ओभर पनि बराबर भयो। र, नियमका आधारमा इंग्ल्यान्ड विश्वकप विजेता बन्न पुग्यो। इंग्ल्यान्डले २६ वटा बाउन्ड्री हानेको थियो भने न्युजिल्यान्डले १७।

इंगल्यान्डले पहिलो पटक विश्वकप जित्यो। अब अर्को विश्वकप सन् २०२३ मा भारतको मुम्बईमा आयोजना हुनेछ।

खेलको हाइलाइट्स

2 thoughts on “अहिलेसम्म नभएको गजबको थ्रिलिङ विश्वकप फाइनल : खेल बराबर, सुपर ओभर बराबर, नियमले जितायो इंग्ल्यान्डलाई”

  1. राजु आचार्य says:
    July 15, 2019 at 10:07 am

    म भएको भए दुवै टिम फस्ट हुन्थे ! न्युजिल्यान्डको खेल राम्रो , इंगलैंडको भाग्य राम्रो ! मजा आयो खेल हेर्दा l

    Reply
  2. ध्रुव says:
    July 15, 2019 at 2:14 am

    क्रिकेटलाई पनि ठाउँ दिनुभएकोमा धन्यवाद ।
    It was indeed a great match to witness. Such a nerve wrecking moments. Congratulations to both of team for making cricket alive.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme