Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सयौँ यात्रुलाई दिनभर अलपत्र पार्ने यति एयरको त्यो जहाज, चार वर्षअघि पनि जोगिएको थियो दुर्घटनाबाट

Posted on July 12, 2019 by Salokya


चिप्लिएको जहाजलाई तानेर पार्किङमा लग्दै। फोटो साभार : कान्तिपुर

बिहान ११ बजेतिर नेपालगन्जबाट काठमाडौँ ल्यान्ड गरेको यति एयरलाइन्सको एउटा जहाज ठूलो दुर्घटनाबाट जोगियो। रनवेबाट चिप्लिएर घाँसे मैदानमा गएको र तीन जना यात्रु सामान्य घाइते मात्र भएको र सबैको सकुशल उद्दार गरिएको सुन्दा यसले खासै धेरै असर नपारेको जस्तो लाग्न सक्छ। तर होइन, यो जहाजका कारण दिनभर सयौँ यात्रुले दुःख पाए।

रनवेको थ्रेसहोल्डबाट करिब १२८० मिटरको दूरीमा रनवेको दक्षिण पूर्वतर्फ चिप्लिएको थियो जहाज। त्यस कारण रनवेमा प्लेन उड्न र अवतरण गर्न बाधा पर्ने भयो।

बिहान ११ बजेदेखि बन्द भएको नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल जहाज समयमै तानेर ठाउँमा राख्न नसक्दा ८ घण्टा बन्द भयो। ८ घण्टासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा न कुनै डोमेस्टिक जहाज उड्यो न ल्यान्ड गर्‍यो। त्यस्तै न कुनै अन्तर्राष्ट्रिय उडान भयो न ल्यान्ड भयो। विमानस्थल खुल्छ भनेर आकाशमा फन्को लगाइरहेका जहाजहरु अन्यत्रै डाइभर्ट हुन बाध्य भए।

आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल पुगेका सयौँ यात्रुहरु अलपत्र परे। विमानस्थलले सुरुमा २ बजेसम्म त्यसपछि ५ बजेसम्म नोटाम जारी गरेको थियो। अहिले खुल्ला कि भरे खुल्ला कि भनेर सयौँ यात्रु विमानस्थलमा कुरिरहेका थिए। उनीहरुको बिजोग खासै कुनै मिडियाको आँखामा परे जस्तो लागेन।

यसअघि टर्किस एयरको जहाज यसरी नै रनवेमा चिप्लिँदा केही दिनसम्म अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुन पुगेको थियो। त्यतिबेला जहाज हटाउन भारतबाट सहयोग मगाउनु परेको थियो।

त्यो घटनाबाट पाठ सिक्नु पर्ने हो। तर अहँ। यस पटक पनि जहाज तानेर समयमै छेउमा राख्न नसक्दा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल घण्टौँ बन्द भयो। नेपाली सेना, प्रहरी, बुद्ध एयर, नेपाल वायुसेवा निगम र यति एयरलाइन्ससहित मिलेर बल्लतल्ल साँझ ६ बजेर ४० मिनेटमा जहाज तानेर पूर्वतर्फको रिमोट पार्किङमा लगियो। त्यसपछि सरसफाइ र आवश्यक चेकजाँच गरी ७ बजे बल्ल विमानस्थल खुला गरियो।

दोस्रो विज्ञप्ति-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयले विमान दुर्घटनामा तीन जना सामान्य घाइते भएको र अरुको उद्दार गरिएको भन्दै सुरुमा निकालेको आधिकारिक विज्ञप्ति-

यस्तो छ १२ वर्ष पुरानो जहाजको कुण्डली

दुर्घटनाबाट जोगिएको यति एयरलाइन्सको यो जहाजको कुण्डली निकाल्न मन लागेर खोजी हेर्दा थाहा भयो, यसअघि ताइवानमा पनि एउटा दुर्घटनाबाट जोगिएको भाग्यमानी जहाज रहेछ यो। F-WQNC कल साइनमा यो जहाजले पहिलो उडान २००७ को मे १२ मा गरेको थियो। अर्थात् यो १२ वर्ष पुरानो जहाज हो।

यति एयरलाइन्सले यो जहाज २ वर्षअघि मात्रै नेपाल भित्र्याएको हो। 9N-AMM कल साइन राखेर नेपालमा यो जहाज यतिले उडाउँदै आएको छ। Nordic Aviation Capital (NAC) बाट लिज फाइनान्स गरेर यतिले यो जहाज नेपालमा ल्याएको हो। NAC को स्वामित्वमा रहँदा यो जहाजको कलसाइन 2-TPAJ थियो। विश्वमै सबैभन्दा बढी एटिआर र बम्बार्डियर विमान भएको कम्पनी हो NAC। डेनमार्कमा मुख्य कार्यालय भएको NAC सित यतिले दुई वटा यस्तो जहाज लिजमा लिने सम्झौता सन् २०१७ मा भएको थियो।


यतिले किन्नुअघि NAC को स्वामित्वमा यो जहाज यस्तो थियो।

NAC ले किन्नुअघि झण्डै १० वर्ष यो विमान ट्रान्सएसिया एयरवेजले उडाएको थियो। ताइवानको यो एयरलाइन्स टाट पल्टिएर सन् २०१६ मा बन्द भइसक्यो।

ट्रान्सएसिया एयरवेज कै स्वामित्वमा रहँदा चार वर्षअघि पनि यो जहाज एउटा ठूलो दुर्घटनाबाट जोगिएको थियो। ट्रान्सएसियाको स्वामित्वमा रहँदा यो जहाजको कलसाइन थियो-B-22811


यतिले उडाउनुअघि १० वर्ष ताइवानमा यस्तो लिभरीसहित उडेको थियो यो जहाज। फोटो : प्लेनस्पटर्स

सन् २०१५ को सेप्टेम्बर ९ तारिखका दिन ताइपेइ सोङसानबाट ताइवानको माकुङतर्फ उडान गर्दैगर्दा जहाजमा २२ यात्रु र चार चालक दलका सदस्य थिए। उड्दै गर्दा क्रुले दायाँ इन्जिनमा ओयल प्रेसर र ओयल क्वान्टिटी इन्डिकेसन्स एब्नर्मल देख्न पुग्यो। त्यसपछि तत्काल इन्जिन सटडाउन गरियो। त्यसपछि माकुङमा जहाजलाई सुरक्षित अवतरण गरियो। यो जहाजमा दुई वटा Pratt & Whitney PW127 इन्जिन हुन्छ। त्यसैले एउटा इन्जिन सटडाउन गरिए पनि अर्को इन्जिनको भरमा अवतरण गरिएको थियो।

पछि इन्जिनबाट इन्जिन ओयल लिक भएको रिपोर्ट एयरलाइन्सले दिएको थियो। ताइवानको नागरिक उड्डयन प्राधिकरणले घटनाबारे छानबिन गरेको थियो।

1 thought on “सयौँ यात्रुलाई दिनभर अलपत्र पार्ने यति एयरको त्यो जहाज, चार वर्षअघि पनि जोगिएको थियो दुर्घटनाबाट”

  1. प्रविण says:
    July 14, 2019 at 10:51 am

    यति एयरलाईन्सले बिमानको टायर समयमा बदली नगरेर पनि चिप्लिएको हुन सक्छ । विज्ञहरु सहितको उच्चस्तरिय छानविन समिति बनाएर कडा कारवाही गर्नु पर्ने आवश्यकता ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme