Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विप्लवलाई समेत टेन्सन दिने गरी आज बन्दको घोषणा गर्ने ‘कमरेड नेपाल’ को? चियापानमा चुटाइ खाने मान्छे?

Posted on July 7, 2019July 7, 2019 by Salokya


मर्निङ वाक जाने क्रममा आज बिहानै गाइबाच्छा पाटीनिर हतियारसहित दुई प्रहरी देखेपछि सँगै हिँड्ने साथीले आज नेपाल बन्द भएको बताएका थिए। असार १३ गते पहिलोपोस्टबाट विदा लिएपछि समाचारहरु खासै हेरिएको छैन। तर सोसल मिडिया त हेरिरहेकै थिएँ। नेपाल बन्दको कुरा त थाहा भएन मलाई। कसले गरेको भनेर सोध्दा ‘विप्लवले’भन्ने जवाफ आयो। मलाई विश्वास लागेन। तर मैले थाहा नपाएको पनि हुनसक्छ जस्तो लाग्यो। घर आएर खोजी हेर्दा पो थाहा भयो, यो बन्दले त विप्लवलाई समेत टेन्सन दिएको रहेछ। अनि बन्द घोषणा गर्ने विप्लव नभएर ‘कमरेड नेपाल’ रहेछन् जुन कमरेडले नेकपाको चियापानमा चुटाइ खाएका थिए।

नेत्रविक्रम चन्द उर्फ विप्लव नेतृत्वको पार्टीले माओवादी नाम छाडेको धेरै भइसक्यो। उनको पार्टीको नाम हाल केपी ओली र प्रचण्ड दुई अध्यक्ष रहेको पार्टीकै जस्तो नाम हो। अर्थात् नेपाल कम्युनिस्ट पार्टी। विप्लवको पार्टी निर्वाचन आयोगमा दर्ता छैन। तर ऋषि कट्टेलले भने दर्ता गरेका छन्। त्यसैले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाम राखेर पार्टी दर्ता भयो एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीको। ध्यान दिनुस् है उनीहरुको नाम स्पेस राखिएको (ने क पा) हो। विज्ञप्तिमा हेर्नुस्।

तर अझै पनि माओवादी भन्ने बित्तिकै विप्लव नै बुझिन्छ। विप्लव माओवादी चलेको नाम। बन्द सन्द गर्ने हैसियत यिनको बाहेक अरुको हुन्न भन्ने आम बुझाइ छ।

त्यसैले नेपाल कम्युनिस्ट पार्टी माओवादी लेखिएको यस्तो विज्ञप्ति सोसल मिडियामा देख्ने बित्तिकै धेरैले विप्लवलाई नै सम्झिए।

तर हैन, यो विप्लवले आयोजना गरेको बन्द हैन। विप्लव माओवादीको आधिकारिक समाचार थाहा पाउन दुई वटा वेबसाइट हेरे हुन्छ। एउटा हो सञ्चार केन्द्र, अर्को इरातोखबर।

सञ्चार केन्द्रमा आइतबार कसको आयोजनामा हुँदैछ नेपाल बन्द?  विप्लव नेतृत्वको नेकपाले भन्यो- हाम्रो बन्द छैन शीर्षकको समाचार छ। त्यसैगरी इरातोखबरमा २२ गते नेपाल बन्द होइन : नेकपा शीर्षकमा समाचार छ।

दुवै समाचारमा नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवलाई उद्‍‍धृत गरिएको छ। उनले नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते नेपाल बन्द आयोजना गरेको भन्दै विभिन्न अनलाइन सञ्चारमाध्यमले प्रेषित गरेको समाचारप्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको, २२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना नगरेको तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको उल्लेख छ।

जस्तै यो एउटा वेबसाइट हेर्नुस् जनबोली डट कम-

यसमा तोकेरै विप्लव नेतृत्वको नेकपा माओवादी पश्चिम केन्द्रका इन्चार्ज लेखिएको छ। आजभोलि एक घर एक अनलाइन बराबर छ। प्रेस काउन्सिलको वेबसाइटमा हेर्ने हो भने सूचना विभागमा दर्ता भएका अनलाइनहरुको संख्या जेठ मसान्तसम्म १ हजार ७ सय ३१ वटा छ। जनबोली त्यसैगरी सूचना विभागमा नै दर्ता भएको अनलाइन हो।

उसको वेबसाइटमा सम्पर्क ठेगानाहरु पनि खुलाइएको छ। तर विषयवस्तु बारे थोरै पनि जानकारी नभएकोले चलाएको अनलाइन कस्तो हुन्छ र त्यसले कस्तो भ्रम छर्छ, माथिको समाचारबाटै थाहा हुन्छ।

अझ अर्को एउटा उदाहरण देखाउँछु म तपाईँलाई। सरकारले पोर्न साइट ब्यान गरेको छ, तर सूचना विभागमा दर्ता भएको अनलाइनमा समाचार छापिन्छ- साली ! तिम्रो बुबु मेरो मुखमा देउ, म पनि चुस्दै गर्छु, त्यो रात भिनाजुले भन्नुभयो।

यो देखेपछि अत्ति भयो। अनि प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई फेसबुक मेसेन्जरमा पठाइदिएँ। काउन्सिलले स्पष्टिकरण सोधेछ र त्यो पोर्न कन्टेन्ट हटाएर ‘आगामी दिनमा यस्तै भेटिए कारबाही भोग्न तयार छु भनेर दिएको स्पष्टिकरण राखेछ। हेर्नुस् लिङ्क।

त्यो देखेपछि मैले फेरि दुई वटा लिङ्क उहाँको मेसेन्जरमा पठाइदिएँ।

केही दिनसम्म त्यो अश्लील सामाग्री जस्ताको तस्तै थियो। अहिले भने हटाइएको छ।

कस्तो खालको सामाग्री थियो थाहा पाउने मन भए अर्काइभमा भेटिन्छ। यहाँ क्लिक गरी हेर्नुस् एउटा अनि यहाँ अर्को (तर सावधान यो निकै अश्लील सामाग्री हो)

यसको दर्ता खारेज गर्ने खालको कुनै कारबाही भएको अहिलेसम्म मैले थाहा पाएको छैन। दर्तावालालाई साइबर क्राइम अर्थात् विद्युतीय कारोबार ऐन नलाग्ने सहमति छ क्यार। अर्थात् लाइसेन्सवाला बन्दूकले मार्‍यो भने कानुन नलाग्ने, लाइसेन्सवाला नभए चाहिँ लाग्ने खालको व्यवस्था छ अचेल। त्यो वेबसाइटमा अरु के कस्ता सामाग्री अझै छन् खोज्ने काम अब प्रेस काउन्सिलको हो, मेरो हैन भनेर छाडिदिएको छु।

फेरि अघिकै प्रसंगमा जाउँ। यो वेबसाइट हेरौँ मिडिया डबली।

यो पनि सूचना विभागमा दर्ता भएको र प्रेस काउन्सिलमा सूचीकरण भएको वेबसाइट हो। यसमा त स्वास्थ्य मन्त्रालयको विज्ञापनसमेत छ। त्यसमा पहिलो वाक्यमै लेखिएको छ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले असार २२ गते नेपाल बन्द आह्वान गरेको छ। जबकि मुनि राखिएको विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी माओवादी लेखिएको छ र अध्यक्षमा कमरेड नेपाल लेखिएको छ।

सूचना विभागमा दर्तावाला वेबसाइटका हर्ताकर्ताहरुलाई यतिसम्म पनि ख्याल भएन कि विप्लवको पार्टीको नाममा माओवादी जोडिएको छैन र उनको पार्टीमा कमरेड नेपाल नामको कुनै अध्यक्ष छैन। यस्तो जथाभावी लेख्नेहरुलाई समेत सरकार अनलाइन मिडियाको प्रमाणपत्र दिएर वैधानिकता दिँदै बसेको छ।

अब दर्तावाला वेबसाइटहरुको त हालत यस्तो छ भने फेसबुकमा यो कति फैलियो होला, अनुमान लगाउनै सकिन्न।

बन्द जस्ता समाचार नराख्ने खालको नीति लागू गर्नुपर्नेमा झन् बुझ्दै नबुझी आतंक मच्चाउँदै प्रचार गर्ने काम यी अनलाइनहरुले गरिरहेका छन्।

को हुन् बन्द गर्ने कमरेड नेपाल?

यो बन्द गर्ने मान्छे चाहिँ को रहेछ त भनेर खोज्न थालेँ। धेरै अनलाइनहरुमा पश्चिम केन्द्रीय कमान्डका कमरेड प्रताब लेखिएको विज्ञप्ति थियो। त्यो विज्ञप्तिमा भएका शब्दहरुबाट सर्च गर्दै जाँदा ब्लगस्पटमा खोलिएको यो साइट भेटियो। यसमा खोज्दै गएको त अप्रिल ९, २०१९ मा पहिलो सामाग्री पोस्ट गरेको भेटियो। लेखिएको रहेछ- माओवादीले खुलायो जनमुक्ति सेना भर्ना राष्ट्रियताको रक्षाका लागि जनमुक्ति सेना आबस्यक रहेको ठहर!

यसमा कमरेड नेपाल अध्यक्ष, कमरेड आकाश जनमुक्ति सेना नेपाल कमान्डर र कमरेड पर्वत जनसत्ता प्रमुख लेखिएको रहेछ। अरु विभिन्न विज्ञप्तिहरु पनि छन् त्यसमा। पारा हेर्दा कमरेड नेपाल नामका अध्यक्षले नै यो चलाएको जस्तो देखिन्छ।

यो सामाग्री भएको ब्लगस्पटको प्रोफाइल हेर्दा यति वटा ब्लगस्पट साइट खोलेको देखियो।

  • Nepal news
  • क्रान्तिका आवाज
  • आवाज
  • sangarsa
  • Rajniti.com

यी सबै ब्लगहरु इमेल [email protected] बाट खोलिएको हो। मतलब सुरेश खनाल नामका व्यक्ति यसमा संलग्न छन्।

किन यो व्यक्तिलाई यस्तो उपद्रो गर्न मन लाग्यो त? जुलाई ३ मा अर्थात् अघिल्लो बुधबार कमरेड नेपालले विप्लवलाई खुलापत्र लेखेर फोटोसहित हालेका छन्। त्यसमा केही कुरा खुल्छ। पत्रमा उनले लेखेका छन्-

सामन्ती शासनबाट मुक्ति पाउन जनताको गाँस बास कपासको ग्यारेण्टी गर्न भनी २०५२सालमा कमरेड प्रचण्डको नेतृत्वमा हतियार उठायौं त्यतिखेर म सानै थिएँ म जति नै बढ्दै गए  माओवादी आन्दोलन जनयुद्ध तीव्र गतिमा अगाडि बढिरहेको थियो गाउँगाउँमा आफ्नै किसिमको रौनक्ता थियो।

 

 
माओवादी शान्तिपूर्ण मूलधारमा आयो। असन्तुष्टि देखियो। यसको झलक उनको पत्रमा पाइन्छ-

प्रचण्डको नेतृत्वले माओवादी आन्दोलन सखाप बनायो। माओवादीलाई डलरसँग बेचेर खाएको भन्दै तपाई (विप्लव) कमरेड किरणको नेतृत्वमा पार्टी पुनर्गठन गर्न सक्रियताका साथ लाग्नु भयो। हामी साथमै छौं कमरेड किरणको नेतृत्वमा पनि पार्टी केही समय टिक्यो तर त्यहाँबाट पनि देश र जनताको भविष्य नदेखेपछि दाई तपाईले पार्टीलाई फेरि पुनर्गठन गर्न अगाडि आउनु भो तेस्मा पनि हामी खुसी नै थियौं।

पत्र पढ्दा उनको कलिलो दिमाग प्रचण्डले त्यतिबेला राम्रैसँग भुटेको र त्यसपछि प्रचण्डलाई नै गद्दार ठानेर सुरुमा वैद्यसँग र त्यसपछि विप्लवसित लागेको बुझिन्छ। तर विप्लवसँग पनि उनको मोहभंग चाहिँ कसरी भयो त? रोचक छ कुरा। पत्रको सम्पादित अंश पढ्नुस्-

थवाङको बन्दसत्रमा नै नेपालमा माओवादीको अन्त्येष्टि गरियो। यसमा म खुसी थिएन र मेरो आपत्ति थियो हामीले १० वर्ष जनयुद्ध गरेर माओबादी नाम जनताको मनमस्तिष्कमा बसेको प्रेमलाई चटक्क चुडाउनु भयो। हलमा केही कमरेडहरुले विरोध पनि गर्नुभयो तर पार्टीको नाम परिवर्तन भयो।

रोल्पाको थवाङमा भएको महाधिवेशनपछि विप्लव नेतृत्वको पार्टीले आफ्नो नामबाट माओवादी हटाएको थियो।

पत्रमा अगाडि छ-

‘थवाङमा मैले वैज्ञानिक समाजवादी क्रान्तिको बारेमा पार्टीको नाम परिवर्तनको बारेमा तपाईंलाई पत्र कोरेको थिएँ तर त्यो पत्र हजुरलाई उपलब्ध गराउन दिइएन। मैले पहिलेदेखि नै वैज्ञानिक समाजवादी व्यवस्था क्रान्ति बारेमा वकालत गरिरहेको थिएँ तर धेरैलाई मन परेन। थवाङबाट काठमाडौ फर्किए पछि यी विचारले मेरो हृदय पोलेको थियो। र लाजिम्पाटको क्याम्पबाट म बाहिर निस्किएर बसपार्कको कुनै होटलमा बसिरहेको थिएँ। म निस्केपछि क्याम्पबाट र पार्टीबाट अन्य थुप्रै कमरेडहरू पनि निस्किनु भएछ। र मेरै व्यवहारबाट अरु गए भनेर मेरो खोजी कार्य भयो र मध्यराति १२बजे करिब ४०-५० जना कमरेडहरुले गिरफ्तार शैलीमा उठाएर लाजिम्पाट पुर्याउनु भयो। मैले माइला लामा दाजुसँग भेट्छु, कुरा गर्छु, मैले के गरेको छु र मलाई यसो गरियो भन्दा उल्टो मलाई भौतिक कारबाही गरियो। म आफैँ संघर्षरत भएर बनाएको क्याम्प मै मैले पकाएर खाना खुवाएका कमरेडहरुले मलाई नै कार्वाही गर्नु भयो। तर मेरो कमजोरी थिएन। मसँग भएका मेरा सर्टिफिकेट अन्य प्रमाण पत्रहरु मोबाइल जफत गरियो।’

विप्लवसँग मोहभंग हुनुको कारण त विप्लवका कार्यकर्ताहरुले भौतिक कारबाही गरेकोले पो रहेछ। चित्त नबुझ्नुको कारण चाहिँ नाम माओवादी हटाउनु हुन्न भन्ने मात्र रहेको पत्रबाट बुझिन्छ।

पत्रमा अगाडि लेखिएको छ-

पहिलेदेखि न‌ै पार्टी भित्र वैज्ञानिक समाजवादका कुन‌ै कुरै थिएन मैले यो कुरा विभिन्न अभियानहरुमा गरेको थिएँ कि नेपालमा बैज्ञानिक समाजबादी ब्यबस्था ल्यानु पर्छ। मलाई कारवाही गरेका कमरेडहरुले पछि रत्नपार्कमा भेटेर माफी माग्नुभयो र केही समय पछाडि पार्टी छोड्नु भयो। मैले त्यतिखेर सोधेको थिएँ मलाई किन कारबाही गरियो र उहाहरुको जवाफ माथिको निर्देशन थियो तर तपाईले उठाएको कुरा ठिक छ भन्नुभयो। मसँग नाम जोडिएका कमरेडहरु त अझै पनि तपाईंहरू सँगै हुनुहुन्छ। त्यसपछि मैले निर्णय लिएँ कि मान्छे सानो भएर केही गर्दैन, विचार महान हुनुपर्छ भनेर अन्त्येष्टि गरेको पार्टीलाई जीवित गरेको हुँ।

यसले देखाउँछ, प्रचण्ड नेतृत्वको माओवादीले कलिलो दिमाग कसरी भुटेको थियो र अहिलेसम्म त्यसको असर कसरी परिरहेको छ। विप्लवलाई समेत अटेर गर्ने फुच्चेहरु निस्किसके। जो माओवादी पार्टी जीवित गराउँछु भन्दै हिँडिरहेका छन्। यो फुच्चेलाई वैज्ञानिक समाजवाद भनेको के नै थाहा होला र। जति दिमागमा उनीहरुले घुसाए, त्यही त होला। अस्ति एक जनाले भन्दै थियो- सोभियत संघ त एउटा धारामा पानी, अर्कोमा रक्सी आउँथ्यो। त्यति सम्पन्न थियो साम्यवादी व्यवस्था। जनता सुखी थिए। तर धोका दिएर सोभियत संघ टुक्राए।

पत्रमा अझ अगाडि लेखिएको छ-

तर मैले जुन विचार लिएको थिए वैज्ञानिक समाजवादी क्रान्ति भनेर त्यो त अक्टोबर क्रान्तिको १०० औँ वार्षिकोत्सवका दिन खुल्ला मञ्चमा ठुलै अक्षरमा लेखेको देख्दा मलाई अचम्म लाग्यो कि मलाई सामान्य मानेर हेपिएको रहेछ यदि त्यही हुनुपर्ने थियो भने मलाई कारवाही किन गरियो होला? (यस भित्रका धेरै कुरा मैले खुलाउन चाहेको छैन)।

तपाइँहरु निरन्तर बढ्नुभयो मैले पनि संघर्ष गर्दै पार्टीलाई विभिन्न पार्टीसँग एकता गर्दै अगाडि बढाएर अहिलेसम्म नेकपा माओवादीको अस्तित्व राखेको छु हाम्रा विभिन्न कार्यक्रमहरुमा दुवैतर्फ संघर्ष भएका छन् हामीले तपाईहरु लाई सम्मान‌ै गरेका छौं अप्ठ्यारोमा बोलेकै छौं तर कमरेड तपाईंहरूले हामीलाई दुष्मनको ब्यबहार गरे जस्तो महसुस भएको छ। एउटा क्रान्तिकारी शक्तिले अर्को क्रान्तिकारी शक्तिलाई सहयोग गर्नुपर्नेमा उल्टो सत्तामा बस्ने दलालहरु जस्तो व्यवहार को अनुभूति भएको छ। हामी कमजोर भएर यो कुरा गरेको होइन के गर्ने के नगर्न त्यो सबै तपाईं बाटै सिकेका छौ तर बाटो बिराउने छैनौ सानो ठूलो हुन्छ भने ठुलो सानो पनि हुन सक्छ। जे सिकाउनु भयो त्यहि पालना गरेका छौ।

हामीले गरेका कार्यक्रम होइन भन्ने उल्टो व्याख्या गरिदिने के हो उचित हो त कमरेड त्यसैले अहिले सैद्धान्तिक राजनीतिक विचारहरु नमिलेकै कारण हामी अलग-अलग छौं कमरेड तपाईं हरु हाम्रो गुरु हुनुहुन्छ हामी सम्मान गर्छौं एक न एक दिन नमिलि सुखै छैन जबकि अहिले हामी धेरै भिन्नता मा रहेका छैनौं देश र जनताले परिवर्तन खोजेका छन् क्रान्ति चाहेका छन् गुलामबाट मुक्ति हुन चाहेका छन् एक अर्कालाई दोषारोपण भन्दा पनि एक भएर अगाडि बढ्नु उत्तम हुनेछ कमरेड धेरै कुरा खुलाएको छैन नितान्तै भावनात्मक बर्गिय नाता सम्बन्धका आधारमा छोटकरीमा हृदयका कुरा लेखेको छु धेरै विषयमा बोल्नु थियो तर अहिलेलाई त्यतिमात्रै सम्प्रेषण गरेको छु।

पत्रमा भएको फोटो यो थियो।

यो फोटो देखाएर साथी विधुर ढकाललाई सोधेँ- चिनेको हो?

यो त नेकपाको चियापानमा चुटाइ खाने मान्छे हो, विधुरले भन्यो।

भृकुटी मण्डपमा गएको कार्तिक १० गते सत्तारुढ नेकपाले चियापान समारोह आयोजना गरेको थियो। त्यो चियापानमा नेकपा असन्तुष्ट समूह लेखिएको पर्चा छर्ने क्रममा एक व्यक्तिले चुटाइ भेटेका थिए।

हेर्नुस् त्यतिबेलाको भिडियो-

पछि त्यो व्यक्तिले विज्ञप्ति जारी गरी ,‘(ने क पा)असन्तुष्ट समूहको केन्द्रीय संयोजक भएको नाताले मेरै नेतृत्वमा करिब १० जनाको समूहले स्वतः स्फूर्त रुपमा कार्यक्रम स्थलको विभिन्न भागमा पर्चा वितरण गरेको हो र यसै क्रममा पर्चा वितरण गर्दै गर्दा केही अपराधिक मानसिकताले ग्रसित युवाहरुको समूहले ममाथि मुक्का र लात्ताले आक्रमण गरी बेइज्जतीपूर्ण रुपमा कार्यक्रम स्थलबाट बाहिर निकालेको कुरा पनि सत्य हो’ भनेका थिए। त्यसमा उनले आफ्नो नाम लेखेका थिए- युवराज पौडेल ‘सफल’।

भनेपछि कमरेड नेपालको परिचयका लागि दुई नाम आए, वेबसाइटमा विज्ञप्ति राख्दा प्रयोग भएको इमेलको आधारमा नाम सुरेश खनाल र फोटोको आधारमा पहिचान भएको चियापानमा चुटाइ खाएपछि निस्किएको विज्ञप्तिमा भएको नाम युवराज पौडेल ‘सफल’।

बन्द घोषणा गरेर सरकारलाई मात्र हैन विप्लवलाई नै टेन्सन दिने काम गर्ने कमरेड नेपाल को हुन्, अब प्रहरीले पनि अनुसन्धान गर्छ कि! बेलैमा यस्तोलाई तह नलगाए सशस्त्र द्वन्द्वका यस्ता बाइप्रडक्टहरुले समाजलाई थप हानी गर्न सक्छ।

3 thoughts on “विप्लवलाई समेत टेन्सन दिने गरी आज बन्दको घोषणा गर्ने ‘कमरेड नेपाल’ को? चियापानमा चुटाइ खाने मान्छे?”

  1. madan bajracharya says:
    July 8, 2019 at 9:57 am

    “कसैले “कवाडीको कुकर बाबा दल” खोले हुन्छ जे गर्न पनि छुत् पाउन”
    कोहि मुर्ख नपाय गुण्डा बटुल्ने, त्यो पनि नपाय आफु यक्लैको दल बनाउने
    झण्डा नया कपडाकै चाहिंदैन फाटेको लगौंट बा लुँगिको भय पनि बनाउने
    देसमा गर्नै पर्ने नगरेको धेरै छन् तेसैकुराको समाजिक संजालमा हल्ला गर्ने
    पछि जिन्दावाद भन्नु परे पनि अहिले भारतीय विस्तारवाद मुर्दावाद भनि हाल्ने
    पिल्सियको जनताकोमा जानु पर्दैन; कालापानीमा यक चोटी पिकनिक जाने
    सन् १९५०को सन्धि कोशी गण्डकी महाकाली बेची खायो भनेर होहल्लै गर्ने
    बम बन्दुक बटुल्ने पर्दैन कवादिको बात किलोको भाउमा कुकरहरु बटुल्ने
    तेही कुकर ठुलाको चोकमा फाल्दै “देदे कुकर बबाके नाम रकम दे” भन्ने
    अनि जति ठुलो होहल्ला हुन्छ तेतिनै ठुला पोका पाउने नेता बन्ने पक्कै हुन्छ
    नेता बने प्रहरीको आँखाले नदेख्ने हुन्छ; गरेको अपराधनै भय पनि माफ हुन्छ
    कानुनको फन्दामा पर्नेनै भयो भने सुर्ता नगर्ने सरकारको समर्थन गरि हाल्ने
    जेलै परे पनि बन्दि हुनु पर्दैन मात्र नया बर्ष कुरे पुग्छ टिका लगाई “मुक्त हुन्”
    अनि त् बस दाया चन्द्र बाया सुर्य, मान सम्मान गाडी बंगला तथास्तु भै हाल्छ

    Reply
  2. Shankar says:
    July 8, 2019 at 7:47 am

    येस्ता राजनीतिक पसल हरु जसले खोले पनि चल्छ नेपाल मा |येन जी वो , आइ येन जी वो , भारत , पश्चिमा देश सब ले युज गरेर नेपालि सासक्लाई घुडा टेकाउने र फाईदा लिन यिनीहरुलाई मल जल गर्ने काम गर्छन |

    Reply
  3. Ram Shrestha says:
    July 7, 2019 at 6:27 pm

    Press council’s president Kishore Shrestha is the same jerk Kishore Shrestha from Jana Astha weekly who compelled Shreesha Karki to commit suicide or someone else?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme