Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टेबुले सलामी ठोक्ने मेयरले भने – ‘गह्रौँ पाइला अग्लो स्थानमा चढ्दै गरेको दृश्य झलझली सम्झिरहेछु, गल्ती भएछ’

Posted on June 24, 2019June 25, 2019 by Salokya

अचेल ट्रेन्डिङमा सलामी छ। बिचरा नेकपा समर्थकहरु मलामी जान पर्ला जस्तो बनाएर विपक्षीहरुले उडाएका उडायै छन्। पछिल्लो समय पिर्के सलामी र टेबुले सलामीको चर्चा थियो। पिर्के सलामीवालाहरुले सार्वजनिक रुपमा केही भनेको नदेखिए पनि टेबलमाथि उभिएर सलामी लिएका धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले भने आफ्नो गल्ती स्वीकार्दै माफी मागेका छन्। उनले आफ्नो फेसबुकमा लामो पत्र लेखेका छन्। हेर्नुस् पत्र-

आदरणीय आमाबुबा दाजुभाइ दिदी बहिनीहरु

नेपालको संविधान जारी भइसकेपछि पहिलो पटक हामीले नयाँ ब्यवस्थाको थालनी गर्यौँ । तीन तहको सरकार हाम्रो नयाँ र नौलो अनुभव हो । जनताको घर दैलोमा पहिले देखि नै पुगिरहेका र उहाँहरुको सुखदुखमा सँधै साथ दिइरहेका हामीलाइ जनताले आफ्नो ठाउँको परिवर्तनका निम्ति आफ्नो अमूल्य मत दिएर जिताउनु भयो । जनप्रतिनिधीकोरुपमा स्थानीय सरकारको नेतृत्व गर्न पाउनु हाम्रो लागि चुनौती र अवसर दुवै हो । सँविधान र कानुनले प्रत्याभूत गरेका अधिकार र जिमेवारीलाइ पालना गर्नु स्थानीय जनप्रतिनिधीको कर्तव्य सम्झिएर म र मेरो टिमका साथीहरुले काम गरिरहेका छौँ । काम गर्ने क्रममा कहिले काँही गल्ति र कमजोरी भएमा स्थानीय जनताको चाहना बमोजिम हामी तुरुन्तै सुधार पनि गरिरहेका हुन्छौँ । आज म एउटा अन्जान गल्तिलाइ स्पष्टीकरण दिन यो प्रविधीको साहरा लिइरहेको छु ।

राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता खेलको उद्घाटन समारोहको अवसरमा म र मेरो टिमको फोटोको सम्बन्धमा आएका प्रतिक्रियालाइ मैले थप जिम्मेवारी र महत्वपूर्ण सिकाइकोरुपमा लिएको छु । हाम्रा लागि यो खेलको उद्घाटन पनि नौलो अभ्यास हो । उद्घाटन समारोहका क्रममा खेलाडिलाइ सलामी दिने चलन रहेको र मेयर अलि अग्लो स्थानमा बस्नुपर्छ भनी हतार हतार म उभिएको ठाउँमा अग्लो आसनी ल्याइयो । खेलाडिलाइ सलामी दिने कुरालाइ मैले सहजरुपमा लिएर भुइँबाटै हुने कुरा बताएपनि जनप्रतिनिधी मित्रहरु, नजिकै रहनुभएका स्थानीय जनता, स्वयम सेवक, कर्मचारी साथीहरु लगायतले यो चलन रहेको, यसले खेलाडीलाइ थप हौसला दिने र यसलाइ पालना गर्नुपर्ने कुरा बताएपछि मैले सो स्थानबाट खेलाडिलाइ सलामी दिएको हुँ ।

यो घटनाबाट मलाइ हामी जनप्रतिनिधीलाइ सामान्य कमजोरी पनि गर्ने छुट छैन भन्ने सिकाइ मिलेको छ । स्थानीय जनतासँग हामी प्रत्यक्ष जोडिएका छौँ । यहाँका जनताले हामी जनप्रतिनिधीलाइ छिमेकी दाजु, भाइ, छोरा, छोरीको रुपमा हेर्नुहुन्छ । उहाँहरुका हरेक सुख दुख उकाली ओरालीहरुमा हामी सँगै हुन्छौँ । हरेक मानिसका कतिपय स्बभाव हुँदा रहेछन् । कुनै कुनै परिस्थितिमा आफूलाइ कुनै काम गर्न मन नलागे पनि स्थानीय जनताको भावनामा चोट पर्दैन र गम्भीर असर पर्दैन भने म उहाँहरुको कुरालाइ शिरोपर गर्छु । यो स्पष्टीकरण लेख्दै गर्दा म उद्घाटन समारोहको क्रममा स्थानीयले गर्नुभएको आग्रह र मेरा गह्रौँ पाइला अग्लो स्थानमा चढ्दै गरेको दृश्य झलझली सम्झिरहेछु । गल्ती भएछ भन्ने अवश्य लागेको छ ।

सबै सकारात्मक र नकारात्मक सुझावलाइ मैले आगामी यात्राका क्रममा ध्यान दिनुपर्ने पाठको रुपमा लिएको छु । यसबाट महालक्ष्मी नगरपालिकाका जनतालाइ आफ्नो मेयरले सामन्तवादको सिको गर्न थाल्यो भन्ने कदापी नबुझ्न आग्रह गर्दछु । सबै खेलको नियम मलाइ थाहा छैन । चलन पनि मेरो लागि नौलो हो । एउटा ब्यक्तिले सबै विषयमा जानकारी राख्न पनि नसकिँदो रहेछ । म जन्मेको घर यहीँ छ , म हिँडेको बाटो, मैले पढेको विद्यालय, मैले गाइबस्तू चराएको चौर, पटक पटक चिप्लिँदै लड्दै, फेरि उठ्दै गरेको रातोमाटो यहीँ छ । गोरु जोत्दा बसेको ठेलाको दाग, भारी बोक्दा पिल्सिएको ढाड बेला बेला बल्झिरहन्छ । म कसरी सामन्तवादी सँस्कार अँगाल्न सक्छु र । सामाजिक सञ्जाल प्रयोगकर्ता मेरो नगरपालिका भित्र तथा बाहिरका आदरणीय महानुभावहरुलाइ यदि प्रक्रिया पद्वति भन्दा बाहिर रहेछ भने मेरो एउटा भुललाइ मैले सोच्न पनि नसक्ने सँस्कारसँग तुलना नगरीदिनुहुन बिनम्रतापूर्वक आग्रह गर्दछु ।

अन्त्यमा महालक्ष्मी नगरपालिकाभित्र धेरै राम्रा कामहरु पनि भएका छन् । स्थानीय जनताका चाहना अनुसारका कामलाइ हामीले प्राथमिकता दिएका छौँ । हामीले गरेका राम्रा कामको बारेमा पनि केहि लेखिदिनुभएमा थप हौसला अवश्य मिल्ने थियो ।

हाम्रा कामको निरन्तर खबरदारी गरिरहनुभएका समस्त महानुभावप्रति म हार्दिक धन्यवाद दिँदै आगामी दिनमा हरेक गतिबिधी सञ्चालनका क्रममा थप सचेत भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।

पर्शुराम नेपाल
नगरप्रमुख
महालक्ष्मी नगरपालिका, धनकुटा ।

उनलाई नचिन्ने धेरैले टेबुले सलामी ठोकेको देखेर उडाए पनि नगरपालिकावासीहरु ऊर्जाशील समाजसेवी युवा नेताका रुपमा लिन्छन्। महालक्ष्मी नगरपालिकामा धेरै राम्रा कामहरुको थालनी उनले गरेका छन्।

त्यसैगरी नगरपालिकाले पनि विज्ञप्ति निकालेर यसो भनेको छ-

3 thoughts on “टेबुले सलामी ठोक्ने मेयरले भने – ‘गह्रौँ पाइला अग्लो स्थानमा चढ्दै गरेको दृश्य झलझली सम्झिरहेछु, गल्ती भएछ’”

  1. Arjun says:
    June 25, 2019 at 4:14 pm

    गल्ति जो कोइ बाट हुन्छ त्यसलाई आत्मसाथ गर्नु भयो राम्रो भयो याँहा त कोइ कोइ मैले जे गरे ठिक हो म बाट गल्ति हुदैन म नै सर्बेसर्बा हुम् भन्ने पनि छन्

    Reply
  2. कमल says:
    June 24, 2019 at 8:01 pm

    मेयरज्युले भुल स्वीकार गरेर राम्रै गर्नुभयो र अरुलाई पनि पाठ सिक्नपर्ने संदेश दिनुभयो|धन्यवाद|
    तैपनि एउटा अर्को पाठ पनि सिक्नपर्ने देखियो र यहा उल्लेख गर्न चाहन्छु|
    छोटो मिठो स्पष्टिकरणले पुग्ने ठाउमा लम्बेतानी खरदारी लेखनदासे वयानी दिनुभएछ| नगरपालिकाका वासिन्दा बाहेकका पढन्तेहरुलाई लक्ष्य गर्नुभएको हो कि? सोझा साझा सरल नगरपालिकाका नागरिकलाई हो भने छोटो मिठो सरल भए पुग्थ्यो| नगरपालिकाको एउटा मुख्य कर्तब्य भनेको सरसफाई गर्ने र यसप्रति नागरिकलाई प्रेरित गर्ने| भाषा र भाषण भन्दा काम गर्नुस, यसैका लागी शुभकामना छ|

    Reply
  3. Subedi says:
    June 24, 2019 at 3:58 pm

    उडाउन त नेकपा का ले नै धेरै उडाएका छन, के बिपक्षी ले नेकपाका मलामी जान पर्ने गरी उडाए भनेर लेख्या नि!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme