Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पारस गणतन्त्रका ‘राजा’हरु विरुद्ध चर्किएका नारा यसरी हेर्दै थिए, आफ्नै पुर्खालाई गाली सुनेपछि लास्टमा लास्टै रिसाए

Posted on June 18, 2019 by Salokya


सोमबार साँझ गणतन्त्रका ‘राजा’हरुविरुद्ध रैथानेहरुले गरेको चर्का नाराबाजी भूपू भइसकेका युवराज पारस शाहले नजिकैको एउटा अग्लो घरको रुफटप क्याफेबाट हेरेका थिए। गुठी विधेयकले परम्परा मास्न लागेको आरोप लगाउँदै त्यसविरुद्ध नेवारहरु अहिले आन्दोलित छन्। हिजो ब्लगमा टाढाबाट खिचेको फोटो हाल्दा कोहीकोहीलाई शंका लागेछ, हैन कि भनेर। नजिकैबाट फोटो हेर्ने हो त? यी हेर्नुस् हेरिटेज रुफटप क्याफेका पुरुषोत्तमजीले नजिकैबाट खिचेको फोटो।


सेतो कुर्थासलवार र इस्टकोट लगाएका उनले नाराबाजी र भाषणको त्यतैबाट तमाशा हेरिरहेका थिए। तर भाषणमा गणतन्त्रका ‘नवराजा’मात्र हैन, उनकै पूर्खा पुराना राजाहरु समेत नराम्रो भनेर भाषण भएपछि तमाशा हेर्न आएका पारस आफै तमाशे भए। उनी लास्टै रिसाए। त्यसैले रुफटपबाट तल झर्दा फोटो खिच्न पनि दिएनन्।

त्यसो त उनी माथि रहँदा नै गाइँगुइँ भइसकेको थियो पारस त्यहाँ बसेर तमाशा हेर्दैछन् भन्ने। तर उनका सहयोगीहरुले क्यामेराको लेन्स त्यतातिर सोझ्याउन दिएका थिएनन्।

हिजोको ब्लग :

सोमबार साँझ एउटा गजबको दृश्यको प्रत्यक्षदर्शी भइयो। त्यही वसन्तपुरको शिवपार्वती मन्दिरको डबलीमा नागरिक सभा हुन्थ्यो। त्यतिबेला राजा र राजतन्त्रविरुद्ध चर्का नारा लाग्थे। ११ वर्षपछि समय बदलियो, परिस्थिति बदलियो। आज उस्तै खालको सभा भइरहेको थियो। नारा गणतन्त्रका ‘राजा’हरुविरुद्ध लागिरहेका थिए। अनि त्यसको तमाशा हेरिरहेका थिए नजिकैको एउटा अग्लो घरको छतमा रहेको रुफटप रेस्टुरेन्टबाट पूर्व युवराज पारस शाहले।

सरकारले ल्याएको गुठी विधेयकले यहाँका रैथाने नेवारहरुको चित्त साह्रै दुखाएको छ। आफ्नो संस्कृति र परम्परा नास्न खोजेको भन्दै उनीहरुलाई भित्रसम्म छोएको छ।

के रहेछ स्थिति भनेर हेर्नका लागि म आज काठमाडौँका कोर एरियाहरुमा यसो डुलेको थिएँ। अहो, बरु २०६२/६३ को आन्दोलनमा रैथानेहरु त्यति ओर्लिएका थिएनन् २०४६ सालको आन्दोलनको तुलनामा। अहिले घर-घरमा, टोल-टोलमा यसको चर्चा चलेको छ। संविधान सभा अस्तित्वमा रहँदा ताकाका राज्य माग्ने आन्दोलनहरुमा वास्ता नभएका रैथाने युवासमेत आफ्नो पहिचान मास्न खोजेको भन्दै आन्दोलित भइरहेका छन्। टोलटोलमै काला ब्यानरहरु टाँगेर विरोध गरिएको छ। असार ४ गते ठूलो विरोध प्रदर्शनको तयारी छ। फेसबुकमा नेवार समुदायका कलाकार र चर्चित व्यक्तित्वहरु आफ्नो पहिचानका लागि त्यो दिनको प्रदर्शनमा उपस्थित हुन आग्रह गरिरहेका छन्। त्यसको प्रचारका लागि ठाउँठाउँमा कोणसभाहरु भइरहेका छन्।

त्यस्तै कोणसभाहरु मध्ये दुई वटा बाटोमा भेटियो- एउटा थाय्‌मदु (बांगेमूढा) को अनि अर्को वसन्तपुर डबलीको। वसन्तपुरमा गीत, भाषण, नारासहितको कार्यक्रम हेर्दै गर्दा एक जनाले मलाई कानमा खुसुक्क भने ऊ त्यहाँ पारस आएको छ, फोटो खिच्न लागेको त क्या गाली गरे।

काष्ठमण्डपबाट कुमारी घर जाने बाटोमा रहेको त्रैलोक्यनारायण मन्दिरसँगै रहेको एउटा अग्लो घरको छतमा रुफटप रेस्टुरेन्ट रहेको छ। पहिले काष्ठमण्डप रेस्टुरेन्ट थियो नाम, अहिले अर्कै नाम छ। त्यहीँ पूर्व युवराज पारस शाह देखिए। फोटो खिच्दा गाली गर्छ भनेर सुनाएको हुनाले मैले जुलुसका सहभागीको फोटो खिचे जस्तो गरेर जुम गरेर फोटो खिचेँ। देखेँ, त्यहाँ पारसका साथी हाल जोगी भइसकेका योगी व्यग्र वेदनाथप्रवञ्जन बहादुर सिंह (पहेँलो लुगा) पनि थिए। उनका अरु साथीहरु पनि थिए। हाँस्दै, खाँदै उनीहरु आन्दोलनको तमाशातिर पनि बेलाबेलामा नजर लगाइरहेका थिए।

फेरि अर्को संयोग हेर्नुस् न, तल डबलीमा वक्ताले हामीले हामी जनतालाई कम आँक्ने राजालाई फाल्यौँ। तर अहिले त्यसपछि आएकाहरु नयाँ राजा बन्न खोज्दै हाम्रो संस्कृति र सम्पदामाथि आक्रमण गरिरहेका छन् भन्दै थिए। यता पारस देखिएको ठाउँमा एउटा ह्विस्कीको प्रचार थियो जसको नाम थियो- ओल्ड दरबार। कस्तो संयोग – पुरानो दरबारका प्रतीक पारस त्यहाँ थिए।

त्यतिबेला पारस गुण्डा रुखमा झुण्डा नारा यही कानले सुनेका थिए। आज यही कानले केपी ओली खुँ, बिस्यु हुँ सुनिरहेका थिए। (त्यही पुरातन फलानो चोर, देश छोड पाराको नाराको नेपालभाषाको अनुवाद)

पारसले तमाशा हेरे पनि यो आन्दोलन राजावादीले उचालेर उचालिने आन्दोलन हैन। राजावादीले उचाले, कांग्रेसले खेल्न खोज्यो, भाडाका मान्छे ल्याए जस्ता आरोपहरु जति आउँछन्, त्यति आन्दोलनकारीहरुको एकता मजबूत हुँदै गइरहेको देखिन्छ। स्थितिको गम्भीरता बुझ्न नसक्नेहरुले मात्रै यस्तो सोच्ने हुन्। गुठी भनेको जग्गा मात्रै सोच्नेहरुले आन्दोलन सामन्तीको देख्ने हुन्। काठमाडौँका जात्रा, पर्व सञ्चालन गरी परम्परा जोगाउने काम यिनै गुठीका गुठियारहरुले गरिरहेका हुन्। जग्गामात्र हैन पहिचान र अस्तित्वसँगै जोडिएको छ गुठी। त्यसैले त यस पटक काठमाडौँ नराम्रोसित सत्ताधारीसँग बिच्किएको छ। बेलैमा यसलाई नियन्त्रणमा लिइएन भने परिणाम घातक हुनसक्छ।

काठमाडौँका टोलटोलमा यस्ता ब्यानर झुण्डिएका छन्-

http://www.mysansar.com/wp-content/uploads/2019/06/video-1560803266.mp4

5 thoughts on “पारस गणतन्त्रका ‘राजा’हरु विरुद्ध चर्किएका नारा यसरी हेर्दै थिए, आफ्नै पुर्खालाई गाली सुनेपछि लास्टमा लास्टै रिसाए”

  1. Prakash_Edm_Canada says:
    June 18, 2019 at 8:17 pm

    यो मुद्धा मा क्रिस्टियन हरुले ओली र नेता हरु लाई प्रेसर देएको छ रे गुठि मास्न | गुठि मस्दा नेपाली कल्चर र धर्म पनि मासिन्छ भनेर| मेरो फिलिपिनो साथी ले भनेको फिलिपिन्स मा इस्पेन ले यसैगरी क्रिस्टियनति फैलाएको थियो रे|

    Reply
  2. Samir Bogati says:
    June 18, 2019 at 7:52 pm

    कांग्रेसी र बहुदल र खाओ वादी ले आफै घिचेर अति आजित भएका जनता केहि दिन सम्म म त राजा ले आफै सम्हालेको देखेर खुशी नै थिए र समर्थन पनि भएको जस्तो थियो /

    तर ज्ञान दाइ ले के गर्नु भयो ?

    गोल्चे सार्की लाइ मन्त्री ,
    कुहिएर गनाएर विदेश मा बर्षौं बसी रहेको ८२ बर्ष को चोर तुलसी गिरी र अर्को अति पुरानो पन्चे किर्ति निधि लाइ प्रधान मन्त्री सरह बनाउनु भयो
    अनि शाही जंगी पोशाक लगाएर छड्के नमस्कार गर्दै पुरानो थन्किएको हेलिकप्टर लाइ करोडौं खर्च गरेर मरम्मत गरेर देश भ्रमण मा निक्लनु भयो

    राजा महेन्द्र लाइ जति गाली गरे पनि उहाँ एक तीक्छण राजनीतिज्ञ हुनु हुन्थ्यो / उहाँ संग राजनीतिक विचारधारा नमिल्ने विपी, गणेशमान ज्यु ले समेत उहाँको प्रशंशा गर्नु भएको छ /

    राजा विरेन्द्र ले निरङ्कुश राज तन्त्र चलाउनु भयो बर्षौं सम्म तर आज सम्म उहाँ का विरोधी ले समेत उहाँ को नम्रता र शालीनता को प्रशंसा गर्छन /

    अब ज्ञान दाइ भने बुवा र दाजु जस्तै म पनि पपुलर बन्छु भनेर ह्याकुला ले मिचेर शासन गर्छु भन्ने ठान्नु भएको थियो तर उहाँ को बुद्धि त बुबा र दाजु को एक सय भाग को एक भाग पनि थिएन र आफ्नै बुद्धि ले २ सय बर्ष पुरानो राजतन्त्र उहाँ कै कारण ले विलिन भयो

    जे सुकै होस् , ज्ञान दाइ लाइ जति गालि गरे पनि उहाँको शालीनता र नम्रता को भने प्रशंसा गर्नै पर्छ / सभ्रान्त परिवार मा जन्मे पछि कस्तो व्यवहार गर्नु पर्छ भन्ने कुरा ज्ञान दाइ , कोमल भाउजु अनि हिमानीजी लाइ थाहा छ र उहाँ हरु पब्लिक मा नम्र , सौम्य र शालीन भएर आफु लाइ प्रस्तुत गर्नु हुन्छ आज सम्म / र ज्ञान दाइ को अर्को राम्रो कुरा के भने उहाँ लाइ दरबार बाट निकाले पनि नेपाल मै बसी रहनु भएको छ – आनन्द ले पैसा खर्च गरेर विदेश पलायन भएर french riviera मा बस्ने औकात भए पनि देश मै बस्नु भयो ..पलायन कहिले हुनु भएन / उहाँ को देश प्रति को माया को यो उदाहरण हो / अर्को कुरा ज्ञान दाइ अधिराज कुमार हुँदा पनि कुनै व्यवसाय गगरेर बस्नु भएको थियो / हो, पंचायत काल मा उहाँ ले आफ्नो विजनेस हरु मा अनेक सुविधा र छुट पाउनु भयो होला तर जे होस् उहाँ idle याने काम धाम नगरी कहिले बस्नु भएन / विजनेस गर्नु हुन्थ्यो र कविता, गीत पनि रचना गर्नु हुन्थ्यो / हेर्नुस् , मन नपराउने मानिस को पनि केही न केही गुण हुन्छ / ज्ञान दाइ को राजनीति मन नपरे पनि उहाँ मा अनेक अरु राम्रा गुण छन् /

    अब कुरा गरौं , पारस ज्यु को / पारस ज्यु आज झन्नै पचास बर्ष पुग्न लाग्नु भयो / जिन्दगी मा पारस ज्यु ले एक दिन त के एक मिनेट पनि दुख गरेर काम गरेर पेट पाल्नु परेको छैन, कुनै इलम सिक्नु भएन / युवराज हुँदा भट भटे harley चढेर कुण्डले मुण्डले आसेपासे लाइ लिएर होटेल मा गोली चलाएर , आफ्नो परिवार र बुवा को अति निकट र जिन्दगी भर सेवा गरेका सभ्रान्त परिवार का business associate का छोरा लाइ खुट्टा भाँचिने गरी पिटेर , जांड खाएर मान्छे मारेर , लागु पदार्थ सेवन गरेर आखिर देवी जस्ती श्रीमती र छोरा छोरि लाइ त्यागेर चाइनिज केटि समातेर सिंगापुर र थाईलेन्ड भाग्नु भयो / देश को माया त कति पनि नभएको / थाईलेण्ड मा लागु पदार्थ को केस लागेर निकाला भएर पछि मात्र नेपाल आउनु भयो कुनै देश को माया ले आउनु भएको होइन

    अब अहिले आएर हिन्दि फिल्म को भिलेन शैली मा कालो रंग लगाएको दारी र चुल्ठो लगाएर “हिंग नभए पनि हिंग को टालो हुँ ” भन्ने पारा ले छत मा बसेर रिस देखाउने ?
    “अब पछ्ता के क्या करे जब चिडिया चुग गइ खेत ” ? सभ्रान्त परिवार मा जन्मेको बाहेक उहाँ को अरु उपलब्धि के त ? हजुर बुवा महेन्द्र , ठुलो बुवा विरेन्द्र र बुवा ज्ञानेन्द्र र आफ्नै श्रीमती को खुट्टा ले कुल्चेको धुलो छुन लायक हुनु हुन्न वहाँ / जे होस् ढिलो भए पनि उहाँ को बुद्धि विवेक पलाओस / It is never too late to make positive changes in your life, Paras Ji.

    Reply
    1. राजन says:
      June 18, 2019 at 10:44 pm

      ज्ञानु त कमल थापाले झटारो हानेर कैले झार्ला र खाउँला भनेर पर्खेर बसेको छ किन जान्थ्यो french riviera ।
      तपाईले ज्ञानुलाइ नम्र, सौम्य र शालीन भनेको सुनेर नमिता-सुमिताको आत्माले धिक्कार्ला । जँगली जनाबर कसरी नम्र , सौम्य र शालीन हुन्छ भनेर ।

      Reply
    2. sahaskn says:
      June 20, 2019 at 5:53 am

      हैत् | यस्तो अन्ध भक्त पनि देख्नु पर्यो ? अन्ध भक्त किन भएको ह ? केहि स्वार्थ छ ? कतिको पैसा पाइयो यस बिषयमा ? नमिता-सुमिताको आत्माले धिक्कार्ला | अनि प्रवीन प्रवीन गुरुङ र चालक खडगीको पनि | यी गजदीलाई नेपालको कानुन अनुसार झेलमा हाल्नुपर्ने ? जसरि थाइलानद मा भएको थियो | मुर्तिचोर को सन्तान |

      Reply
  3. कमल says:
    June 18, 2019 at 7:50 pm

    पारसे त संगीतकार प्रवीन गुरुङ र चालक खडगीको हत्यामा जेलमा हुनपरने थियो| प्रबीनका छोराहरुले बाबा नहुँदा कस्तो फील गर्न परिरहेको छ, उनकी अर्धांगिनीले कस्तो दुख खेप्नपर्यो, खडगीका परिवार कति रोए, कसैले बुझेका छन्? पारसेलाई अहिले पनि ३६५ दिने बढा दशैं छ, मस्तीमा छन| सकारात्मक तौरमा भन्न पर्दा गणतन्त्र ल्याउनमा उनको बा र पारस आफैको ठुलो योगदान छ जसले गर्दा ओली, प्रचण्ड, माकुने, वामदेव, देउवा, गिरिजा, राम्चंद्रे, जस्ता नेताहरुको वरदान नेपाली जनतालाई छ| अहिले आएर स्याटेललाइट उडाएर आफै परिक्रमा गर्न स्थिति आएको छ| राजतन्त्रको निरङ्कुशताले शताब्दी देखि थुपारेको कुड़ों कचडा अझ बढेर गएको छ| खोइ नेपाली जनताले कसलाई धन्यवाद दिने हो? रुन मन छैन, कति हाँस्नु हौ?
    मौका पछि मौका पाएर पनि मुलुकलाई खत्तम र खलास बनाए पछि जनताले नकारेका कमल थापा, पशुपति, लोहनी, लोके, आदि फेरी सल्बलाउन थालेका छन| काशीवास गए पुगो नी| देश जतासुकै गओस, त्यो वास्ता नगरेर राजतन्त्र फर्काउन लागेका छन| बिगार्ने तिनै हुन् भन्ने पारसेलाई जुन दिन निश्चित रुपले अनुभूति हुन्छ, फेरी केहि न केहि उट्पट्याङ्ग गर्ला|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme