Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गणतन्त्रका ‘राजा’विरुद्धको आन्दोलनको तमाशा हेर्दै पूर्व युवराज पारस

Posted on June 18, 2019June 18, 2019 by Salokya


सोमबार साँझ एउटा गजबको दृश्यको प्रत्यक्षदर्शी भइयो। त्यही वसन्तपुरको शिवपार्वती मन्दिरको डबलीमा नागरिक सभा हुन्थ्यो। त्यतिबेला राजा र राजतन्त्रविरुद्ध चर्का नारा लाग्थे। ११ वर्षपछि समय बदलियो, परिस्थिति बदलियो। आज उस्तै खालको सभा भइरहेको थियो। नारा गणतन्त्रका ‘राजा’हरुविरुद्ध लागिरहेका थिए। अनि त्यसको तमाशा हेरिरहेका थिए नजिकैको एउटा अग्लो घरको छतमा रहेको रुफटप रेस्टुरेन्टबाट पूर्व युवराज पारस शाहले।

सरकारले ल्याएको गुठी विधेयकले यहाँका रैथाने नेवारहरुको चित्त साह्रै दुखाएको छ। आफ्नो संस्कृति र परम्परा नास्न खोजेको भन्दै उनीहरुलाई भित्रसम्म छोएको छ।

के रहेछ स्थिति भनेर हेर्नका लागि म आज काठमाडौँका कोर एरियाहरुमा यसो डुलेको थिएँ। अहो, बरु २०६२/६३ को आन्दोलनमा रैथानेहरु त्यति ओर्लिएका थिएनन् २०४६ सालको आन्दोलनको तुलनामा। अहिले घर-घरमा, टोल-टोलमा यसको चर्चा चलेको छ। संविधान सभा अस्तित्वमा रहँदा ताकाका राज्य माग्ने आन्दोलनहरुमा वास्ता नभएका रैथाने युवासमेत आफ्नो पहिचान मास्न खोजेको भन्दै आन्दोलित भइरहेका छन्। टोलटोलमै काला ब्यानरहरु टाँगेर विरोध गरिएको छ। असार ४ गते ठूलो विरोध प्रदर्शनको तयारी छ। फेसबुकमा नेवार समुदायका कलाकार र चर्चित व्यक्तित्वहरु आफ्नो पहिचानका लागि त्यो दिनको प्रदर्शनमा उपस्थित हुन आग्रह गरिरहेका छन्। त्यसको प्रचारका लागि ठाउँठाउँमा कोणसभाहरु भइरहेका छन्।

त्यस्तै कोणसभाहरु मध्ये दुई वटा बाटोमा भेटियो- एउटा थाय्‌मदु (बांगेमूढा) को अनि अर्को वसन्तपुर डबलीको। वसन्तपुरमा गीत, भाषण, नारासहितको कार्यक्रम हेर्दै गर्दा एक जनाले मलाई कानमा खुसुक्क भने ऊ त्यहाँ पारस आएको छ, फोटो खिच्न लागेको त क्या गाली गरे।

काष्ठमण्डपबाट कुमारी घर जाने बाटोमा रहेको त्रैलोक्यनारायण मन्दिरसँगै रहेको एउटा अग्लो घरको छतमा रुफटप रेस्टुरेन्ट रहेको छ। पहिले काष्ठमण्डप रेस्टुरेन्ट थियो नाम, अहिले अर्कै नाम छ। त्यहीँ पूर्व युवराज पारस शाह देखिए। फोटो खिच्दा गाली गर्छ भनेर सुनाएको हुनाले मैले जुलुसका सहभागीको फोटो खिचे जस्तो गरेर जुम गरेर फोटो खिचेँ। देखेँ, त्यहाँ पारसका साथी हाल जोगी भइसकेका योगी व्यग्र वेदनाथप्रवञ्जन बहादुर सिंह (पहेँलो लुगा) पनि थिए। उनका अरु साथीहरु पनि थिए। हाँस्दै, खाँदै उनीहरु आन्दोलनको तमाशातिर पनि बेलाबेलामा नजर लगाइरहेका थिए।

फेरि अर्को संयोग हेर्नुस् न, तल डबलीमा वक्ताले हामीले हामी जनतालाई कम आँक्ने राजालाई फाल्यौँ। तर अहिले त्यसपछि आएकाहरु नयाँ राजा बन्न खोज्दै हाम्रो संस्कृति र सम्पदामाथि आक्रमण गरिरहेका छन् भन्दै थिए। यता पारस देखिएको ठाउँमा एउटा ह्विस्कीको प्रचार थियो जसको नाम थियो- ओल्ड दरबार। कस्तो संयोग – पुरानो दरबारका प्रतीक पारस त्यहाँ थिए।

त्यतिबेला पारस गुण्डा रुखमा झुण्डा नारा यही कानले सुनेका थिए। आज यही कानले केपी ओली खुँ, बिस्यु हुँ सुनिरहेका थिए। (त्यही पुरातन फलानो चोर, देश छोड पाराको नाराको नेपालभाषाको अनुवाद)

पारसले तमाशा हेरे पनि यो आन्दोलन राजावादीले उचालेर उचालिने आन्दोलन हैन। राजावादीले उचाले, कांग्रेसले खेल्न खोज्यो, भाडाका मान्छे ल्याए जस्ता आरोपहरु जति आउँछन्, त्यति आन्दोलनकारीहरुको एकता मजबूत हुँदै गइरहेको देखिन्छ। स्थितिको गम्भीरता बुझ्न नसक्नेहरुले मात्रै यस्तो सोच्ने हुन्। गुठी भनेको जग्गा मात्रै सोच्नेहरुले आन्दोलन सामन्तीको देख्ने हुन्। काठमाडौँका जात्रा, पर्व सञ्चालन गरी परम्परा जोगाउने काम यिनै गुठीका गुठियारहरुले गरिरहेका हुन्। जग्गामात्र हैन पहिचान र अस्तित्वसँगै जोडिएको छ गुठी। त्यसैले त यस पटक काठमाडौँ नराम्रोसित सत्ताधारीसँग बिच्किएको छ। बेलैमा यसलाई नियन्त्रणमा लिइएन भने परिणाम घातक हुनसक्छ।

काठमाडौँका टोलटोलमा यस्ता ब्यानर झुण्डिएका छन्-

http://www.mysansar.com/wp-content/uploads/2019/06/video-1560803266.mp4

2 thoughts on “गणतन्त्रका ‘राजा’विरुद्धको आन्दोलनको तमाशा हेर्दै पूर्व युवराज पारस”

  1. Prakash_Edm_Canada says:
    June 18, 2019 at 8:15 pm

    यो मुद्धा मा क्रिस्टियन हरुले ओली र नेता हरु लाई प्रेसर देएको छ रे गुठि मास्न | गुठि मस्दा नेपाली कल्चर र धर्म पनि मासिन्छ भनेर| मेरो फिलिपिनो साथी ले भनेको फिलिपिन्स मा इस्पेन ले यसैगरी क्रिस्टियनति फैलाएको थियो रे|

    Reply
  2. Shankar says:
    June 18, 2019 at 5:29 am

    बागमतीको को किनार सब व्यक्तिको नाउमा दर्ता हुन् पुग्यो , पसुपतिको थुप्रो जग्गा हाराए , सार्बजानिक चौर , जग्गा सब व्यतिको बिसेस गरेर पाखे हरु नाउमा गयो तेसैले काठमान्डू को जनता निद्रा बाट बिउझे जस्तो छ | हेर्दा हेर्दै पाखेहरुको एउटा बर्ग बिकसित भएको छ जो गैस्योस , खाइस्योस भन्छ , खुफिया तरिका बाट अकुत सम्पत्ति संगालेको छ , यिनीहरु नै कुन कुटनीतिक नियुक्ति मा पर्ने , राजदुत हुने , जी यम हुने , आफिस आफिस मा हाकिम हुने , गर्न केहि नसक्ने , घुस खाने आदि आदि |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme