Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्री ज्यु, बीबीसीको अन्तर्वार्ता भनेको मनोज पाण्डेसँगको कुराकानी जस्तो हैन भन्ने त बुझ्नुभो नि

Posted on June 13, 2019June 13, 2019 by Salokya

उहिले जंगबहादुरको बेलाइत यात्रा भनेर गजब गजबका किस्सा सुन्न पाइन्थ्यो। धेरै वर्षपछि बेलायतमा नेपालबाट भएको उच्चस्तरीय भ्रमणका क्रममा के कस्ता किस्सा बन्ने हुन्, त्यो भोलिपर्सि बल्ल थाहा हुनेछ।

यो यात्राको अहिलेसम्मको हाइलाइट भने बीबीसीमा भएको लाइभ अन्तर्वार्ता नै रह्यो। प्रधानमन्त्रीका सल्लाहकारहरुले यसलाई ठूलै महत्व दिएको कुरा उनीहरुले गरिरहेको लाइभ ट्विटबाट पनि थाहा थियो। तर अन्त्यमा हाम्रा दुई तिहाई शक्तिशाली प्रधानमन्त्रीलाई पेल्नु पेलेर प्रश्न सोधेर निरीह भान हुने पो बनाइदिए।

नेपाल टेलिभिजनले सित्तैमा समय दिएर नाफामुखी कम्पनीलाई चलाउन दिएको कार्यक्रम जनतासँग प्रधानमन्त्रीमा मनोज पाण्डेलाई दिएको अन्तर्वार्ता जस्तो प्रश्न होलान् भनेर त पक्कै सोच्नुभएको थिएन होला प्रधानमन्त्रीले केपी शर्मा ओलीले।

तर पनि अलि तयारी त गर्नुपर्ने हो। सल्लाहकारहरुले गराइदिनु पर्ने हो। प्रधानमन्त्रीलाई यस्तो यस्तो प्रश्न सोध्न सक्छन्, सम्भावित जवाफ यस्तो हुनसक्छ भनेर तयार पार्नुपर्ने जिम्मा त सल्लाहकारहरुको हो नि।

राजदूतावासले त अग्रिम प्रश्न मागेको जस्तो कुरा बुझियो त। प्रश्न हात परेको भए तयारी पनि राम्रैसँग गराउन सकिन्थ्यो होला त।

बरा हाम्रा प्रधानमन्त्रीलाई त पर्यटन मन्त्रालयका प्रवक्तालाई जस्तो पो प्रश्न सोधियो त सगरमाथाबारे। तथ्यसहितका प्रश्नको आक्रमणपछि प्रधानमन्त्रीज्यु सुरुदेखि नै डिफेन्सिभ। तर डिफेन्स खेल्न पनि तयारी हुनुपर्‍यो नि। विश्व दर्शकका लागि त नेपालको केही राम्रो भएन। उताकै एजेन्डा अनुसार प्रश्नहरु सोधिए, नेपालका कार्यकारी प्रमुख निरीह देखिए।

यस्तो थियो बीबीसीमा प्रधानमन्त्रीको अन्तर्वार्ता

धेरै प्रश्न एभरेस्टबारे थियो। आक्रामक प्रश्नको आक्रमण थियो, प्रमको जवाफको तयारी थिएन। सुरुमै बीबीसीले यसपालि सगरमाथा चढ्न धेरै अनुमति पत्र वितरण गर्नु गल्ती भएको हो भन्ने प्रश्न गर्‍यो।

प्रधानमन्त्रीले यो हल्ला हो र त्यति धेरै अनुमति पत्र दिइएको छैन भनी खण्डन पूरा गर्न पाएका थिएनन् प्रस्तोताले तथ्याङ्क नै अगाडि राखिदिए-३ सय ८१ अनुमति पत्र। रेकर्ड नै भएन?

प्रधानमन्त्रीले त्यो त्यति ठूलो संख्या नभएको जिकिर गरे। तर ३ सय ८१ वटा अनुमति पत्र दिएपछि, शेर्पाहरूलाई समेत गन्दा ६ सय जना मानिस हिमालमा एकैचोटि पुग्ने कुरा प्रस्तोताले उठाए। यसपालिको ट्राफिक जाम र सगरमाथामा भएका मृत्युसित जोडेर नीति परिवर्तन गर्नु पर्दैन भनेर सोधियो।

प्रधानमन्त्रीले पुनर्विचार आवश्यक छ भने तर अघि जस्तो हल्ला शब्द प्रयोग नगरी यसपालि प्रोपोगाण्डा भने।

प्रस्तोताले तत्काल त्यसको प्रतिवाद गर्दै मृतकको संख्याका बारेमा कुरा गर्नु प्रोपोगाण्डा होइन भने। अनि प्रश्न सम्पर्क अधिकृतको विषयमा गयो। ६० मध्ये ५ जना मात्रै आधार शिविरमा पुगेको कुरा उठ्यो।

यो विषयमा भने प्रधानमन्त्रीले सीधा जवाफै दिन सकेनन्। भने, हामी अनुमति पत्रका बारेमा सावधान हुनु जरूरी छ।

विषयान्तर गर्दैमा कहाँ हुन्छ र। मनोज पाण्डले सोधेको जस्तो प्रश्न हो र। प्रस्तोताले कुरा काट्दै फेरि सोधे, सम्पर्क अधिकृतहरू, जसले आरोहीहरूलाई निर्देशन दिनुपर्ने हो, त्यहाँ जाँदै गएनन्। उनैले सम्हालिरहेको पर्यटन मन्त्रालयको भनाई उद्‍धृत गरियो- सबै सम्पर्क अधिकृतहरू आधार शिविर पुगेनन्। उनीहरू नगएकाले त्यहाँ भएका सीमित अधिकारीहरूलाई व्यवस्थापन गर्न गाह्रो भएको र उनीहरूले पैसा लिएर घरैमा बसेको कुरा सुनाउँदै प्रश्न सोधियो- के यो कुरा सुनेर तपाईँलाई नराम्रो लागेन?

प्रधानमन्त्रीले अझै यो विषयमा ठ्याक्क जवाफ दिन सकेनन्। भने, ‘हो, हामीले यो कुरामा ध्यान पुर्‍याउनु छ।’

अनि फेरि ट्राफिक जामतिर कुरा- ‘तर, मृत्यु भएको चाहिँ ट्राफिक जाम वा लाइन भएको कारणले होइन । यी फरक कुरा हुन्।’

3 thoughts on “प्रधानमन्त्री ज्यु, बीबीसीको अन्तर्वार्ता भनेको मनोज पाण्डेसँगको कुराकानी जस्तो हैन भन्ने त बुझ्नुभो नि”

  1. M Adhikari says:
    June 14, 2019 at 10:38 am

    अन्तिम प्रश्न वातावरण संरक्षण बाहेक, अरू कुनै पनि प्रश्न प्र.म. ले बुझे जस्तो पटक्कै लागेन! उनले दिएको घुमाउरो जवाफ हेर्दा! रूख कटान बारेको जवाफ पनि “१० मिलियन रूख रोप्छौं” भन्नु – “पोखरामा रेल आएपछि त बेनीमा के गार्हो???” भनेजस्तो नै भो! (लाजको स्थिति)

    Reply
  2. सत्य प्रकाश says:
    June 14, 2019 at 6:28 am

    लाजमर्नु जवाफ|
    नेकपा र ओली समर्थकहरुले अरिंगाल र अन्धोभक्त भएर जत्तिकै वाहवाह गरे नी जवाफ असन्तोषजनक मात्र होइन लाजमर्नु नै थियो| अंग्रेजी मै बोल्न पर्ने वाध्यता थिएन होला| त्यतिका बर्ष परराष्ट्र मन्त्रि भएर कुटनीतिमा देश विदेश पानी पँधेरो बनाएका ओली नराम्रो संग चुकेका छन्| नेपाली रुपान्तर पढेनौ र खालि टीभीमा मात्र हेर्दा उत्तर अझ खल्लो लाग्छ| अलि नर्भस देखियो| यद्यपि उनले विगतमा गिरिजा बाबुले जस्ता सीएनएनलाई “वाट” “वाट” भन्दै सोधेनन| प्रम ओलीले प्रश्नहरु राम्रै बुझेको देखियो|
    खोई पुर्ब तयारी?
    वेलायतका राजदुतावासले ठिक दुरुस्त प्रश्नहरु थाहा नगरे पनि के कस्ता प्रश्नहरु गर्न सक्छन, त्यसको छनक र समय कति दिइएको हो त्यसबारे अग्रिम थाहा हुनपर्ने हो|त्यही अनुरुप पुर्ब तयारी अभ्यास हुनपर्ने हो|
    ५५ जना आरोहण दलहरुसंग खटिएका सम्पर्क अधिकृतहरुले आधार शिविरमा अनुपस्थित रहेर घरै बसेर भत्ता खाएका कुरामा खोई हाम्रा खोज पत्रकारहरुले खुलासा गरेर को को हुन् अघि ल्याएका? नामावली सहित आउँनपर्ने हो| कस्ता मुखडा हुन्, कसको गोडा र टाउको दुखेको रहेछ थाहा पाउन सकिन्थ्यो| सम्पर्क अधिकृत छनौट र नियुक्ति गर्ने नियम के हुन् र कसले के आधारमा गरे त्यो पनि प्रकाशमा ल्याउनपर्यो| के उनीहरुको गैर जिम्मेवारीपनले सगरमाथा आरोहण ट्राफिक व्यवस्थापनमा असहज भएर नेपाललाई विश्वभरि बदनाम भएको हो त ? पर्यटन मन्त्रालयले वाकायदा त्यस्तै हो भनेर बक्तब्य निकालेको कागजै बीबीसीका अन्तर्वार्ताकारले देखाए|
    अन्य दुई मुख्य बिषयमा पनि प्रमको उत्तर विश्व दर्शक अघि उति सन्तोषजनक देखिएन|
    के कारणले हो, बीबीसी जस्ता टीभी पत्रकारले काठमाडौँस्थित रिपोर्टरले पठाएका प्रश्न र प्रति प्रश्नको भरमा मात्र परेर हो वा अन्य कुनै आग्रह पुर्बाग्रह वा समयको पावन्दीले हो, त्रिपक्षीय सन्धि जस्तो महत्वपुर्ण बिषयमा कोट्याउन चुकेकै हो त??
    अन्तमा, दौरा सुराल टोपीमा प्रस्तुत भए| शालीन देखिन्थे| अर्का जोडी नेता भएका भए के हुन्थे हामीलाई थाहा भएकै हो| प्रम ओलीलाई सलाम|

    Reply
  3. Kamal says:
    June 13, 2019 at 7:16 am

    लाटा जनता लाई उखान टुक्का सुनायर भुलायको जस्तो कहाँ हुञ्छ र , ओली जी ? आज बल्ल मान्छे को फेला पर्यो.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme