त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जोङको नियुक्तिबारे पहिलो पेजमा छापिएको समाचार तथ्यगत रुपमै गलत रहेको प्रमाणसहित माइसंसारमा ब्लग प्रकाशित भएपछि अङ्ग्रेजी राष्ट्रिय दैनिक रिपब्लिकाले माफी माग्दै भूल सुधार गरिसकेको छ। तर त्यही विषयको ‘चुरो कुरो’सँग सम्बन्धित भई आफ्नो धारणाविपरीतका व्यक्तिलाई खुइल्याउने अभियानमा भएको अर्को ‘ब्लन्डर’ सच्याइएको छैन। गल्ती सच्याउनुको साटो ढाकछोप गर्न खोज्दा अर्को ठूलो गल्ती भएको भेटिएको छ।
भएको के हो?
गएको मंगलबार (जुन ४, २०१९ मा) रिपब्लिकाको पेज ३ मा TU Research head found plagiarizing शीर्षकमा एउटा समाचार छापियो।
पत्रिकामा छापिएको समाचारमा कसैको बाइलाइन छैन। तर सोही दिन बिहान रिपब्लिकाको अनलाइनमा राखिएको समाचारमा भने विष्णुप्रसाद अर्यालको बाइलाइन थियो। TU research head found plagiarizing (with documents) शीर्षकको समाचारमा ६ वटा पिडिएफ डकुमेन्ट पनि राखिएका थिए।
समाचार त्रिभुवन विश्वविद्यालयको रिसर्च डिभिजनमा कार्यरत रही हालै अवकाशप्राप्त प्राध्यापक नीलमकुमार शर्माको बारेमा थियो। उनले आफ्नो जर्नल आर्टिकल अरुबाट चोरेको (plagiarized गरेको) भेटिएको आरोप लगाउँदै समाचारमा केही डकुमेन्ट प्रमाणका रुपमा राखिएको थियो।
समाचार पूरै नपढी हेडलाइनका भरमा धारणा बनाउने गर्छन् अचेल मानिसहरु। यो समाचार हेरेर मान्छेले के बुझ्छन् ? टियुको रिसर्च प्रमुख नै बौद्धिक चोरीमा रहेछन् भन्ने नै बुझ्ने हो।
हेडलाइनमात्र नहेरी सर्सर्ती समाचार पढ्ने हो भने पनि प्रा.डा. नीलमकुमार शर्मा फटाहा नै रहेछन् भनेर बुझ्ने हो, किनभने ‘ज्ञाता पत्रकार’ले डकुमेन्टहरु पनि राखेका छन्। पहेँलो पहेँलो चिह्न राखेर यो यो चोरी भयो भनेका छन्, नभई लेख्यो होला र त्यत्रो ठूलो राष्ट्रिय अङ्ग्रेजी दैनिकले? लाग्ने यस्तै हो।
कहाँ चुक्यो रिपब्लिका?
प्रोफेसर शर्मालाई खुइल्याउन उनका विपक्षीहरुले दिएको जानकारीलाई भेरिफाइ गर्न चुक्दा रिपब्लिकाले गल्ती गर्यो। प्रोफेसर शर्माको यो लेख International Journal of Interdisciplinary Studies मा ६ वर्षअघि December 15, 2013 मा प्रकाशित भएको थियो।
समाचारमा लेखिएको थियो-
Republica scanned Sharma’s article for evidence of plagiarism and found that texts had been heavily lifted from other published sources without any citation.
..Even the abstract of the research paper was heavily plagiarized – 86 percent of the first chapter (64 percent of the total content) has been plagiarized. The contents were plagiarized from published international journal articles.
समाचारमा heavily lifted from other published sources र contents were plagiarized from published international journal articles भनिए पनि कुन कुनबाट भनेर चाहिँ खुलाइएको थिएन। त्यहाँ पाँच वटा पिडिएफ फाइल राखिएका थिए- होला नि भन्ने लाग्यो होला धेरैलाई। धेरैलाई यो क्लिक गरी हेर्ने धैर्य पनि भएन होला। जो-जसले क्लिक गरी हेरे, उनीहरुले बुझे- धत्, यस्तो पनि हुन्छ?
सबैभन्दा पहिला त रिपब्लिकाले plagiarism पत्ता लगाउन प्रयोग गरेको टुल नै हाँसउठ्दो थियो- Small SEO Tools. यसलाई
विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुले प्रयोग गर्ने Turnitin जस्ता सफ्टवेयरसित तुलनै गर्न मिल्दैन। त्यस्तो सफ्टवेयर सित्तैमा पनि पाइन्न। तर पनि बाहिरका विश्वविद्यालयमा पढ्नेहरुसित सम्पर्क गरी चेक गराउन पक्कै सकिन्थ्यो होला। तर रिपब्लिकाले प्रयोग गर्यो- Small SEO Tools अनि त्यसमा जे देखायो, त्यसैलाई पत्याएर फ्याट्टै डकुमेन्ट भन्दै समाचारमा पनि राखिहाल्यो। त्यसमा रहेको लिङ्क क्लिक गर्न भने बिर्सियो।
अब हेरौँ त्यो लिङ्कमा क्लिक गरी हेरेको भए के देखिँदो रहेछ भनेर। सबैभन्दा पहिला रिपब्लिकाले राखेको एउटा पिडिएफ हेरौँ-
यो पिडिएफ रिपोर्टमा ६१ प्रतिशत प्लेजरिज्म गरिएको देखिन्छ। तल तीन वटा सोर्स पनि देख्नुभो होला
आउनुस्, प्रत्येक सोर्समा क्लिक गरी हेरौँ के रहेछ त त्यसमा?
पहिलो सोर्स https://www.scribd.com/document/313390975/10465-36697-1-PB
यसमा क्लिक गर्दा देखिन्छ, त्यो नीलमकुमार शर्माको आफ्नै पेपर रहेछ, जसले चोरेको भनिएको थियो। आफ्नै जुन पेपर चोरिएको भनिएको आरोप लागेको छ, त्यो केबाट चोरिएको भन्दा त त्यही पेपरबाट जुन अर्कै ठाउँमा अपलोड छ।
दोस्रो सोर्स : https://studyres.com/doc/13088991/21-globalization-and-its-impact-on-the-third-world-econo
यसमा पनि क्लिक गरी हेर्नुभो? यसमा पनि उही नीलमकुमार शर्माकै त्यही पेपर खुल्ने हो।
तेस्रो सोर्स : https://pdfs.semanticscholar.org/ad8b/479aeb1c12b3dd22c10435b7004ee064a1bc.pdf
यसमा क्लिक गर्दा पनि नीलमकुमार शर्माको त्यही पेपर खुल्छ।
अब भन्नुस्, कहाँसम्मको लापरवाही हो त यो? कसैलाई खुइल्याउने नाममा फ्याक्टचेक नै नगरी ती लिङ्कमा के छसम्म नहेरी आरोप लगाउन मिल्ने हो त?
फूर्सदमा हुनुहुन्छ भने समाचारमा भएका अरु पिडिएफको पनि लिङ्कहरुमा क्लिक गरी हेर्नुहोला- देख्नुहुनेछ कतै उनकै पेपर, कतै उनलाई साइट गरिएका भेटिनेछन्।
गल्ती स्वीकार्नुको साटो थपियो
बिहीबार राति माइसंसारमा डम्बरलाई डुबाउन खोज्दा यसरी चुके ‘रिपब्लिका’ र ‘नागरिक’ : एक लेक्चररलाई नगरेको ‘अपराध’को ‘सजाय’? शीर्षकमा रिपब्लिका तथ्यगत रुपमै चुकेकोबारे ब्लग लेखेपछि शुक्रबार डम्बर चेम्जोङबारे समाचार अनलाइनबाट गायब पारियो। त्यतिबेला नै प्रोफेसर नीलमकुमार शर्मालाई आरोप लगाइएको समाचार पनि गायब पारिएको थियो।
लागेको थियो, डम्बरसित माफी मागे जस्तै नीलमकुमार शर्मासित पनि माफी माग्ने गरी केही अपडेट होला कि! तर हैन, जुन ८ मा त्यो समाचार अपडेट गरिएको छ। अहिले त्यो लिङ्कमा क्लिक गर्दा Updated: Former TU research head found plagiarizing (with documents)*** शीर्षकमा भित्रका कन्टेन्ट परिवर्तन गरिएको देखिन्छ।
अहिलेको समाचारमा पिडिएफहरु सबै उडाइएका छन् र प्रोफेसर नीलमकुमार शर्माले एउटा नाइजेरियनको पेपरबाट चोरिएको दावी गरिएको छ।
समाचारमा लेखिएको छ-
Sharma has significantly lifted from a paper titled Globalization and 3rd World by UDOCHUKWU OGBAJI, a lecturer in Public Administration department of Federal Polytechnic, Oko-Nigeria. A majority of Sharma’s paper has been lifted from Ogbaji’s paper without citation.
यसरी फेरि चुक्यो रिपब्लिका
डम्बर चेम्जोङसित माफी मागे जस्तै गलत समाचार छापिएकोमा नीलमकुमार शर्मासित पनि माफी मागेको भए यो इस्यु सकिन्थ्यो। तर पत्रिकामा प्रकाशित समाचारलाई अनलाइनमा सच्याउने नाममा रिपब्लिकाले अर्को ब्लन्डर गरेको छ।
१) नाइजेरियनको पेपर कहाँ प्रकाशित?
रिपब्लिकाले नाइजेरियन लेक्चरर उडोचुकु ओग्बाजीको पेपरबाट कपि गरिएको भनेर लेखेको छ। तर त्यो पेपर कहाँ प्रकाशित हो भनेर लेख्न सकेको छैन। कतै प्रकाशित नभएको पेपर नेपाली प्रोफेसर नीलमकुमार शर्माले कहाँबाट कपि गरे त?
मैले गुगलमा खोजी हेर्दा academia.edu मा भेट्टाएँ। त्यहाँ पनि यो पेपर published मा हैन draft मा राखिएको रहेछ।
अब academia.edu कै कुरा आउँदा नेपालकाहरुले के सोचिरहेका छन् कुन्नि, विदेशमा त यसले दुई वर्षअघि नै इज्जत गुमाइसकेको हो। थप जानकारीका लागि Dear Scholars, Delete Your Account At Academia.Edu शीर्षकको लेख पढ्नुस् फोर्ब्समा छापिएको।
२) सन् २०१३ मा लेख्ने नीलमले सन् २०१६ मा लेख्ने नाइजेरियालीको पेपर कसरी चोरे?
रिपब्लिकाले प्रोफेसर निलमकुमार शर्माले चोरेको आरोप लगाएको नाइजेरियालीको पेपर academia.edu मा भेटियो। क्लिक गरी डाउनलोड गर्दा वर्ड फाइलमा रहेछ। वर्ड फाइलको डिटेल हेर्दा थाहा भयो- यो त सन् २०१६ बनाइएको र सेभ गरिएको रहेछ।
अनि प्रोफेसर शर्माको त २०१३ मै प्रकाशित
२०१३ मा प्रकाशितले २०१६ मा प्रकाशितबाट चोर्न टाइम मेसिन चढेर भविष्यको यात्रा गर्नुपर्यो। नभए यो कसरी सम्भव छ?
३) नाइजेरियालीले चोरे कि नेपालीले?
रिपब्लिकाले नाइजेरियालीकोबाट नेपालीले चोरेको दावी गरेको छ। मलाई चैँ नेपालीको नाइजेरियालीले चोरेको जस्तो लागेको छ। खोजी हेर्दा नाइजेरियालीले नेपालीको मात्र हैन इराकीको पनि चोरेको भेटियो।
त्यही वेबसाइटमा त्यो नाइजेरियाली लेक्चररको अर्को पेपर भेटियो। NEGATIVE EFFECTS OF GLOBALIZATION FOR DEVELOPING COUNTRY BUSINESS त्यसमा भएको Culture effect हुबहु इराकीको पेपरबाट सारिएको भेटियो।
इराकी Fairooz Mustafa Hamdi को पेपरको अंश
त्यसैगरी कन्क्लुजन पनि हुबहु छ-
टियुमा पढेको बबुरोले आफ्नो सीमित स्रोत साधन र ज्ञानको भरमा यसो खोज्दा भेटेको कुरो लेखेको हुँ। गल्ती, कमिकमजोरी भए सुधार्नलाई सुझाव दिनुहोला।
व्यक्ति खुइल्याउने गरी समाचार लेख्नुपरेको चाहिँ किन होला? यो सबका पछाडि ‘चुरो कुरो’ USAID को फन्ड र त्यसभित्र भएको राजनीति हो। डम्बरलाई डुबाउने र नीलमलाई खुइल्याउने अभियान यसैका लागि भएको हो।
यसबारे विस्तृत अर्को ब्लगमा। अहिलेलाई भने यो ब्लग निकै लामो भएकोले माफी माग्दै विदा।
तपैले स्पस्ट नै लेख्नु भए को रहेछ | काम को समयमा लुकी छिपी तपाइको लेख पदडा एस्तो भएको हो. सरि|
नेपाल मा चाही थाहा छैन (सबैले चोरेरै पास गर्ने हो) यो पपेर अमेरिका मा चाही चोरी नै मानिन्छ. आफ्नै आर्टिकल भए पनि इन्लाइन साइटएसन् बिना लेख्न पाई दैन |
तपाईँले ब्लग पूरै पढ्नुभएको हो? कुरो बुझ्नुभएन जस्तो छ। मैले नै बुझाउने गरी लेख्न नसकेको हो कि।
उनको जुन पेपरमा चोरी भएको अंश रह्यो भनेर दावी गरियो, त्यो लिङ्कमा खोलेर हेर्दा त्यही पेपर (अरु पेपर हैन, त्यही पेपर क्या त्यही पेपर) भेटियो। अनि कसरी त्यसलाई चोरी भन्न सकिन्छ। उनले आफ्नै पेपर अर्को पेपरमा चोरेको भनिएको हैन। कुरो बुझ्नु भयो कि मैले अझै बुझाउन सकिनँ?
ह म म , तेसो भए अब रिपब्लिका पढिन्न|
धन्न सालोक्री छन र पत्रकारीताप्रती बिश्वास जिउँदै छ ।
राम्रो लेख, लेखको लागि माइ-संसार लाइ धन्यबाद, Republica को पत्रकार ज्यु हरुले माइ-संसार पड्लान जस्तो मलाई लागेन, तेसैले गल्ति फेरी दोहोरिय़छ, हामीले भन्दा पनि पिडित व्यक्तिले उनीहरुलाई कारबाही नगरेसम्म यस्ता गल्ति दोहोरि रहनछ i
Hats off Umesh ji.
Republika ले Salokya खुइल्यौने अभियान चलौला है होस् गर्नुस !
तपाइँले त Republica धोती कछाड उतार्दिनु हुन्छ कि के हो येसरी ?