-प्रदीप गिरि-
उर्दु भाषा लेख्दा माथि यसो चन्द्रबिन्दु हाल्नुभो भने त्यही शब्दको अर्थ ‘खुदा’ लाग्छ। चन्द्रबिन्दु हटाइदिनुभो भने त्यही शब्दको अर्थ ‘जुदा’ लाग्छ। एउटाको अर्थ God, एउटाको अर्थ Separate। यस बजेटमा थुप्रा कुरा छन् जसलाई म ठीक भन्छु, थुप्रा कुरा छन् जसलाई म बेठीक भन्छु। त्यता म जान्नँ।
यसमा एउटा कुरा छ, मैले वर्षौँदेखि भन्दै आएका सबै कुरा टुङ्गिन्छ। के भनिएको छ भने एक ठाउँमा- ‘आधुनिक सभ्यताको मानक नै सुविधायुक्त सहर भएको तथा मुलुकुको विकासको स्वरुप सहरी पूर्वाधारबाटै प्रतिबिम्बित हुने यथार्थलाई ध्यान दिँदै सहरी विकासतर्फ कार्यक्रम प्रस्तुत गरेको छु।’
म यस सरकारलाई भन्न चाहन्छु यस पंक्तिमा एउटा शब्द फेरिदिने हो भने मलाई यो बजेट पूर्ण स्वीकार छ। एउटा खुदालाई जुदा बनाउने शब्द के हो भने आधुनिक सभ्यताको मानक सुविधायुक्त सहर हो त? काठमाडौँलाई सहरको सट्टा कहर बनाएर चित्त बुझेन। कहर भन्छ उर्दुमा बर्बादीलाई।
यसलाई तपाईँ लेख्नसक्नुहुन्छ ‘आधुनिक सभ्यताको मानक नै सुविधायुक्त गाउँ’ बनाएर। गाउँलाई सुविधायुक्त बनाउन सकिँदैन? गाउँलाई सुविधायुक्त बनाउनु आजको नेपालको चुनौति हो कि हैन? एउटा शब्द छ स्यानो शब्द छ -PURA Providing Urban Amenities to Rural Areas अब्दुल कलाम, भारतका पूर्व राष्ट्रपतिले यो शब्द बनाएका थिए। तेस्रो विश्वलाई चाहिएको कुरा के हो भने पुरा।
यति शब्द सहरलाई गाउँ गरिदिनुस् त, मेरो बिन्ति छ। प्रार्थना छ। सारा बजेटको रुपरेखा स्वरुप दिशा बदलिन्छ। आज गाउँबाट बजार, बजारबाट झन् ठूलो बजार, झन् ठूलो बजारबाट सहर, त्यसपछि फोहर काठमाडौँ, त्यसपछि विदेश। अमेरिका। अस्ट्रेलिया। यही हो नेपालको नियति? यही गर्न हामीले देश बनाउने कसम खाएको? यति शब्द बदलिए पुग्छ, अरु मलाई केही चाहिएको छैन। हामीले सुविधायुक्त गाउँ बनाउने हो। सहरलाई कति चाहियो? गाडी पुगेन कि कलेज पुगेन कि अस्पताल पुगेन कि। काठमाडौँमा जोड्नुस् त प्रतिव्यक्ति कति छ?
अर्को मेरो प्रश्न छ- विकल र विकट। यो सभ्यता भनेको के हो? आधुनिक सभ्यता भनेको के हो? सभ्यताको परिभाषा के हो? स्थुल परिभाषामा सभ्य भनेको यही प्रतिनिधि सभामा सभा जोडेको पूच्छर शब्द छ। सभ्य भनेको त्यही हो जो सभामा बस्न लायक छ। हाम्रा आचरण हेर्दाखेरी बरु हामीले आफूलाई प्रश्न गर्नुपरेको छ- हामी सभ्य कहलाउने मान्छे हौँ? तोडफोड झैँझगडा भ्रष्टाचारमा हामी डुबेका छौँ। हैन भने गाउँको साधारण मान्छेमा के कमि छ ऊ सभ्य भएन? छिमेकीप्रति दयालु छैन? एकअर्काको दुःखदर्दमा पग्लेको छैन? माथिल्लो तल्लामा बस्ने, तल्लो तल्लालाई नचिन्ने, तल्लो तल्लाका मान्छे मलामी जाँदा हाँसेर भोज खाएर बस्ने यो सभ्य हो? म आधारभूत कुरा भन्दैछु- विकासको जुन मोडल छ, आजको धारणा छ म विनम्रतापूर्वक भन्दैछु- यस बजेटका आधारभूत धारणा नै गलत छ, असभ्य छ बर्बर छ पाशविक छ।
अर्थमन्त्रीलाई एउटै कुरा भन्न चाहन्छु- एउटा विशाल खाल्डो दुई फड्कोमा पार गरिँदैन। पार गर्न खोजे भास्सिन्छ। त्यसैले पहिले पनि भनेको थिएँ विचार स्पष्ट गर्नुस्, आफ्नो विचार स्पष्ट गर्नुस्, आफू सम्वद्ध रहेका पार्टीको विचार स्पष्ट गराउनुस्, आफ्ना नेताको विचार स्पष्ट गराउनुस्। विचार के हो?
कति आयु छ रे वर्तमान प्रधानमन्त्रीको? प्रधानमन्त्रीका अनुसार ठट्यौला हिसाबले पाँच दिन। अर्का आकांक्षीका अनुसार १५ महिना। अर्का आकांक्षीका अनुसार पाँच वर्ष। यस देशमा नीतिका बारे छलफलै हुँदैन, नेताका बारेमा मात्र छलफल हुन्छ। नेता कहिले बिरामी भयो, कति दिन खकार्यो, कति दिन प्रधानमन्त्री बन्छ? कति प्रधानमन्त्री हेर्ने? अरु २/४ वटा हेरौँला। मुख्य कुरा यस देशलाई चाहिएको तथाकथित समाजवादी नीति भनेको के हो? म यसका लेखक यसका प्रस्तावकलाई बिन्ति गर्न चाहन्छु, या त सहरका ठाउँमा गाउँ लेख्नुस्, या समाजवादउन्मुख लेख्ने पाखण्ड नगर्नुस्। हामी जता गइरहे पनि समाजवादतर्फ गइरहेका छैनौँ। समाजवाद भनेको महको टपिङ हैन। समाजवाद भनेको मूलतः अर्कै दृष्टिकोण हो। जीवनका प्रति अर्कै दृष्टिकोण। सबै मनुष्य मनुष्य हुन् भन्ने मान्यता।
(सोमबार प्रतिनिधि सभामा बजेट बारे भएको छलफलमा प्रदीप गिरिले राखेको मन्तव्यको अंश। पूरा मन्तव्य तलको भिडियोमा सुन्नुस्)