Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दरबार हत्याकाण्ड स्वचालित हतियार पड्केर भएको : ज्ञानेन्द्रको पहिलो वक्तव्य

Posted on June 2, 2019 by Salokya


१८ वर्षअघि जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा हत्याकाण्ड भए पनि आइतबार रातितिर बल्ल राज्य सहायक ज्ञानेन्द्रले देशवासीका नाममा सन्देश दिए। यो सन्देश सधैँ विवादास्पद सन्देशका रुपमा नेपालको इतिहासमा दर्ता हुनेछ। किनभने त्यसमा दरबारमा भएको घटनाका बारेमा ज्यादै हलुका रुपमा स्पष्टिकरण दिइएको छ। नागरिकको सूचना पाउने अधिकारलाई खिल्ली उडाउँदै त्यसमा भनिएको छ- आकस्मिक रुपमा स्वचालित हतियार पड्कन गई त्यसो भएको हो। दोष जति त हतियारलाई पो ! हतियार पडकिएर पो भएको रे। अर्थात् हतियारै दोषी।

धेरैले बिर्सिसकेको ज्ञानेन्द्रले २०५८ को जेठ २१ गते दिएको सन्देशको पूर्ण विवरण यस्तो छ-

प्यारा देशवासीहरू,

अस्ति राति घटेको दुर्घटनाले हामी सबै नेपालीको जीवनमा गहिरो आघात पुर्‍याएको र सुखद पारिवारिक जमघटमा भएको कहालीलाग्दो अप्रत्याशित घटनाले सम्पूर्ण नेपालीलाई व्याकुल पारेको छ।

हामीलाई प्राप्त विवरणअनुसार उक्त घटना आकस्मिक रूपमा स्वचालित हतियार पड्किन गई श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव, श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह, श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाहसमेत अन्य शाही परिवार नातेदारहरू गम्भीर रूपमा घाइते होइबक्सी छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारको लागि लगिएको थियो।

चिकित्सकहरूको अथक प्रयास हुँदाहुँदै पनि श्री ५ महाराजाधिराज जेठ १९ गते शुक्रबार हामी सबैसित सधैंको लागि बिदा होइबक्सँदै स्वर्गारोहण होइबक्स्यो।

साथै श्री ५ बडामहारानी, श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह तथा राजपरिवारका अन्य सदस्यहरू श्री ५ अधिराजकुमार श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह र श्री ५ शाहज्यादी जयन्ती राज्यलक्ष्मी देवी शाह पनि स्वर्गारोहण होइबक्स्यो। यसै गरी शाही नातेदार कुमार श्री खड्ग विक्रम शाहको पनि स्वर्गारोहण भयो। यस शोक समाचारबाट विह्वल भएका हामी सबैले श्रीपरमेश्वरको टारेर नटर्न यस इच्छालाई स्वीकार गर्न बाध्य हुनुपरेको छ।

प्रजावत्सल श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव स्वर्गारोहण होइबक्सेको हुँदा नेपाल अधिराज्यको संविधान, २०४७, राजगद्दी उत्तराधिकारसम्बन्धी कानुन रीत र परम्पराअनुसार राजपरिषद्को बैठकले मौसुफका ज्येष्ठ सुपुत्र राजगद्दी उत्तराधिकारी श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव २०५८ साल जेठ १९ गतेदेखि नेपाल अधिराज्यका श्री ५ महाराजाधिराज होइबक्सेको घोषणा गरेको छ।

तर हामी सबैले आ-आफ्नो कर्तव्यलाई बिर्सन नहुने बेला आएको छ। हाम्रा परमपूज्य मुमाज्यूमाथि आइपरेको यस शोकको बेला सबै देशवासीहरूसहित हामी मौसुफमा श्रद्धाभक्तिपूवक समवेदना चढाउँछौं।

वर्तमान श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव हाल सघन उपचारको अवस्थामा होइबक्सेकोले मौसुफबाट शारीरिक अशक्तताका कारण नेपाल अधिराज्यका श्री ५ महाराजाधिराजको हैसियतले कार्यभार सञ्चालन गर्न असमर्थ होइबक्सेकोले नेपाल अधिराज्यको राज्य सहायकको अभिभारा हाम्रो काँधमाथि आइपरेको छ।

नेपालको गौरवमय स्वतन्त्रतालाई सदा अटुट राखिबक्सँदै श्रद्धेय दाज्यूबाट देश र जनताको भलाइको निम्ति गरिबक्सेका योगदानले हाम्रो इतिहासमा मौसुफको स्थान सधैं अटल रहनेछ। मौसुफको अन्त्येष्टि समारोहको अवसरमा प्यारा देशवासीहरूले दर्साएको स्वतःस्फूर्त सम्मानलाई हामीले मौसुफप्रतिको सदाशय र स्नेहको द्योतकका रूपमा लिएका छौं।

मौसुफबाट बक्सेको मार्गनिर्देशनलाई मनन गर्दै हामी आफ्नो कर्तव्य नभुली सदाझैं यस विपद्को बेलामा हामी सबै नेपाली एक भई पारस्परिक सहयोग, सद्भावना र मेलमिलाप राखी यस देशको प्रतिष्ठा अक्षुण्ण राख्ने मौसुफको सपनालाई साकार पार्न प्रयत्नशील हुनेछौं। यस कार्यमा सबैको सहयोग पाउनेछु भन्ने कुरामा म विश्वस्त छु।

यस घडीमा श्रीपरमेश्वरमा श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेवको शीघ्र स्वास्थ्यलाभको लागि म सम्पूर्ण नेपालीको तर्फबाट प्रार्थना गर्दछु। स्वर्गवासी श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाह तथा श्री ५ बडामहारानी ऐर्श्वर्य राज्यलक्ष्मी देवी शाहका साथै यस दुःखद घटनामा दिवंगत होइबक्सेका अन्य राजपरिवारका सदस्यहरू तथा शाही नातेदारको दिवंगत आत्माको चिरशान्तिको लागि पनि श्री परमात्मासँग प्रार्थना गर्दछु। जय नेपाल !

2 thoughts on “दरबार हत्याकाण्ड स्वचालित हतियार पड्केर भएको : ज्ञानेन्द्रको पहिलो वक्तव्य”

  1. Shankar says:
    June 4, 2019 at 3:19 am

    ज्ञानेन्द्र बास्तब मा राजा हुन् जन्मिएको थिएँन , उसलाइ राजा बनाइयो र आफ्नो हिसाब ले चलाउन खोज्यो , सकेन छोड दियो | यी चरित्र हिन र बेबारिसे नेता हरु जस्तो , इन्डिया सब स्वाभिमान को बन्दकी राखेन | यो जग जाहिर छ कि भुटान को हैसियत मा बसेको भए , बा ज्ञानेन्द्र ले म जसरि पनि राजा बसिराक्छु भनेर सोचेको भए बस्न सक्थ्यो | उपाय धेरै हुन् सक्थे |
    अब हिजो उसकै जुठो ,पुरा खाएर हुर्केका हरु आज उसको कट्टर बिरोधि छन् | किनकि मोरे पछि जुम्म्रा हरु ले साथ् छोड्छ भनेको यहि हो |
    ज्ञानेन्द्र व्यक्ति को रुप मा मुल्यांकन गर्दा तेत्ति खराब जस्तो देखिन्न , ति भन्दा आजका सिर्सस्त नेता हरु धेरै खराब जस्तो देखिन्छ |
    खाते पाखे हरु त् ठुला ठुला बाद को कुरा गर्छ , प्रजातन्त्र , लोकतन्त्र सब उसले बुझेको जस्तो कुरा गर्छ तर चरित्र आरिसे , हादी घोप्टे खालको हुन्छ | स्वभाब भिर को बादर को जस्तो हुन्छ लुट्ने मात्र र लुट्न पाए दंग पर्ने | के राम्रो न राम्रो , कुन बाटो ठिक , बेठिक था छैन ,पैसा पैसा नै हो भन्ने खाल को |
    प्रजातन्त्र उनीहरुको मुख मा हुन्छ , पाद दा लोक तन्त्र , दकार्दा समाबेसी ?
    यो झुसे , मुसे हरु हरु बाद को कुरा गर्छ , प्रजातन्त्र को कुरा गर्छ त् ज्ञाने त् राजा को खलक मा जन्मियो , तेही बाताबरण मा हुर्के अलि अलि राजनीति मा चाख राख्यो भन्दैमा मुसा हरुले दुलो भित्र बाट चुनौती दिन मिल्छ ?
    उस को इन्डिया को सिन्धिया राज घराना सग नाता सम्बन्ध छ , इन्डिया को धेरै नेता चिनेको छ त् अलि अलि भेट घात् स्वाभाविक हो | तर के ज्ञानेन्द्र ले खुलेआम चुनाबी राजनीति गरेको छ ? उ नसकेर छोडेको , बस्ताब मा कम्जोर नै मान्न पर्छ |
    कसैले राजा मानिदिए र बनाइदिए राजा बन्न चाहन्छ पनि होला , स्वाद पाइसकेको ले तेत्ति चाहनु अस्वाभाविक पनि हैन | तर उ ब्यापारी हो , उसले पनि दिमाग राक्छनै होला | उसलाई पनि था होला अब कस्सेर राजनीति न गरि त्यो सम्भब छैन |
    भनेपछि उ चुप लागेर आफ्नो हिसाब को जिन्दगि वाच्न पनि न पाउने ? पाखे चोर हरुले आइज राजनीति गर , बा न गर भन्दैमा न गर्ने ? त् जस्तै तेरो नेताको पाल्तु कुकुर हो ज्ञानेन्द्र ?
    राजनीति तेरो जिन्दगि को सब थोक होला , येसलाई पेसा बनाएर लुटेर कमाइस होला , अब तेत्ति मै तेरी हसियत बढ्यो ?

    Reply
  2. sagar says:
    June 3, 2019 at 8:51 am

    यो ज्ञाने भन्ने लठ्ठक चुनाब मा किन उठ्दैन ? त्यो रैती भइ सकेको तेस्लाई अझै पत्तो छैन कि क्या हो ? सधैं बोकाको ‘गे’डा’ कैले झर्ला र खाउला भने जस्तै गरेर किन कमल थापाले भाग ल्याईदेला र खाउला भनेर किन पर्खिएर बस्छ ? तेस्को कुर्सी गएको तेस्कै योग्यताले हो |

    प्रजातन्त्र भनेको सबैलाई समेट्ने व्यवस्था हो , सबैलाई समान अवसर छ याग्यता प्रमाणित गर्नलाई | तेस्का केहि भरौटे पानी मरुवा हरुले माइ संसारमा त्यासको पक्ष्यमा कमेन्ट लेखेको देख्दा उदेक लाग्छ | नेताको इर्श्या-डाहा गरेर मात्र केहि हुन्न | ती पानिमरुवा हरु जनसमक्ष्य जाउन र हालका नेता गलत हुन् हामीलाई भोट दिनुहोस भनेर बिस्वास दिलाउन न , किन सक्दैनन् ? फोकटको खान पल्केका भरौटे लाछी हरु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme