आफूलाई राष्ट्रिय दैनिक दावी गर्ने पत्रिकाहरु दिनमा कति छापिन्छ? यो एकदमै गोप्य विषय हो। प्रेस र प्रकाशकबीच यति गोप्य रुपमा कोड भाषामा यो अङ्कबारे ‘कम्युनिकेसन’ हुन्छ कि विश्वविद्यालयमा ‘कम्युनिकेसन’ पढेकाहरु ट्वाँ पर्न बाध्य हुन्छन्। विज्ञापनदाताहरुका लागि उनीहरुले यति छापिन्छ, उति छापिन्छ भनेर दावी त गर्ने गर्छन्, तर त्यो अङ्क निकै नै बढाइचढाइ गरिएको हुन्छ।
खासमा छापिने कति हो त? के कतै तथ्याङ्क पाइन्छ?
अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने बेला पहेँलो पुस्तक (यल्लो बुक) पनि सार्वजनिक हुने गर्छ। त्यसमा सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा हुने गर्छ। सरकारी अखबार गोरखापत्र संस्थानमार्फत् प्रकाशन हुने भएकोले त्यसमा यससम्बन्धी तथ्याङ्क हुन्छ।
यसपालिको यल्लो बुकमा उल्लेख भए अनुसार आर्थिक वर्ष २०७४/०७५ मा गोरखापत्र ७८ लाख १३ हजार प्रति छापियो। यसलाई १२ महिनाले भाग गरियो भने प्रति महिना कति छापियो, त्यसको औसत हिसाब निस्कन्छ। हिसाब गर्दा ६ लाख ५१ हजार ८३ प्रति महिनामा देखियो। अब यसलाई महिनाका ३० दिनको हिसाबले भाग गर्ने हो भने प्रति दिन कति छापिन्छ, त्यसको औसत निस्किन्छ। हिसाब गर्दा निस्कियो २१ हजार ७०२।
दशैँ र तिहारमा केही दिन गोरखापत्र नछापिने भएकोले यो औसतमा केही अङ्क यताउता हुनसक्छ। तर पनि एक किसिमको आकार त प्रष्टै देखिन्छ। सरकारी अखबार, जुन हरेक सरकारी कार्यालयमा जान्छ, त्यस्तो पत्रिकासमेत दैनिक जम्मा साढे २२ हजारको हाराहारीमा छापिने रहेछ।
अझ अंग्रेजी दैनिक राइजिङ नेपालको त बिजोग रहेछ। यसको औसत निकाल्दा त दैनिक २१ सयको हाराहारीमा देखिने रहेछ।
युवा लक्षित मासिक युवामञ्च महिनामा २७ सय, साहित्यिक मासिक मधुपर्क महिनामा ४ हजार अनि बाल मासिक मुना साढे ६ हजार छापिने रहेछ।
देशभरका सरकारी कार्यालय ग्राहक हुने गोरखापत्र नै जम्मा साढे २२ हजार छापिने देशमा स्वघोषित एक नम्बर दैनिक कान्तिपुर, नागरिक, अन्नपूर्ण कति छापिएला त? तपाईँ स्वयं अनुमान गर्न सक्नुहुन्छ।
दावी भने चर्को छ। जस्तै कान्तिपुरले आफ्नो वेबसाइटमा सर्कुलेसन ४ लाख ४८ हजार दावी गर्छ। नझुक्किनुस्, यो अङ्क वार्षिक हैन, दैनिक भएको दावी हो। नपत्याए दैनिक रिडरसिपको दावी पढ्नुस् आधिकारिक वेबसाइटमा।
काठमाडौँ पोस्ट अङ्ग्रेजी दैनिक भने ८४ हजार प्रति छापिने उसको दावी छ।
कति छापिन्छन् भनेर अमेरिकी दूतावासले समेत क्लियर तथ्याङ्क निकाल्न नसकेको विकिलिक्सको केबलबाट देखिन्छ। विकिलिक्स अनुसार नागरिक ३० हजार, रिपब्लिका १५ हजार, राइजिङ नेपाल ५ हजार, काठमाडौँ पोस्ट ३० हजार, गोरखापत्र ५० हजार, कान्तिपुर १ लाख ५० हजार, दि हिमालयन टाइम्स ४० हजार, नेपाल समाचारपत्र ७० हजार, राजधानी ३० हजार छापिन्छ।
अघिल्लो यल्लो बुकसित तुलना गर्ने हो भने अघिल्ला वर्षहरुको तुलनामा पत्रिका झन् कम छापिन थालेको प्रष्ट हुन्छ। यो अघिल्लो वर्षको यल्लो बुकबाट-
यसमा २०७३/०७४ मा गोरखापत्र ९१ लाख ८३ हजार छापिएकोमा २०७४/७५ मा लक्ष्य १ करोड १४ लाख राखिएकोमा अघिल्लो वर्ष भन्दा कम ७८ लाख १३ हजार प्रति मात्र छापिएको देखिन्छ।
त्यसैगरी राइजिङ नेपाल पनि अघिल्लो वर्ष ८ लाख ४२ हजार छापिएकोमा यो वर्ष ७ लाख ७३ हजार मात्रै छापिएको छ।
युवामञ्च ५२ हजारबाट ३३ हजारमा झरेको छ भने मधुपर्क ४८ हजारबाट ३३ हजारमा अनि मुना १ लाख १८ हजारबाट खुम्चेर ७९ हजारमा पुगेको छ।
के विश्वव्यापी रुपमा प्रिन्ट मिडियाको घट्दै गरेको ट्रेन्ड नेपालमा पनि देखिएको हो? तपाईँलाई के लाग्छ? तल कमेन्टमा आफ्नो विचार राख्न सक्नुहुन्छ।
नेपाल समाचारपत्र दैनिक ४९०० प्रति छापिन्छ , कान्तिपुर देश भरि बाट ८० हजार , नया पत्रिका ४५ हजार , अन्नपुर्ण ४५ हजार , नागरिक ४५ हजार , राजधानी १२ हजार , अभियान ९ हजार , कारोबार १० हजार , आर्थिक ९ हजार , हिमालयन टाइम्स पच्चीस सय , सौर्य २००० , जनसबाल १५०० , मध्यान २००० प्रति छापिन्छन .
20 Lakh तिरेर jacket add दिने हरु परुन ट्वां ?
एक रात (प्रकाशक को झड़केलो छोरो उपस्थित नभाको बेला) प्रेस मा गएर हेर्नुस अथवा छाप्ने कागजको सक्कली बिल हेर्नुस , वा प्रेस मैनेजर लाई एक फुल खम्बा र चिकेन तंदूरी उपहार लिएर जानुस, सब को डिस्ट्रीब्यूशन एन्ड सर्कुलेसन रिपोर्ट ठाउँ को ठाउँ फयाँ पर्छ , टंटा नै साफ ! (तपाईं त अझ प्रेस कार्ड भाको मुन्छे ????)
खासमा नेपालमा यस्तो छापाको बिक्री घट्ने ट्रेन्ड नहुनुपर्ने हो । किनभने साक्षरता दर बढ्दैछ । तर नेपाली मिडियाको पारा भएन । कन्टेन्ट गतिलो भएन । अनि वितरण प्रणाली पनि त्यही काठमाडौँ र केही सहरहरुमा सीमित भयो । दह्रो वितरण प्रणाली गर्न सक्ने हो भने छापाको अझै भविष्य छ ।