Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चार जनाको विस्फोटमा ज्यान जाने गरी आइतबार भएको के थियो?

Posted on May 28, 2019May 28, 2019 by Salokya


२०७६ साल जेठ १२ गते आइतबार। दिउँसोसम्म अरु दिन जस्तै शान्त नै थियो। दिउँसो साढे ४ नबज्दै सामाजिक सञ्जालमा सुकेधारामा के हो पड्कियो भन्ने कुरा आयो। केही समयमै घटनास्थलको फोटो नै आयो- सिलिन्डर पड्केको हुनसक्ने भन्दै।

एक जना मरेको र ६ जना घाइते भएको भन्ने खबर आउँदासम्म धेरैले सोचे- ग्यास सिलिन्डर पड्किएर दुर्घटना भएको होला। तर होइन रहेछ। त्यहाँ त शक्तिशाली प्रेसर कुकर बम पड्किएको रहेछ। बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ मा पर्ने ढलानेपुल नजिक जस्ताले छाएको १ तले कच्ची घर छ। त्यहाँ महोत्तरी रामनगर-३ घर भएका जीवकुमार ठाकुरको कपाल काट्ने पसल छ।

त्यही पसल भित्रको भान्सा कोठामा दिउँसो ४ बजेर २० मिनेटमा विस्फोट भएको थियो। एक जना व्यक्तिको घटनास्थलमै मृत्यु भइसकेको थियो। ६ जना छटपटाइरहेका थिए।

महाराजगंज वृत्तबाट प्रहरी टोली घटनास्थलमा पुगे लगत्तै ५ जना घाइतेलाई उपचारको लागी ओम अस्पताल चाबहिलमा पठाइयो। अस्पताल पुग्न नपाउँदै एक जना पुरुषको बाटैमा मृत्यु भयो।

बाँकी चार जनालाई अस्पताल लगियो। तर ७ बजेर २५ मिनेटमा अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भयो।

कपन मिलनचोक घर भएका बर्ष ४४ को हरि खड्का घाइते थिए। पेट र दुवै खुट्टामा चोट लागेका उनी बोल्न सक्ने अवस्थामा थिए। त्यसैगरी बुढानिलकण्ठ नगरपालिका चुनिखेल घर भएका बर्ष ५४ को सुरेन्द्र महर्जनको अनुहार र दुवै खुट्टामा चोट लागेको थियो। उनी पनि बोल्न सक्ने अव्थामा थिए।

सैलुन पसलमा काम गर्ने महोत्तरी रामनगर-१ घर भएका छोटु ठाकुर पनि घाइते थिए। उनलाई उपचारको लागि सुरुमा शिक्षण अस्पताल महाराजगंज त्यसपछि वीर अस्पताल रिफर गरियो।

घटनास्थलदेखि अन्दाजी १० मिटर टाढा बा ४७ प १४७७ नं.को १५० सिसिको बजाज कम्पनीको मोटरसाइकल, उक्त मोटरसाइकलको चाबी र बिलबुक समेत प्रहरीले फेला पार्‍यो।

यो घटनामा यी तीन जनाको मृत्यु भयो-
– विभुराम विक उर्फ दिपेन विक, वर्ष २७, कालिकोट
– निरन्तर मल्ल वर्ष अन्दाजी ४०/४५, घर खुलेको छैन
– गोकुल राना मगर, वर्ष ३२/३३, बबही गाउँपालिका ३ दाङ

यो घटनामा घाइते ४ जना भए। त्यसमध्ये तीन जना ओम अस्पतालमा र एक जना वीर अस्पतालमा उपचार गराउँदै।

दोस्रो विस्फोट
४ बजेर ३० मिनेटमा अर्को विस्फोट भयो। काठमाडौँ महानगरपालिका वडा नम्बर २९ मा पर्ने मैतिदेवी संगम गल्लीमा लोकमञ्जरी कार्कीको ३ तले घर छ। त्यसैको भुँईतलामा विष्फोटक पदार्थ पड्किएको थियो।

यो विस्फोट हुँदा अछाम घर भई त्रि-चन्द्र क्याम्पसमा बीए तेसो वर्षमा पढिरहेका वर्ष २७ का विशाल शाहीको घटनास्थलमै मृत्यु भयो। उनलाई प्रज्वल पनि भनिने रहेछ।

सोमबार साँझ उनको पशुपतिमा अन्त्येष्टि पनि गरियो-

यो घटनामा भने एक जना मात्रै घाइते भए- रूकुम सानोभेरी गा.पा-७ घर भएका वर्ष २६ को रविन के.सी.। उनको दुवै खुट्टा र पेटमा चोट लागी बोल्न सक्ने अवस्थामा छन्।

यो कोठामा क्षेत्र बि.क.नाम गरेको व्यक्ति डेरा गरी बस्ने गरेको घरधनीले प्रहरीलाई बताए छन्। तर उनी सम्पर्कमा भने छैनन्।

तेस्रो विस्फोट

यसको झण्डै तीन घण्टापछि काठमाडौँको पश्चिमी भागमा अर्को विस्फोट भयो। चन्द्रागिरी न.पा-३ स्थित आदित्य इँट्टाभट्टा नजिकै ठूलो आवाज आएको भन्ने खबर आयो।

प्रहरी टोली घटनास्थल पुगी हेर्दा प्रेसर कुकुरको टुक्रा,रगत र बा २८ प ८१४५ नं. को मोटरसाइकलमा सवार दुई जना घाइते छटपटाउँदै थिए।

मोटरसाइकल ललितपुर घर बताउने ३० वर्षका बुद्ध लामाले चलाएका थिए। उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइयो। उनलाई ढाडमा चोट लागेर हल्का बोल्न सक्ने अवस्था छ।

मोटरसाइकल पछाडी सवार चन्द्रागिरी नपा-३ बस्ने वर्ष २९ को बिक्रम लामालाई भने शहिद मेमोरियल अस्पताल कलंकी उपचारका लागि पठाइयो। शरीरको विभिन्न भागमा चोट लागेका उनी बोल्न सक्ने अवस्थामा छन्।

भएको के थियो?
मृत्यु हुने सबै आफ्नै कार्यकर्ता रहेको विप्लवले विज्ञप्तिबाट स्वीकारिसकेका छन्। यसअघि गृहमन्त्रीले पनि मारिने र घाइते हुने सबै विप्लवकै कार्यकर्ता रहेको संसदमा बताएका थिए।

तीन वटै ठाउँमा प्रेसर कुकर बम पड्किएको थियो। टाइमर सेट गर्न नजानेर विस्फोट भएको हो कि हैन यकिन भएको छैन। तर बम ‌ओसार्ने क्रममा दुर्घटनावश विस्फोट भएको चाहिँ प्रष्टै छ। नत्र घाइते र ज्यान गुमाउनेहरु आफै किन हुन्थे।

3 thoughts on “चार जनाको विस्फोटमा ज्यान जाने गरी आइतबार भएको के थियो?”

  1. prithvi narayan shah says:
    May 28, 2019 at 3:06 pm

    बेकारमा फसे फसाइए ! बाबु आमाको गर्भ तुहियो! यो सब सिकाउने प्रचण्ड बाबुरामहरु जनता वेवकुफ बनाएर, खरबौ रुपिया कुम्ल्याएर, आफ्नो पार्टि पतन गरेर अर्कै अर्कै पार्टिको टाङ्ग मुनि लुकिसके, ति दुइ पाखण्डीहरु लाइ घिसार्दै लछार पछार गर्दै कानुनको कठघरामा ल्याएपछि मात्र देशमा शान्ति हुन्छ

    Reply
  2. Shankar says:
    May 28, 2019 at 2:01 pm

    बम पड्काउँन जान्ने र तालिम प्राप्त हरु प्रचण्ड , बादल , बाबुराम को पछिलागेर खाउबादि पथ मा लागेछन र न जान्ने जति विप्लब सग परेछन |
    अनि सर्बसाधारण को घर को सिढिमा बम पद्काइदियेर यो कस्तो आन्दोलन ?
    सक्छौ भने हिजोका तिम्रा सहकर्मी को घर मा पड्काउन |

    Reply
  3. bijay says:
    May 28, 2019 at 5:15 am

    अरुलाई मार्न जाँदा गल्तीले आफै मर्नेहरुलाई आतंककारी घोसना गरिने हो कि शहिद?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme