Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा रेल आउने ‘हल्ला’ले चीन आश्चर्यचकित शीर्षकको समाचार यसरी भएको थियो ट्विस्ट

Posted on May 26, 2019May 26, 2019 by Salokya

तपाईँले पनि “नेपालमा रेल आउने ‘हल्ला’ले चीन आश्चर्यचकित” समाचार पढ्नुभएको थियो होला। शुक्रबार यो विषयमा ट्विटर र फेसबुकमा बहसै भएको थियो। रेलको विषयमा अहिले नेपालमा दुई परस्पर विरोधी धारणा राख्ने सक्रिय छन्। यो समाचारसहितको लिङ्कलाई ‘रेल विरोधी’ त भनी नहालौँ, रेल प्रति आलोचनात्मक दृष्टि राख्नेसम्म भनौँ, ले खुबै फैलाए। के साँच्चै नेपालमा रेल आउने हल्लाले चीन आश्चर्यचकित भएकै हो त? माइसंसारले यो विषयमा फ्याक्टचेक गर्दा ट्विस्ट भएको देखिएको छ। कसरी? थाहा पाउन भित्र आउनुस्।

चिनिया राजदूतावासले अग्रिम लिखित प्रश्न मागेर* गरेको पत्रकार सम्मेलनमा रेलको विषयमा कुरा उठेको थियो। केही पत्रकारहरुले रेलको विषयमा प्रश्न सोधेका थिए। यसमा चिनियाँ राजदूतले दिएको जवाफबाटै यो इस्यु उठेको हो।

तर अन्नपूर्ण पोस्टको समाचारमा जस्तो नेपालमा रेल आउने हल्लाले चीन आश्चर्यचकित भएको त्यहाँ कतै राजदूतले वा दूतावासका अधिकारीहरुले बोलेका छैनन्।

पत्रकार सम्मेलनमा राजदूतले म पनि कहिलेकाहीँ कन्फ्युज हुन्छु भनेकोलाई आधार बनाएर चीन आश्चर्यचकित भएको अर्थ त लागेको हैन भन्ने पनि लाग्न सक्ला तर त्यसो होइन। किनभने राजदूतले त्यसो भन्दा प्रसंग फरक थियो। प्रसंग फिजिबिलिटी अध्ययनको अनुमानित लागतको विषयमा थियो।

पत्रकार सम्मेलनमा एक पत्रकारले सोध्छन्- डकुमेन्टमा लेखिसकिएको छ। के हामी निश्चिन्त हुन सक्छौँ कि चिनियाँ रेल अब नेपालमा आउनेछ? कि अरु केही प्रक्रिया छन्?

राजदूतले यस्तो जवाफ दिन्छिन्- क्रस बोर्डर रेलवे निकै महत्त्वपूर्ण तर स्पष्ट रुपमा भन्नुपर्दा यस्तो कठिन भौगोलिक अवस्थिति भएको ठाउँमा रेलवे बनाउनु यो सजिलो काम हैन। यो हामीले आज राजनीतिक निर्णय गर्‍यो र भोलि नै आउने कुरा हैन। अरु वैज्ञानिक अध्ययन गर्न बाँकी छ।

सामान्य अभ्यासमा रेल वे बनाउनका लागि कम्तिमा चार वटा तयारी गर्नुपर्छ-

१) प्रि फिजिबिलिटी अध्ययन

२) फिजिबिलिटी अध्ययन

३) डिजाइन

४) निर्माण

पहिलो सकियो। अर्को फिजिबिलिटी अध्ययन ट्रान्सबोर्डर पार्टमा भइरहेको छ। यद्यपि यो दीर्घकालीन योजना हो तर हामीसित दृढता छ कि हामी हाम्रा कामहरु निरन्तर गर्न सकौँ।

यत्ति भनिसकेपछि पत्रकारले फन्डिङ बारे प्रश्न गर्छन्।

‘फिजिबिलिटी अध्ययनका लागि कोषको बारेमा छलफल भएको छ’, राजदूतले जवाफ दिन्छिन्।

फेरि अर्को प्रश्न आउँछ- फिजिबिलिटी अध्ययनका लागि कति रकम पर्छ भन्ने त्यस्तो केही छ?

राजदूत : ओहो छैन अहिलेसम्म त।

पत्रकार : मैले एउटा रिपोर्टमा ३५ बिलियन देखेको थिएँ अनि अर्को रिपोर्टमा २.५ बिलियन छ। अलि कन्फ्युजिङ भयो।

राजदूत : कहिलेकाहीँ म आफै पनि कन्फ्युज हुन्छु हाहाहा

भएको यत्ति हो।

अब यसैलाई ट्विस्ट गरेर समाचारमा यस्तो लेखियो-

उत्तरी छिमेकी चीनबाट रेल ल्याउने विषयमा काठमाडौंमा भएको बहसले बेइजिङ अचम्मित बनेको छ। हिमाल छेडेर वा नघाएर रेल ल्याउने कार्य अहिलेसम्मकै जटिल भएकाले यसमा अध्ययन जारी रहेको उल्लेख गर्दै चीनले अवस्थामा आजै वा भोलि रेल आउने झै भएको बहसले आश्चर्यमा परेको जनाएको छ।

तत्काल रेल आउनेझैं भ्रमहरु बाहिर आइरहेको अवस्थामा चीनले केरूङबाट काठमाडौं रेल ल्याउन निकै कठिन हुने भन्दै यसमा अध्ययन भइरहेको औपचारिक धारणा बाहिर ल्याएको छ। यस्तो विषयमा सोच–विचार गरेर अघि बढ्न आवश्यक रहेको पनि चीनले प्रष्ट पारेको छ।

चिनियाँ राजदूत होउ यान्छीका कोटहरु यसरी राखिएका छन्, ‘यस्तो भूगोल छ, जहाँबाट चिनियाँ रेल आज कुरा गरेर भोलि नै आउने विषय होइन। म पनि यहाँ भइरहेको बहस सुनेर अचम्मित हुन्छु।’ ‘रेलको विषयलाई यहाँ हल्का रुपमा हेरिएको छ। त्यस्तो होइन। साँच्चै भन्नुपर्दा यो संसारकै अप्ठेरो ठाउँमा रेल निर्माण गर्ने प्रसंग अघि बढेको छ। यसका लागि धेरै वैज्ञानिक अध्ययनहरू आवश्यक पर्छ।’ ‘चीनको रेल काठमाडौ आउने विषय आज छलफलमा आएर भोलि रेल आइहाल्ने होइन। यो एक एक खुड्किला चढ्दै हुने विषय हो। यस्ता आयोजनामा दीर्घकालीन हुन्छ। यसलाई समय धेरै लाग्छ।’

अनलाइनमा त्यसरी छापिए पनि पत्रिकामा भने अलि फरक किसिमले फरक हेडलाइनमा समाचार छापिएको छ। पढ्नलाई क्लिक गर्नुस्।

अब तपाईँ आफै अडियो सुन्नुस् र अन्नपूर्णमा छापिएको समाचारसित तुलना गर्नुस्। के राजदूतले छापिएको कुरामा जस्तै बोलेकी हुन्?

राजदूतले बोलेको सुन्नुस् अडियो।

अडियो उपलब्ध गराइदिने कृष्ण ढुंगानालाई धन्यवाद।

(*पत्रकार पर्शुराम काफ्लेले ट्विटरमा दिनुभएको जानकारी अनुसार सबै पत्रकारहरुसित अग्रिम प्रश्न मागिएको थिएन। तर अग्रिम प्रश्न मागिएको भन्ने पत्रकार पनि छन्)

2 thoughts on “नेपालमा रेल आउने ‘हल्ला’ले चीन आश्चर्यचकित शीर्षकको समाचार यसरी भएको थियो ट्विस्ट”

  1. प्रविण के.सी. says:
    May 26, 2019 at 3:38 pm

    चीनबाट रेल आए पनि भारतबाट रेल आएपनि केही फरक पर्दैन नेपालीलाई । चिनिया रेलले पनि सामान टन्न बोकेर आँउछ बदलामा पैसा लैजान्छ अनि भारतीय रेलले पनि सामान टन्न बोकेर आँउछ पैसै लिएर जान्छ । नेपालीले खाडीबाट पसिना बगाएर कमाएर ल्याएको पैसा चिनिया र भारतीय रेलमा लोड भएर आउने कुर्ता सलवार र साडी बापतको भुक्तानी लिएर जान्छ । यसो भन्दैमा नकारात्मक धारण बनाईहाल्नु पर्ने अवस्था पनि छैन । रेल आउन अझै निकै समय लाग्ने लगभग पक्का भईसकेको छ , त्यतिन्जेल उताबाट भरी सामान बोकेर आउने रेललाई यताबाट रित्तै फिर्ता जानु नपर्ने अवस्था हामीले बनाउन सकिन्छ कि सकिदैन ? रेललाई खाली जान दिईएन अर्थात यताबाट जाँदा पनि टन्न सामान लोड गरेर पठाउन सकियो भने यस्तो रेलबाट नेपाललाई फाईदै हुन्छ हैन भने रेल चढेको कुरा त आजभन्दा धेरै बर्ष पहिलाका लोक गितहरुमा पनि सुन्न पाईन्छ अर्थात लाहुरेले चढने रेल ।

    Reply
  2. अक्षरहरु says:
    May 26, 2019 at 7:54 am

    रेलको बिरोध गरे संवत:भारतको नजरमा परिन्छ भन्ने केही लोभिपापीका कारण यस्तो भैरहेकोछ । उत्तरी रेल जरुरी हो । नेपालको आवश्यकता हो । नेपालको हित अनुकूल बनाइनु पर्छ । तर उत्तरी रेलको बिरोध गरेर बिरोध गर्नेलाइ केही फाइदा छैन । पछि पश्चात्ताप सिवाय । कोदारी राजमार्गको बिरोध गर्नेहरु पनि कम्ता थिएनन .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme