Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निर्मलाको केसमा रेखा थापा र प्राडा सुरेन्द्र केसीसहितको नयाँ ‘खुलासा’ – ढुंगाले हानेर किचेर मारेको रे

Posted on May 6, 2019May 6, 2019 by Salokya


निर्मला पन्तको हत्या कसरी भएको थियो भन्ने बारे एउटा नयाँ कन्सपिरेसी थ्यौरी हिजो शनिबार आएको छ। हिरोइन रेखा थापा, खरो बोल्ने प्राध्यापक डा. सुरेन्द्र केसी, अधिवक्ता सुरेन्द्र भण्डारी लगायतका सेलिब्रिटीहरु सहभागी भएको नेपालका लागि नेपाली भन्ने समूहले यो नयाँ कुरा ल्याएको हो।

उनीहरुका अनुसार निर्मलालाई बलात्कारपछि ढुंगाले हानेर किचेर मारिएको हो। यो समूहको शनिबार बानेश्वर चोकमा भएको कार्यक्रममा एक किशोरीले निर्मलाको बोली बोलेकी थिइन्। उनले भनेकी थिइन्, “म निर्मला पन्त। म मात्र १३ वर्षकी थिएँ। मेरो सपना ठूलो थियो। मलाई पनि देश र जनताको सेवा गर्नु थियो। तर म ट्युसन जाने क्रममा अपरिचित व्यक्तिले मलाई फकाएर ललाएर उखुबारीमा लग्यो। अनि उसले मलाई पीडा दिन थाल्यो। मलाई लुछ्न थाल्यो। मलाई नानाथरीको टर्चर दिन थाल्यो। म रोएँ, म कराएँ। तर मेरो कसैले सुनेन। म बलात्कृत भएँ। त्यतिखेरसम्म पनि म जिउँदै थिएँ। तर मलाई एउटा ढुंगाले हानेर किचेर मारिदिए।”

“भोलिपल्ट गाउँलेहरुले मलाई देखे। पुलिसतिर उजुरी गरे। अनि पुलिसहरु आए। पुलिसहरुले मेरो रगत लागेको कपडा पखालिदिए। मेरो बा आमा मलाई माया गर्नेहरुले मेरो लागि न्याय खोज्नुभयो। न्यायका लागि उठ्नुभयो। तैपनि यो सरकारले सुनेन। अझै पनि मेरो वास्तविक हत्याराहरु भेटिएको छैन। कहिलेसम्म हुन्छ यस्तो? मलाई न्याय दिनुस्, मलाई न्याय दिनुस्।”

भिडियोमा उनको बोली सुन्न सकिन्छ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या गर्ने अझै कानुनी दायरामा आएका छैनन्। तर यो केसमा के कस्ता हल्ला हचुवा रुपमा फैलाइएका थिए भन्ने कुरा बिस्तारै मानिसहरुले बुझ्दैछन्। हल्ला फैलाउनेको स्वार्थ पनि बिस्तारै मानिसहरुले बुझ्दैछन्।

त्यसैले पहिले र अहिले निर्मलाको नाममा गरिने विरोध प्रदर्शन र सडक नाटकहरुमा पनि परिवर्तन भएको छ। पहिले काठमाडौँमा निर्मलालाई न्याय दिलाउने उद्देश्यले गरिने कार्यक्रममा बम दिदीबहिनीलाई दोषी देखाउने खालका दृश्य राखिन्थ्यो। उनीहरुकै सहयोगमा केटाहरुले मार्ने सडक नाटक गएको डिसेम्बरमा बानेश्वरमा देखाइएको थियो।

त्यतिबेलाको नाटकमा निर्मलाको अभिनय गर्ने केटी।

दुई केटी र दुई केटा भएर हत्या गरेको त्यो नाटकमा देखाइएको थियो।

सुरुमा सबैले उनीहरुलाई नै दोषी ठान्थे। नानाभाँती भन्थे। यस्ता नाटकहरुले पनि ती हल्लालाई बढावा दिन्थ्यो। तर हामीले महेन्द्रनगर पुगेर स्थलगत रिपोर्टिङ गर्ने क्रममा पनि प्रहरीले उनीहरुको कल डिटेल, पोलिग्राफ टेस्टदेखि लिएर सब छानबिन गरेको तर उनीहरुविरुद्ध केही पनि प्रमाण नभेटिएको थाहा पाएका थियौँ। उनीहरुकै छिमेकीहरुले पनि प्रमाण पाएका भए बाँकी राख्थे र यिनीहरुलाई, उनीहरुको घरमा त्यस्तो शंकास्पद व्यक्तिहरु कोही आउने जाने छैन भनेको थाहा पायौँ।

सुरुमा हल्ला मच्चिए अनुसार उनीहरुको छिमेकमा भैँसी ब्याएको र रातभर रुँघ्न बसेकाहरुले त्यो घरमा लाश लाश भनेको सुनेको रे। तर हामी पुगेर हेर्दा त्यहाँ भैँसी कसैको ब्याएकै थिएन। इन्द्र अर्याल अध्यक्ष भएको नेपाल मानवअधिकार संगठनले दिदी बम (बबिता) ओपेराको डान्सबारमा डान्सरको रुपमा कार्यरत भनेर प्रतिवेदन मै लेख्यो। न ओपेरा होटलमा डान्सबार थियो, न बबिता डान्सर नै थिइन्। हामीले त्यसको खुलासा गरेपछि संगठनले सुटुक्क ब्याकडेटमा प्रतिवेदन पनि सच्याएर वेबसाइटमा राख्यो।

चरित्रहिन भन्दै बिना प्रमाण भिड न्यायाधीश भएर गालीगलौज गर्नेहरु बिस्तारै कम हुँदै गए। र त, घर बाहिर निस्कनै नसक्ने स्थितिमा पुगेकी बबिताको गएको वैशाखमा बिहे पनि सम्भव भयो।

अहिले रेखा थापा, प्रा डा सुरेन्द्र केसीहरुले गरेको कार्यक्रममा बम दिदीबहिनीको बारेमा केही पनि राखिएनछ। तर पोस्टमार्टममा घाँटी अँठ्याएर मारेको भन्ने रिपोर्ट हुँदाहुँदै ढुंगाले हानेर किचेर मारेको हावा कुरा चाहिँ किन त्यसरी राख्नु परेको होला?

ढुंगाले हानेर मारेको विषयसँग चाहिँ निर्मलाको केसको कतै केही कनेक्सन होला त?

एउटा कनेक्सन चाहिँ छ।

निर्मलाको हत्या हुनुभन्दा दुई दिनअघि साउन ८ गते खेम भण्डारी सम्पादक रहेको मानसखण्ड दैनिकमा यस्तो शीर्षकमा एउटा समाचार छापिएको थियो- ‘रमेश लेखकले राजनीति गरे, एसपी र डिएसपीले पैसा खाए’ एसपी दिल्लीराज विष्ट र डिएसपी ज्ञानबहादुर सेटी दुवैले त्यसको भोलिपल्ट साउन ९ गते समाचारविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएका थिए।

खेम भण्डारी र पुलिसबीच लफडा त्यो केसमा थियो। पछि त्यही निहुँ निर्मला केसमा पनि बल्झियो। यो केस चाहिँ असार २६ गतेको थियो। महाकाली नदी किनारमा नैनराम सार्कीको लाश भेटिएको थियो। नैनराम सार्कीकी श्रीमतीलाई टीका सार्कीले उडाइदिएका थिए। समाचारमा टीका सार्कीबाट पैसा खाएर एसपी दिल्लीराज विष्ट र डिएसपी ज्ञानबहादुर सेटीले घटना तोडमरोड गरेको आरोप थियो।

नैनरामको गिदी निस्कने गरी मृत शरीर भेटिएको थियो। घटनास्थलमा गाडीको चक्काको निशान पनि भेटिएको थियो।


घटनास्थल। यो ठाउँमा गाडी रोकेर चालक काले बिक रक्सी खान बसेका र खाइसकेपछि गाडी लग्दा अगाडि सुतिरहेका नैनरामलाई नदेखेर किचेको बयान चालकले दिएका थिए।


गाडीको टायरको निशान।

गाडी चालकले स्वीकार पनि गरेका थिए, मेरो गाडीले किचेको हो भनेर। उनी अहिले पुर्पक्षका लागि थुनामा छन्।

तर समाचारमा चाहिँ गाडीले किचेर मरेको हुँदै हैन, नक्कली गाडी र चालक खडा गरिएको आरोप थियो। दावी थियो- गाडीले किचेर मरेको हैन, ढुंगाले हानेर, मारेर लाश चाहिँ त्यहाँ फ्याँकिएको हो।

त्यो केसमा खेम भण्डारीको केही लागेन। तर पछि निर्मलाको केस चर्किँदा यो केसको पनि छानबिन हुनुपर्छ भनेर उनले लेखै लेखेका थिए। भण्डारी को हुन् र उनले कसरी यो घटनालाई ट्विस्ट एन्ड टर्न गरे भन्ने बारेमा विस्तृत #WhoKilledNirmala को शृङ्खला २६ मा लेखिएको छ। छुटाउनु भएको भए पढ्न यहाँ क्लिक गर्नुस्।

क-कसले के के कुरा सुनाउँदा वर्दा लास्टमा काठमाडौँमा नक्कली निर्मला खडा गरेर बकाउँदा कहाँ कहाँबाट मिक्सअप भएर निर्मलालाई नै ढुंगाले हानेर मारेको यो कुरा आएको त हैन? नत्र यो निर्मलाको केसमा अहिलेसम्म कतै नआएको यो ढुंगाले हानेर किचेर मारेको कुरा कसरी आयो? कुरा के हो? रेखा थापा, प्राडा सुरेन्द्र केसीहरु सहभागी कार्यक्रम भएर उहाँहरुलाई पो केही थाहा छ कि?

#WhoKilledNirmala शृङ्खला

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने ‘आइकनिक’ फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : ‘रे’ मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई ‘अपराधी’ बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट 
शृङ्खला ९ : निर्मला प्रकरणमा ‘भिआइपी’ कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: ‘त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।’ 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको ‘बाइट’ जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, ‘प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन’ 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको ‘दोष’ : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?
शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो ‘अटोजोमल एसटिआर रिपोर्ट’ जसमा बलात्कारीको डिएनए देखिएन
शृङ्खला २० : जब निर्मलाको हत्यामा ‘क्लु’ खोजिरहेको प्रहरीसामु आफै ‘क्लु’ आइपुग्यो
शृङ्खला २१ : बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा
शृङ्खला २२ : ‘स्पाइरल अफ साइलेन्स’ चिरिएको महेन्द्रनगर : आखिर कसले गर्‍यो निर्मलाको हत्या?
शृङ्खला २३ : अछामबाट ‘पक्राउ परेका’ दुई आर्मीको निर्मला प्रकरणमा के छ कनेक्सन?
शृङ्खला २४ : निर्मलाको सुरुवाल पखाल्ने चाँदनी : हाइप्रोफाइल अपराधीको हल्लामा चेपिएकी प्युसो प्रहरी
शृङ्खला २५ : निर्मला प्रकरणमा वीरबहादुरको बन्दै गरेको घरसँग जोडिएको कनेक्सन 
शृङ्खला २६ : निर्मला प्रकरणलाई ‘ट्विस्ट एन्ड टर्न’ गराउने ती शक्तिशाली व्यक्ति

थप समाचार

  • निर्मला प्रकरण : पुरानै मिति राखी मानवअधिकार संगठनले गुपचुप सच्यायो प्रतिवेदन, बम दिदीबहिनीबारे तथ्य नै फरक
  • निर्मला प्रकरण: राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस त्रुटिपूर्ण कि प्रहरीको ल्याबको रिपोर्ट?
  • आयोगको प्रतिवेदनलाई प्रहरीको काउन्टर अट्याक : यसकारण आमासित डिएनए मिल्दैमा शंका हट्दैन
  • निर्मला प्रकरणका एक पीडित : ‘मरेको भनौँ सास छ, जिउँदो भनौँ केही गर्न सक्दैन’ 

 

4 thoughts on “निर्मलाको केसमा रेखा थापा र प्राडा सुरेन्द्र केसीसहितको नयाँ ‘खुलासा’ – ढुंगाले हानेर किचेर मारेको रे”

  1. rajan says:
    May 12, 2019 at 6:19 pm

    त्यो टायर को निशान शंकास्पद देखिन्छ | कुन गाडीको टायर को निशान तेस्तो हुन्छ? त्यो त निशान स्पष्ट बनाउन क्रेन ल्याए जस्तो छ |

    Reply
  2. राजन says:
    May 7, 2019 at 8:53 am

    निर्मला प्रकरण नेपालको दण्डहीनता को ज्वलन्त उदाहरण हो ।
    त्यो हत्यारा बिष्ट अझै खुल्लेआम हिड्छ ।

    Reply
  3. Vivek says:
    May 6, 2019 at 12:53 am

    Prahasan is a type of drama in which comedy predominates. I don’t think that the drama about Nirmala included any comic or comedy senses. I hope you would correct the terminology “prahasan” in your blog.

    Reply
    1. Salokya says:
      May 6, 2019 at 1:18 am

      अर्थ नै फरक हुने शब्द प्रयोग भएको तथ्यमा सचेत गराउनुभएकोमा धन्यवाद। प्रहसन शब्द परिवर्तन गरेर नाटक बनाइएको छ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme