Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लोडसेडिङ सकिएर उज्यालो भएपछि छटपट हुनेको आँखाले देख्यो कुलमानले गरेको ‘संगठित आर्थिक अपराध’

Posted on April 28, 2019April 28, 2019 by Salokya


तीन वर्षअघिसम्म हामीलाई अर्कै टेन्सन हुन्थ्यो। मैनबत्ती, सोलार, जेनेरेटरको जोहो गर्नुपर्थ्यो। लोडसेडिङको तालिका टाँस्नुपर्थ्यो। त्यसरी अँध्यारोमा बस्नुपर्दा हामीले अझै कति वर्ष यसरी नै बस्नुपर्ने हो भन्दै कल्पन्थ्यौँ। कसैले कल्पना पनि गरेका थिएनन्, बत्ती २४ सै घण्टा आउने दिन यति छिट्टै आउला भनी।

तर भयो। कुलमान घिसिङ नेतृत्वको नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका प्रकाशन गर्न छाड्यो। किनभने बत्ती निभाउनै पर्दैन थियो। मैनबत्ती र सोलार लाइट एकादेशको कथा बने। अनि पो थाहा भयो, लोडसेडिङको नाममा कृत्रिम अभाव खडा गरी जनतालाई अँध्यारोमा राख्ने अपराध भएको रहेछ। नत्र विद्युतको माग नै एकदम कम हुने मध्यरातमा समेत के आधारमा लोडसेडिङ गरिएको थियो? जवाफ कसैले दिएन। कसैले खोज्दा पनि खोजेन। तर अहिले त्यही कुलमानले संगठित आर्थिक अपराध गरेको आरोप लगाउँदै खबर आउन थालेछ।

तपाईँहरुलाई कत्तिको याद छ- त्यतिबेला जब बत्ती बलेको बल्यै भएको थियो, सबभन्दा छटपटी ठूला मिडियाहरुलाई भएको थियो। जलमाफिया, ब्याट्री, इन्भर्टर, सोलारका व्यापारीहरुलाई भएको छटपटी कान्तिपुरमा यसरी पोखिएको थियो। हेर्नुस् त्यतिबेलाको ब्लग

त्यस्तै नागरिक दैनिकले पनि चाड पर्वमा बिजुली कटौती नगरेको भन्दै नेपाल विद्युत प्राधिकरणको प्रशंसा भएपनि मंसिरको दोस्रो सातापछि उपत्यकामा पुनःअँध्यारो छाउन थाल्नेछ भन्दै ठोकुवा गरेको थियो। तर अहँ बत्ती त जाँदै गएन।

त्यतिबेलाको ब्लगमा लेखिएको थियो- जनता उज्यालोमा हुँदा छटपटी कसलाई हुँदो रहेछ त? जनता अँध्यारोमा रहोस् भन्ने कसले चाहँदो रहेछ त? केही बुझ्नुभो? मैले त केही बुझ्न सकिनँ। यो देशमा यस्तै धेरै कुरा नबुझेर नै बस्नुपर्दो रहेछ। पढ्नुस् ब्लग

तीन वर्षपछि धेरै परिवर्तन भइसक्यो। ठूला मिडियाका सम्पादक, पत्रकार हेरफेर भइसके।

तर अहिले आएर फेरि बत्ती दिने कुलमानलाई अपराधी नै ठहर गर्ने काम मिडियामा हुन थालेको छ। तर त्यस्ता मिडियामा पाठकले कमेन्टमार्फत् दिएको जवाफ पनि हेर्न लायक छ। जस्तै यो समाचारमा पाठकका कमेन्ट हेर्नुस्-

त्यतिबेला मंसिरको दोस्रो सातादेखि उपत्यकामा पुनः अँध्यारो छाउन थाल्ने भन्दै ठोकुवा गर्ने पत्रकार अहिले ऊर्जासम्बन्धी अनलाइनमा पुगेका छन्। त्यहाँ ‘प्राधिकरणमा चरम लुट, कुलमानको नेतृत्वमा दर्जन बढी संगठित आर्थिक अपराध’ शीर्षकमा एउटा समाचार छापिएको छ वैशाख १० गते।

समाचार पनि रमाइलो छ। आर्थिक दैनिकबाट साभार गरिएको यो समाचारमा ‘ग्राहकसँग पैसा उठाएर बैंकमा दाखिला नगर्ने कर्मचारीलाई संरक्षण मात्र दिएका छैनन्, भारतबाट निःशुल्क आएको बिजुली बिक्रीबापतको करोडौं रुपैयाँ पनि खाइदिएका छन्’ भनेर लेखिएको छ।

‘सञ्चारमाध्यम पनि प्राधिकरणभित्रको आर्थिक अराजकताबारे समाचार प्रकाशन-प्रसारण गर्न डराइरहेका छन् । यसले प्राधिकरणको नेतृत्व (एमडी)लाई आर्थिक अपराध गर्न हौसला मिल्दै गएको’ ठहर पनि यसमा गरिएको छ।

यसको आधार महालेखापरीक्षकको प्रतिवेदनलाई लिइएको छ। प्रतिवेदनमा भएका विद्युत प्राधिकरणको लेखाको आधारमा नियोजित रुपमा कुलमानले आर्थिक अपराध गरेको भन्दै व्याख्या यसमा गरिएको छ।

तर कुलमान आएपछि भएका सकारात्मक कुरा भने यसमा लुकाइएको छ। उदाहरणका लागि प्राधिकरणको २५ प्रतिशतको चुहावटलाई १५ प्रतिशतमा झारिएको छ। त्यतिमात्र हैन, ८ अर्ब घाटामा भएको प्राधिकरण कुलमानकै पालामा २.८४ अर्ब नाफामा ल्याइएको छ। लोडसेडिङको अन्धकार मुक्त गराएर उज्यालो दिएको कुरा त छँदैछ। अलपत्र परेको ३० मेगावाटको चमेलियाको निर्माण सकिएको छ, १४ मेवाको कुलेखानी र ६० मेवाको त्रिशुली ३ अन्तिम चरणमा छ।

२०७३को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो। विद्युत चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुर्नसंरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो। गत आर्थिक वर्ष २०७४/७५ मा प्रणालीमा औसत २०.४५ प्रतिशत रहेको विद्युत् चुहावटलाई चालु आवको ५ महिनामै १५.४५ मा झार्न प्राधिकरण सफल भयो।

यी सकारात्मक कुरा चाहिँ समाचारमा लुकेका छन्। आर्थिक अपराधीका रुपमा नियोजित रुपमा कुलमानलाई उभ्याइएको छ।

प्राधिकरणमा सबै राम्रा कुरामात्र पक्कै छैनन्। कर्मचारीको व्यहोराले कुलमानलाई पक्कै अप्ठेरो पारिरहेकै छ। तर कहिले हुँदै नभएको बढी भत्ता खायो भन्दै कुलमानको आलोचना गराइन्छ त कहिले राम्रा कुरा लुकाएर आर्थिक अपराधी बनाइन्छ।

हाम्रो घरआँगन उज्यालो भएको धेरै भयो। अब त बत्ती निभ्ला भन्ने डर पनि मान्नु नपर्ने गरी ढुक्क भइएको छ। कुनै पनि कुरा नहुँदाको महत्त्व धेरै हुन्छ। भइराख्दाको महत्व हुन्न। उज्यालो भइरहेकै छ त्यसैले कुलमानलाई बिर्से, अब यसलाई सिध्याउनु पर्छ भनी पुरानै शक्तिहरु लागेका त हैनन्? के लाग्छ तपाईँलाई? आफ्नो विचार तल कमेन्टमा लेख्नुस्।

11 thoughts on “लोडसेडिङ सकिएर उज्यालो भएपछि छटपट हुनेको आँखाले देख्यो कुलमानले गरेको ‘संगठित आर्थिक अपराध’”

  1. Narendra says:
    April 29, 2019 at 2:12 pm

    त्यो फेसबुक पोस्टमा सारै मन परेको कमेन्ट : “लोडसेडिंगको समयमा सात अर्ब भ्रष्टचार भएको कुलमानले फेला पारे भन्ने समाचारको सिर्सक राखेको भए तेरो बुडी अर्कैसंग पोईला जान्थ्यो र कुपत्रकार ?”

    Reply
  2. K B Rana says:
    April 29, 2019 at 10:24 am

    नेपाल का जनतालई गुमराहमा राखेर भस्ताचार गर्न पलेकेका इ सोसक हरुलाई अब जनताले छाड्नु हुदैन अब हामी जनताहरु जअग्नु पर्छ हामी सचेत हुनुपर्छ

    Reply
  3. सौरभ says:
    April 29, 2019 at 7:08 am

    सबभन्दा पहिले पुर्ब एमडी मुकेश काफ्ले र उनका मातियारहरुलाई कारवाही गरिनपर्छ| घाम जुन भन्दा छर्लंग छ, भ्रष्ट कार्य गरेर नेपाली जनतालाई अन्धकारमा राख्ने अग्रपंक्तिमा रहेका तिनै हुन| उनीभन्दा पूर्वका अन्धकार फैलाउने भ्रष्टहरु र मन्त्रिलाई पनि कारवाही गरिनपर्छ, जुनसुकै पार्टीका हुन|
    दण्डहीनताको पराकाष्टाले यो मुलुकलाई डुबाएको छ| सरकारको लाचारी पाना छ किनभने आफै पनि यस्ता कर्तुतहरुमा मुछिएका छन् भन्ने आम जनताको दरिलो बुझाई छ|
    प्राधिकरणका भ्रष्टहरुले सिद्धाउनै लागेका थिए, तिनै भ्रष्टहरु अहिले शरम र लाजले मुन्टो छोपेर हिडन पर्ने हुन् तर भ्रष्ट कमाईले पोषित अहिले फेरि सल्बलाउन थालेका छन्| त्यस्ताहरु र त्यस्ताका परिवारलाई सामाजिक वहिष्कार गर्न पर्ने दिन पनि टाडा छैन| सरकार र पार्टीहरुमा रहेका कुतत्वहरुले कति दिन सम्म उनीहरुलाई गोटी बनाउने हुन? कैले सम्म मेडियामा यो गेम चल्ने हो? ट्रेड युनियनलाई उकसाउने, नाजायज मद्दत गर्ने र फेरी अन्धकारमा राख्ने षड्यन्त्र रचिएको प्रष्टै देखिन्छ|
    हिज काफ्ले र दीपक ज्ञवाली जस्ताले लोडशेडिंग तुरन्त समाप्त गर्न सकिदैन भन्दा हाँ मा हो हो मिलाएर टिभिको पर्दामा छाउने, सेमिनार र गोष्टीमा कुतर्क दिने आफुलाई जलश्रोत विज्ञ र कैले उर्जा विश्लेषक र विज्ञ भन्नेहरु अहिले कुन दुलोमा छन् भनेको त खान नपाएर फेरी नेपाली जनतालाई अन्धकारमा राख्ने कुयोजना गरिदै रहेछ| कान्तिपुर पनि त्यही भ्रान्ति वाहक र सम्प्रेषक रहेको पनि फेरी घाम जस्तै क्लियर छ|
    अब जनताले त्यस्ताहरुलाई छाड्ने छैनन् जुन सुकै छद्मभेषमा उनीहरु फेरी जो सुकैको माध्यमबाट प्रहार गर्न चाहुन| जनताको खबरदारी जारी रहनपर्छ|

    Reply
  4. बासु says:
    April 28, 2019 at 6:17 pm

    चोर, फटाहा र भ्रष्टाचारीहरुको पनि यसरी स्वर ठुलो हुनु सार्है दूर्भाग्यपूर्ण हो। तर कान्तिपुर पहिलेदेखि नै कुलमानको विपक्षमा थियो र अझै रहेछ!
    कूलमानलाई धन्न सरकारले टिकाएको छ र जनता उज्यालोमा छ। तर, उनको अवधि सकिएपछि के पो होला भन्नेमा मन त्रसित छ।

    Reply
  5. Yugma says:
    April 28, 2019 at 4:20 pm

    Good story. The media coverage you refer is not by media itself-these are sponsored news. Media is being used for ulterior motive.

    Reply
  6. Pratap Maharjan says:
    April 28, 2019 at 3:33 pm

    जनता तातिरखेका छन्, माफिया सफाई आन्दोलन चल्दैछ. कतै यी बिद्युत माफिया हरुले पनि सफाई खोजेका त होइनन.

    Reply
  7. Kiran Rijal says:
    April 28, 2019 at 12:48 pm

    केहि कालो बजारी भ्रस्टहरु को इसारा मा पुरै देश लाइ अध्यारो मा राख्ने प्राधिकरण का कर्मचारी को जति निन्दा गरे पनि कम हुन्छ | अब ति माफिया हरु फेरी सल्बलाउन थालेछन |

    अब हामी जनताले गर्ने भनेको कुलमान को चरित्र हत्या गर्न खोज्ने बिदेशीले चलाउने कान्तिपुर लगायत so called ठुला मेडिया लाइ सामाजिक बहिस्कार गर्ने | उनीहरु को पत्रिका नपढ्ने | उनीहरु को पत्रिका मा लेखेको कुरा लाइ बिश्वास गर्नु हुदैन भन्ने कुरा सबै सामु लाने |
    यी पत्रिका हरु नेपाल लाइ असफल राष्ट्र बनाउन को लागि संचालित हुन् भन्ने कुरा सबै लाइ जाकारी दिने |

    Reply
  8. madan bajracharya says:
    April 28, 2019 at 7:46 am

    नेपालमा भ्र्स्ताचारी गिरोहले समानान्तर सरकार चलाउँदै आयको छ/ भ्र्स्ताचारिले चलायको सरकारको कानुन अनुसार देसलाई अँध्यारो बात मुक्त गर्नु भ्र्स्ताचारी सरकारको कानुन अनुसार कुलमान अपराधि हुन्/ कुलमानको देसलाई अँध्यारो बात मुक्त गर्ने प्रक्रियामा तत्कालिन सरकारको समेत साथ् रहेकोले भ्र्स्ताचारी सरकार चलेको राज्यको कानुन अनुसार भ्र्स्ताचारी राज्यको कानुन अनुसार संगठित अपराधि पनि हो/

    कागजमा लेखेको संबिधान र कानुन आमनागरिकहरुलाइ मात्रै बाध्यात्मक छ समानान्तर सरकार चलाउनेले तेस्लाई जलाउन समेत सक्छ/ काजमा केखेको संबिधान अनुसार बनेको सरकार चलाउने र देसमा समानान्तर सरकार चलाउने बिचको बिबाद र मुद्दा सहमतिमै टुंग्याउने सहमति छ/ समानान्तर सरकार चलाउनेले नेपालमा जे पनि गर्न पाउँछ; देसलाई दसौं बर्ष सम्म अँध्यारो बनाय पनि हुन्छ, नेपालको संबिधान मान्दैनौ भनेर जलाय पनि हुन्छ; आम नागरिक मर्ने गरि बम पड्काय पनि हुन्छ; उनीहरुले गर्न नपाउने भनेको “हामि ठुला नेता हौँ ” भन्नेको …..मात्रै हो/ यसो नभयको भय नेपाललाई दसौं बर्ष सम्म अँध्यारोमा लछार्ने बिद्युत प्राधिकरनका भ्रस्ट कर्मचारी हरु माथि कारवाही भैसकेको हुन्थ्यो/ देसलाई उज्यालोमा फर्काउने कुलमानले बिद्युत प्राधिकरनको कार्यकारिणी मात्रै हो भ्र्स्ताचारिलाई समाउने र दण्ड दिने अधिकारि होईन र उसले बारम्बार देसलाई अँध्यारो युगमा कसले धकेलेको हो भनेर संकेत दिंदै आयकोछ/ तर उनीहरु माथि कार्यवाही हुने त् कता कता उल्टै उनीहरु बात कुलमानलाई कारवाही हुने जस्तो पो देखिन्छ/ यसले कागजमा लेखेको संबिधान र कानुन अनुसार बनेको सरकार चालाउनेले जत्ति सुकै फुर्ति गरे पनि उनीहरु समानान्तर सरकार चलाउनेको अगाडी नुन खायको कुखुरा भन्दा ……/

    Reply
  9. Purna says:
    April 28, 2019 at 5:46 am

    कुल मान एक जना जिम्मेवार भएर हुन्न, गैर जिम्मेवार कर्मचारीहरुलाई कारबाही गर्ने अधिकार पनि कुल मान लाई दिनु परेउ ।नेपाल का धेरै सघ सस्था कर्मचारी युनियन ले बिगारेकै छ ।

    Reply
  10. Chet’s Nath bhatta says:
    April 28, 2019 at 5:19 am

    दैनिक १८ घण्टा लोडसेडिग गराऊने बिधुत माफ़ियाहरुको र ट्रेडयूनियनको नाममा राजनैतिक गर्नेहरुको काम हो भन्ने क़ुरा सबै नागरिकले बुझेकाछन् ।

    Reply
  11. Rohini says:
    April 28, 2019 at 5:08 am

    यि पशु अपराधीहरूको भण्डाफोर गर्नै पर्छ सालोक्य जी। कुलमानको साथमा ३ करोड जनता छन्।

    Reply

Leave a Reply to Yugma Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme