Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विद्यासुन्दरको गुनाशो- मलाई आफ्नै उपमेयरले टेर्नुभएन, अरू कसले टेर्छ? देखि नक्कली कागजपत्र बनाएर खुलामञ्च बेचेको खुलासा

Posted on April 26, 2019April 26, 2019 by राजेन्द्र मगर

आज  वैशाख  १३ गते शुक्रबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

मट्टितेल छर्केर जिउँदै जलाइएकी १८ वर्षकी कञ्चनदेवी मण्डलको निधन भएको छ। सिरहा देखि उनलाई उपचार गर्न काठमाडौँमा मृत्यु भएको छ।

घरायसी विवादमा आफूलाई पतिले आगो लगाएको बयान कञ्चनले दिएकी छिन्।पति बेचन फरार छन्।

साँखुस्थित सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको साँझ ५ बजे मृत्यु भएको हो।

घटनामा सासुको समेत संलग्नता भएको बयान दिएपछि प्रहरीले सासुलाई समेत नियन्त्रणा लिएको छ।

कञ्चनाको ८५ प्रतिशत शरीर जलेको थियो। अस्पताल ढिला आइपुगेका कारण बचाउन नसकिएको डाक्टरको भनाइ थियो।

बिहीबार बिहान आगो लगाएलगत्तै कञ्चनलाई बीपी कोइराला चिकित्सा विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको थियो। शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएको भन्दै थप उपचारको लागि राति अबेर एम्बुलेन्सबाट काठमाडौं पठाइएको थियो।

जिउँदै जलाइएकी कञ्चनदेवीको उपचारका क्रममा मृत्यु; पति फरार, सासु प्रहरी नियन्त्रण भन्दै पहिलोपोस्टले लेखेको छ।

खुलामञ्चमा अनुमतिबिना बनेका सटर खाली गर्न उपमेयरलाई जिम्मेवारी दिए पनि उनले अटेर गर्दा भत्काउन समय लागेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका छन्।

चैत २४ गतेको नगर परिषद् बैठकमा उपमेयर हरिप्रभा खड्गीलाई खुलामञ्चमा बनिरहेका सटर अनुगमन गरी खाली गराउन निर्देशन दिएको शाक्यले बताएका छन्।  उनले भने, ‘उपमेयरले समयमै प्रतिवेदन दिनुभएको भए अहिलेसम्म ती सटर खाली गराउने काम भइसक्थ्यो।’

कामपा-२८ मा रहेको खुलामञ्चमा सटर बन्दा पनि त्यहीँ वडाध्यक्ष र त्यही वडाका बासिन्दा उपमेयरलाई थाहा नभएकोमा पनि उनले प्रश्न उठाए।

उनले भने, ‘मलाई आफ्नै उपमेयरले टेर्नुभएन भने अरू कसले टेर्छ? मेयरलाई बदनाम गराएर मात्र केही हुँदैन।’

विद्यासुन्दर भन्छन्- मलाई आफ्नै उपमेयरले टेर्नुभएन, अरू कसले टेर्छ? भन्दै सेतोपाटीले लेखेको छ।

काठमाडौं महानगरपालिकाले कीर्ते कागजपत्र तयार गरेर खुलामञ्च प्रयोग गर्न दिएको तथ्य खुलेको छ। महानगरपालिका र ठेकेदार कम्पनी ‘जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्स प्रालि’ बीच ०७४ साल वैशाख ८ मा भएको सहमतिपत्रको व्यहोरा नै फरक-फरक छ।

एउटामा सहमतिपत्रमा स्वीकृत नक्सा भन्दा बाहिर गएर संरचना निर्माण गर्न पाइने भनिएको छ भने अर्कोमा त्यसरी संरचना बनाउन नपाइने उल्लेख छ।

जलेश्वर स्वच्छन्द बिकाई बिल्डर्ससँग भएको सहमति पत्रको फोटोकपीमा भने केरमेट गरिएको छैन। पत्रमा बकाईदा नक्सा भन्दा विपरीतका संरचना निर्माण गर्न पाइने उल्लेख छ ।

सहमतिपत्र हेर्दा यो कीर्ते जनप्रतिनिधि आउनुभन्दा पहिला नै कर्मचारीहरूले गरेको देखिन्छ। महानगरपालिकाको तर्फबाट कीर्ते कागजपत्रमा प्रशासन विभागका विभागीय प्रमुख ज्ञानेन्द्र कार्कीले हस्ताक्षर गरेका छन्। ठेकेदारको तर्फबाट बिल्डर्सका कार्यकारी अध्यक्ष मनोज भेटवालको हस्ताक्षर छ।

राजस्व महाशाखा प्रमुख महेश काफ्ले र निजी साझेदारी इकाइ प्रमुख सुमन अधिकारी साक्षी बसेका छन्। बिल्डर्सकी लेखा प्रमुख गीता भट्ट पनि साक्षी बसेकी छन्।

यसैलाई आधार बनाएर भेटवालले खुलामञ्चमा सटर निर्माण गरेर वार्षिक एक करोड ८२ लाख ५० हजार भाडा उठाउँदै आएका छन्।

काठमाडौं महानगरले नक्कली कागजपत्र बनाएर खुलामञ्च बेचेको खुलासा भन्दै अनलाइन खबरले लेखेको छ।

 

पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का लिएको स्वच्छन्द विल्डर्सका मालिक मनोज भेटुवाल र रानीपोखरी सहकारी संस्था चलाएका ऋषीराम बर्तौला मिलेर खुलामञ्चमा आफुखुशी सटर बनाउँदै बेच्ने गरेको खुलेको छ।

सटरहरुको सलामी १५ लाखसम्म लिने गरेको भेटिएको छ।

स्थानीय व्यापारीहरुका अनुसार ती दुइजना ठेकेदार मिलेर रातारात स्टल निर्माण गरिदिने र महङगो रकम तिर्नेलाई मात्रै सटर भाडामा दिने गरेका छन्।

खुलामञ्चका सटरको सलामी मात्रै १५ लाख भन्दै काठमाण्डुं प्रेसले लेखेको छ।

शुक्रबार चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई) शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एन्ड रोड इनिसियटिभमार्फत् मानव जातिको साझा भविष्य निर्माण गर्ने चिनियाँ राष्ट्रपति सि जिनपिङको दुरदृष्टिले विशाल सम्भावना बोकेको भन्दै प्रशंसा गरेकी छिन।

उनले विश्वव्यापीरुपमा स्रोतसाधनको ठूलो अभाव रहेको अवस्थामा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईले महत्वपूर्ण भूमिका निर्धारण गर्न सक्ने बताइन्। विकासको फलबाट कुनै पनि विचार र कुनै पनि राष्ट्र विमुख नहुने किसिमको समृद्ध भविष्यका लागि बीआरआई एक माध्यम बन्न सक्ने उनको भनाइ थियो।

बेइजिङमा राष्ट्रपतिको नेपालीमा सम्बोधनः हिमालय क्षेत्र जोड्न सिमापार रेलमार्ग भन्दै नेपाल खबरले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

2 thoughts on “विद्यासुन्दरको गुनाशो- मलाई आफ्नै उपमेयरले टेर्नुभएन, अरू कसले टेर्छ? देखि नक्कली कागजपत्र बनाएर खुलामञ्च बेचेको खुलासा”

  1. madan bajracharya says:
    April 27, 2019 at 9:44 am

    खुलामंच मा ….बनाउन पाइने सम्झौता कुन दलको नेतृत्वमा बनेको सरकारको पालामा बनेको हो त्यो पनि हेर्नु जरुरि छ/ किनभने यस्तो कुरा महानगर पालिकाका कुनै पदाधिकारीले मात्रै गर्न सकिने कुरा होईन/ पक्कै पनि महानगर पालिकाले थेग्नै नसकिने दवाव परेको हुन् सक्छ/ तर कसैको दवाव परेको होस् बा नहोस “टुँडिखेल”जस्तो ऐतिहासिक स्थानमा तेस्तो निर्लज्ज सम्झौता गर्नेलाई कानुनि मात्रै होईन सार्वजनिक कार्यवाही पनि गर्नै पर्छ/ बर्तमान मेयरले भनि हाल्यो कि उपमेयर ….तेर्दियन/ त् किन सदनमा यो कुरा उठ्दैन र सिधै रिपोर्ट नपरे पनि saarb मेयरले सिधै यो मुद्दा अखितियार पठाउदैन र किन यो कुरा सदनमा दिन पत्रिकामा प्रकासित भ्रस्टाचार कै भरमा पनि कार्यवाही गर्न सकिने भन्ने अख्तियारले यो कुरा मा छानबिन गर्दैन? अनि यो भन्दा ओलीको चुप्पी भन्दा देउपाको चुप्पी त् बुझी सक्नुनै छैन/

    Reply
  2. गौरव says:
    April 27, 2019 at 4:53 am

    मेयर निकम्मा र असक्षम मात्र होइन उनी आफ्नो दायित्व अनि बुझ्दैनन् भन्ने पहिले नै सावित भैसकेको छ| रानीपोखरीको दृष्टान्त छदैछ, कसरि उपमेयर संग समन्वय नगरेर उनीसंगै उल्टो दोष देखाएर आफु पन्छिन खोजे|
    राजधानीका शहरको मेयरको जिम्मेवारी वहन गर्ने योग्यता विद्यासुन्दरमा छैन, न थियो| खालि पलिटिक्सको गफ हाँकेर मात्र शहर बन्छ? चन्द्रमा (प्रधान मन्त्रि) दाहिनु भएको बेला पनि काम गर्न नसक्ने, भोलि भनौ अर्कै पार्टीका, वा पार्टी भित्र पनि अर्कै खेमाका प्रधान मन्त्रि भए उनले कसरि समन्वय गर्ने त भन्ने कुरो आउछ|
    त्यसै खिसिक्क हाँसेर र सँधै भरि मुस्कुराएर मात्र काम हुन्छ त? अबको ११ महिनामा दरवार हाईस्कुल चिनियाले पुननिर्माण गरिदिंदा उदघाटनमा उनी गजक्क परेर बस्ने हो त?
    जनता हिंडने पेटी ककसले जबर्जस्त मिचेका छन्, बिचरो मेयरलाई थाहा छैन होला जब आँखा कै अघि टुँडिखेलमा शटर नदेखे पछि त्यसको दोष पनि खालि मुख चलाएर मात्र खाने उपमेयरलाई नै थुपारेर त भएन नी|
    नंया र इनोभेटिभ तरिका केही ल्याउनु छैन, ब्रुमर बाहेक| बाटोको खाल्डा खुल्डीले त्यो पनि कुन दिन थला पार्ने हो| बर मेयर र उपमेयरको अकर्मण्यतामा पनि ब्रुमर लगाउन पर्ने दिन आउला|
    यतिका समय सम्म हामीले बिद्यासुन्दरलाई अवसर दियौ, प्रतीक्षा गर्यो| तर उनी सर्बत अयोग्य, का.म. न.पा. एको र मुलत महाअल्छे र गफको भारी मात्र देखिए| गफैले मात्र शहर बनिने होइन| नालायक नेता चुने पछि यस्तै हो|
    सरसफाई, योजना र कार्यन्वयन भन्ने के चिज हुन् ती नबुझेको मेयर र डिपटी भएकोले जनताले यस्तो दुख पाएको हो| राजधानीको स्थिति शर्मनाक भएको हो|
    जनताको प्रश्न के भने तपाई द्वयले खुरु खुरु तलब भत्ता महिनावारी बुझिराख्नु भएको छ कि छैन? छ भने के काम गर्नुभाछ? संसारमा यस्तो कुन मुलुकमा होला जँहा मेयर र डिपटीले तलब भत्ता पनि लिने, सुविधा पनि प्रयोग गर्ने, गफै मात्र गर्ने अनि काम चाहि नगर्ने? मेयर भएको र नभएको के फरक? जनताले खरदार चुनेको हो? जति कडा शब्दमा भने पनि पुग्दैन|
    कर त टन्न उठाइरहनु भएको छ| कि कर संग्रहमा पनि धाँधली व्याप्त छ, त्यो पनि खोजी पत्रकारहरुले समयमै खोज्नेछन|
    तपाई र डिपटी मेयर संगको झगडा छाडिदिनुस|मिलेर काम गर्नुस| नेतृत्व तपाईले लिनपर्ने हो|
    हप्ता दिन भित्र डोजर लाएर खुला मान्छ क्लियर गर्नुस र त्यतिले मात्र पुग्दैन, दोषीलाई कारवाही गरिनपर्छ| हिम्मत छ?

    केशव स्थापित नै नभए पनि उनी जस्तै डाइनामिक लिडर चाहियो, कामनपा मा|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme