आइतबार राति बारा र पर्सा जिल्लामा विनाशकारी बवण्डर भयो। मौसम पूर्वानुमान महाशाखाले अहिलेसम्म त्यो हुरी कति गतिको थियो भन्ने तथ्याङ्कसमेत सार्वजनिक गर्न सकेको छैन। पूर्वानुमान गरी चेतावनी दिने त कुरै छाडिदिउँ। घटनास्थलका फोटोहरु हेर्दा क्षति धेरै देखिन्छ। रुखहरु उखेलिएका छन्, घरहरु तहसनहस भएका छन्। अनि समुद्र छेउछाउका इलाकाहरुमा मात्र देखिने खालको हेभी गाडीहरु पल्टिएका दृश्य पनि छन्। नेपालमा पहिले यस्तो शायदै भएको थियो, त्यसैले हामी धेरै जना त अचम्ममा परेका छौँ।
के यो टोर्नाडो अर्थात् भूमरी थियो?
फोटोको क्षति हेर्दा त EF-1 वा EF-2 को जस्तो टोर्नाडो देखिन्छ।
मृत्यु हुनेको संख्या २७ छ र घाइते हुनेको त ६०० नाघेको छ। यसले पनि यो भूमरी कति विनाशकारी थियो भन्ने प्रष्ट हुन्छ।
तर नेपालको मौसम पूर्वानुमान महाशाखाले यसबारे सुइँकोसमेत पाउन सकेन। भारतीय मौसम पूर्वानुमान केन्द्रले भने सूचना जारी गरेको थियो। नेपालले किन गर्न सकेन भन्ने बारे बीबीसीमा नवीन सिंह खड्काले भनेका छन्- तथ्याङ्क त थियो, तर त्यसलाई विश्लेषण गर्न सक्ने जनशक्ति थिएन।
बिनाशको प्रकृति हेर्दा यो ठुलै क्याटागोरीको टोर्नेडो हो ।