Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

न्युजिल्यान्डको नरसंहार लाइभ भिडियो हेर्दा : फेसबुक, युट्युबको दुरुपयोग, इन्टरनेटको क्रुर रुप

Posted on March 17, 2019 by Salokya

अहिले एकदम चलेको गेम पबजी मैले पनि मोबाइलमा डाउनलोड गरेको थिएँ। समय अनुसार गेम क्रेज फरक हुने गर्छ। एकताका क्यान्डीक्रस खुब खेलिन्थ्यो। त्यसपछि पोकेमन गोको क्रेज आयो। त्यो पनि मोबाइलको डाटा सकाई सकाई खेलियो। तर यो पबजी मैले खेल्न जानिनँ। खेल्न सिकाएका पनि थिए साथीहरुले। तर अहँ। बन्दूक टिप्ने, अगाडि बढ्दै गोली हान्ने ड्याङ ड्याङ। मान्छे मार्दै अघि बढ्दै गर्ने। त्यो गर्नै जानिएन।

शुक्रबार न्युजिल्यान्डका दुई मस्जिदमा गोली हान्दै मान्छे मारेको भिडियो १७ मिनेटसम्म फेसबुकमा लाइभ भयो। फेसबुकले त्यसलाई तत्काल डिलिट गरेको बताएको थियो। तर एक पटक इन्टरनेटमा गइसकेको चिज हटाउन कति गाह्रो हुन्छ भनेर अहिले फेसबुक, ट्विटर, युट्युब र अरु साइटहरुले अहिले भोग्दैछन्। मैले पनि कतैबाट त्यो भिडियो हेर्न पाएँ। अचम्म लाग्यो त्यो हेर्दा। मान्छे मार्ने कुरा कस्तो केही पनि नलागेको!

ठ्याक्कै यही गेम सम्झेँ। यही गेमको जस्तो गोली चलेको आवाज… तर गेममा शत्रुलाई मारिन्छ। उसित हतियार पनि हुन्छ। दोहोरो गोली हानाहान हुन्छ। यहाँ त मस्जिदमा प्रार्थना गरिएका निर्दोष मुस्लिमहरुमाथि गोली बर्साइएको थियो। निहत्था थिए उनीहरु।

मोबाइल एप्लिकेसन लाइभ ४ बाट टाउकोमा राखिएको क्यामेराबाट फेसबुकमा लाइभ गरिएको जस्तो देखिन्छ। खासमा यो गेम लाइभ गर्न नै प्रयोग हुने एप हो। यति सजिलोसँग उनी गोली भुट्दै मान्छे ढाल्दै जान्छन् कि त्यस्तो सजिलो त गेममा पनि कसैलाई हुन्न होला। गोली सकिन्छ, गोली रिलोड गरिन्छ।

गाडीबाट उत्रिएर उनी बन्दूक बोकेर यति सजिलै मस्जिदमा छिर्छन् कि त्यहाँ सुरक्षाको नाममा केही पनि देखिन्न। अझ डरलाग्दो त हामी इन्टरनेटको आविस्कारपछि सबैभन्दा डरलाग्दो दुरुपयोगको दृश्य रेकर्डेड हेर्दैछौँ।

एक जमाना थियो जतिबेला एक ठाउँको सानो मेसेज इमेलबाट पठाउन गाह्रो थियो। एक ठाउँको फोटो अर्को ठाउँमा हेर्न कठिन थियो। बिस्तारै त्यो सहज हुँदै गयो। तर सन् २००७/२००८ सम्म पनि लाइभ भिडियो निकै कठिन काम थियो। माइसंसारका सुरुका दिनमा ह्यान्डीक्यामलाई ल्यापटपमा जोडेर ल्यापटपमा जोडिएको सिडिएमए डिभाइसबाट युस्ट्रिम नामको एप्लिकेसनबाट नारायणहिटी दरबारबाट ज्ञानेन्द्र बाहिरिँदा लाइभ भिडियो प्रसारण गर्दाको दुःख हिजो जस्तो लाग्छ। अहिले एउटा मोबाइलबाट फेसबुकमा सजिलै लाइभ गर्न सकिन्छ। मोबाइलमा लाइभ गरेर आत्महत्या गरेको त धेरै घटना सुनिएका थिए। तर यसरी लाइभ गरेर यति धेरै मान्छे मारेको भिडियो पनि लाइभ होला भनेर त कसैले अनुमानसमेत गर्न सकेका थिएनन्। प्रविधिले फड्को मारेसँगै अझ कस्तो कस्तो दुरुपयोग हामीले हेर्न बाँकी होला!

इन्टरनेटको क्रुर रुप
अनलाइन इन्टर्‍याक्सन सम्बन्धी मास्टर्स डिग्रीको थेसिस गर्ने क्रममा अनलाइनसम्बन्धी विदेशीहरुले गरेका धेरै अध्ययनहरु पढियो। त्यतिबेला इन्टरनेटको दुई रुप देखेको थिएँ। एउटा आदर्श, अर्को क्रुर। क्रुर रुपमा केहीले यो ठाउँ जंगली सार्वजनिक ठाउँ (वाइल्ड पब्लिक्स) सरहको ठाउँ भएको भन्दै आलोचना गरेका थिए। आफ्ना विचारहरुको समर्थनका लागि अतार्किक विचार राख्ने, आक्रामक लेखाइ, दुर्व्यवहार र ठाडो कुरा गर्ने उदाहरण अध्ययनहरुमा थियो।

इन्टरनेटले एक्सट्रिमिस्ट विचारधाराहरुलाई बढावा पनि दिन्छ। छिमेकी देश भारतमा दक्षिणपन्थी हिन्दु अतिवादी विचारहरुको उदयदेखि पश्चिममा डोनल्ड ट्रम्पको उदयसम्मको उदाहरण हेर्नुस्। युरोपेली देशमा आप्रवासी र मुस्लिम समुदायमाथि कट्टरपन्थी विचारधारा हावी भएको हेर्नुस्।

एउटा शब्द छ साइबर बाल्कानीकरण। आफ्नो विश्वासविपरीतका विचार र सूचनाको वास्तै नगर्ने प्रक्रियालाई साइबर बाल्कानीकरण भनिन्छ जसले इन्फरमेसन कुकुन्स र इको च्याम्बर्स सिर्जना गर्छ। इन्फरमेस कुकुनमा मानिस आफूले सुन्न नचाहेका समाचार र विचारहरुबाट टाढा रहन्छन्। सूचना प्रविधिले भौगोलिक रुपमा टाढा भएका मानिसलाई एकापसमा जोडेर दूरी जोड्ने पुलका रुपमा काम गरी समुदायलाई एकत्रित बनाए पनि यसले अन्तर्क्रियालाई टुक्र्याउने, समूह विभाजन गर्ने र मानिसलाई आफ्नो विशेष इच्छाको सामाग्रीमा मात्र ध्यान दिन प्रेरित गर्छ। अतिवादी विचारधारा बलियो बनाउने काम यसैले गर्छ।

यस्तै अतिवादको शिकार भएका व्यक्ति हुन् न्युजिल्यान्डमा नरसंहार गर्ने Brenton Tarrant। उनले यसका लागि इन्टरनेटको दुरुपयोग निकै गरे। उनले आफ्नो कट्टरपन्थी ७४ पेजको विचारको मेनिफेस्टो इन्टरनेटमा नै राखेका थिए। उस्तै कट्टरपन्थी विचारधारा भएकाहरुले उक्साए पनि होलान्।

अनि उनले आफ्नो कुकर्म इन्टरनेटबाटै लाइभ पनि गरे।

एउटा जोक छ- कुनै युट्युबर घाटमा पुग्दा पनि अन्तिम इच्छा के छ भनेर सोध्दा मेरो भिडियोमा लाइक र च्यानललाई सब्सक्राइब गरिदिनुस् भन्छ रे। युट्युबमा भिडियोहरु हेर्नुहुन्छ भने किन यस्तो जोक गरिएको होला भनेर तपाईँले सहजै अनुमान लगाउन सक्नुहुन्छ।

युट्युबरसित पनि यो आक्रमणको घटना जोडियो। किनभने त्यो क्रुर बन्दूकधारीले मस्जिदभित्र जाँदै गर्दा “Remember lads, subscribe to PewDiePie.” भनेको सुनिन्छ।

PewDiePie स्विडिस युट्युबर हुन्। उनी सबैभन्दा बढी सब्सक्राइबर भएको युट्युबर हुन्। उनी समय समयमा अतिवादी विचार राखेका कारण विवादमा पनि आउँछन्।

केही समयदेखि उनको भारतको एउटा च्यानल टि सिरिजसित युद्ध चलिरहेको छ। यो शताब्दीकै अनौठो युद्ध- कसको सब्सक्राइबर सबभन्दा बढी भन्ने होडबाजी। आक्रमणको दुई दिनमात्रै अगाडि उनको युट्युब च्यानलको शीर्ष स्थानमा केही समय टि सिरिजले कब्जा जमाएको थियो।

यही पृष्ठभूमिमा आक्रमणकारीले उनको नाम लिएर सब्सक्राइब गर्न भनिदिए। उनले ट्विट गरेर स्पष्टीकरण दिनु पर्‍यो

Just heard news of the devastating reports from New Zealand Christchurch.
I feel absolutely sickened having my name uttered by this person.
My heart and thoughts go out to the victims, families and everyone affected by this tragedy.

— ƿ૯ωძɿ૯ƿɿ૯ (@pewdiepie) March 15, 2019

पश्चिमी मिडियाको भेदभावको चर्चा पनि यही बेला भयो। मुस्लिमले गरेको भए तुरुन्तातुरुन्तै आतंककारीले गरेको भन्थे, गोराले गरेको भएर त्यसो भनिएन भनेर आलोचना भयो।

Shame on you @DailyMailUK
for showing sympathies.
It was pure butchery, merciless and terror attack by this white man terrorist.
He should declare as a globe terrorist but you are feeling sorry for him.
Your freedom of speech is a part of this attack.#NewZealandTerroristAttack pic.twitter.com/GqTjcr5qG7

— Muhammad Hamza Khan (@mhkhan22) March 15, 2019

न्युयोर्क टाइम्समा केभिन रोजले लेखेका छन्, अब आउने दिनमा हामीले यो आक्रमणका पीडितहरुको जीवनमा अर्थ खोज्नु पर्छ र बन्दूकधारीको ध्यान तान्ने रणनीतिलाई महान बनाउने काम गर्नु हुँदैन। हामीले मुस्लिम विरोधी हिंसाको भयलाई पनि सम्बोधन गर्नुपर्छ। त्यस्तै विगत केही वर्षदेखि अतिवादको विषालु पाइपलाइनलाई पनि बुझ्न र सम्बोधन गर्न जरुरी छ।

हामी नेपालीहरु यो मामिलामा धेरै सहनशील नै छौँ। तर पनि पछिल्ला केही वर्षमा हाम्रोतिर पनि अतिवादी विचारहरु निकै हावी भइरहेका देख्छौँ। दुई समुदायहरुबीच अनलाइन बहसहरु हेर्दा यो महसूस गर्न सकिन्छ। धार्मिक अतिवादी विचार बिस्तारै अनलाइनमा बढिरहेको देख्न सकिन्छ। इन्टरनेटले समाजलाई जोड्ने मात्र हैन यसको दुरुपयोगले तोड्ने काम पनि गर्छ भन्नेतर्फ सचेत हुनुपर्छ।

8 thoughts on “न्युजिल्यान्डको नरसंहार लाइभ भिडियो हेर्दा : फेसबुक, युट्युबको दुरुपयोग, इन्टरनेटको क्रुर रुप”

  1. प्रवीण कुमार के.सी. says:
    March 18, 2019 at 11:32 am

    मान्छे जहिले पनि अर्काको दु:खमा रमाउने गर्दछ । उदाहरण अरु मरेको भिडियो हेर्न पाईएला भनेर ब्लगको शुरु देखि अन्त्यसम्म पढियो । लिंक देखाउने ठाउँहरु प्राय सबैमा क्लिक गरियो तर भिडियो हेर्न पाईएन अनि आफै दु:खी भईयो । अर्काको दु:ख हेर्न पाएको भए म पनि रमाउने रहेछु नि । त्यसैले गतिलो मान्छे म पनि हैन ।

    Reply
  2. राजन says:
    March 18, 2019 at 1:51 am

    ॐ असतो मा सद्गमय ।
    From untruth, lead us to the truth.

    तमसो मा ज्योतिर्गमय ।
    From darkness of ignorance, lead us to the light of knowledge

    मृत्योर्मा अमृतं गमय ।
    From mortal life, lead us to the spiritual immortality.

    ॐ शान्तिः शान्तिः शान्तिः ॥
    Let peace reside in our body, mind and our soul.

    – बृहदारण्यकोपनिषद्

    Reply
    1. Pradip says:
      March 30, 2019 at 4:06 pm

      Sahi Kura bhannu bhayo Satya bolnu parda maile Pani yo video herna paune aash gareko thiyen.

      Reply
  3. Pingback: हेर्नुस् साइकल चलाउँदै काठमाडौँको सडकबाट गरेको गोप्रो लाइभ « Mysansar
  4. madan bajracharya says:
    March 17, 2019 at 2:16 pm

    फरक बनेर फरक देख्ने “पागलपन” लाई धर्म मान्नेले गर्ने त् यस्तै हो/ यस्ताको सोच पनि आतंबादी जन्माउने बिउ हो/

    Reply
  5. Prasanta Sharma says:
    March 17, 2019 at 11:17 am

    I read “mysansar” all day everyday. Please and please don’t write killer’s name. It’s always devastating to see killer’s name before reaning anything else.

    Reply
  6. Shankar says:
    March 17, 2019 at 4:05 am

    भिदिवो खै त् ?

    Reply
    1. Salokya says:
      March 17, 2019 at 10:26 pm

      भिडियो हाल्न हुँदैन भनेर हालिएन ।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme