Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिको फिर्ती सवारीमा पनि जनतालाई सकस, त्यो राजतन्त्रकालीन परम्परा फेर्नै नहुने?

Posted on March 16, 2019March 16, 2019 by Salokya


तपाईँलाई याद होला, राष्ट्रपति विद्यादेवी भण्डारी सेनाको रात्रिभोजमा जाँदा ४० मिनेट बाटो रोकिएपछि मोटरसाइकल चालकहरुले विद्रोह गरी ट्राफिकलाई नटेरी चलाएको। त्यो भिडियो भाइरल भएपछि त्यसको चेन इफेक्ट परेको छ। कतै ट्राफिकले धेरै समय बाटो रोके ट्याँ ट्याँ हर्न बजाउन थालिन्छ अचेल। राष्ट्रपति अमेरिका भ्रमणमा जाँदा एकतर्फी बाटोमात्रै रोकियो भन्ने प्रचार गरियो। साँझ ७ बजिसकेपछिको सवारी थियो त्यो। एकतर्फी हो कि दुईतर्फी फोटो हेर्न पाइएन। तर आज राष्ट्रपति अमेरिकाबाट फर्कँदा भने फेरि पनि दुईतर्फी नै बाटो बन्द गरियो।

सुरुमा ट्राफिकले दिउँसो ३:३० बजे दुईतर्फी बाटो रोक्ने सूचना दिएको थियो। तर पछि समाचार आएपछि भने फेसबुकको त्यो सूचना डिलिट गर्दै ३:५० मा अर्को सूचना राखियो-

यसमा भने एकतर्फी मात्रै बाटो बन्द गरिने सूचना थियो। एकतर्फी मात्रै बाटो बन्द गरियो कि दुईतर्फी भनी फोटो खिच्न पठाउँदा दुईतर्फी नै बाटो बन्द भएको देखियो।

 

४ बजेर ३४ मिनेटमा बल्ल ट्राफिक प्रहरीको फेसबुकले सबै ठाउँको सवारी आगमनको अवरोध हटेको बतायो।

एक घण्टा यी ठाउँका बाटो बन्द भएछन्।

किन त?

खासमा उहिले बाजेको पालादेखि चलन रहेछ- राजा औपचारिक भ्रमणका लागि देशबाहिर जाँदा र आउँदा दुईतर्फी बाटो रोकेर स्कर्टिङसहितको सवारी चलाउने। त्यतिबेला त सवारी राजाको हुन्थ्यो, रैतीको के हैसियत र। चुपचाप लाएर हेरी बस्नु बाहेक विकल्प थिएन। राजालाई पनि बाटो बन्द हुँदा रैतीलाई जे असर परे पनि के मतलब।

तर राजतन्त्र हटेर गणतन्त्र आइसक्दा पनि राष्ट्रपतिले नागरिकलाई रैतीकै हैसियतमा ठान्न नहुने हो। त्यस्तो सामन्ती परम्परा त तोडिदिए हुन्थ्यो। राष्ट्रपति भनेको सेनाका पनि परमाधिपति हुन्। सेनाले बनाउने सवारी चलाउँदाको सुरक्षा योजनालाई परिमार्जन गर्न लगाउने हैसियत राष्ट्रपतिको पक्कै हुन्छ। विदेश भ्रमणबाट फर्कँदा त्यसरी मोटरसाइकलहरुको स्कर्टिङसहित दुईतर्फी बाटो रोकिराख्न किन जरुरी थियो र। चलन भनेको त सर्वसाधारणको सुविधालाई हेरी परिमार्जन गर्दै लाने हो नि। यदि त्यसो नगर्ने हो भने त उहिले राजा विदेश भ्रमणमा जाँदा र आउँदाको जस्तै सार्वजनिक विदा नै दिए भइहाल्थ्यो नि।

त्यसैगरी राष्ट्रपति विदेश भ्रमणमा जाँदा र फर्कँदा विमानस्थलमा लर्को लाएर उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, अरु संवैधानिक निकायका प्रमुख पनि किन गइराख्नु पर्‍यो र। राजाको पालामा त जाँदा फर्कँदा सार्वजनिक विदा हुन्थ्यो र अरु काम हुन्न भन्ने हुन्थ्यो। अहिले त काम पनि हुन्छ। जसरी संवैधानिक राष्ट्रपति देशभित्रका कुनै ठाउँमा भ्रमणमा जान्छिन् त्यसरी नै देशबाहिर जाँदा के बिग्रन्छ र? उस्तै परे उपराष्ट्रपति जाँदा हुन्छ। किनभने उपराष्ट्रपति त राष्ट्रपतिको अनुपस्थितिमा कार्यवाहक जिम्मेवारी पनि पाउनेवाला हुन्।

खास त उपराष्ट्रपति पनि नगए हुने। किन भने उपराष्ट्रपति सवारी हुँदा पनि फेरि बाटो रोक्नुपर्ने हुन्छ। दुःख पाउने जनता नै हुन्।

र, अन्त्यमा

राष्ट्रपतिको सवारीका लागि मान्छेहरुलाई बाटो रोके पनि सुरक्षाकर्मीले सर्पलाई भने रोक्न सकेन। राष्ट्रपति हिँड्नका लागि तयार पारिएको रातो कार्पेटमा आज सर्पले बाटो काटिदियो। अस्ति जनताले बाटो काटे, आज जनावरले।

2 thoughts on “राष्ट्रपतिको फिर्ती सवारीमा पनि जनतालाई सकस, त्यो राजतन्त्रकालीन परम्परा फेर्नै नहुने?”

  1. तामांग शेरचन योञ्जन says:
    March 16, 2019 at 8:13 pm

    उइले बाजेका पालाका नियमहरु अइलेका बाजेहरुले पनि लागु गर्ने भए रुपान्तरण भन्या चै के हो त? कस्मेटिक चेन्जमा उही थरिका पात्रहरुले हाम्रो आँखा धमिल्याउने कैले सम्म?
    राष्ट्रपतिको पाताल भूमिको खर्चिलो यात्राका उपलब्धि के हुन, फलो अप के हुन, त्यस बारे खै केहि चर्चा पर्चा मेडियामा सुनिएन| खास मुद्दा त्यो हो, ट्राफिक साफीक गौण| व्यवस्थापनको कमीले गर्दा हो| उपराष्ट्रपति, प्र. म. सबै लावा लस्कर लाएर राष्ट्रपतिलाई एयरपोर्टमा जानपर्ने के नियम हो? के हाम्रा ओहदाधारी नेताहरुका अरु काम छैन? जनतालाई दुख दिएको सरकारले अहिले बुझ्ने होइन, चुनाव आउने बेलामा मात्र हो| यस्तै ताल हो भने धुलो चटाईदिनेछन सत्ताधारीलाई| दुखको कुरो प्रतिपक्ष कांग्रेस झन् झुरेस्ट छन, नीरिह छन, विभेदकारी छन,असक्षम छन| पाठक र लम्बोदरलाई पक्रेर तुरन्त कारवाही गर्नुपर्ने स्थितिमा अझै भ्रष्टचारीहरु खुल्लमखुल्ल सौदा गरिरहेका छन| लोकमानलाई कारवाही गर्ने नामै लिएको छैन| बिप्लव टोलिले त्यस्तालाई टार्गेट बनाउन थाले भोलिवाट त्यस्तो अवस्थामा प्रम घोषित तथाकथित “लुटेरा समुह” ले सहानुभूति लुट्न थाले आश्चर्य र उदेक लाग्छ भन्दै कुर्लिनु पर्दैन| जनताको चरम असन्तुष्टिको फायदा कसैले उठाएर नाजायज कार्य नगरून| नेपाली जनता शान्ति चाहन्छन| भ्रष्टचार होइन, हिन्दु राज्य फर्काउने पनि होइन, श्मसानबाट राजतन्त्र ब्युँताउने पनि होइन, बेतमासको धर्म परिवर्तन गराउने वातावरण सिर्जना गराउने पनि होइन, उइले बाजेको पालाको रुल पनि होइन| समग्रमा नेपाली जनता सुशासनका काकाकुल छन|

    Reply
  2. Shankar says:
    March 16, 2019 at 6:06 am

    हेलिकोप्टर मा एयरपोर्ट गए हुने ? हुन् त् रबिन्द्र को दुर्घटना पछि डराएका पनि छन् कि |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme