Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सिके राउत प्रचण्ड जस्तो नेता भनिहाल्नुभो प्रमले, विप्लव चैँ अब को जस्तो बन्दै?

Posted on March 14, 2019 by Salokya


प्रतिबन्धको खबर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चलेका दुई फोटोमध्ये एउटा फोटो यो हो। यसमा नेत्रविक्रम चन्द विप्लव उठेका र रामबहादुर थापा बादल बसेका देखिन्छन्। दुवैको पार्टी नेपाल कम्युनिस्ट पार्टी अर्थात् नेकपा नै हो। नाम एउटा, एक जमानामा सँगै ‘जनयुद्ध’ लडेकाहरु भए पनि अहिले दुई जनाको हैसियत फरक छ। बादल सत्तारुढ नेकपाका तर्फबाट गृहमन्त्री हुन् भने विप्लव पहिले अर्धभूमिगत अहिले भूमिगत नेकपाका नेता हुन्। एउटा जंगलमा दुई वटा सिंह बस्न नसक्ने उखानलाई फेल ख्वाएर नेकपामा दुई अध्यक्ष छन्। यो सरकारी नेकपाले सडकको नेकपालाई कस्तो खालको प्रतिबन्ध लगाएको हो भन्ने खुलेको छैन।

पारदर्शिताको नारा लगाए पनि मन्त्रिपरिषद्को बैठकको निर्णय तत्काल सार्वजनिक नगर्ने चलन यो सरकारको पालामा सुरु भएको छ। सरकारका प्रवक्ताको बासी खबरसहितको प्रेस कन्फ्रेन्स कुर्नु पर्छ। त्यसैले मंगलबारको मन्त्रिपरिषद्को बैठकले खासमा के कस्तो निर्णय गरेको हो खुलेको छैन। पार्टीमै प्रतिबन्ध लगाएको हो कि, पार्टीका आपराधिक गतिविधिहरुलाई मात्र नियन्त्रण गर्ने भनेको हो कि? नियन्त्रण गर्ने भए पुलिस लगाएर मात्र गर्ने कि आर्मी नै लगाएर गर्ने हो कि? कुन कुन जिल्लामा नियन्त्रण गर्ने हो? कुन कानुन अनुसार नियन्त्रण गर्ने हो? केही खुलेको छैन।

यसरी प्रतिबन्ध नै लगाउने हो भने ज्ञानेन्द्रले जस्तो शाही घोषणा गरेर ‘बाटो बिराएकाहरु हो, शान्तिपूर्वक राष्ट्रिय राजनैतिको मूलप्रवाहमा समाहित हुन आउनु। देश र जनताविरुद्ध आतंककारी गतिविधि कायमै राखेमा जनताले सहने छैनन्, कानूनले छाड्ने छैन’ भने हुने नि। किन लुकाएर राख्ने निर्णय गर्नुपर्‍यो।

विप्लवको समूह राजनीतिक पार्टी हो। तर यसका केही गतिविधिहरु चैँ आतंकवादी जस्तै देखिने आपराधिक खालका भए भने त्यस्तालाई त कानुन बमोजिम कारबाही गर्ने बाटो छँदैछ। त्यो गर्नलाई विशेष निर्णय गरिराख्नु त पर्दैन नै।

प्रधानमन्त्रीले बारम्बार विप्लवलाई लुटेरा लुटेरा भन्दै तुच्छ शब्द प्रयोग गर्नुभन्दा एनसेलबाहिर बम विस्फोट गरी सर्वसाधारण निशानामा पर्दा र एक बटुवाको ज्यान जाँदा तत्काल राष्ट्रका नाममा सम्बोधन गर्दै यो कदम चालेको भए वाह वाह नै हुन्थ्यो होला। यो घटनाबारे प्रधानमन्त्रीले अहिलेसम्म केही पनि बोल्नुभएन। मृतक सिमप्रसाद गुरुङको परिवारलाई भेटेर सान्त्वना दिन त परै जाओस् आफ्नो फेसबुक र ट्विटरमा एक शब्द लेख्न पनि आवश्यक ठान्नुभएन।

जब पृथकतावादी आन्दोलन घोषित रुपमै चलाइरहेका सिके राउतलाई राजनीतिक मूलधारमा ल्याउन भन्दै प्रधानमन्त्रीस्तरको व्यक्ति उपस्थित भएर महत्वका साथ कार्यक्रम गरे, त्यो सहमतिका बूँदाहरुका आपत्तिजनक विषय र जनमत संग्रहको विवाद उठ्यो, कतै यो सबबाट डाइभर्ट गर्न त तत्काल विप्लव प्रतिबन्धको फण्डा रचिएको हैन?

प्रमले राजनीतिक सहमतिको घोषणा कार्यक्रममा सिके राउतलाई प्रचण्ड जस्तो नेता भनेर प्रशंसा गरेका थिए। प्रचण्ड हिंसात्मक आन्दोलनको नेतृत्व गरेका व्यक्ति। सिके राउतले भने आफूलाई अहिंसावादी दावी गर्दै आएका छन्। प्रचण्डबाटै फुटेर गएका विप्लव चाहिँ बरु आफूलाई प्रचण्ड भाग २ बनाउने प्रयासमा छन्। प्रचण्डले १७ हजार मान्छे मार्न हुने मैले अर्को १० हजार मारे के बिग्रन्छ भनेर विप्लवले भन्ने हो भने प्रचण्डले कुन नैतिकताले उनलाई जवाफ दिन्छन्?

आफ्नै पार्टीमा समेत छलफल नगरी प्रधानमन्त्रीले विप्लवसम्बन्धी निर्णय क्याबिनेटबाट गरेको पनि खुलेको छ।

विप्लव उतिबेलाको माओवादी जस्तो घोषित रुपमा सशस्त्र युद्धमा लागेको छैन। उसले एकीकृत जनक्रान्ति गर्ने भनिराखेको छ। पुरानै किसिमको जनयुद्ध अहिले गर्न सम्भव पनि नहोला। तर प्रतिबन्धको नाममा उतिबेला जस्तो किलो सेरा टु अपरेसन चलाएर दमन गर्न थाल्यो भने त्यस्तो दमनबाट विद्रोह झन् भड्किन सक्छ।

प्रधानमन्त्रीका पछिल्ला दुई कदमले प्रधानमन्त्रीलाई राम्रो भयो कि अरुलाई, अब त्यसको लेखाजोखा हुन थाल्नेछ। सिके राउतलाई महत्त्वका साथ मूलधारमा ल्याएको भनेकै दिन उनले जनमत संग्रहको कुरा उठाए। कार्यकर्ताहरुलाई आफूले त मधेश देशका तर्फबाट नेपाल देशका प्रधानमन्त्रीसित सम्झौता गरेको भनेर बताइरहेको सुनिएको छ।

यता विप्लव पार्टीमाथि प्रतिबन्धले यो पार्टीको ब्रान्ड भ्याल्यु ह्वात्तै बढेर उतिबेलाको प्रचण्ड नेतृत्वको नेकपा माओवादीकै हैसियतमा पुर्‍याएको छ। मान्छेले पुरानो द्वन्द्वका बेला सम्झन थालिसकेका छन्। त्यस्तो फेरि सहन नपरोस् भन्न थालिसकेका छन्।

2 thoughts on “सिके राउत प्रचण्ड जस्तो नेता भनिहाल्नुभो प्रमले, विप्लव चैँ अब को जस्तो बन्दै?”

  1. madan bajracharya says:
    March 14, 2019 at 11:59 am

    नागरिक मारेकोले होईन रास्ट्रको सम्पति बिनास गरेकोले पनि होईन देसको कानुन संबिधान नमानेकोले पनि होईन अबैध हतियार राखेकोले पनि होईन मात्र ओली-प्रचन्द्रलाई मार्न खोजेकोले बिप्लव समुह लुटेरा भयो अपराधिक समुह भयो/ तर मित्रहरु अलि घोरेर बिचार गर्नुस ओलीले अहिले बिप्लवलाई लुटेरा भयको भनेर प्रतिबन्ध मात्रै लगायकोछ; उसलाई लुतेकोमा सजाय दिलाउन समाउने आदेश दियको छैन/ त् यो त् मात्र हेर मेरो सत्तालाई समर्थन गर; गरे सिकेलाई….जस्तै, नमाने ….गर्न सकिने….मात्रै भयको स्पस्ट देखिन्छ/ हुन् सक्छ बिप्लवले ओलीको संकेत को कदर नगरे बिप्लवलाई सिकेलाई जस्तै समाउला र अदालतमा हदै सम्मको कार्यवाही होस् भनि पेस पनि गर्ला तर बिप्लवले पनि सिकेले जस्तै….गरे ओलीले सिकेलाई जस्तै….गर्नेनै छ भन्नेनै छ/

    आस नगर्नुस मित्रहरु राजनीतिको नाममा अपराध गर्नेलाई आफ्नो नेतृत्वमा बनेको सरकारलाई समर्थन गर्नुनै रास्ट्रिय राजनीतिको मुलधारमा समाहित हुने ठान्नेको नेतृत्वमा जव सम्म नेपालमा सरकार बन्छ चल्छ नेपालमा राजनीतिको नाममा आम नागरिकको बलि दिनु दसैँमा मासु भात खान मन्दिरमा बलि चढाउने जस्तै हुँदै गर्छ/

    Reply
  2. Shankar says:
    March 14, 2019 at 5:00 am

    ओलीको भनाइ सत्य हो , सी के रावत प्रचण्ड जस्तै हो | दुबैलाई हावा दिएर फुलाउने पम्प येउटै हो भन्न खोजेको हो सायद उनले |
    विप्लब चै प्रचण्ड ले खोलेको पसल मा बस्न आएका हुन् | पसल लाइ येन केन चलाई राखे एक दिन पक्कै प्रचन्ड लेझैँ फाइदा उठाउला भन्ने उनको दाबि जस्तो देखिन्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme