Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपतिको सवारीमा भएको ‘विद्रोह’ले सम्झाएको राजा ज्ञानेन्द्रको १४ वर्ष पुरानो सवारी

Posted on March 8, 2019March 8, 2019 by Salokya


मंगलबार राष्ट्रपतिको सवारीका क्रममा बाटो छेकिएका सवारी साधनहरुले विद्रोह गर्दै निषेध तोडेको भिडियो भाइरल भइरहँदा मलाई भने १४ वर्ष अघिको राजाको सवारीका क्रममा खिचेको भिडियोको याद आयो।

त्यतिबेला अहिले जस्तो सामाजिक सञ्जाल थिएन। न अहिले जस्तो तीव्र गतिको इन्टरनेट नै थियो। अहिले भए स्मार्टफोनबाटै भिडियो खिच्न सकिन्थ्यो। त्यतिबेला त्यो पनि थिएन। ३ मेगापिक्सेलको डिजिटल क्यामेराले खिचेको त्यो भिडियो त्यतिबेला विदेशमा खुब हेरिएको थियो।

त्यतिबेला राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकारलाई दोस्रो पटक विघटन गरी शासन सत्ता आफ्नै हातमा लिएको १० महिना भएको थियो। मन्त्रिपरिषद्का अध्यक्ष राजा स्वयं थिए। टुँडिखेल वरपर प्रदर्शन गर्न रोक लगाइएको थियो। त्यसैले एमालेले निषेध नलगाइएको ठाउँ नयाँ बानेश्वरमा आमसभा गरेको थियो।

डिसेम्बर २, २००५। त्यो दिन शुक्रबार थियो। राजा ज्ञानेन्द्र खै कुन ठाउँबाट पो हो, स्वदेश फर्कँदै रहेछन्। त्यो दिनको ब्लगमा यस्तो लेखेको रहेछु-

यता एमालेले नयाँ बानेश्वरमा आमसभा सकायो, उता राजा ज्ञानेन्द्र एयरपोर्टबाट नारायणहिटी सवारी हुने बेला परेछ।

रुबिन गन्धर्वले गीत गाउँदै गर्दा भीड अनियन्त्रित भएर मञ्चतिर बढ्यो। मनोज गजुरेलको प्रस्तुतिपछि सभा समापन गरियो। प्रहरी घेराले फर्कन लागेकाहरुलाई रोकेनन्। उनीहरु त्यहीँबाट अगाडि बढे नयाँ बानेश्वरको मूल सडकमा जहाँ केही बेरपछि नै राजाको सवारी हुँदै थियो।

केही युवाहरु चर्का नारा लगाउँदै अगाडि बढ्दै थिए। यत्तिकैमा राजपरिवारको सवारी भयो। ढुंगा हानाहान हुँदै थियो कि बाटोबाट ठूलै पदका प्रहरीहरु कुददै आए। के रहेछ भन्दा त नम्बर प्लेटमा श्रीपेच भएको राजाको लागि गाडी आएको रहेछ। चारतिरबाट मोटरसाइकल चढेकाहरुले घेरिएको त्यो गाडी बेपत्तासँग कुद्‍यो। त्यो गाडीमाथि पनि ढुंगा हानियो। त्यहाँमात्रै हैन त्यहाँभन्दा अगाडि नै पनि ढुंगा हानिएको रहेछ।

त्यो गाडी कुदनेबित्तिकै एक हुल सशस्त्र प्रहरी मिनभवन क्याम्पसतिरको गल्लीमा रहेका प्रदर्शनकारीहरुलाई लखेट्न गए।

यत्तिकैमा फेरि अर्को सवारी आयो। युवराज पारसको सवारी रहेछ। त्यो गाडीमा पनि ढुंगा हाने रे। मैले भने देखिनँ। त्यो पनि बेपत्तासँग कुदेको थियो।

मिनभवन क्याम्पसभित्रका गल्लीबाट प्रदर्शनकारीलाई बाहिर आउन नदिन प्रहरीले कयौं घेरा बनाएर बसेका थिए। अब फेरि नयाँ बानेश्वर चोकतिर जानुपर्‍यो भनेर जान्छु त अब त नेपालका झण्डा बोकेकाहरु टन्नै देखिन्थे त्यहाँ। त्यत्रो भीड हराइसकेको थियो।

बरु त्यहाँ हेर्दै डरलाग्दा मण्डले गुण्डाहरु टन्नै देखिए। अब मात्र हानोस् न काट दिने हो …..हरुलाई भन्दै थिए। “फुच्चाफुच्चेहरु राजाको गाडीलाई ढुंगा हान्ने ? ” भन्दै कुर्लँदै थिए। यसो उनीहरुको पनि भिडियो खिचौं कि भनेको उनीहरुले उल्टै आफूलाई चुट्ला भन्ने डर ! पूरा ब्लग पढ्नुस्

त्यतिबेला अहिले जस्तो सहज थिएन भिडियो अपलोड गर्न। त्यतिबेलाको ब्लगमा लेखेको रहेछु- ‘भिडियो अपलोड गर्न विशेष गरी नेपालको स्लो इन्टरनेट कनेक्सनमा सार्‍है झण्झटिलो काम हो। त्यसमाथि आफूले प्रयोग गर्ने गरेका फ्री सर्भरहरुमा समस्या आउँदा सार्‍है गार्‍हो हुन्छ। मैले अघि सात बजेदेखि यही भिडियो बनाएर अपलोड गर्ने प्रयास गरिरहेको छु। सवा १२ हुँदा पनि टुंगिने छाँटकाँट छैन।’

आज यो ब्लग लेख्दै गर्दा त्यो भिडियो भेट्टाएर साइज हेरेको जम्मा ९.४५ एमबी मात्रै रहेछ। भिडियो ब्लगः राजाको गाडीमा ढुंगा प्रहार (Exclusive) शीर्षकमा भिडियो अपलोड गरेको रहेछु। त्यही भिडियोलाई काँटछाँट गरेर अहिले फेरि युट्युबमा अपलोड गरेको छु। त्यतिबेला युट्युब पनि अहिले जस्तो थिएन। युट्युब डोमेन सुरु भएको सन् २००५ को फेब्रुअरीमा बल्ल हो। साइट अफिसियल्ली लञ्च भएको त डिसेम्बर १५, २००५ मा मात्र हो। यो भिडियो त्यो भन्दा १३ दिनअघि खिचिएको हो।

राजाको प्रत्यक्ष शासन। सबभन्दा शक्तिशाली राजा नै। सुरुमा त राजाले सत्ता हातमा लिँदा धेरैले ठीक गरे भनेका थिए। तर बिस्तारै उनी अलोकप्रिय हुँदै गए। उनीविरुद्ध खुल्लमखुल्ला नाराबाजी हुन थाल्यो। उनको शासनकालमा उनको सवारीमा ढुंगा हानिएको यो पहिलो दृश्य थियो, जुन माइसंसारमार्फत् विदेशमा रहेका नेपालीमाझ फैलिएको थियो। काठमाडौँमा राजाको सवारीमा ढुंगा हान्नु भनेको अकल्पनीय विषय नै थियो त्यतिबेला। यो घटनाले राजा कसरी अलोकप्रिय हुँदैछन् भन्ने प्रष्ट पारेको थियो।

यो घटनाको १४ वर्षपछि तत्कालीन एमाले नेतृ विद्या भण्डारी राजा ज्ञानेन्द्रको ठाउँमा अर्थात् राष्ट्रप्रमुख छिन्। मंगलबार उनको सवारी आर्मी हेडक्वार्टरमा थियो। शितल निवासबाट लैनचौर हुँदै उनको गाडी अघि बढिसक्दा समेत त्यो रुटमा सवारी साधन चल्न दिइएको रहेनछ। यसै क्रममा ४० मिनेटदेखि आफूहरुलाई रोकिएको सहन नसकेर सवारी चालकहरुले ‘विद्रोह’ गरे, र ट्राफिक प्रहरीलाई नटेरी सवारी साधन अगाडि बढाए। विस्तृत यो ब्लगमा पढ्नुस्।

http://www.mysansar.com/wp-content/uploads/2019/03/53837772_821304018239007_5764286392624480256_n.mp4

वास्तवमा यो निकै गम्भीर विषय हो। किन यतिविधि दुःख गरेर, आन्दोलन गरेर राजतन्त्र ढाली ल्याएको गणतन्त्रका राष्ट्रप्रमुखको अलोकप्रियता बढ्दैछ त? मंगलबारको घटना त एउटा उदाहरण मात्रै हो। यसअघि पनि राष्ट्रपतिको सवारीका कारण लामो समयसम्म जाममा पर्दा सवारी चालकहरुको आक्रोश गुम्सिएकै थियो। हाम्रै राष्ट्रप्रमुख हुन्, उनको यात्रा सहज हुनुपर्छ, बरु हामी अलि असहज सहन सक्छौँ भन्ने भावना सर्वसाधारणको मनमा किन आएन? किन राष्ट्रपति राष्ट्रको सर्वोच्च पदमा बस्न सके पनि सर्वसाधारणको मनमा बस्न सकेनन्? यो विषयमा राष्ट्रपतिले, उनका सल्लाहकारहरुले सोच्नुपर्छ। हो, राष्ट्रपतिले मेरो सवारी चलाउँदा बाटोमा अरुको गाडी चलाउन नदिनु भनेर पक्कै भनेका छैनन्। तर उनले मेरो सवारीका कारण अरुलाई अप्ठेरो नहोस् है त भन्न सक्छिन् नि। उनको इच्छा अनुसार सुरक्षाको जिम्मा लिनेहरुले त्यसअनुसार व्यवस्था मिलाउन सक्छन्। छोटो समयका लागि बाटो रोक्न पनि सकिन्छ।

हैन, यस्तै गर्ने हो भनेर जिद्दी गर्ने हो भने राष्ट्रपतिलाई अझ अलोकप्रिय बनाउने काम मात्रै हुन्छ। राजालाई पनि यसरी नै अलोकप्रिय बनाउँदै लगिएको थियो र आफ्नै क्रियाकलापका कारण पनि उनी अलोकप्रिय बन्दै गएका थिए भन्ने पनि अहिलेका राष्ट्रप्रमुखले बुझ्नु पर्ने विषय हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme