Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपति रात्रिभोजमा सवारी हुन लाग्दा सडकमा यात्रुले गरेको ‘विद्रोह’, पाठ सिक्ने कहिले?

Posted on March 6, 2019March 6, 2019 by Salokya


मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी सेना दिवसको अवसरमा सैनिक मुख्यालय, भद्रकालीमा आयोजित रात्रिभोजमा ‘सवारी’ हुने कार्यक्रम थियो। सधैँ झै सवारी हुँदाको बेला ट्राफिक प्रहरीले बाटो रोक्ने गर्छन्। तर मंगलबार साँझ जे भयो, त्यसलाई ट्राफिक व्यवस्थापन गर्नेहरुले मात्र हैन, उच्च राजनीतिक नेतृत्व तहले पनि गम्भीर रुपमा लिनुपर्छ। किन राजा हटाएर स्थापित गरिएको राष्ट्रपति विरुद्ध सानै सही सडकमा यात्रुहरुले त्यो हदको ‘विद्रोह’गरे। कारण पहिल्याउन जरुरी छ।

‘अबको केही समयमा विशेष कारणवश शितल निवास,पानीपोखरी, लैनचौर, केशरमहल, महेन्द्र शालिक, भद्रकाली हुँदै चल्ने सवारी साधनहरु एकतर्फी रुपमै प्रभावित हुनेछन्। सो रुटमा संचालन हुने सवारी साधनहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्नहुन अनुरोध गरिन्छ।’

महानगरीय ट्राफिक प्रहरी कार्यालयले साँझ साढे ६ बजे यो सूचना जारी गर्‍यो।

विशेष कारणवश भनिए पनि खासमा यो राष्ट्रपति शितल निवासबाट भद्रकालीको आर्मी हेडक्वार्टरमा रात्रिभोजमा सवारी हुने कार्यक्रम थियो। राष्ट्रपति उपत्यकाका कुनै पनि ठाउँमा सवारी हुँदा एकतर्फी बाटो रोक्ने गरिन्छ। औपचारिक भ्रमणमा जान लागेको हो भने चाहिँ दुईतर्फी बाटो नै रोक्ने गरिन्छ।

यो कसले बनाएको नियम हो, थाहा छैन। तर यसरी नै चलिरहेको छ।

साँझको बेला मानिसहरु घर फर्कँदै थिए। सवारी यही बेला पर्‍यो। अरुतिर के भयो, थाहा भएन। तर लैनचौरको एउटा दृश्य भने फेसबुकमा भाइरल भएको छ। कमल विष्टले खिचेको यो भिडियोमा सुरुमा हर्न बजाएर विरोध गरिरहेको देखिन्छ।

त्यसमा लेखिए अनुसार ४० मिनेटदेखि ट्राफिक प्रहरीले बाटो रोकेर राखेका थिए।

काठमाडौँ हर्न निषेधित क्षेत्र हो। अनावश्यक हर्न बजाएमा ट्राफिक प्रहरीले कारबाही गर्न सक्छ। दिनहुँ कारबाही भइरहेका विवरण पनि आउँछन्। तर त्यति धेरैले विद्रोह स्वरुप हर्न बजाउँदा कारबाही पो कसलाई गर्ने?

त्यतिमात्र हैन, त्यो रोकिएका सवारी साधनको भिडमा एक जना मानिसले आजित हुँदै भन्छन्, ‘यो बाटो राष्ट्रपति भन्दा जनताको धेरै हो, राष्ट्रपतिलाई त हामीले बनाएका हौँ।’

सबैले ‘हो हो’ भन्दै आफ्नो सवारी साधन अघि बढाउँछन्। बिचरा ट्राफिक प्रहरी रोक्न खोज्छन्, तर त्यति धेरैको ‘विद्रोह’ रोक्ने कसरी?

भिडियो हेर्नुस्-

http://www.mysansar.com/wp-content/uploads/2019/03/53837772_821304018239007_5764286392624480256_n.mp4

मोटरसाइकलहरु सवारीका लागि रोकिएको ठाउँबाट एकपछि अर्को गर्दै हुरुरु कुद्‍छन्। भिडियो सकिन्छ। भिडियो सकिएका कारण त्यसपछि के भयो, थाहा पाउन हामी सक्दैनौँ। सवारी त्यसपछि पनि चल्यो र राष्ट्रपति आर्मी हेडक्वार्टर पुगेर फर्किन्।

राष्ट्रपति देशको सर्वोच्च पद हो। पदको सम्मानका लागि पनि सवारी चल्दा अरु गाडीलाई रोक्दा आवागमन सहज हुन्छ भन्ने विचार होला। ठीकै हो, तर त्यसका लागि एकदम छोटो समयका लागि बाटो रोक्दा पनि त हुन्छ। गुगल म्यापमा रुट हेर्दा यो बाटो ६ किलोमिटर चानचुनको रहेछ।

बाटो खुला हुने हो भने १५ मिनेटमा पुगिएला। त्यसका लागि जतिसक्दो कम बाटो रोके भइगो। ४० मिनेटसम्म बाटो रोकेपछि त जो कोहीको पनि धैर्यताको बाँध फुट्न सक्छ।

अथवा राष्ट्रपतिले आफू जसबाट चुनिएर आएको हो, उनीहरुलाई दुःख दिन चाहन्नँ भन्दै बाटो नरोकी जाँदा पनि त हुन्छ। आखिर त्यति विधि सुरक्षा थ्रेट त छैन नेपालमा कसैलाई।

जनता भन्या रैती हुन्। मेरो सवारी हुँदा यिनीहरुले सम्मान स्वरुप बाटो छोड्नु पर्छ भन्ने सोच राख्ने राष्ट्रपतिको पक्कै छैन होला। त्यसो भए कहाँ निर छ त यो ग्याप? कसले यस्तो गरिरहेको छ, जसका कारण राष्ट्रपतिप्रतिको धारणा नकारात्मक बनाउँदैछ? अब सोच्ने बेला आएन?

आउँदो आइतबार राष्ट्रपति न्युयोर्कको भ्रमणमा जाँदैछिन् महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिन। यो भ्रमण भएको कारण त्यतिबेला एयरपोर्ट जाँदा दुईतर्फी बाटो बन्द हुने होला शायद्।

अब सोच्ने कि फेरि यस्तै सडकमा विद्रोह निम्त्याउने।

डर छ, पाठ सिक्नुको साटो कन्ट्रोल गर्न नसकेको भन्दै ती बिचरा निरीह ट्राफिक प्रहरीलाई कारबाही त हुने हैन?

9 thoughts on “राष्ट्रपति रात्रिभोजमा सवारी हुन लाग्दा सडकमा यात्रुले गरेको ‘विद्रोह’, पाठ सिक्ने कहिले?”

  1. Pingback: राष्ट्रपतिको सवारीमा भएको ‘विद्रोह’ले सम्झाएको राजा ज्ञानेन्द्रको १४ वर्ष पुरानो सवारी « Mysansar
  2. sandip sharma says:
    March 7, 2019 at 1:05 am

    एस पटक खाली विद्रोह स्वरुप हर्न मात्र बजाए, र ट्राफिक को अबज्ञा गर्दै सवारी साधन अगाडी बढाए , अर्को पटक पनि येस्तै गरेमा , सवारी मा ढुंगा ईटा बर्शौनु पर्छ, पिडित जनता हो / रास्ट्रपति तथा सम्बदित निकाए ले थाहा पाउन

    Reply
  3. sandip sharma says:
    March 7, 2019 at 12:25 am

    एस पटक खाली विद्रोह स्वरुप हर्न मात्र बजाए, र ट्राफिक को अबज्ञा गर्दै सवारी साधन अगाडी बढाए , अर्को पटक पनि येस्तै गरेमा , सवारी मा ढुंगा ईटा बर्शौनु पर्छ, पिडित जनता हो /

    Reply
  4. madan bajracharya says:
    March 6, 2019 at 10:40 pm

    उहिले श्री ५ लाई सुन चांदी हिरा मोति जडेको फ्रेममा कस्सेर उप्किन हल्लिन नसकिने गरि टाँसेको जिउँदो तस्विर जस्तै मात्र बनायर राज्यको सबै अधिकार आफुमा सिमित राख्ने श्री ३को हुकुम नमाने जिउ धन सरकार हुने दान दिने सरकार र ब्यबस्था याद बेला बेला आउँछ/ उहिले श्री ५ बस्ने स्थान र पदमा अहिले रास्ट्रपति बस्छन र उहिले श्री ३ बस्ने स्थानमा अहिले प्रधान मन्त्रि/ ती स्थानहरुमा बस्ने बसाउने तरिका चाहि फरक छ तेती त् म बुझ्छु तर अरु कुराहरुमा उहिलेको र अहिलेको …के कुरामा फरक छन् तेही ठम्याउन सकिरहेको छैन/

    Reply
  5. Raj says:
    March 6, 2019 at 10:09 pm

    What’s the use of Presidency in Nepal? Just to replace the king? Why does a poor country like Nepal need a ceremonial president and vice-president? Just to cut ribbons and attend these Ratri-bhojs?

    Reply
  6. देबेन्द्र दाहाल says:
    March 6, 2019 at 3:57 pm

    यस्ता कुरामा सरकारले जनताको सेन्टिमेन्ट बुझ्न सकेन र पेलेरै जाने नीति बनायो भने यो नेकपाको लागि दुर्भाग्यको दिन हुनेछ। जनता भन्दा माथी कोहि छैन। रास्ट्रपति, उप्रारास्ट्रपति पनि जनता बाटै छानिएर आउने हुन। उनी हरुको देस सुहाउदो विशेष बसोबास र सुरक्षाको चाजो पाजो मिलाउनु पर्ने नै हुन्छ। तर पनि जनताबाट नटाडिने बातवरण बनाउदै जनतासङ्ग नजिकको सम्बन्ध बनाउदै उनिहरु सङ हातेमालो गरेर हिडने परम्पराको सुरुवात गर्न पनि आवश्यक छ। नभएको सुरक्षा चुनौती देखाएर जानतालाइ सास्ती नदिदा राम्रो हुनेछ। पुर्व राजाको देखासिकी जति सक्दो चाडै छाडदा बेस हुन्छ। आगे महामहिम र सरकारको मर्जी?

    Reply
  7. सत्य प्रकाश says:
    March 6, 2019 at 11:08 am

    सम्माननीय राष्ट्र्पतिका सवारीका लागि ट्राफिक सहज गर्नुपर्छ भन्ने पक्षमा छु|
    तर कुरो यँहासम्म र यो स्थितिमा आईपुग्नु अति दुखद घटना हो| बारम्बार गणतन्त्रको राष्ट्र्पतिको
    गतिविधिको चर्चा जुन नकारात्मक ढंगमा भैरहेको छ, आउने गरेको छ, त्यसले के प्रत्यक्ष संकेत दिएको छ भने राष्ट्रपति स्वयम, जिम्मेवारी पक्ष र निकायले सही विवेक प्रयोग गरेका छैनन, वा गम्भीर छैनन्| जनताको अपेक्षालाई बुझ्ने प्रयास भएको छैन भन्ने बुझिन्छ|
    मितब्ययितालाई तिलान्जली दिएकै हो भन्ने प्रष्ट हुन्छ| एकातिर नेपाल झन् झन् गरीब र भ्रष्टचारी मुलुक हुँदै गइरहेको छ, अर्कातिर राज्य सत्ताका उच्चतम पदमा बसेकाहरुले कुनै त्याग र अनुकरणीय नमुना प्रदर्शन गर्न पुर्णत असमर्थ रहेका देखिन्छन| आचरण विपरीत दिशामा गैरहेको छ|
    राष्ट्रपतिको हालैको खाडी भ्रमणले कुनै खास परिणाम हासिल गर्न सकेन| राज्यले अनाहकमा खर्च मात्र व्यहोर्न पर्यो| त्यसमाथि अहिले आएर खर्चालु अमेरिका यात्राको कुनै औचित्य छैन| मुलुकमा महिलाहरुको स्थान सुरक्षित राख्न राष्ट्रप तिले कुनै बिशेष प्रयास गरेको देखिदैन| बर्षेनी हजारौ महिलाहरु भारत् र अन्य मुलुकहरुमा लगेर बेश्यावृत्तिमा आफ्नो इच्छा बिरुद्ध सलग्न गराउन बाध्य गराएका छन| छाउपडी प्रथा एनजीओ र सरकारी जागिर खानेहरुकै घर परिवारमा पनि चल्दै आएको समाचारमा छ| सरकारले औषधि खरिद र वितरणका लागि अरबौ खर्च गर्दै आएका छन तर कमसल औषधि र चाहिएका बेला र ठाउँमा अनुपलब्ध हुने गुनासो पैले देखि नै छ|
    राष्ट्र्पतिज्युले विदेश भ्रमणको खर्च र समय त्यतिर लगाए जनताको अपेक्षा अनुरुप हुनेथियो|
    गणतन्त्रमा राष्ट्रपति आफैमा विवादस्पद हुनु दुखनीय हो| सरकारले जे सुकै भने पनि राष्ट्रपतिले
    पनि स्वविवेक प्रयोग गर्न पर्ने हो| आफुले रोजेका सल्लाहकारहरुको वहकाई र स्वार्थमा मात्र लागेको हो भन्ने मेडियामा टिकाटिप्पणी पनि देखियो, कति सत्य छन त्यो पनि गतिविधिले खुल्दै गएको छ|
    मुख्य कुरा, सम्पुर्ण राष्ट्रको हितमा मितव्ययिता, जनताको पक्षमा त्यागी नमुना र फलदायी भूमिका निर्वाह गर्ने प्रयास हुन पर्यो| मुलुकमा बढ्दो भ्रष्टचार र बलात्कार हुँदा पनि राष्ट्र्पतिको आवाज चुइक्क सुनिएन| सत्तावाल सरकारको मात्र रबर स्टाम्प सरह पनि हुनु भएन| नेपाली जनताले राष्ट्र्पति राजाको सट्टा रोजेका हैनन, क्षणप्रतिक्षणमा यो कुरोको हेक्का राख्नु पर्यो|
    आँट र त्यागको भावना हुन पर्यो| मुलुकको गरिबीलाई मध्ये नजर गरेर अवकाश लिएपछि कुनै पेन्सन र अन्य सुविधा लिने छैन भनेर घोषणा गर्न सक्ने आँट र त्याग होला जसले अरुमा नमुना बनोस??

    Reply
  8. Bibek kunwar says:
    March 6, 2019 at 9:40 am

    Afnai ankha agadi senako jawan parachute bata khasera ghambhir ghaite huda pani ratribhoj ghichna sawari hoibaksnu hune danab rupi rastraptati lai manabharule gareko sano birodh ho yo.

    Reply
  9. PP says:
    March 6, 2019 at 1:52 am

    Wow, people power !!!

    The president should understand that she is not a queen.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme