Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मन्त्री चढेको हेलिकप्टर दुर्घटना भन्दै १४ लाखभन्दा बढी पटक झुक्याउन सफल एउटा भिडियो

Posted on March 3, 2019 by Salokya


यो हप्ता युट्युबको नेपाल ट्रेन्डिङको नम्बर ४ मा “पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर दुर्घटनामा परि १ नेपाली सेनाको पनि मृत्यु” शीर्षक राखिएको भिडियो पर्‍यो। यो ब्लग आइतबार राति तयार पार्दासम्म भिडियो १४ लाख ७१ हजारभन्दा बढी पटक हेरिसकिएको छ। माइसंसारले फ्याक्ट चेक गर्दा भेट्टायो- यो भिडियोको दृश्य नेपालको हैन, अस्ट्रियाको पो हो। धेरैले यो भिडियोलाई सही ठाने होला। लेख्नेले फेक न्युज पो लेख्लान्, भिडियो त कसरी गलत होला र भन्ठानेर कति लाख दर्शक झुक्किए होलान्।

भिडियोमा देखिएको यो हेलिकप्टर Bell 212 हेलिकप्टर हो ट्विन इन्जिनवाला। पर्यटन मन्त्री चढेको दुर्घटना भएको हेलिकप्टर भने सिङ्गल इन्जिनवाला H125 (यसअघि AS350 B3e नाम दिइएको) हेलिकप्टर हो। यता दुर्घटना भएको हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीले बनाएको हो भने भिडियोमा देखिएको चाहिँ अमेरिकी कम्पनी बेलले बनाएको हो।

नेपालको भनी झुक्याइएको भिडियो हेर्नुस्-

भिडियोमा डाँडाकाँडा, हिमाल देख्दा नेपालकै दृश्य जस्तो लाग्ला तपाईँलाई। तर यो अस्ट्रियाको दृश्य हो।

हेलिकप्टरको कलसाइन OE-XAA हो। कलसाइन भनेको गाडी नम्बर जस्तै हो। कल साइनका आधारमा यो हवाई साधनको सबै विवरण पाइन्छ।

जेटफोटोजमा भेटिएको यो तलको भने नेपालमा दुर्घटना भएको हेलिकप्टरको फोटो हो। यसको कलसाइन 9N-AMI थियो।

दुवै हेलिकप्टरको डिजाइन हेर्नुस्, फरक छ। रङसमेत फरक छ। त्यो भिडियोमा पूरै रातो रङको हेलिकप्टर देखाइएको छ भने फोटोमा सेतो रङ पनि छ।

तपाईँलाई यी शब्दबाट मात्र विश्वास लागेन भने ओरिजिनल भिडियो पनि म देखाइदिन्छु। हेर्नुस् यो भिडियो

यो भिडियो तीन वर्षअघि नै युट्युबमा अपलोड भएको छ।

अहिले लाखौँ नेपालीलाई झुक्याउने भिडियो यही भिडियो डाउनलोड गरी फ्रेम उल्टो (Flip Horizontal) गरिएको भिडियो हो। तपाईँहरुले याद गर्नुभयो कि भएन, नेपालको भनी झुक्याइएको भिडियो र ओरिजिनल भिडियोको फ्रेम उल्टो छ।

जस्तै यो नेपालीलाई झुक्याउने भिडियोमा हेलिकप्टर दायाँ छेउमा देखिन्छ। तल हेर्नुस्-

अस्ट्रियाको ओरिजिनल भिडियोमा भने बायाँबाट उडेको देखिन्छ। तल हेर्नुस्-

अब माथिको नेपालको भनी झुक्याइएको भिडियोको स्क्रिनसटको फ्रेम उल्टो गरी हेरौँ त

एक्ज्याक्ट फ्रेम नभए पनि थाहा पाउनु भयो होला कुरा के हो भनी। पूरै भिडियो हेर्नुभयो भने थाहा हुन्छ- फ्रेम उल्टो बनाएर लाखौँ नेपालीलाई कसरी झुक्याएछन्।

गत साता भएको हेलिकप्टर दुर्घटना हट टपिक्स थियो। मान्छेले यही बारे जान्न चाहन्थे। त्यसैले योबारे अलि सनसनीपूर्ण शीर्षक राखेर भिडियो बनायो भने धेरैले हेर्ने निश्चित थियो। धेरै हेरिनुको मतलब युट्युबबाट धेरै कमाइ हुनु। डलरको लोभमा कसरी गलत सूचना दिएर अरुलाई झुक्याई दिमाग भ्रष्ट बनाइन्छ, त्यसको उदाहरण हो यो।

सबै युट्युबर नराम्रा छैनन्। युट्युबरहरुकै कारण अशोक दर्जी हिट भएका छन्। उनले बस्ने घर पाएका छन्। कृष्ण र रुपा जोडी भाइरल भएकै कारण कृष्णलाई सहयोग जुटेको छ। तर डलरका लागि झुटो लेख्ने, सनसनी बनाउने, जे मन लाग्यो त्यही गर्नेहरुका कारण राम्रा युट्युबरहरुलाई पनि नराम्रो दृष्टिले हेर्ने स्थिति आउन सक्छ। मेहनत गरेका भिडियो नहेरिनु अनि वाहियात भिडियोमा धेरै भ्युअरसिप हुँदा मेहनत गर्नेहरुले पनि गर्नुपर्ने बाटो त यस्तो पो रहेछ भनेर त्यस्तै गर्न दुरुत्साहन हुनसक्छ।

प्रश्न उठ्छ- के यस्तो कामलाई निरुत्साहित गर्न सकिन्न?

पक्कै सकिन्छ। युट्युबले भिडियो बारे नियम बनाएको छ। त्यो नियम उल्लंघन भयो भने उसले कारबाही गर्छ। तर दिनमै लाखौँ भिडियो अपलोड हुने हुनाले युट्युबले सबै भिडियो हेर्न भ्याउँदैन। त्यसैले नियम विपरीत छ भनेर हेर्नेले नै रिपोर्ट गरिदिनुपर्छ।

कसरी गर्ने त रिपोर्ट?

यो भिडियोमा थम्बनेल पनि गलत छ। थम्बनेल भनेको भिडियो प्ले गर्नुअगाडि देखिने चित्र हो।

यो भिडियोमा गलत हेलिकप्टर अनि आगो लागेको फोटो देखाइएको छ जुन भिडियोमा छैन। त्यसैले थम्बनेल गलत रहेको रिपोर्ट गर्न सकिन्छ। रिपोर्ट गर्नका लागि पाँच चरण छन्-

१) भिडियोको दायाँ छेउमा रहेको SAVE लेखिएको सँगै रहेको तीन वटा थोप्ला … मा क्लिक गर्ने।

२) त्यहाँ क्लिक गर्दा Report लेखिएको ठाउँ देखिन्छ। त्यसमा क्लिक गर्ने। त्यसपछि यस्तो विन्डो देखिन्छ-

3) त्यसपछि सुरुमा Spam or misleading त्यसपछि Misleading thumbnail मा क्लिक गर्ने।

4) त्यसपछि Report मा क्लिक गर्ने। यस्तो विन्डो खुल्छ।

5) provide additional details लेखिएको ठाउँमा थप जानकारी छ भने लेख्ने छैन भने यत्तिकै मुनिको REPORT मा क्लिक गरिदिने। रिपोर्ट भयो। युट्युबले यस्तो रिपोर्टलाई हेरी उसको कम्युनिटी गाइडलाइन्स अनुसार नभएको भेट्टायो भने कारबाही गर्छ।

त्यसैगरी गलत भिडियो राखी झुक्याइएको रिपोर्ट गर्न अघिकै अनुसार दोस्रो नम्बरमा Misleading thumbnail को ठाउँमा Misleading text क्लिक गरी डिटेल लेखिदिनुस्। बस।

याद राख्नुस् तपाईँले यसरी रिपोर्ट गर्दा अरुलाई ठग्न खोज्ने, झुक्याउन खोज्ने प्रवृत्ति कम भई सिर्जनात्मक भिडियो बनाउनेहरुलाई प्रोत्साहन हुन्छ।  त्यसैले नजानेकालाई पनि यो कुरा सिकाउनुस्, सकेसम्म यो बारे सबैलाई जानकारी दिनुस्, बाँड्नुस्। हाम्रो डिजिटल समाजलाई स्वच्छ राख्ने कर्तव्य पनि हाम्रै हो।

 

2 thoughts on “मन्त्री चढेको हेलिकप्टर दुर्घटना भन्दै १४ लाखभन्दा बढी पटक झुक्याउन सफल एउटा भिडियो”

  1. dorje says:
    March 4, 2019 at 8:36 pm

    आजभोलि दुई पैसा को युट्युबे हरुको चर्तिकला ले डिजिटल प्रदुशन चरम सिमा पार गर्‍यो एस्ता प्रदुशन नियन्त्रण गर्न आज अती नै जरुरी छ । सरकारी स्तर वा गैह्र सरकारी वा संगतहित समुह बाट यस्ता प्रदुशन रोक्न वा निरुत्साहित गरी शाही सुचना जनता सामु पुर्याउन नसकिहरेको अवस्था मा माइसन्सारले ” भाईरल भित्रको सत्यता ” नाम को च्यानल चलाऊन आबस्यक छ। यसका लागि हामी माइ संसारका फ्यान हरु सक्दो सहयोग गर्न तयार छौ।

    Reply
  2. Aakash says:
    March 4, 2019 at 11:21 am

    सबै लाई जानकारी गराई दिनु भएकोमा धन्यवाद ! (माईसंसार ले एउटा खोजि पत्रकारिता को राम्रो अभ्यास गर्छ) ! खाली कारवाही मात्र गर्छु भनेर कुर्लिनु भन्दा सरकारी संयन्त्र बाट यसरि नै सबैलाई सचेत गराए मा अझ उचित हुने थियो कि !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme