Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कन्सपिरेसी थेउरी रुचाउने हामी नेपाली, ताप्लेजुङ दुर्घटनामा हवाई माफियाको हातसम्म भने

Posted on March 1, 2019March 1, 2019 by Salokya


“वाइड बडीमा भ्रष्टाचार गर्ने हवाई माफियाहरुले षड्यन्त्र गरेर मन्त्रीलाई दुर्घटनामा पारेर सिध्याएका हुन्”

हामी नेपालीहरुलाई कन्सपिरेसी थेउरी अर्थात् षड्यन्त्र सिद्धान्त साह्रै रुचि लाग्छ। त्यही थेउरी अनुसारको कुरा भएन भने हामीलाई मन पर्दैन। अनेक तर्क कुतर्कबाट त्यही हुनुपर्छ। हामीलाई दरबार हत्याकान्ड ज्ञानेन्द्रले नै गराएको लाग्छ। हामीलाई मदन भण्डारीको मृत्यु दुर्घटना हैन हत्या नै भएको लाग्छ। हामीलाई निर्मला हत्याकान्डमा भिआइपी नै दोषी देखिनुपर्छ। ताप्लेजुङमा भएको दुःखद घटना पनि हवाई माफियाले गराएको भनेर समेत कन्सपिरेसी थेउरी बनाई हल्ला गरेको देखियो।

अब यसमा अनेक तर्क पनि गरेको सुनियो- काठमाडौँबाट पाथीभरा जाने कुनै कार्यक्रमै थिएन। किन र कसले लगे पाथीभरा? प्रधानमन्त्रीले किन पठाए मन्त्री रविन्द्र अधिकारीलाई आफ्नो जन्मेको जिल्लामा विमानस्थल निर्माणको अवलोकन गर्न? हेलिकप्टर त नठोक्किँदै आगो लागेको देख्नेहरु छन् रे। कसरी लाग्यो आगो?

हवाई माफियाले मन्त्रीलाई षड्यन्त्र गरे रे ल। प्रधानमन्त्रीलाई सहयोग गर्ने, पर्यटन मन्त्री नै फेर्ने हैसियत राख्‍ने भनिने पर्यटन क्षेत्रका शक्तिशाली आङछिरिङ शेर्पा पनि त दुर्घटनामा परे नि। त्यो चाहिँ कसरी? हुनत यसमा पनि अनेक कूतर्क त मिलाउन सकिएला।

नेता र प्रख्यात व्यक्तिहरुले समेत दुर्घटनाबारे आफ्नो विचार राखेका छन्। नेकपा नेता योगेश भट्टराईले लेखेका छन्-

त्यसैगरी महावीर पुनले लेखेका छन्-

हो त यस्तै?

दुर्घटना भएको हेलिकप्टरको कल साइन 9N-AMI रहेछ। एयर डाइनास्टीको वेबसाइटमा गएर हेर्दा यस्तो देखियो-

अर्थात् यसको क्षमता ६ जना यात्रु र एक चालकसहित सात रहेछ र बढीमा २३ हजार फिटसम्म उड्न सक्ने रहेछ। पाथीभराको उचाइ भने झण्डै साढे १२ हजार फिट मात्रै छ। अर्थात् अधिकतम क्षमताको आधा भन्दा अलि बढीमात्रै उचाइ।

हेलिकप्टर कम्पनीले अलि बढाइ चढाइ पो लेख्यो कि, बनाउने कम्पनीले के लेखेको रहेछ  हेरौँ न।

हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीले बनाएको हो। उसको साइटमा यो H125 बारे यस्तो लेखिएको छ-

यो पनि हेरौँ-

उचाइ चाहिँ अधिकतम कतिसम्म उड्न सक्छ त? एयरबसको वेबसाइटमा त यस्तो लेखिएको छ-

७०१० मिटर अर्थात् फिटमा जाँदा २३ हजार जति।

त्यतिमात्र हैन यो मोडलको हेलिकप्टरलाई पहिला H125 भने पनि पहिला AS350 B3e भनिँदो रहेछ। यो भन्दा एक संस्करण पहिलाको अर्थात्  AS350 B3 ले त विश्वको सबभन्दा अग्लो चुचुरो अर्थात् ८ हजार ८ सय ४८ मिटरको उचाइमा समेत ल्यान्ड गरेर ३ मिनेटपछि टेक अफ गरी विश्व रेकर्ड राखेको रहेछ।


त्यसो भन्नुको मतलब सात जना राखेरै सगरमाथाको टुप्पोमा पुग्न सकिन्छ भन्ने चाहिँ हैन है। त्यतिबेला एक जना पाइलट मात्र थिए त्यसमा। कम्पनीले लेखेको अधिकतम उचाइ भन्दा आधा कम उचाइमा पाथिभरा भएकोले ओभरलोड र बढी उचाइका कारण दुर्घटना भएको भन्न नमिल्ला।

विश्वको सबभन्दा उचाइको रेस्क्युको रेकर्ड राख्ने पनि यस्तै AS350 B3 हेलिकप्टर नै हो। अन्नपूर्ण १ हिमालको ६ हजार ९ सय मिटरको उचाइमा फँसेका तीन जना स्पेनिश पर्वतारोहीहरुलाई २९ अप्रिल २०१० मा उद्दार गर्दा यस्तै हेलिकप्टर प्रयोग भएको हो। २० मे २०१३ मा सगरमाथाको क्याम्प ३ र ४ को बीचमा सुदर्शन गौतमको रेस्क्यु गर्दा यो रेकर्ड अझ थपियो। त्यतिबेला त झन् ७ हजार मिटरको उचाइबाट रेस्क्यु गरिएको थियो। अहिले क्यानाडाका नागरिक गौतमलाई तपाईँले पनि चिन्नुहुन्छ होला। उनले हिम्मतवाली फिल्ममा रेखा थापासँग खेलेका थिए। उनका दुवै हात छैनन्।

तर त्यसो भन्दैमा जस्तोसुकै मौसममा जस्तोसुकै उचाइमा यो हेलिकप्टर जसले पनि उडाउन सक्ने चाहिँ हैन पक्कै।

कार्यक्रम भएको ठाउँ चुहान डाँडाबाट हेलिकप्टर बिहान साढे ११ मा उडेको थियो। बिहान ११:४९ बजे विमान पाथीभरामा अवतरण ल्यान्ड भएको थियो। त्यसको केही समयपछि पाइलट प्रभाकर केसीले सुकेटार टावरलाई ‘मौसम खराब छ, हेभी स्नोफल भइरहेको छ, म उड्न सक्दिनँ’ भनेका रहेछन्।

हेलिकप्टरमा भएको जिपिएस ट्रयाक गर्ने भिटु ट्रयाकमा देखिएको रेकर्ड अनुसार दिउँसो १२:३४ बजे उडेको हेलिकोप्टर एक मिनेट नबित्दै अर्थात् १२:३५ मा नै दुर्घटनामा परेको थियो।

सही कुरा त छानबिन आयोगले निकाल्ला। अनुमानै गर्ने हो भने हामी पनि अनुमान गर्दिम् न। विमानमा हाइ प्रोफाइलहरु थिए पर्यटन मन्त्री र स्वयं एयर डाइनेस्टी हेलिकप्टरकै साहु आङछिरिङ शेर्पा। शायद् मौसम खराब भए पनि उड्ने दबाबमा पो परे कि। किनभने मन्त्रीको त भोलिपल्ट दिउँसो संसदमा जवाफ दिने र राति युरोप जाने कार्यक्रम थियो।

ताप्लेजुङ कै घुन्सामा १२ वर्षअघि वन मन्त्रीसहित संरक्षणकर्मीहरु हेलिकप्टर दुर्घटनामै ज्यान गएकोबाट हामीले पाठ सिकेनौँ।

हामी नेपालीहरु सेफ्टी भनेपछि त्यति धेरै वास्ता गर्दैनौँ। बानी नै हो चलिहाल्ला नि भन्ने। एक पटक मुक्तिनाथबाट फर्कँदै गर्दा हामी ब्रेक बिग्रेको थाहा पाई पाई पनि जिप चढेर जोमसोम झरेको अझै याद आउँछ।

मौसमकै कुरा गर्ने हो भने मौसम विभागले आइतबार नै केही दिन मौसममा बदली हुने सम्भावना रहेकोले मौसम सम्बन्धी जानकारी लिएर मात्र योजना बनाउनु होला भनेर सचेत गराएकै थियो।

यतिबेला देशको पश्चिमि र मध्यका अधिकांश भु-भागहरुमा सामान्य बदलिको र देशको पूर्वि भु-भागमा आंशिक बदलिको अवस्था रहेको छ। आज बाट केहि दिन मौसममा बदलि हुने संभावना रहेकोले मौसम सम्बन्धि जानकारी लिएर मात्र योजना बनाउनुहोला। थप जानकारीका लागि https://t.co/tWM8iCinKW हेर्नुहोला। pic.twitter.com/8d1r5bpJ3x

— Nepal Weather Forecast (@DHM_Weather) February 24, 2019

विमानस्थलको सम्भाव्यता हेर्न जाने काम यस्तो मौसम बदली भएकै बेला गर्न जरुरी थिएन। अलि पछि मौसम राम्रो हुँदा गए पनि हुने। तर उही भइहाल्छ नि भन्ने हाम्रो सोच। त्यो दिन काठमाडौँमै पनि पानी परेर चीसो थियो। काठमाडौँ उपत्यकाका केही भागमा हिउँसमेत पर्‍यो।

तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना हुने सम्भावना हुन्छ भनेर सबैलाई थाहा छ। तर पनि चलाउँछन् र केही हुँदैन। तर हरेक चोटी दुर्घटना नहुने भन्ने हुँदैन।

छिनमै खुल्ने छिनमै कुहिरो लाग्ने भइरहेको थियो होला त्यहाँ। खुल्यो भन्ठानेर उडे होला। म कन्फिडेन्ट छैन, अहिले नउडौँ पनि भन्न सकेनन् कि पाइलटले।

उडेको ३४ सेकेन्डमै कसरी अनकन्टार भिरमा ठोक्कियो हेलिकप्टर अब त्यो छानबिन समितिले पत्ता लगाउला। समिति त्यो भिरमा गएर हेलिकप्टरको ब्ल्याक बक्स खोज्ला। त्यो भेट्टिएपछि त्यसमा रहेको आवाजबाट केही थप बुझिएला कि।

6 thoughts on “कन्सपिरेसी थेउरी रुचाउने हामी नेपाली, ताप्लेजुङ दुर्घटनामा हवाई माफियाको हातसम्म भने”

  1. madan bajracharya says:
    March 2, 2019 at 6:54 pm

    बिनोद्ज्यु
    अत्यन्त राम्रो कुरा गर्नु भयो/ पतुरकार पाल्तुकार उधमकार माझ कोहि साँच्चैको …..पनि छ भन्ने कुराको अनुभूति उहाले दिइराख्नु भयको छ उहा मात्र ब्लग भित्र खुम्चिराख्नु भयको छ/धमले-तवले मार्काको पाल्तुकारहरु चाहि सत्य कुरा कुह्याउने क्लब खोलेर झुठको बेहोश बनाउने दुर्घंध फैलाउंदै गर्ने अनि उहाहरु जस्तो सत्यताको उज्यालो छरेर सबैलाई जाग्न प्रेरणा दिने चाहि……हुँदा हामीलाई झक्झक्यायर बिझाउनेलाई “उठ्नुस जाग्नुस” भन्नु अलि…..खै के भन्ने/

    Reply
  2. Kamala says:
    March 1, 2019 at 8:16 pm

    बामदेव लाई चिट्ठा परेको चाही पक्कै हो,,,,,,,,

    Reply
  3. Raj says:
    March 1, 2019 at 11:41 am

    मेडियाहरु पनि उतिकै दोषी छन् | येस्तै उडन्ते गफ दिनेहरुले नै देश चलाएको छ | तेही सोच परिवर्तन नभएर नै आज नेपाल र नेपाली पछाडी परेका छन् | मलाई हामी मान्छे हौ कि भननेमा संखा लाग्छ

    Reply
  4. Shankar says:
    March 1, 2019 at 5:57 am

    प्राबिधिक गडबडी को संका गर्नेलाई पनि ठाउ छ , सड्यन्त्र को संका गर्नेलाई पनि ठाउ छ , नेपालि लाइ फुर्सदै फुर्सद छ अनि प्राय पुरै नेपालि इन्डियन कल्चर , सिक्ष्या ,दिक्ष्या धर्म अपनाएका छन् | तब हल्ला , धादली , घुस , दाउपेच भन्दा बढी के हुन्छा ?

    रामदेव ले लंगौती हलाउदा सिर्सस्थ नेताहरु टुडिखेल मा लम्पसार पर्न जान्छन |
    पाइलट बाबा , सत् गुरु , श्री श्री रविशंकर , राधेमाँ,ओम शान्ति , ओसो र अरु एकदर्जन धर्मगुरु हरु नेपालि लाइ ग्यान बातिरहेछां त् नेपालि ले त्यो भन्दा बढी के जान्ने ?

    Reply
  5. Binod Pokharel says:
    March 1, 2019 at 4:11 am

    अरु त के नै भन्न सकिन्छ र तर पनि दुखद घटना हुदा पनि मन गणन्ते कहानी लेखेर समाचार बनाउदा दुख लग्छ| उमेशजी तपाई जस्तै अनुसन्धान गरेर लेख्ने पत्रकार खोज्न सायद बत्तिनै बालेर खोज्नु पर्ला. हाम्रो देशमा हुने आधा जति हवाई दुर्घटनाको कारण मौसमनै हुदा पनि कुनै प्रगति नहुनु दुर्भाय्ग्य नै भन्नुपर्ला| हार्दीक श्रद्दान्जली दुर्घटनामा ज्यान गुमाउने सबैमा.

    Reply
  6. Keshav says:
    March 1, 2019 at 2:31 am

    सालोक्य जी नमस्ते ! तपाईं को पत्रकारिता जस्तो अरु ले गर्ने भाको भए देश मा कति शान्ति हुन्थ्यो. हामी नेपाली हरु हरेक जसो कुरा मा मन गढ़ंते हिसाब ले दोष थुपार्न अगर्सर हुन्छौ, हरेक कुरा लाई फोहोरी राजनीति ले रंगाउनु भनेको जिम्मेवार राजनीतिकर्मी नभएर हो, धेरै जसो नेपाली हरु को सोसिअल मेडियाको प्रयोग असामाजिक देखिन्छ, जब संबेदनसिल बिषय हरुमा बिस्लेस्डामतक तरिकाको बुझाई हुन्न, राम्रो सोच कैले हुन्न. नैतिक शिक्षा को एकदम जरुरि छ देशमा. तपाईं जस्तो Journalist को एकदम खाँचो छ देशमा. सलाम तपाईं लाई….यो क्रम जारी रहोस सुभकामना.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme