Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

न नेता हुन्, न अभिनेता, छोरा जन्मिएपछि यसरी चर्चित भए एक नेपाली – सुनील आउजी

Posted on February 26, 2019February 26, 2019 by Salokya


उनी न नेता हुन्, न अभिनेता। तर पनि उनी सोमबार एकाएक चर्चामा आए। सोमबार सामाजिक सञ्जाल चलाउनेहरु माझ चर्चित बन्यो सुनील आउजीको नाम। फेसबुकमा सुनील आउजीको परिचयमा नेपाल पत्रकार महांसघ कैलाली शाखा जिल्ला कार्य समिति सदस्य, Repórter at आर्थिक राष्ट्रिय दैनिक, Aarthik National Daily, Studied at Kailali Multiple Campus, From Dhangadhi लेखिएको छ। अर्थात् उनी पत्रकार हुन्। कति पत्रकारहरुका छोरा जन्मिन्छन्, आउजीको छोरा जन्मिँदा किन यस्तो चर्चा त? यसको कारण रहेछ एउटा समाचार।

हेल्लो पुनर्वास दैनिक पत्रिकाको अनलाइनमा एउटा समाचार छापिएको रहेछ ‘पत्रकार सुनील आउजीलाई पुत्र लाभ’ शीर्षकमा।  सोही पत्रिकाका सम्पादक तथा प्रकाशक रञ्जित लामाको बाइलाइनमा छापिएको समाचारमा समाचारको सबै भाँती पुर्‍याइएको छ। कति बजे पुत्र लाभ भएको, पहिलो, दोस्रो कुन हो सन्तान, कुन अस्पताल?, डेलिभिरी कस्तो?  यसमा सुनीलको कोट समेत राखिएको छ- निकै खुसी भएको र जिम्मेवारी थपिएको भन्दै। त्यतिमात्र हैन विवाह कहिले भएको, बच्चाको जन्म डाक्टरले दिएको समयमा भएको कि नभएको यहाँसम्म कि छोराको नामसमेत न्वारनपछि हुने खुलासा गरिएको छ।

समाचार यस्तो छ-

नेपाल पत्रकार महासंघ कैलालीका सदस्य तथा पत्रकार सुनिल आउजीलाई पुत्र लाभ भएको छ । आईतबार राती १० बजेर १५ मिनेटको समयमा उनलाई पुत्र लाभ भएको हो ।
उनको श्रीमती लीला आउजीले उनलाई पहिलो सन्तानको रूपमा छोरा उपहार स्वरूप दिएकी छिन् । उनको जीवनसाथी लीलाले छोरालाई धनगढीको सेती अञ्चल अस्पतालमा नर्मल डेलिभरीको रुपमा जन्म दिएकी हुन् ।
एक बर्ष अघि वैवाहिक बन्धनमा बाधिएका सुनिल पिता बन्दा आफू निक्कै खुशी भएको बताउँदै सुनिलले अब जिम्मेबारी थपिएको प्रतिक्रिया दिएका छन् । ‘आइतबार र सोमबारमै मेरो जीवन फेरिएको छ’, उनले हेल्लो पुनर्वाससँग खुशी साट्दै भने ।
डाक्टरले दिएको समयमै जन्म भएकाले बच्चा चार किलोको स्वस्थ रहेको सुनिलले जानकारी दिए । छोराको नाम भने न्वारन पछि नै सार्बजनिक गरिने बताए ।
विगत चार वर्षदेखि आर्थिक बिटमा कलम चलाइरहेका सुनिल आर्थिक राष्ट्रिय दैनिक कैलालीका संवाददाता एबम् युगनेपाल अनलाइनका प्रधान सम्पादकसमेत हुन् ।

समाचारको पात्र भन्दा समाचारको कारण आउजी चर्चामा आएको थाहा पाएपछि समाचार बनाउनेको फेसबुकमा यसो चहारियो। उनको फेसबुकमा परिचय यस्तो रहेछ-

उनको वालमा यसो चहार्दा उनी प्रतिभाको खानी रहेको थाहा पाइयो। उनको प्रशंसामा उनका साथीहरुले यस्तो लेखेका रहेछन्-

गनेर हेरेको ११ वटा विशेषण रहेछन्। जाभेद अख्तरले १९४२ अ लभ स्टोरीमा मनीषा कोइरालाको सौन्दर्य बयान गर्न लगाएका विशेषणहरुभन्दा आधामात्रै कम।

उनको वालमा उनलाई ट्याग गरेर एक जनाले सोधे तपाईँको के छ धारणा यसमा?

जवाफमा उनले आफ्नो समाचारको मज्जैले डिफेन्ड गरेका छन्। उनले जवाफमा प्रेस युनियन कैलालीको ग्रुप च्याटको स्क्रिनसट राखेका छन्-

त्यसैगरी उनले पत्रकार कुसुम भट्टराईको स्टायटसको स्क्रिनसट समेत जवाफ फर्काएका छन्-

आउजीलाई चर्चित बनाइदिने रन्जित लामाको साहित्य पनि गजबको रहेछ। उनको पत्रिकाको वेबसाइटको ‘हाम्रो बारेमा’ पढ्नुस् र थाहा पाउनुस् अहिलेका मै हुँ भन्ने साहित्यकार भन्दा कति गजबको छ उनको शब्द चयन। कति भावुक, कति मर्मस्पर्शी-

हाम्रो बारे
मोफसलमा यो यात्रालाई चलायमान गराउँनु भनेको फलामको चिउरा चपाउनु सो सरह हो । यस कुरालाई भलिभाँती बुझ्दा बुझ्दै पनि केही आसले त केही हर्षाेल्लास हौसिएका छौं इतिहासमा नाम लेखाउँनलाई । दृढ संकल्प, शुभाशय र उत्कट अभिलाषालाई पोको पारेर अर्जेका हौं हामीले यो हेल्लो पुनर्वास दैनिक ।

यहाँहरुबाटै पाएका स्नेह, सद्भाव र सहयोगलाई बटुलेर फेरि पनि नयाँ संस्करण र नयाँ जोश जाँगरका साथ हेल्लो पुनर्वास साप्ताहिकलाई दैनिकमा पदार्पण गरेर आफ्नो अदम्य साहसको परिचय दिएका छौं । यहाँहरुको सहयोग, सल्लाह, शुभाशय र स्नेह बिना यो अदम्य साहस फगत दुष्साहसमा ठहर हुने पक्का छ । त्यसैले यहाँहरुको सहयोग र सल्लाहको आकांक्षी बनी सदैब पुल्लकित रहनेछ यो ‘हेल्लो पुनर्वास’ दैनिक । प्रतिस्पर्धाको यो जमानामा एकअर्काेलाई उच्छिने मेलोमेसोसँगै जसरी बत्तीले पुतलीलाई आकृष्ट गरेझैं यो भौतिकताको दलदलले हामी सबैलाई आकृष्ट गराएकै छ ।

त्यसैले पत्रकारितामा पनि नैतिकता कम भौतिकता ज्यादा लेपासिएका देख्छु । पत्रकारिताको भूमीमा रचना, सृजना र विकासका सुन्दर र सुवासित फूलहरु फुल्न गाह्रो साह्रो मानिरहेकै अवस्थामा कञ्चनपुरको दक्षिणी क्षेत्रबाट २०७१ फागुन ४ गते हेल्लो पुनर्वास साप्ताहिक पत्रिकाको उदय भयो । तर समयको बेगिलो हुरीले हेल्लो पुनर्वासको साम्राज्य उल्लेख्य रुपमा फैलिन नसकेको कुरालाई अस्वीकार गर्न मिल्दैन । उल्लेख्य र सन्तोषजनक बजारको अभाब र आफ्नै प्राबिधिक कमी कम्जोरीका कारण तीन ओटा बसन्तहरु पारगरिसक्दा पनि आफूलाई मनग्य आकार र किसिममा बृद्धि विकास गर्न नसकेको कुरा पनि सत्य हो, तर पनि नयाँ जोश र जाँगरका साथ २०७१ फागुन १ गते बाट हामीले साप्ताहिकलाई दैनिकमा प्रबेश गराउँदै पुनः पनि हामी हौसिएकै छौं, हजार चुनौतिहरुको बाबजुद पनि निरन्तरता दिन कम्मर कसेकै छौं, यहाँहरुलाई सूचना तथा समाचारको हकबाट सुसज्जित गराउँन खुकुरीको धारमा आफ्नो घाँटी ददारेर कर्णाली पारीकै ऐतिहासिक ट्याग बोकी यो हेल्लो पुनर्वास दैनिकले अझ सशक्त र अझ ब्यापकता बोकेर पुनः पनि जुर्मुराइरहेको छ ।

सुदूरपश्चिमको इतिहासमा सञ्चारको भूमिका निर्बाह गर्न हौसिएका थुप्रै मनहरुलाई एउटा पत्रिकाको रु. ३ भन्दा नाक खुम्च्याउँने पाठकहरुले कता–कता धराशयी बनाएका छन् जस्तो लाग्छ । पुनर्वासको कुनाकन्दराबाट आरम्भ गरिएको हेल्लो पुनर्वास’ साप्ताहिक अहिले प्रदेश नं. ७ को सम्भावित स्थायीय राजधानी धनगढीबाट दैनिक हुनु सगौरव खुशीको कुरा हो तर ‘हेल्लो पुनर्वास’ दैनिकलाई यहाँहरु समक्ष ल्याइ पु¥याउन अनेकन काँढेबारहरुलाई पञ्छ्याउँदै विविध समस्यासँग पैठेजोरी खेल्दै जेनतेन प्रकारेण यो पत्रिकाको पुनर्जन्म भएको पनि सत्य नै हो ।

रचना, सृजना भन्ने कुरा वास्तबमै सानो कुरा हैन रै’छ । बिभिन्न खोज, अनुसन्धान, जोखिमता मिसाएर पाण्डुलिपीदेखि कम्प्युरसम्म, कम्प्युटरदेखि अपसेटसम्म र अपसेटदेखि तपाईंहरुसम्म आइपुग्दा त एउटी आमाको प्रसब पीडा भन्दा कम पीडा लुकेको रहेन छ । यो पत्रपत्रिकाको भवसागरमा यो ‘हेल्लो पुनर्वास’ पत्रिका एक थोपा नै भए पनि यो अहिले तपाईंहरुकै सम्मुखमा कृपाकांक्षी भएर तपाईतिर नै उन्मुख छ । निशाको अन्धकरबीच ज्वजल्यमान भएर आफ्नो अस्तित्व रक्षाको निम्ति कम्मर कसेर निरन्तर प्रयासरत् छ ।

जीवनको वास्तविकताको वोध अरु पत्रिकाले जस्तै यसले पनि गरिरहेकै छ । यात्राको क्रममा गतिमा द्रुतता र सुस्ताइहरु आउँने कुरामा दुईमत छैन । तर पनि आफ्नो यात्रालाई बिना थकान उकालोमा उक्लिरहेको यात्री सरह यात्रामा तपाईंहरुकै सरसल्लाहहरुलाई समेट्दै यो पनि अगाडि बढ्ने जमर्काे गर्ने नै छ । विवशताको निहुँ पारेर कर्तव्यच्यूत हुने बानी हाम्रो राष्ट्रिय बानी भइसकेको सन्दर्भमा विवशताको काँढे तारबारलाई पञ्छाउँदै कर्तब्यपथमा निरन्तर अगाडि बढिरहने प्रतिज्ञा हामी एकमुष्ट ब्यक्त गर्दछौं ।

यहाँहरुलाई सूचना तथा समाचारको हकबाट सुसज्जित गराउन खुकुरीको धारमा आफ्नो घाँटी ददारेर कर्णाली पारीकै ऐतिहासिक ट्याग बोकी पत्रकारिता गरिरहेका रन्जित लामालाई फेसबुकमा भेट्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुस्।

2 thoughts on “न नेता हुन्, न अभिनेता, छोरा जन्मिएपछि यसरी चर्चित भए एक नेपाली – सुनील आउजी”

  1. Rajesh Hamal says:
    February 27, 2019 at 5:10 am

    दुनियालाइ एस्तो उस्तो सिकाउदै हिड्ने महोदय, stalking भनेको थाहा होला नि ? अरु को profile चोर ले जसरि हेर्न पाउछ?

    Reply
    1. Salokya says:
      February 28, 2019 at 9:55 pm

      पब्लिकमा राखेको प्रोफाइल मज्जाले हेर्न पाइन्छ। फ्रेन्ड लिस्टमा हुनेले मात्र हेर्न पाउने भए पो हेर्न नपाउनु। Stalking को परिभाषा एक पटक बुझ्ने हो कि हजुरले पहिला

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme