Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गुगल म्यापले चिप्ल्याइदिएको खोजमूलक रिपोर्ट

Posted on February 24, 2019February 25, 2019 by Salokya


आजभोलि खोज्नुको पर्यायवाची शब्द जस्तो भइसक्यो गुगल। केही खोज्नुपर्‍यो भने ‘गुगल गर न’ भन्नेहरु भेटिन्छन्। तर गुगल गर्दा होस् पुर्‍याइएन भने कस्तोसम्म अवस्था आउन सक्छ भन्ने कुरो खोज पत्रकारिता केन्द्रको एउटा रिपोर्टले देखाएको छ। खोज पत्रकारिता केन्द्र (सिआइजे) ले झण्डै एक वर्ष अध्ययन गरेको भन्दै नेपालिक्स सिरिजमा पाँच वटा स्टोरी सार्वजनिक गरेको थियो। त्यसमध्ये एउटा थियो, सिमेन्ट, सुपारी र होटल : गैरकानूनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ? शीर्षकमा। दैनिक अखबार, अनलाइन सबैले जस्ताको तस्तै छापेका थिए त्यो रिपोर्ट। त्यो रिपोर्टको मुख्य लिङ्क भक्तपुरको मध्यपुरथिमी नगरपालिकामा रहेको राधेराधेमा अलपत्र परेको १७ तले भवन थियो। खोज पत्रकारले गुगलमा यसलाई खोज्दा भेट्टाए गुगल म्यापको Site for GT and T Hotel को लिङ्क।

गुगल म्यापमा ठाउँ चिनाउनका लागि युजरलाई एउटा सुविधा दिइएको हुन्छ, नभएको ठाउँ राख्ने (एड अ प्लेस)। कसैले यो ठाउँ फलानो हो भनेर एड गरेपछि गुगल म्यापमा एडिटरको भूमिका पाएका अर्का युजरले त्यसलाई एप्रुभ गर्छन्। त्यसपछि कसैले ठाउँको नाम सर्च गर्‍यो भने एड गरिएको ठाउँलाई गुगल म्यापले डिस्प्ले गर्छ। त्यसमा युजरहरुले फोटो पनि थप्न सक्छन्।

कुन चाहिँले यो ठाउँलाई साइट फर जिटी एन्ड टी होटल भनेर एड गरिदिएछ कुन्नि, अर्कोले त्यसमा फोटो थपिदियो। बस् खोज पत्रकारिता सुरु भइहाल्यो।

अहिले पनि गुगल म्यापमा जी.टी.एण्ड टी. होटल (G. T. & T. Hotel) सर्च गर्‍यो भने भक्तपुरको राधेराधेमा अरनिको हाइवेसँगै भाटभटेनीको पारिपट्टीको ठाउँलाई ‘साइट फर जी.टी.एण्ड टी. होटल’ भनेर देखाउँछ। ठाउँसँगै गुगलले १७ तले भवनको दुई वटा फोटो पनि देखाउँछ।

खासमा यो निर्माणाधीन भवन जी.टी.एण्ड टी. होटलको नभएर सौरभ समूहका विष्णु न्यौपानेको भवन रहेछ। यो भवन भएको जग्गा मध्यपुर थिमि नगरपालिकामा पर्छ। खासमा होटलको जग्गा भने त्यहाँबाट करिब ५ सय मिटर पूर्व सल्लाघारीपट्टि साबिकको कटुञ्जे वडा नम्बर १ मा छ जुन हाल भक्तपुर नगरपालिकामा पर्छ। अर्थात् नगरपालिका नै फरक।

यो फोटोमा त्यो भवन र जग्गा दुवै देखिन्छ।

बायाँपट्टी न्यौपानेको भवन देखिन्छ भने दायाँपट्टीको खाली जग्गा होटलको जग्गा हो।

भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको विवरण अनुसार कित्ता नम्बर ४८२६ नम्बरको १६ रोपनी, ८ आना र ३ पैसा क्षेत्रफलको यो जग्गा होटलले २०७० असोज ९ गते खरिद गरेको हो।

होटलले १० जना जग्गाधनीहरु  राधा ताम्राकार, पटनादेवी शिवाकोटी, गीताकुमारी ताम्राकार, सुनीलकृष्ण ताम्राकार, कृष्ण ताम्राकार, अच्युत ताम्राकार, रजनी श्रेष्ठ, कृष्णप्रसाद ताम्राकार, नीलकृष्ण ताम्राकार र सूर्य ताम्राकारको १६ कित्ता जग्गालाई खरिद गरी एकीकृत गरेको हो।

होटलको जग्गामा दुई वटा गेटसहित तारबारमात्र गरिएको छ, अन्य कुनै संरचना निर्माण गरिएको छैन।

उद्योग विभागबाट सही कुरा आए पनि गुगल म्यापको विवरणमा आँखा चिम्म गरेर विश्वास गर्दा खोज पत्रकारिता केन्द्रको रिपोर्टमा यस्तो लेखिएको छ-

उद्योग विभागका अनुसार,‘ग्लोबल टेक्नोलोजी एन्ड ट्रेडमार्क लिमिटेड’ले भक्तपुरको कटुुन्जेमा ‘जिटी एन्ड टी’ होटल स्थापना गर्न २०७० वैशाखमा अनुमति पाएको हो ।

तर, होटल भने मध्यपुर थिमीस्थित राधेराधेमा बनाउनखोजिएको छ । औद्योगिक व्यवसाय ऐन–२०७३ अनुसार अनुमति लिएकै स्थानमा उद्योग स्थापना गर्नुपर्ने, कारणवश सार्नुपरेमा अर्को अनुमति लिनुपर्ने हुन्छ । न्यौपानेले सार्वजनिक रूपमै आफूले होटल खोल्न खोजेकोमा नगरपालिकाले सहयोग नगरेको आरोप लगाउँदै आएका छन् । रोचक तथ्य के छ भने– विदेशी लगानीको अनुमति पाउनुभन्दा दुई वर्षअघि नैअर्थात्२०६८ सालबाटै यो भवन बनाउन थालिएको थियो। पूरा रिपोर्ट पढ्नुस्


होटल बनाउन खोज्ने चाहिँ को? उनीहरुको परिवारको कथाको रोचक विवरणका लागि यो लामो रिपोर्ट पढ्नुस्। यो परिवारको एक सदस्यसँग हिन्दी म्युजिक भिडियोमा मिस नेपाल सृष्टि श्रेष्ठले पनि खेलेकी छिन्।

गुगल म्यापले दुःख दिएका अरु उदाहरण
-गुगल म्यापको मिस्टेकका कारण अस्ट्रेलियाको प्रहरीले १८ महिनासम्म हराइरहेका एक जनाको बडी खोज्न सकेन। थप समाचार
-गुगल म्यापले बाटो नभएको ठाउँमा बाटो देखाइदिँदा एक महिला मरुभूमिमा झण्डै मरिनन्। थप समाचार
-माउन्ट रसमोर जान खोज्ने पर्यटकहरुले गुगल म्यापले मिसलिड गर्दा अर्कै ठाउँमा पुग्न थाले। यति धेरै यस्तो गल्ती हुन थाल्यो कि त्यहाँका मान्छेहरुले साइनबोर्डै बनाएर राखे, यो त्यो ठाउँ हैन भनेर। थप जानकारी
-गुगल म्यापले गलत लोकेसन दिँदा भत्काउनु नपर्ने घर भत्किएछ। थप जानकारी यो भिडियोमा

1 thought on “गुगल म्यापले चिप्ल्याइदिएको खोजमूलक रिपोर्ट”

  1. रामकृष्ण शिल्पाकार says:
    February 25, 2019 at 4:30 pm

    सबैभन्दा डरलाग्दो कुरा विदेशीहरुले नेपालमा जमीन खरीद गर्न थालेको कुरा पो हो ।
    अब विदेशी नागरिकले कम्पनी दर्ताको बाटोबाट नेपालमा जमीन खरीद गर्दै जाँदा देशको भविष्य कस्तो होला ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme