Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : नख्खुमा बम विस्फोट, नक्सालमा बम डिस्पोज

Posted on February 22, 2019February 22, 2019 by Salokya

आज फागुन १० गते शुक्रबार दिनभरका घटनाक्रमलाई छायाँमा पारिदियो राति करिब ८ बजे नख्खुस्थित एनसेल भवनबाहिर भएको बम विस्फोटको घटनाले। विस्फोटनमा परी भवन बाहिर हिँडिरहेका तीन जना पैदल यात्री घाइते भए। घाइतेमध्ये लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङलाई मेडिसिटी अस्पतालको भेन्टिलेटरमा राखिएको समाचार पहिलोपोस्टमा छ। उनलाई सुरुमा बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यसैगरी घाइते प्रतीक्षा खड्काको पनि स्थिति गम्भीर नै छ। उनलाई पनि सुरुमा अल्का अस्पताल लगिएकोमा पछि मेडिसिटी नै ल्याइएको थियो। अर्की घाइते उरुषा मानन्धर भने मेडिसिटीमै काम गर्ने नर्स हुन्।

नेपाललाइभले नख्खुस्थित एनसेल गेटअगाडि भएको विष्फोटका झलक शीर्षकमा फोटोहरु राखेको छ। नजिकैको घरका शिशा फुटेको मात्र हैन, पिच सडकमा विस्फोटका कारण परेको गहिरो खाल्डोका फोटोसमेत निमेषजंग राईले खिचेका छन्।

त्यसैगरी सेतोपाटीका फोटोहरुमा एनसेलको भवन र गेटमा केही असर नपरेको तर वरपरका घरहरुका शिशा फुटेको देखिएको छ। देशसञ्चारले घाइतेको विभत्स फोटो ब्ल्याक एन्ड ह्वाइटमा राखेको छ।

केही अनलाइनहरुले भने राजधानीमा भएको यति ठूलो घटनाको पनि सानो समाचार राखेर कभरेजमा धेरै महत्व दिएका छैनन्।

नख्खुमा विस्फोट भएको खबर फैलिए लगत्तै काठमाडौँको नक्सालस्थित लोत्सेचोकमा शंकास्पद वस्तु फेला पर्‍यो। नेपाली सेनाको डिस्पोजल टोली डाकियो। आँगन रेष्टुरेष्ट अगाडि प्रेसर कुकुर भित्र रहेको विस्फोटक पदार्थ सेनाले डिस्पोज गरेको समाचार पहिलोपोस्टमा छ। देशसञ्चारले डिस्पोज गर्दाको फोटोहरु राखेको छ।

आजका अन्य राजनीतिक खबरमा नेकपा छाएको छ। ने क पाको सचिवालय बैठकमा ओली अल्पमतमा पर्ने देखिएपछि एकताका लागि गठित कार्यदल असहमतिकाबीच विघटन गरिएको खबर पहिलोपोस्टमा छ। स्थायी कमिटीभन्दा मुनि पोलिटब्यूरो कमिटी बनाउने कि नबनाउने भन्ने विषयमा पनि दुई गुटवीच विवाद देखिएको छ । विभागहरु र जनवर्गीय संगठनमा कसलाई राख्ने भन्ने पदीय विवाद पनि यसको अन्तर्यमा लुकेको छ । तर, यी सबै विवादलाई फेरि सचिवालय र त्यसपछि स्थायी कमिटीमै घुमाउने गोलचक्करमा नेकपाका नेताहरु फसेका छन् । नेकपाको एकता, घुमीफिरी रुम्जाटार शीर्षकमा अनलाइनखबरको टिप्पणी छ। ‘महासचिव पौडेल र संयोजक बादलले माघ २१ को सचिवालय बैठकमै कार्यदल भंग गरौँ भन्ने प्रस्ताव राख्नुभएको थियो । त्यसमा अध्यक्ष ओलीको इन्ट्रेस्टले काम गर्यो । र, कार्यदललाई कठपुतली बनाए ।’ कसले बनायो नेकपाको शक्तिशाली कार्यदललाई ‘कठपुतली’ ? शीर्षकमा रातोपाटीले लेखेको छ।

सचिवालयले कार्यदल भङ्ग गरेपछि असन्तुष्ट नेताहरुले ओली प्रचण्डलाई छुटै प्रतिवेदन बुझाउने तयारी गरिरहेको बारे पनि रातोपाटीमा समाचार छ।

अनलाइनखबरमा २ कक्षामा पढ्ने १२ वर्षका एक बालकले केटीका कारण आत्महत्या गरेको सुसाइड नोटको बारेमा दुःखद समाचार राखेको छ।

रातोपाटीले मेडिकल काउन्सिलमा निवेदनः अस्पताल तर्साउने हतियार ! निवेदन दिने अनि मोटो रकम पाएपछि पीडित आफै सम्पर्कविहीन हुने प्रवृत्ति बढ्दो शीर्षकमा बेथिति उजागर गरेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme