Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ए कान्छा…. एउटा त्यस्तो गीत जसमा प्रम त चिप्लिए-चिप्लिए, सच्याउन खोज्दा कांग्रेस प्रवक्ता झन् थचारिए

Posted on February 17, 2019February 18, 2019 by Salokya


यतिबेला देश गीतमा अल्झिएको छ। पशुपति शर्माको एउटा गीतले देशै हल्लायो। गीत डिलिट गरिसकेपछि फेरि अपलोड गर भन्नेसम्मका विज्ञप्ति आइसके। तर अहिले चर्चा गर्न लागेको गीत भने त्यो हैन। यो अर्कै गीत हो जसमा सरकार र प्रतिपक्षको अलग अलग दावी छ। तर हामीले खोजेर हेर्दा त न सरकार सही, न प्रतिपक्षी सही। दुवै गलत पो रहेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार एक वर्ष पुगेको अवसरमा गएको फागुन २ गते देशवासीका नाममा सम्बोधन गरे। त्यसमा उनले दुई वटा गीतको प्रसंग राखेका थिए- ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न र यो त सब भन्ने कुरा न हो।

प्रधानमन्त्रीले यसो भनेका थिए-

http://www.mysansar.com/wp-content/uploads/2019/02/2019-02-17-21-46-42.mp4

“के यी हाम्रा योजनाहरु नारायणगोपाल र अरुणा लामाले गाएको गीत जस्तो त्यो तारा मात्रै हैन जुन पनि झारिदिउँला जस्ता आश्वासन मात्रै हुन् र?”

आज पालो प्रमुख प्रतिपक्षी कांग्रेसको थियो। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनको आयोजना गरेका थिए। त्यस क्रममा उनले सुरुमै सरकारको एक वर्षे प्रगति विवरण तेस्रो श्रेणीमा पास हुन पनि मार्क्स नपुगेको निबन्धजस्तो भएको भने। पछि त्यसलाई पुष्टि गर्न उनले एउटा प्रसंग जोडे गीतको। भने-

“सम्माननीय प्रधानमन्त्रीज्युको लिखितमा इमान्दारिता रहेन, लेख्नेहरुले राखेनन् भन्ने कुराको लागि अरु केही उदाहरण दिनु पर्दैन मैले। यसभित्र एउटा गीत छ- ए कान्छा सुनको तारा खसाइदेऊ न। अनि गायिकाले त्यो भनेपछि गायकले भन्नुहुन्छ- सुनको तारामात्र हैन जुनै खसाइदिउँला। गुगलमा सर्च गरेर हेर्नुभए हुन्छ, त्यो गीतको गायिका हुनुहुन्छ तारादेवी र गायक हुनुहुन्छ लाक्पा शेर्पा। तर बडा दुःख लाग्छ सम्माननीय प्रधानमन्त्रीज्यु यो दस्तावेजमा गायक र गायिकाको नाम पनि बदलिएको छ। गायकको रुपमा नारायण गोपाल र गायिकाको रुपमा अरुणा लामाको स्मृति गरिएको छ भने पछि प्रधानमन्त्रीजीको यति धेरै मन्त्रालयहरुको मेहनत, प्रधानमन्त्रीजीको दस्तावेज बनाउँदै गर्दाको…त्यसैले मैले उपमा दिएको हुँ कि यो तेस्रो श्रेणीमा पास हुनलाई पनि मार्क्स नपुगेको निबन्ध जस्तो दस्तावेज।”

हेर्नुस् भिडियो-

http://www.mysansar.com/wp-content/uploads/2019/02/46120834_173548913630884_20548577692781477_n.mp4

प्रधानमन्त्रीलाई गलत भएको आरोप लगाउने प्रतिपक्षी कति सही रहेछ? शर्माले नै भने जस्तो गरी गुगल सर्च गरी हेरेँ। देखेँ, प्रधानमन्त्री मात्र हैन, प्रतिपक्षी पनि गलत रहेछ।

ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न यो गीतकी गायिका अरुणा लामा नै सही हो। प्रधानमन्त्री जी सही हुनुहुन्छ। कांग्रेस प्रवक्ता शर्माले दावी गरेको तारादेवी हैनन्। हेर्नुस् युट्युबको यो गीत

यो नेपाल टेलिभिजनले समेत लाइभ गरेको अरुणा लामा साँझमा गाइएको गीत हो। ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न गीत अरुणा लामाको रेकर्ड भएको पहिलो गीत हो।

भनेपछि रिजल्ट
यो गीत अरुणा लामाले गाएको हो-
प्रधानमन्त्री-पास
प्रतिपक्षी नेपाली कांग्रेस-फेल

तर यो गीतको पुरुष स्वर भने नारायणगोपालको हैन रहेछ। यसमा भने प्रधानमन्त्री प्रतिपक्षी नेपाली कांग्रेसले दावी गरे जस्तै फेल भयो। प्रवक्ता शर्माले यो गीत लाक्पा शेर्पाले गाएको बताए। माथिको भिडियोमा पक्कै पनि अरुणा लामालाई साथ दिने गायक लाक्पा शेर्पा नै हुन्। तर ओरिजिनल गायक भने लाक्पा शेर्पा हैनन्।

एकछिन गुगलमा घोत्लिएपछि फेला पर्‍यो- मूल गीतमा स्वर रुद्रमणि गुरुङको रहेछ।

नेपाली गीतसंगीतको इतिहास प्रकाश सायमिलाई जति कमैलाई थाहा होला। उनले आफ्नो ब्लगमा शरण प्रधानलाई उद्‍धृत गर्दै लेखेका छन्- ‘मैले रेकर्डिङमा अम्बर दाइसित ‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न’ (स्वरः रुद्रमणि गुरुङ र अरुणा लामा, शब्दः पासाङ बाडवल) र अम्बर दाइको कालजयी गीत ‘म अम्बर हुँ तिमी धर्ती’ इत्यादि गीतहरूमा मैले मेन्डोलिन बजाउने मौका पाएँ।’


अरु थुप्रै स्रोतहरुमा पनि गीतमा रुद्रमणि गुरुङ र अरुणा लामाको स्वर रहेको उल्लेख थियो। जस्तै यो नेपाल आइडलको गीत हेर्नुस्, यसमा मूल गायक गायिकाको नाम पनि उल्लेख गरिएको छ-

भनेपछि रिजल्ट
यो गीत नारायण गोपालले गाएको हो
प्रधानमन्त्री-फेल
यो गीत लाक्पा शेर्पाले गाएको हो
प्रतिपक्षी नेपाली कांग्रेस-फेल (लाइभमा लाक्पाले गाएका हुन् तर मूल गायक अर्कै हुन्)

त्यसो भए ए कान्छा.. भन्ने गीत कांग्रेसले भने जस्तो तारादेवी र प्रधानमन्त्रीले भने जस्तो नारायण गोपालले गाएका हैनन् त?

हो, गाएका हुन्। तर ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न भन्ने गीत हैन ए कान्छा ठट्टैमा यो वैँस जान लाग्यो.. गीत चाहिँ यी दुईले गाएका हुन्।

लौ अब तपाईँ नै भन्नुस् त, जाबो एउटा गीत त्यो पनि त्यस्तो चलेको, मान्छेको जिब्रोमा झुण्डिएको गीतको त सरकार र प्रतिपक्षी दुवैले कसले गाएको हो पत्ता लगाउन सक्दैनन्, आ-आफ्नै गलत दावी गर्छन् भने यिनीहरुले अरु के गर्लान्? तपाईँ हामीलाई कति झुक्याउलान्?

3 thoughts on “ए कान्छा…. एउटा त्यस्तो गीत जसमा प्रम त चिप्लिए-चिप्लिए, सच्याउन खोज्दा कांग्रेस प्रवक्ता झन् थचारिए”

  1. कमल says:
    February 18, 2019 at 11:53 pm

    उडायो सपना सबै हुरीले….

    Reply
  2. bibek says:
    February 18, 2019 at 9:10 am

    खासमा कसले गायो, कसले लेख्यो, कसले संगीत भर्यो भन्ने कुरा हामीलाई कहिले याद हुदैन , याद हुने भनेको गीत को बोल मात्र हो, तर आजकल बसन्त सापकोटा जस्ता बेक्तिहरुले गीतको बोल चाही लियो तर मेरो नाम लिएन भनेर कपीराइटको मुद्दा हाललान भन्ने पिर ले गर्दा संगीतकार र रचनाकार थाहा नपाएपनि स्वोर सुनेको भरमा गायक गायिका को नाम गेस गरेकोले उक्त त्रुटी हुन पुगेको जस्तो लग्यो. सायद यो गीत को ओरिजिनल गाएक गायिका, रचनाकार र संगीतकार को हुन् भन्ने कुरा संगीत मा लागेकालाई बाहेक अरुलाई थाहा पनि थिएन होला

    Reply
  3. krishna says:
    February 18, 2019 at 1:57 am

    you are right salokya ji

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme