Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजका खबर : पूर्व एमालेको हेडक्वार्टरमा जनयुद्ध दिवसदेखि अख्तियार आयुक्तले नै घुस लिएको खुलासासम्म

Posted on February 13, 2019February 14, 2019 by Salokya


आज फागुन १ गते। पूर्व माओवादीहरुले यो दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँछन्। माओवादी एमालेसित एकता भई ने क पा बनिसकेपछि एमालेको पूर्व हेडक्वार्टर धुम्बाराहीमा जनयुद्ध दिवस मनाइयो जुन कार्यक्रमको नाममा जनआन्दोलनसमेत जोडियो। आजका अधिकांश अनलाइनहरुले यही खबरलाई प्राथमिकताका साथ दिएका छन्। कार्यक्रममा प्रधानमन्त्री उपस्थित भएनन्। पहिलोपोस्टले जनयुद्ध दिवस समारोहमा प्रधानमन्त्री पनि आउने कुरा थियो, नगरी नहुने कामले आउन सक्नुभएन: प्रचण्ड शीर्षकमा समाचार राखेको छ भने अनलाइनखबरले संसारलाई नै आश्चर्यमा पार्ने काम गरेका छौं : प्रचण्ड शीर्षकमा। कार्यक्रममा पूर्वमाओवादीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो । तर, पूर्वएमाले नेताहरु भने कमै देखिएको बारे समाचार अनलाइनखबरमा छ।

प्रधानमन्त्री यो कार्यक्रम छलेर प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा समारोहमा थिए। त्यहाँ उनले हेर्दाहेर्दै भैँसी ब्याएको किस्सा सुनाए-

हुन सक्छ– एउटा भैंसी हेरेर एउटा जीवले भन्छ– मरेदेखि खान्थें ।
हेर्दाहेर्दै भैंसी ब्यायो । दूध पनि दियो । पाडी पनि पायो ।
मर्ला र खाउँला भन्ने जीवले भन्छ– यही दिन देख्नुपर्ला भनेर, यही दिन देख्नका लागि म बाँचेको थिएँ आजसम्म ! कुन दिन देख्नुपर्‍यो !
तर, भैंसीका लागि, भैंसीका पाडाका लागि, भैंसी पाल्नेका लागि, सप्पैका लागि यही दिन देख्न खोज्या हो । नेपाली जनताका लागि यही दिन देख्न खोज्या हो । नेपाली जनताले देख्न खोजेको दिन यही हो ।

हेर्दाहेर्दै भैंसी ब्यायो- प्रधानमन्त्री ‘बोक्सी’ को किस्सादेखि वैदेशिक सम्बन्धसम्म शीर्षकमा अनलाइनखबरमा समाचार छ।

उता, जनयुद्ध दिवस मनाउने कार्यक्रमबारे आफूलाई थाहै नभएको भन्दै जनकपुरमा माधवकुमार नेपालले असन्तुष्ट पोख्दै भने- यो मलाई थाहा छैन। निजी निजी निर्णय गर्ने कुरा प्रति मेरो गम्भीर आपत्ति छ। व्यक्तिले म सर्वेसर्वा हो भनी ठान्ने, चाहे एक अध्यक्ष होस् चाहे दुई अध्यक्ष होस्, यो तरिका गलत हो। समारोहहरु गर्नुछ भने पार्टी प्रणाली सिक्नुपर्‍यो। पालन गर्नुपर्‍यो। अध्यक्षले जान्या छैन भने जान्नु पर्‍यो। हामीलाई अनुभव छ हामीसँग लिनुपर्‍यो। मनपरी गर्ने आफूखुसी तरिका अपनाउनु भएन। यसबारे भिडियोसहितको समाचार पहिलोपोस्टमा छ।

सरकारले रोजगारी दिन नसकेका युवाले निर्वाह भत्तास्वरुप रोजगारी ग्यारेन्टी भएको अवधि अर्थात सय दिनको तलबको आधा अर्थात २२ हजार ४ सय १६ रुपैयाँ ६७ पैसा प्रदान गर्नेछ। सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँ तोकेको छ। यसअनुसार एक दिनको तलब ४४८ रुपैयाँ ३३ पैसा हुन्छ। श्रमिकले ५० दिनको तलब बेरोजगार भत्तास्वरुप पाउनेछन्। यसबारे बिजमाण्डूले समाचार लेखेको छ।

अख्तियार आयुक्तले घुस लिएको दावी
भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सम्बन्धी विवाद सल्टाउने शर्तमा आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस बुझेको भिडियो हेरेका अख्तियारकै आयुक्तहरु, सरकारका सचिव, सत्तारुढ दल नेकपाका शीर्ष नेता र सांसदहरुले बताएको भन्दै नेपालखबरले समाचार राखेको छ। नेपालखबरले लेखेको छ- आयुक्त पाठकले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएका हुन्। २०७४ भदौमा समितिका अध्यक्ष न्यौपानेबाट दुई पटक गरी पाठकले सो रकम लिएको भिडियोबाट खुलासा हुन्छ।

खेलतर्फ महिला फुटबलको सुखद खबर आएको छ। भारतमा भइरहेको हिरो वुमन्स गोल्डकपको उपाधिका लागि नेपालले म्यानमारसँग खेल्ने भएको छ। लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई २-० ले पराजित गरेपछि नेपाल शीर्ष दुईमा रहँदै फाइनल पुगेको हो। हिरो वुमन्स गोल्डकप : म्यानमारले भारतलाई हराएपछि नेपाल फाइनलमा शीर्षकमा पहिलोपोस्टमा समाचार छ।

भोलि केपी ओली सरकारको एक वर्ष पूरा हुँदैछ। नेपाललाइभले यी हुन्, सरकारका १७ राम्रा काम भन्दै एक वर्षको राम्रो कामको समीक्षा गरेको छ। त्यसमा रेल र पानीजहाज चलाउने योजनादेखि संघीयता कार्यान्वयनसम्मका विषयको चर्चा गरिएको छ। प्रधानमन्त्रीले भोलि अर्थात फागुन २ गते देशवासीका नाममा सम्बोधन पनि गर्दैछन् र भोलि नै पानीजहाज कार्यालयको उद्घाटन गर्ने पनि कार्यक्रम छ प्रधानमन्त्रीको।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme