Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजका खबर : दुई पूर्वमन्त्रीलाई भ्रष्टाचार मुद्दादेखि सडकमा उत्रिएको कांग्रेस र रवि ओडको माफीसम्म

Posted on February 4, 2019February 4, 2019 by Salokya

आज माघ २१ गते सोमबारको प्रमुख समाचार रह्यो दुई पूर्वमन्त्रीका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दा। समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत गरी अनियिमतता गरेको भन्दै मुद्दा दर्ता गरेको हो। यसमा परेका छन् दुई पूर्वमन्त्रीहरु बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङ। नेपालखबरको समाचारमा छ– तत्कालीन चुरे भावर राष्ट्रिय एकता पार्टीको तर्फबाट डा बाबुराम भट्टराई प्रम हुँदा मन्त्री रहेका न्यौपाने हाल सत्तारुढ नेकपाको केन्द्रीय सदस्य छन्। गुरूङ नेपाली कांग्रेसका नेता हुन्। आजका धेरै अनलाइनहरुमा सरकारविरुद्ध कांग्रेस सडकमा प्रदर्शनमा उत्रिएको खबर छ।

सरकारको विरोधमा आज देशभर प्रदर्शन गर्ने घोषणा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसअघि नै गरेको थियो। पूर्वनिर्धारित कार्यक्रम अनुसार आज प्रदर्शन गरियो। अनलाइनखबरले कांग्रेसको सडक यात्रा : गन्तव्य कता ? शीर्षकमा लेखेको छ- कांग्रेसले सोमबार एक दिनका लागि मात्रै प्रदर्शनको आयोजना गरेका कारण उसले सरकारलाई लगाउने भन्दा पनि प्रचारात्मक हिसाबले मात्रै सडक प्रदर्शन गरेको देखिन्छ । जस्तो उसले चिकित्सा विधेयक खारेज हुनुपर्ने भनेको छ, वाइड बडी विमान प्रकरणका भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने भनेको छ । तर, सडक प्रदर्शनको कार्यक्रम भने एक दिनका लागि मात्रै तय गरेको छ । यसले कांग्रेसको रणनीति कार्यात्मक भन्दा बढी प्रचारात्मक नै रहेको बुझ्न गाह्रो छैन।

देशसञ्चारले पोखरामा सरकारविरुद्ध गर्जिएका गगन थापालाई नेविसंघले देखायो कालो झण्डा शीर्षकमा समाचार लेखेको छ। कोण सभालाई सम्बोधन गर्ने क्रममा स्वयं आफ्नै पार्टीका नेतालाई नेविसंघ कास्की जिल्ला सभापति विकास थापा नेतृत्व समूहले कालो झण्डा देखाएको हो। सरकारी गाडीमा नेविसंघले आगो लगाएको विषयमा आइतबार फेसबुक मार्फत घटनाको निन्दा गरेको भन्दै विकास थापा नेतृत्व समूहले कालो झण्डा देखाएको हो।

देशसञ्चारले लामो समयदेखि अलपत्र रहेको रानीपोखरीको पुननिर्माणको जिम्मा पुनः पुननिर्माण प्राधिकरलाई मन्त्रिपरिषद्को बैठकले दिएको समाचार लेखेको छ। रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुट शिखर शैलीमा गर्ने भन्ने विवाद रहेको थियो । रानीपोखरी वरिपरीको भाग पनि प्रताप मल्लकालिन शैलीमा पुनर्निर्माण गर्ने प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन्।

पहिलो पटक ओडिआई र टी २०आई सिरिज जितेको नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई रेड कार्पेट ओछ्याएर भव्य स्वागत गरिएको फोटो समाचार पहिलोपोस्टमा छ। टोलीसँगै सन्दीप लामिछाने भने फर्किएका छैनन्। लामिछाने बिग बास लिग खेल्न युएईबाटै अष्ट्रेलिया लागेका छन्।

राजनीतिक समाचारमा पुनः भेनेजुएला प्रसंग नै आएको छ। ने क पा सचिवालय बैठकले भेनेजुएला प्रकरणमा फेरि अर्को वक्तव्य जारी गरेको छ। यसमा प्रचण्डकै वक्तव्य सदर गर्दै भनिएको छ कुनै पनि देशको आन्तरिक मामलामा बाह्य हस्तक्षेप अस्वीकार्य। यससम्बन्धी समाचार पहिलोपोस्टमा छ।

बीबीसी नेपालीले पूर्वकूटनीतिज्ञ डा. जयराज आचार्यको विशेष लेख राखेको छ। जसका प्रमुख बुँदा छन्- सत्तारूढ नेकपाका अध्यक्ष प्रचण्डले दिएको भेनेजुएलासम्बन्धी कडा वक्तव्यले नेपाल-अमेरिका सम्बन्धलाई सन् २०१५ को महाभूकम्पले नेपालमा धेरै नराम्रो क्षति पुर्‍याएजस्तै क्षति पुर्‍याएको छ। अन्तर्राष्ट्रिय सम्बन्धलाई यथार्थवादी, आदर्शवादी र मार्क्सवादी दृष्टिकोणबाट हेर्न सकिन्छ। अरू पनि विभिन्न दृष्टिकोण हुन सक्छन्। तर नेपालले चाँहि यथार्थवादी दृष्टिकोणले नै हेर्नुपर्छ – मार्क्सवादी दृष्टिले होइन।

लेखमा अगाडि छ- सीधा र साधारण प्रश्न छ – नेपाललाई अमेरिकासितको सम्बन्ध महत्त्वपूर्ण छ कि भेनेजुएलासितको? अमेरिकामा कति नेपाली बस्छन्? भेनेजुएलामा कति? परराष्ट्र सम्बन्धको मुख्य उद्देश्य भनेको आफ्नो राष्ट्रिय हितको सम्वर्धन र संरक्षण गर्नु हो। अमेरिका नेपालको ठूलो दातृराष्ट्र हो। नेपालको परराष्ट्र नीतिका प्रमुख तत्त्वहरूमध्ये असंलग्नता एक प्रमुख तत्त्व हो। तर अहिले असंलग्नता छोडेर अमेरिकाको विरोध र भेनेजुएलाको समर्थन अझ त्यसमा पनि एउटा पार्टीको नेताको समर्थनमा उभिनाले नेपालको असंलग्नतामा नै प्रश्न उठ्ने स्थिति आयो।

प्रचण्डको हालको वक्तव्य र त्यसले निम्त्याएको असहज स्थितिले त नेपाल-अमेरिका सम्बन्धलाई पूरै पानीसुकेको रानीपोखरीजस्तो रित्तो बनाइदियो। परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका-भ्रमणको कुनै उपलब्धिको एक थोपा पनि बाँकी रहेन।अमेरिकाले नेपाललाई दिएको प्राथमिकताले के क्षेत्रीय समीकरणमा परिवर्तन ल्याउला? विगत ७१ वर्षमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धमा यस्तो तनाव कहिल्यै भएको थिएन। सन् १९७० को दशकको मध्यतिर शीतयुद्ध चरमोत्कर्ष पुग्दा पनि यस्तो तनाव भएको सुनिएन। तर अहिले आएर नेकपा सरकारसित अमेरिकी सरकारको सम्बन्ध ऐतिहासिक रूपमा बिग्रियो। त्यो अब सजिलै र चाँडै सुध्रिन सम्भव देखिन्न।

लेखको बिट मार्दै भनिएको छ- अमेरिका विश्वको कूटनीतिमा एक्लै हिँडेको हुँदैन। उसका धेरै मित्रराष्ट्रहरू छन्, अन्तर्राष्ट्रिय संस्था र सङ्गठन छन्। तिनीहरूमार्फत् पनि उसले नेपाल सरकारमाथि ठूलो दबाव दिन सक्छ। अमेरिकाले चाह्यो भने अरू झन् धेरै गम्भीर कदम पनि चालिदिन सक्छ। अहिले त्यसको चर्चा गर्नुभन्दा नगर्नु नै उचित होला।

उता, नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले अहिलेको लोकप्रिय लोकदोहोरी ‘सालको पात टपरी हुने ए बरै..’ गाउँदा हुबहु नगाएको भन्दै आलोचना भएपछि माफी मागेका छन्। अष्ट्रेलियाको ब्रिस्बेनमा केही दिनअघि आयोजित कार्यक्रममा रविले उक्त गीत गाउँदा गीतका अधिकांश शब्द भुलेपछि उक्त गीतका सर्जकले उनको आलोचना गरेको भन्दै बाह्रखरीले समाचार लेखेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme