-सन्तोष न्यौपाने, बेल्जियम-
केही समय अगाडि तमु समाज बेल्जियमले ल्होसारको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजना गर्यो जसको नारा थियो “शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ,परम्परा हराए मान्छे(जाती)हराउँछ । तर विडम्बना यो नारामा भनेजस्तै कार्यक्रममा आएका कलाकार नै हराएका छन् । अर्थात् कार्यक्रम पछि उनीहरू नेपाल नफर्की अर्कै देशमा युरोपमा बस्ने कागजात बनाउन पुगेका छन् ।
कार्यक्रमको लागि नेपालबाट आएका गणेश गुरुङ जनवरी १६ तारिखमा नेपाल फर्के । तर उनीसँगै आएका अर्का कलाकार भनेँ नेपाल फर्किनुको सट्टा पोर्चुगल पुगे युरोपमा बसोबासको कागजात बनाउन ।
गणेश र ती दुवै कलाकारहरू व्यक्तिगत स्पोन्सरमा बेल्जियम आइपुगेका थिए । तमु समाज, बेल्जियमले उनीहरूको स्पोन्सर नगरेपनि मुख्य आयोजक संस्था थियो । तर एक जना कलाकार स्वदेश नफर्की अर्कै मुलुक पसेपछि तमु समाजले यसको जिम्मेवारी आफ्नो नभएको बताउन थालेको छ जबकि कार्यक्रमका लागि भने सो संस्थाले ठुलै प्रचार गरेको थियो ।
यसरी एउटा कार्यक्रममा आएर स्वदेश नफर्की पोर्चुगल पस्ने यी पहिलो कलाकार भने होइनन् । अर्का एक जना नेमकुल थर भएका कलाकार सन् २०१६ मा बेल्जियम लगायतका देशहरूमा च्यारिटी कार्यक्रमको लागि भन्दै नेवार फिल्म च्यारिटी सो आए र अन्त्यमा उनी पोर्चुगल पसे । हाल उनले त्यहाँबाट बसोबासका लागि आवश्यक कागजात बनाइसकेका छन् । एउटा संस्थाका संस्थापक उनी पहिले अस्ट्रेलियामा बस्दथे । १५ महिना अगाडि पोर्चुगल पसेका उनले हाल त्यहाँको स्थायी बसोबासको कागजात बनाउन सफल भएका छन् ।
युरोपका विभिन्न मुलुकमा कार्यक्रममा आउने र स्थायी बसोबासका कागजात तुलनात्मक रूपमा बनाउन सहज हुने मुलुक पस्ने प्रवृत्ति मौलाउँदै गएको छ । केही समय अगाडि सामाजिक सञ्जालमा जनसम्पर्क समितिबाट नेपालबाट ल्याएर युरोपका केही मुलुकमा पठाएको आरोप जनसम्पर्क समिति, युरोपका महामन्त्री गंगाधर गौतमले वर्तमान कमिटीलाई लगाएका थिए । बुझ्दै जाँदा समिति भित्रका केही व्यक्तिको सहयोगमा व्यक्तिगत तवरबाट त्यस्तो काम भएको भेटिएको श्रोतको भनाई छ । तर यसमा कसैले कसैलाई कारबाही भनेँ गर्न सकेनन् ।
केही उदाहरण अचम्म लाग्दा प्रकृतिका छन् । घटना झन्डै दुई वर्ष अगाडिको हो । काठमाडौँबाट मोहन बराल, जानकी अर्याल र कृष्ण ढकालले बेल्जियमको लागि भिसा आवेदन दिए । अर्याल र बरालको भिसा लाग्यो भने ढकालको लागेन । ढकालका बाबु बेल्जियममा भएकै कारण भिसा नदिएको अनुमान छ । कलाकारका रूपमा बेल्जियम छिरेका बराल र अर्याल दुई रात बेल्जियमको लुभेन सहरमा बसेर तेस्रो दिन बराल पोर्चुगल गए भने अर्याल स्पेन पुगिन् । बरालको पोर्चुगलको पेपर बनिसकेको छ । उनीहरूको कुरालाई आधार मान्ने हो भने यहाँ स्थित नेपाली संस्थाले नै स्पोन्सर गरेको देखिन्छ । यसै विषयमा आएको भिडियो क्लिप हेर्दा आगन्तुक व्यक्तिले उनलाई ल्याउन कुनै क्लबको नाम जोडेका छन् ।
यसबारेमा बुझ्न खोज्दा तमु समाज बेल्जियमका अध्यक्ष जीवन गुरुङले यसरी कलाकार नेपाल नफर्किनुमा आफूहरूको जिम्मेवारी नभएको बताए । उनले भने “तमु समाज बेल्जियमले ल्होछार कार्यक्रमको लागि निमन्त्रणा गरेको हो तर स्पोन्सर उहाँको बहिनी ज्वाइँबाट भएको हो । उनका अनुसार कलाकार बेल्जियम आउने कुरा सुनेपछी तमु समाज बेल्जियमले स्टेज उपलब्ध गराउने भएको र त्यसका लागि पारिश्रमिक पनि उपलब्ध गराइएको थियो । समाजले आफ्नो दायित्व पूरा गर्दै १६ जनवरी, २०१९ मा बिदाइ गरेको तर १७ जनवरीमा ती कलाकार पोर्चुगल गएको सुन्नमा आएपछि त्यसका बारेमा बुझ्न फोन गर्दा सम्पर्क हुन नसकेको गुरुङले बताए । स्पोन्सर गरेर ल्याउने बहिनी ज्वाइँले नै यसको जिम्मेवारी लिनुपर्ने गुरुङको भनाई छ ।
तमु समाजका नन्द घलेले भनेँ तमु समाजले १६ जनवरीमा औपचारिक बिदाइ गरेर विभिन्न देशमा कार्यक्रम सम्पन्न नहुन्जेल समाजले समन्वय गर्ने काम मात्र गरेको जिकिर गरे ।
यसरी कलाकारको रूपमा युरोप आउनेहरू लुक्नु र अर्कै मुलुक पुग्नु समस्या भएको छ । एनआरएन, बेल्जियमका अध्यक्ष लोक दाहालले हाल युरोपमा आउने नेपालीले निकै दुःख कष्ट भोग्नु परेको भन्दै यसमा सचेत हुन आग्रह गरे । कुनै व्यक्ति आफ्नै रुचिले आएर बस्न खोजेमा त्यसमा आफ्नो सरोकार नरहेको भन्दै उनले सचेत गराउने भनेँ आफूहरूको दायित्व भएको बताए । उनले कलाकार देशको गहना भएका कारण यसरी बसिदिँदा राम्रो नहुने र कलाकारकै अपमान हुने धारणा राखे ।
बेल्जियमस्थित नेपाली दूतावासले बेल्जियमसँगै नेदरल्याण्ड र लक्जेम्बर्गलाई पनि हेर्ने गरेको छ । कलाकार आएर गायब हुने समस्यालाई लिएर राजदूत लोक बहादुर थापालाई जिज्ञासा राख्दा थापाले मान्छे ल्याएर ओभर स्टे गराउँदा वा भगाउँदा त्यसले भोलिका दिनमा सबै नेपाली प्रतिको सम्मान र इज्जत घट्न सक्ने हुँदा सबै सचेत बन्नुपर्ने बताए । राजदूत थापाले भने “नेपाल र नेपालीको प्रतिष्ठामा आँच आउने गरी तथा जुन देशमा बसेको हो, त्यस देशको कानुनको बर्खिलाप हुने गरी कसैले र कुनै संघसंस्थाले पनि कुनै काम वा गतिविधि गर्नुहुन्न।”