Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजका खबर : कांग्रेसको संसद अवरोधदेखि गोंगबुमा गोलीसम्म

Posted on January 22, 2019 by Salokya

आज माघ ८ गते मंगलबार राजनीतिक खबरमा प्रमुख रह्यो- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रोष्ट्रम घेरेर मन्त्रीलाई चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न अवरोध गरेको। खासमा संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा नै संसद बैठक यसरी चलाउने भनी दलहरुबीच सहमति हुन्छ। प्रमुख प्रतिपक्षीले अवरोध गर्छौँ भनिसकेपछि सामान्यतया सांसदहरु चुप लाएर उठे मात्र पनि बैठक अघि बढाइँदैन। तर यस पटक सभामुख कृष्णबहादुर महराले अवरोधका बावजुद संसद चलाउन खोजे। त्यसपछि त्यही देखियो, जुन यसअघि कांग्रेस सरकारमा हुँदा देखिन्थ्यो। शिक्षामन्त्री गिरिराजमणि पोखरेल विधेयक प्रस्तुत गर्न रोष्ट्रममा जान खोज्ने, कांग्रेसी सांसदहरुले रोक्ने। मिनेन्द्र रिजालदेखि गगन थापासम्म देखिन्थे अवरोध पुर्‍याउनमा। पहिलोपोस्टले कांग्रेस र नेकपाका सांसदबीच ठेलमठेल : देव गुरुङले स्कर्टिङ गर्दा पनि गिरिराजमणि रोस्टम पुग्न सकेनन् शीर्षकमा समाचार लेखेको छ। अनलाइनखबरे कांग्रेसले प्रतिपक्षलाई पेलेर भएपनि विधेयक पारित गर्ने सरकारको प्रपञ्चमा सभामुख सहभागी भएको गम्भीर आरोप लगाउँदै सदनभित्र र बाहिर प्रतिरोध गर्ने बताएको खबर राखेको छ।

कुहिनाले ठेलेर कांग्रेसले गैरसंसदीय व्यवहार देखायो : शिक्षामन्त्री पोखरेल शीर्षकमा अनलाइनखबरले उनको भनाई राखेको छ- ‘कांग्रेसका कतिपय साथीहरुले मन्त्रीलाई कुहिनाले घोच्न मिल्छ ? त्यो ढङ्गले जान मिल्छ ? त्यो संसदको गरिमाभित्र पर्छ ?’

दुई पटकको बैठकपछि तेस्रो बैठक सूचना टाँस गरी स्थगित गरिएको थियो। तेस्रो बैठक अघि उनलाई आसनसम्म पुग्न नदिन कांग्रेस सांसदहरूले कार्यकक्षबाहिरै धर्ना दिएर प्रतिनिधिसभामा सभामुखको आसनसम्म जाने बाटो रोकेको खबर सेतोपाटीमा छ। ‘उहाँहरू मेरो कार्यकक्षबाहिरै धर्ना बस्नुभयो,’ महराले सेतोपाटीसँग भनेका छन्, ‘मैले आसनसम्म जाने बाटै पाइनँ।’ धकेलाधकेलका फोटोहरु सेतोपाटीमा छ।

दोस्रो बैठकमा हतारिएका सभामुखले शिक्षामन्त्रीलाई ‘गिरिजामणि’ भनेर बोलाएका थिए। यसबारे पहिलोपोस्टमा समाचार छ।

डा. गोविन्द केसीको माग अनुसार चिकित्सा शिक्षा विधेयक ल्याउनु पर्नेमा त्यस विपरीत सरकारले विधेयक ल्याउन लागेकोमा कांग्रेसले अवरोध गरेको छ। तर कांग्रेसे संसद अवरोधको कारण भने यो विधेयकलाई बनाएको छैन। संसदीय प्रक्रिया अनुसार गएको विधेयकमा विरोध गर्न नमिल्ने भएकोले कांग्रेसले अर्कै विषयमा विरोध गरिरहेको छ- अस्पताल काण्ड। आफ्ना दुई नेताको नाममा रहेको अस्पताललाई सरकारले बेवास्ता गर्न खोजेको विरोध अहिले हो। यी अस्पतालहरुको पृष्ठभूमिबारे पहिलोपोस्टमा समाचार छ- संसदमा सरकार र कांग्रेसबीच द्वन्द्व चर्काउने ‘अस्पताल काण्ड’ को यस्तो छ अन्तरकथा

गोंगबुको एउटा होटलमा भएको इन्काउन्टर आजको अर्को प्रमुख समाचार हो। अनलाइनखबरका अनुसार काठमाडौंको गोंगबुस्थित एक होटलमा बसिरहेका काभ्रेका अभिलास तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो । शंकास्पद गतिविधि भनिएको छ तर कस्तो खालको हो भन्ने चाहिँ समाचारहरुमा खुलेको छैन। तामाङ नेकपाकाे भातृ संगठन वाईसिएलका काभ्रे जिल्ला अध्यक्ष रहेको नेपाल खबरको समाचारमा छ।

बुद्ध एयरले १ अर्बमा १२ औं जहाज किनको छ। ७२ सिट क्षमतायुक्त एटीआर७२–५०० सिरिजको जहाज आगामी फागुन तेस्रो साता काठमाडौं आइपुग्ने खबर बाह्रखरीमा छ। १२ औं जहाज आएपछि काठमाडौंबाट विराटनगरका लागि दैनिक ६, भैरहवा ५ र नेपालगन्जका लागि ३ उडान सञ्चालन गरिनेछन् ।

काठमाडौँमा अहिले स्वाइन फ्लुको संक्रमण बढेको छ। देशसञ्चारले यसैबारे आज समाचार लेखेको छ। काठमाडौं धोवीखोला घर भएका ५० वर्षीय एकजना व्यक्तिको ‘एन्फुलुएञ्जा– ए’का कारण सोमबार मृत्यु भएपछि उनका आफन्तले किरिया बसेकै स्थानमा आएर उपचार र नमूना संकलन गर्न आग्रह गरेका थिए । स्वास्थ्य सेवा विभागको चिकित्सकहरूको टोलीको नेतृत्वमा गएकाे टोलीले एकजना बच्चासहित छ जनाको नमूना संकलन गरेकाे समाचारमा उल्लेख छ।

सजंगबहादुर राणाको पालासम्म शक्तिशाली भारदार मानिने काजी खलकका बिष्टहरुको एउटा हाँगोले बिसं १९३८ देखि स्वस्थानी वाचन र श्रवण कार्य गर्न छाडेको बारे नेपालखबरमा एउटा सामाग्री आज प्रकाशित छ। स्वस्थानी वाचन–श्रवण नगर्नुको कारण त्यसैसाल भएको ‘काजी बिष्ट’ हरुको कत्लेआम रहेछ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme