Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको समाचार : ‘सरकारी राहत लिन खोजेको’ भन्दै निर्मलाकी आमालाई कुटपिट देखि मात्रिका यादव प्वाल टाल्दाटाल्दै हैरान !

Posted on January 10, 2019January 12, 2019 by राजेन्द्र मगर

आज अनलाइन खबर डटकमले प्वाल टाल्दाटाल्दै हैरान भइयो ! भन्ने हेडलाइनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवले आयल निगमको वार्षिक उत्सवमा व्यक्त विचारलाई समाचार बनाएको छ।

यादवले नेपाल आयल निगम लगायत अन्य संसाथनको बारेमा बोलेको कुरालाई अनलाइन खबरले जस्ताको तस्तै राखेको छ।

यादवले भनेका छन्, ‘यो आयल निगम सरकारले नै चलाएको हो अहिलेसम्म। तर, यो छुट्टै टाइपको छ। प्वालै–प्वाल परेको छ। तेल बोक्ने भाँडोमा प्वालै–प्वाल परेपछि कति चुहिन्छ भन्ने कुरा आफैं बिचार गर्नुस्।

त्यो प्वालैप्वालमा ड्राइभर पनि, ढुवानीकर्ता पनि, निगमको हाकिम पनि, विक्रेता पनि, मन्त्रालयका सचिव पनि, मन्त्री पनि सबैले चुहिने ठाउँमा भाँडो थाप्ने काम भयो। अनि जनतालाई चाँही सुख्खा हुने। यसले सबै मार त जनतामाथि पर्छ। सबैले भाँडो थाप्न थालेपछि त तेल कम हुन्छ, अनि जनतालाई नै मार पर्ने अवस्था।

त्यस्तो संस्था, मैले हेर्दाखेरि त यो देशमा सरकार थियो कि थिएन, बिचित्रकै लाग्यो ! प्वालैप्वाल परेकोलाई टाल्दा–टाल्दा हैरान ! ठूलो, एउटै ल्याएर राख्दा त हुन्थ्यो, जता पनि चुहिनेखालको भएपछि गाह्रो हुने क्या !

जोजो लोटा थाप्थे, ट्यांकी, ग्यालिन थाप्थे, ती सबैको सहयोगले हामीले टाल्ने काम गरेका छौं। कुनै एउटा मन्त्रीले, सचिवले, जीएमले वा ढुवानीकर्ताले हैन, सबै मिलेका छन् यसमा। सबैको सहमति भएर नै हामी टाल्नेतिर लागेका छौं। अझै पनि पुरै टालिएको छैन। एउटा भन्छ नि चोरका लागि ताला के, बेइमानका लागि तमसुक के !

हाम्रो मधेसतिर भन्छ, बुद्धिभन्दा चोरबुद्धि भारी। हाम्रो दिमाख धेरै तेजिलो छ हेर्नुस्, ताला लागेको ट्यांकरबाट थोरै हैन, २४÷२५ लिटर पनि गायव हुँदोरहेछ। आँखा बन्द, डिब्बा गायब भन्छन् नि त्यस्तै।

त्यस्तै सेतोपाटी अनलाइनले वाइडबडीको कमिशन कसरी पत्ता लाग्ला? भन्ने हेडलाइनमा विशेष अदालतका पूर्व अध्यक्ष गौरी बहादुर कार्कीको विचार समावेश गरेको छ।

कार्कीको लेखमा भनिएको छ, ‘कमिशन विश्वव्यापी चलन हो। रोग हो। यसो नगरे व्यापार बढ्दैन। चल्दैन। अनि यही कमिशनमा हाम्रोजस्तो देशका मात्र होइन, विकसित देशका नेतासमेत फस्नु अस्वाभाविक होइन। धेरै वर्षपहिले जापानमा लकहिड कमिशन काण्डमा सरकार गिरेको थियो। भारतमा बोफोर्स हतियार खरिदमा प्रधानमन्त्री राजीव गान्धी सरकारलाई दोष लगाइएको थियो।’

‘हामीकहाँ सर्वोच्च अदालतमा कमिशन काण्ड भएको थियो। अदालतले वर्षौंदेखि न्यायाधीशहरुका लागि हलुका सवारीसाधन खरिद गर्दै आएको थियो। विभिन्न अदालत भवनहरू बन्दै आएका थिए। रामप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त भएपछि ठेक्का दिँदा र सामान किन्दाको कमिशन कार्यालयको खातामा जम्मा गर्नुपर्ने नियम लागू गर्नुभयो। ती गाडी खरिदमा आएको कमिशन अदालतको सरकारी खातामा जम्मा गराउन रजिष्ट्रारसँग उहाँको विवाद बढेको थियो।’

‘गौर घटनाबाट सबैभन्दा बढी फाइदा उपेन्द्र यादवले लिए’ भन्ने हेडलाइनमा रातोपाटी अनलाइनले अन्तर्वार्ता छापेको छ। मधेस तराई फोरमका अध्यक्ष अमर यादवले उपेन्द्र यादवलाई भनेका छन्, ‘उहाँ जस्तो म झुठको खेती गर्न सक्दिनँ। जनतालाई भ्रममा राख्न सक्दिनँ। लासको नाममा राजनीतिक गर्न सक्दिनँ। जनता मार्न लगाएर म रमाउन सक्दिनँ। त्यही भएर म पछाडि छु, उहाँ अगाडि हुनुभएको छ।’

त्यस्तै नेपाल खबर अनलाइनले ‘सरकारी राहत लिन खोजेको’ भन्दै यज्ञराजले निर्मलाकी आमालाई गरे कुटपिट भन्ने हेडलाइनमा समाचार लेखेको छ। भीमदत्त नगरपालिका २ उल्टाखाम घरमा बिहीबार बिहान खाना बनाइरहेको बेलामा एक्कासी यज्ञराजले कुटपिट गरेको समाचारमा भनिएको छ।

यज्ञराजले भने श्रीमती दुर्गादेवीलाई कुटपिट नगरेको दाबी गरेका छन्। यज्ञराजले भनेका छन्, ‘किन सल्लाहबिनै रगत दिएको र राहत बुझ्न तयार भएको भनेर सोधेको चाहीँ हो। मैले शुरुदेखि नै छोरी निर्मलाले न्याय पाएपछि मात्रै राहत बुझ्ने घोषणा गरेको थिएँ, अहिले किन यसो गरेको भनेको हो।’

तर दुर्गादेवीले आफुलाई श्रीमानले कुटेको दाबी गर्दै भनेकी छिन्, ‘दुई छोरी स्कुल गएका थिए, म भान्सामा भात पकाइरहेकी थिएँ, यज्ञराजले मेरो घाँटी च्यापेर मसँग नसोधी रगत दिने अनि राहत बुझ्ने भन्दै कुटपिट गरे।’

1 thought on “आजको समाचार : ‘सरकारी राहत लिन खोजेको’ भन्दै निर्मलाकी आमालाई कुटपिट देखि मात्रिका यादव प्वाल टाल्दाटाल्दै हैरान !”

  1. Sunil, London says:
    January 11, 2019 at 4:55 pm

    “निर्मला कि आमा लाई कुटपिट बारे”….निर्मला का बाउ कान्छी श्रीमती लिएर अन्तै बस्छन भन्ने कुरा माइसंसार मा नै पढेको हुँ ! दुइटा छोरी पाएपछि उसले छोरा पाउन सकिन भनेर निर्मला कि आमा लाई छाडी हिडेको पनि पढेको हुँ ! तर छोरी को हत्या भएपछी यो जन्तु “धर्ना” बस्न आइपुग्यो, किन ? यसको उत्तर लाटोले पनि दिनसक्छ !!!! पैसा को लोभ नै मुख्य कारण हो….त्यस्तो छोरी को माया भए किन कान्छी स्वास्नी लिएर हिडेको ?
    अब निर्मला कि आमा को कुरा गरौँ, आफु र छोरी हरु छाडेर हिडेको नामर्द लोग्नेलाई धर्ना बस्ने ठाउमा किन राखेको ? उनीले सरकारी राहत लिदा उसलाई छाडिसकेको लोग्ने लाई के को मतलब ? घर मा आएर कुटपिट गर्दा उनि प्रहरीको शरण मा किन जान्नन ? अरु केहि हैन, यो बाउ भनाउदो आफ्नो “हिस्स्सा” खोज्दै छ…थोरै रकम मात्र हात पर्दा उसले के पाउनु फेरि ? त्यसैले गर्दा उ विभिन्न बहाना बनाएर निर्मला को आमा भएको ठाउमा आउने गर्छ, केहि पैसा पाएपछि उसलाई फेरि जेठी श्रीमती र छोरी हरुको वारेमा केहि मतलब हुनेछैन !!!! अझ बाउ संगै कान्छी श्रीमती पनि सरकारी राहत बुझे भने “आत्महत्या” गर्छु भन्ने धम्कि दिन्छिन रे, दुइटा छोरी भएको अर्काको लोग्ने संग “पोइला” जानु पहिले नै आत्महत्या गरेको भए हुन्थ्यो नि त !!!!
    अब अर्को गल्ति निर्मला कि आमा को नै हेरौं, अस्ति एउटा पत्रिका मा उनको भनाइ पढेको थिए, उहा (लोग्ने) लाई केहि भो भने मैले के गर्नु लौ ….जुन लोग्ने हुनु र नहुनु मा केहि फरक नै छैन उसको के को पिर ? तेस्ता लोग्ने लाई केहि भए झनै राम्रो, कुटपिट गरेर दुख त दिदैन !!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme