Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पशुपतिनाथको आँगनमा युनिफिकेसन चर्चको परेड

Posted on December 2, 2018 by सूर्य खड्का

धर्मलाई अफिमको संज्ञा दिने विश्वभरका साम्यवादी दर्शनका नायक कार्ल मार्क्स जीवित नै रही रहेका भए १ डिसेम्बर २०१८ मा काठमाण्डौंमा आयोजित कथित एसिया प्यासिफक सम्मेलनको तामाझाम देखेर छक्क पर्थे होलान् । किन भने दुनियाँ जान्दछ, संसारभरकै सर्वहारा मुक्तिको प्रतीक हँसिया हथौडाका हिमायतीहरु आफू त धर्मभिरु होइन्न, हुदैन्न, धर्मको प्रचार र प्रवर्द्धनमा पनि लाग्दैनन् । धर्म अफिम हो भन्ने साम्यवादी दर्शनको रुझानले वामपन्थीहरूलाई विज्ञानवादी करार गरेको विश्वका साम्यवादी सत्ताका हिमायतीहरुको स्थापित मान्यता हो।

तर अपवाद भएको छ, हिमालयको देश नेपालको मौजुदा साम्यवादी सत्ता । जनताको दुई तिहाइ बहुमतको जनादेशसंग साटिएर बनेको केपी ओली नेतृत्वको नेपाली वाम सत्ताले जसरी एसिया प्यासिफक सम्मेलनको ब्यानरमा नेपालमा क्रिश्चियन धर्म प्रचारको राजकीय समारोह आयोजना गरयो । यसले नेपाली वामसत्ताले उनै हँसिया हथौडाधारी मुलुक बाहिरका साम्यवादीहरूको अडान, रुझान, मूल्य मान्यता र आदर्शलाई नै भत्काईदिएको छ । दुनियाँभरकै सर्वहाराहरूका मुक्ति दाता मानिने मार्क्स, लेनिन, माओहरूका कुरै छोडौँ, यो तमासा देखेर त नेपालमा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठहरूदेखि जवजका रचयिता र प्रवर्द्धक जननेता मदन भण्डारीहरू पनि अहिले बाचिरहेका हुन्थे भने मुर्छित हुन्थे होलान् ।

नेपाली वाम आन्दोलनको ताजा इतिहासको आलोकमा सत्तारुढ कम्युनिस्ट पार्टीले हिन्दुहरूको देश नेपालमा क्रिश्चियनहरुले समेत हेला गर्ने आफूले आफूलाई जिससको छोरा र छोरी घोषणा गर्ने विवादास्पद युनिफिकेसन चर्चको विश्व सम्मेलन गरेर इसाइकरणको पश्चिमा आक्रमणलाई सघन मद्दत गर्ला भन्ने अनुमान कुनै पनि नेपाली साम्यवादी समर्थक वा प्रवद्र्धकको थिएन नै । तर भइदियो त्यही अपवाद, खासमा यथार्थ, त्यो पनि देवादीदेव महादेव पशुपतिनाथको आँगनमा क्रिश्चियनहरुको परेड दिन द हाडै।

परिवार दल नामक राजनीतिक दलको आवरणमा युनिफिकेशन चर्चका प्यादा बनेर नेपालमा ईशाईकरणका लागि वर्षैदेखि भगीरथ प्रयत्न गर्दै आएका एक जना एकनाथ ढकालको पौरख र पुरुषार्थमा तथाकथित एसिया प्यासिफिक सम्मेलन भएकै होइन । नाथे एकनाथ एक थान क्रिश्चियन मिसिनरी भएर केही हुनेवाला थिएन । तर यसका मुख्य मेरुदण्ड हुन पुगे, आफ्नो पिताको मृत्युमा १३ दिने क्रियाकर्म पनि नगरेर क्रान्तिकारी वाम मसिहा देखिएका माधवकुमार नेपाल । ती उनै माधव नेपाल हुन जसले २०५० जेठ ३ मा जननेता मदन भण्डारीलाई त्रिशूलीमा खसालेपछि करिब १४ वर्ष तत्कालीन नेकपा एकालेको कमान्ड एक्लै सम्हालेका थिए । अहिले उनी एकनाथका प्यादा बनेर क्रिश्चियानीटि प्रवर्द्धनको अन्तर्राष्ट्रिय अभिभारा पुरा गरे ।

देशका एक जना पूर्व प्रधानमन्त्री र मदन भण्डारी जस्ता महान् वाम विचारकका उत्तराधिकारीले एकनाथ जस्ता धर्मभिरुको प्यादा बन्दा २००६ सालबाट पुष्पलालहरूले रोपेको, ३० को दशकको रक्तरंजित झापा आन्दोलनले हुर्काएको र पञ्चायतसँगको जुझारु संर्घषको उतारचढावबाट बढेर अहिले दुई तिहाइको सत्ता शक्ति बनेको नेकपाको घोषित कार्य लक्ष्य र नीति, विचार तथा सिद्धान्तमा कति इन्साफ वा स्खलन भयो ? उहिलेका एमाले र अहिलेका नेकपाहरूका लागि यो विचारणीय यक्ष प्रश्न हो ।

अझ ताजुवलाग्दो भूमिका त हालका नेकपाका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको रह्यो । पार्टीको झन्डा र घोषणापत्रबाट चुनाव जिते पनि सरकारमा गएपछि समर्थक, विरोधी सबैका साझा प्रधानमन्त्री बन्नु पर्ने ओलीले सिङ्गै वर्तमान सरकारलाई नै एकनाथको मिसनको हुक्के, ढोके र वैठकेमा रुपान्तरित गरिदिए । जाबो एक एनजिओको धार्मिक सम्मेलनलाई ओली सरकारको सहकार्य, प्रायोजन, सहभागिता र आयोजकको देखिने भूमिका भनेको ओलीसत्ताको युनिफिकेशन चर्चसंगको सरेण्डर नै हो । वाह दुईतिहाईको जनमतका सरकार प्रमुख नै यसरी एक धनवादी क्रिश्चियनका खेताला भैदिएपछि के गरुन विचरा कहिल्यै नबोल्ने भगवान पशुपतिनाथले पनि ।

महादेवको पौराणिक ताण्डव पनि ओझेलमा परायो ओलीको झेली आयोजकको भूमिका र धनको तुजुक देखाउने एकनाथको धनशक्तिबाट । उसै भनिएको होइन रहेछ, जब धन बोल्दछ, तब सत्य चुप लाग्दछ भनेर । पैसाको
बलमा माधव नेपालहरू मात्रै होइन ओली सत्ता नै किनबेच भएपछि अरू सबै अवाक् हुनु सिवाय कुनै विकल्प रहेन ।

आम जनताको भावना विपरीत संविधानमा किन धर्मनिरपेक्षता जबरजस्त लादिएको थियो भनेर ओली र माकुनेहरुले कथित एसिया प्याशिफिक सम्मेलनकै दौरानमा दिनको घाम जत्तिकै छर्लङ्ग पारिदिए । अनि मौन सहभागिता र सदर जनाइदिए ओलीका माहुरी र अरिङ्गाल झुण्डहरुले । बस, एकनाथहरूको नयाँ अवतारमा अब ओली र माकुनेहरु व्यक्तिगत रूपमा होइन, पार्टी, शक्ति र सत्ताकै रूपमा उदाई सके । यसमा अब कुनै शङ्का छैन । किन भने माकुने र ओलीहरूको यो सत्ताको जबरजस्त मिच्याईकै भरमा कथित एसिया प्यासिफिक सम्मेलनको धार्मिक नौटङ्की मञ्चनको अध्याय पुरा भा को हो जनतालाई जोर बिजोर सवारीको सास्तीमा सताउँदै ।

एकै छिन मानौँ, ओली सरकारले ठिक गरयो, माकुनेले जीवनको उत्तरार्द्धमा वैकुण्ठ जाने बाटो नै राजे रे । धर्मनिरपेक्ष मुलुकमा क्रिश्चियनहरु मात्रैलाई किन छि छि दूर दूर गरुन उनीहरूले ? यो कोणबाटै हेर्ने हो भने पनि अब के माकुने आयोजक भएर दलाई लामालाई शान्तिका अग्रदूत भगवान गौतम बुद्धको देश नेपालमा स्वागत गर्न आयोजक कमिटीको अध्यक्ष हुन तयार छन् त ? केपी ओली सरकार जन्मदै बौद्ध दर्शनका अनुयायी निर्वासित धार्मिक नेता दलाई लामालाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि आयोजना गरिने समारोहको आयोजक बनिदिन्छ त ? राज्यका सबै निकायहरूलाई दलाई लामाको स्वागत सत्कारमा खटाइदिन्छ त ? प्रश्नहरू किन दलाई लामाका हकमा मात्रै अरू कुनै जैन वा इस्लाम धर्मालम्वीहरुका हकमा पनि ओली सरकार एकनाथ ढकालहरूका लागि जस्तै सहयोगी, सह्दयी र शतिसाल झैँ बनिदिन्छ त ?

हो, धनको लोभमा राज्यको अविवेकी चरित्र प्रदर्शनमा ओली सत्ताले वामपन्थी विचार र संस्कारको त धज्जी उडायो नै सबै धर्म र धर्मावलम्बीहरूका लागि पनि सरकार सबैको साझा भन्ने आदर्शलाई पनि गलत साबित गरिदिएको छ । धार्मिक पन्थका र असली वामपन्थीका कैयन सचेत मन मस्तिष्कहरूले ठन्डा दिमागले विचार गर्नुपर्ने गुदी कुरो यही हो । यहाँ कोही मरायो हैन, एक धर्म विशेषको प्रवर्द्धनमा राज्यसत्ताकै दुरुपयोग भयो । यो गलत हो भन्नेमा डा. प्रकाशचन्द्र लोहनीहरू, अस्मिता भण्डारीहरू, सोमविक्रम सिहहरु वा केही थान समूहहरू बोलेर मात्रै पुग्दैन, आम जनस्तरबाट सङ्गठित रूपमा नै यस्ता गलत सरकारी रवैयाको प्रतिकार र प्रतिरोध हुन आवश्यक छ । तर विडम्बना जनता नभएको देशमा यो प्रतिकार नै भएन । राधेश्याम थापा, विराज विष्ट, श्याम केसी, दामोदर शर्मा, सपना अर्याल, रघु न्यौपाने, मधुसूदन लाल श्रेष्ठ, रघु राजभण्डारी, दीपेन्द्र ढकाल, प्रदीपमान श्रेष्ठ, मानव सेवक जस्ता विश्व हिन्दु महासङ्घ अन्तर्राष्ट्रियका प्रतिरोधीहरू मैदान ओलर्न नपाउँदै प्रहरी भ्यानमा कोचिए ।

यसो भन्दै गर्दा के क्रिश्चियनहरुले यस्ता समारोह गर्न नै पाउनु हुन्न भन्ने हो त ? होइन । क्रिश्चियनहरुका लागि पनि यस्ता अवसर जुर्नु पर्छ । जे सुकै बहानामा भए पनि केही हजार मान्छेको काठमाण्डुमा भएको भेला चलायमान अर्थतन्त्र र नेपालको पर्यटन प्रवर्द्धनका लागि सकारात्मक पक्ष हुन । आपत्ति यत्ति हो की, सरकार र सत्तारुढ दल ले राजकीय सत्ताको दुरुपयोग एकनाथहरूको हरिया डलरसँगको सटहीका दररेटमा गर्नु हुँदैन थियो । डा. के बी रोकायाहरू जस्ता कट्टर क्रिश्चियनहरुलाई नै लाज लाग्ने गरी ओली सत्ता एकनाथको धर्मको सती जानु देशकै लागि पनि लज्जाजनक अपराध नै हो ।

अन्तर धार्मिक सद्भाव, भाइचारा र सम्मानमा नेपालको आफ्नै मौलिक विशेषता छ । धार्मिक सहिष्णुताका लागि नेपालको आफ्नै विशिष्ट उदाहरणीय इतिहास छ । अनेकतामा एकता हाम्रो धार्मिक पुँजी हो । तर ओली सत्ताले त्यो स्थापित मान्यतामा क्रमभंग गर्ने नाममा हिन्दुवादीहरूलाई तर्साउने र क्रिश्चियनहरुलाई रिझाउने गरी देखाएको हरकत नै नेपालमा भोलिका दिनमा धार्मिक विद्रोहका लागि रोपिएको विष वृक्ष हो । अब भोलिका दिनमा धार्मिक अतिवादीहरूले गर्ने कुनै पनि राम्रा नराम्रा कर्मको भागीदार र जिम्मेवार ओली सत्ता नै हुनुपर्नेछ । के उसो भए ओली सत्ताले धार्मिक युद्धको जग राज्यसत्ताको दुरुपयोगसँगै एकनाथहरूको काँधबाट सुरु गरिदिएको हो त ?

प्रत्येक सरकारी कदमका दूरगामी परिणमहरु हुने गर्छन् । ओली सरकारले अरू क्षेत्रमा जनजनको हितका लागि के गरयो ? त्यो घर घरका जनजनको मनमा छर्लङ्ग नै छ । त्यता अहिले चर्चा नगरौँ । तर धार्मिक रूपमा केपी सत्ताले विद्रोह र विद्धेषको बिउ रोपेर सनातन हिन्दूत्वमाथि जुन प्रहार गरयो, यो अक्षम्य सत्ता अपराध गरयो । यसको प्रतिरोधमा आज हराइएका हिन्दु वा उपेक्षा गरिएका इस्लाम, जैनहरू बिच सल्किएको मनको आगो कठोर र प्रत्युत्पादक नबनोस भन्ने कामना सम्म गरम । आगे ओली सरकारकै जो दम्भ, उही सदर । कि कसो हो त हो नेकपाका कमरेडहरू ?

5 thoughts on “पशुपतिनाथको आँगनमा युनिफिकेसन चर्चको परेड”

  1. deepak says:
    December 2, 2018 at 6:39 pm

    आज भन्दा कैयौ बर्स अघि, जब माओबादी जनयुद्ध पछि राजाले गद्दी छोडेको घोषणा गरेका थिए तेती खेर यहि माइ संसार मा अनेकौ आन्दोलन का समाचार हरु आइरहन्थ्यो, त्यसमध्ये यौटा मा आन्दोलन सफल भएको कार्टुन मैले देखे जसमा राजाको श्रीपेच र नेपाल को नक्शा थियो जसमा जनता स्वतन्त्र भएर रमाएका, जनताले जितेका चित्र हरु थिए, त्यहा राजाको श्रीपेच लाइ जिसस को क्रस गाडेको र त्यो नेपाल मा झण्डा जस्तो भएर रोपिएको थियो, मैले कुरो तेती बेलै बुझे र यहि पोस्ट मा यो चै ठिक हैन है भनेर कमेन्ट लेखे, मेरो कमेन्ट ज्यान गए पनि छापियेन, पछि मैले यहि सम्बन्ध मा कान्तिपूर मा आर्टिकल बनाएर लेखे, धेरै प्रयास पछि कान्तिपुर ले छापिदियो, तर मलाइ सहस्र गालि को बर्सा भयो, म हिन्दु बादी, टपरे, प्रतिगामी, रुढिबादॆ, राजाबादी इत्यादी इत्यादी, जबकि मा राजा बिरोधि नै थिए, र मैले हिन्दु धर्म को मात्र वकालत गरेको थियिन, मैले बुद्ध र किरात लाइ पनि समेटेर हाम्रो मौलिकता जान सक्छ भनेर माइल्ड नै लेखेको थिए . आज नेपाल इसाई हरुले निलिसकेका छन्, यो मुतिसक्यो दैलो देख्यो को अवस्था हो, हामि नेपालि हरु लाइ प्रगतिशील हुनु पर्छ भन्ने रोग लगाइदिएको छ र सबै भन्दा पहिला हामि आफ्नो कुल धर्म आफ्नै देश को इतिहास लाइ थुक्छौ, कस्तो रोग हो यो, कति प्रगतिशील हुनु परेको हामीलाई? तर यो यसै आएको हैन, यो सुनियोजित हो, पहिला हामि गरिब नेपालि लाइ कम्युनिस्ट बनाइञ्छ, तेस्पछि उग्रकम्युनिस्ट अनि तेस्पछि त्यहि बाटो भएर इसाई मा परिवर्तन गरिन्छ ! हामि गरिब जनताले यो छल कहिल्यै बुझेनौ , अहिले काठ्माण्डौ मा गल्लि गल्लि मा चर्च सिवाय केहि छैनन्, भुकम्प ले भत्किएका मन्दिर हरु पाताल मा धसिसके, तेस्को बदला चर्च हरु आएका छन् भोलि तिनै चर्च र मस्जिद को बीच मा जिहाद छेडिञ्छ र देश सोमालिया हुन्छ, कुनै समय मा यौटा शान्तिप्रिय नेपाल देश थियो रे भन्ने दन्त्यकथा हाम्रा सन्तान ले अंग्रेजी मा पढ्नेछन किनकि नेपाल को नेपालि, नेवारी भासा पनि नस्ट भएरै जाने हो !

    Reply
  2. Shankar says:
    December 2, 2018 at 1:54 pm

    पश्चिमी सक्ति नेपालमा मात्र हावी हैन , इन्दियामै पनि हावी छ | केरला राजको धेरै जनता क्रिस्चियन छ तेस्माठी हिन्दु धर्मको उच निच को जातीय परिभासाले हरिजन र अरु उत्पीडित हरु क्रिस्चियन बा मुस्लिम बन्ने क्रम निरन्तर जारि छ |
    तेस्मा पनि मिसनरी हरुले त्यहा पनि निर्बाध छल खेल गरेकै छ | हिजो का नेपालि कम्निस्ट नेताहरु जो ज्यतिबसुका चेला थिए बा आजाका ह्याचुरी र करात का चेला हुन् तिनीहरु हरेक पल पल मा गुरु देश र गुरु देश को पद चाप अनुसरण गरेको देखिन्छ |
    हिजो नेपालि जनता भद्काउन भारतीय बिस्तारबाद को नारा जोड जोड ले लगाउने नेपालि कम्निस्ट हरु आज सत्तामा मा जादा किन मौन छ ? भारत ले बिस्तारबाद रोक्यो कि ? यी चोर हरुलाई किन्यो ?
    यिनीहरुको आदर्श इन्डियन नेताहरु नै पश्चिमी पैरवी गर्छ , ब्रिटेन ले १०० बर्स दास बनाएको ले दास मोनोब्रित्ति को ह्यंग वोभर बात मुक्त हुन् सकेको छैन , हाम्रा त् यी नेता हरु भेडा का छाला वोदेका ब्वासा न परे , अनि आफ्नो पार्टी को फाइदा र सत्ता मजबुतीको लागि मिसनारिको पछि दौडनु ठुलो कुरा हैन |
    हिजो राम देब आउदा पनि गम्छा कसेर कपाल भाति गर्न टुडिखेल मा गएका हैन यिनीहरु ?
    यी त् भए नेपालि नेता ले जात देखाएको कुरा | अब धर्म को कुरा गर |
    सनातन हिन्दुत्त्व को जगेर्ना गर्नुपर्ने हिन्दुस्थान को त् त्यो हालत छ , आफु हिन्दु रास्ट्र बन्न सकेन , नेपाल लाइ चै के को हिन्दु हिन्दु ?
    हामि भारत ले नेपाल मा गरेको राजनीतिक हस्तछेप को कुरा मात्र सोच्ने ? आर्थिक , राजनीतिक , धार्मिक , सैक्षिक हस्तछेप को कुरा पनि सोचम |
    हामीले मान्ने सब धोति लाउने देउता हरु पनि इन्डियन नै हो त् | सस्कार चाल , चलन सबै उतैतिर को ल्याइते हो |
    यहा निर तपाईले पनि यो कुरा बुझेको छ , बुझ्दा बुझ्दै बडो सनातन हिन्दु माथि आक्रमण भयो भनि किन लेख्नु भएको छ ? किनभने तपाइँ ले बुझ्नु भएको छ , यो लेख्यो भने
    हिट भइन्छ | के तपाइले सनातन धर्म बुझेर , धेर्मको मायाले यो लेक्खेको हो ? हैन |
    तपाइको लेख मा पनि तेसैले इमान्दारिता छैन |
    त्यो मिसनरी को पछि लाग्ने नेपालि कम्निस्ट सरकार , नेताहरु र तपाइमा पनि केहि फरक छैन | उ मिसनारिको भान्छा मा पनि पुग्छ , रामदेव आउदा टुडिखेल मा पलेटी मार्न पनि पुग्छ | तपाइहरु मा सनातन धर्म को कुरा गरेर , हिन्दु धर्म को कुरा गरेर आफु जान प्रिय , भइन्छ , लोक प्रिय भइन्छ भन्ने ह्यंग ओभर छ |
    न इन्डियाको भाज पा , रा स स , योगी ( भित्र भित्र भोगी ) नेतालाई हिन्दु धर्म को मतलब छ न यहा मन्दिर मन्दिर धाउने निरिह प्राणि लाइ | दुवै धर्म को नाउमा राजनीति गर्ने हो ?
    कतिपय भाजपा को नेता हरु बिफ को ब्यापार गर्छ | उनीहरुको होटल , मोटल मा बिफ पाक्छ |एताको भात्री संगठन को तपाइहरु पाडो चपाउदै सनातन धर्म को रक्ष्या गर्ने ?
    सनातन धर्म भनेको के ?राजनीति गर्ने सिक्का ?
    हाम्रो पशुपतिनाथ लाइ केहि फरक पर्दैन |

    Reply
  3. Kamal says:
    December 2, 2018 at 9:32 am

    यो ओली सरकारको बिबेक हिन नाङ्गो चरित्र को अर्को उदाहरण हो. आज सम्म का उदाहरण हेर्ने हो भने कुनै पनि मन्त्रि /प्रधान मन्त्रि केवल आफ्नो र आफ्ना नातेदारको स्वार्थ पुरा गर्न मात्र सत्ता मा पुगेका छन् . देसको बारेमा सोच्ने फुर्सद पनि छैन उनिहरुलाई . उनि हरु को हर्कतले देसमा कस्तो दुरगामी असर पर्छ भन्ने सोच्न सक्ने न त दिमाग छ उनिहरुमा , न त फुर्सद छ. छ त खाली लोभ छ -धन को .
    क्रिकेट को भाषा मा भन्नु पर्दा, ओली सरकारले आफ्नो two opening wickets त निर्माला काण्ड र ३३ किलो सुन काण्ड मा गुमाई सक्यो . अब middle order wickets पनि Dr KC अनसन प्रकरण र Christian धर्म संमेलनमा संलग्नता अनि नातागोता को भर्ति आदि को नकारात्मक परिणाम ले गुम्ने भयो. अब रह्यो final 3 wickets . त्यो पनि येस्तै कुनै उल्टो काण्ड ले लैजाने छ. साथीहरु 50 overs (5 years ) सम्म खेल्न पाई हालिन्छ भनेर ढुक्क छन्, देस लाई लुट्दै छन् . अब wickets नै सकिए पछि कसरि खेल्ने हो थाहा छैन.

    Half wickets गइ सक्यो, रन (उपलब्धि ) यौटा पनि बनेको छैन. पार्टी भित्र को अन्तरिक कलह र गुट बन्दि ले उग्र रुप लिदै छ. तेसैले यो टिम (सरकार) ले 50 overs (5 years ) सम्म खेल्न (राज गर्न) पाउला जस्तो छैन, पाय पनि उपलब्धि केहि हुने छैन .
    उता प्रचण्ड आफ्नो Inning (सत्ता) को पालो कहिले आउला वा नआउला भनेर चिन्तित छ.
    final 3 wickets उसैले सिद्धध्याई दिन्छ.
    जय भोले, देस बचाऊ.

    Reply
  4. madan bajracharya says:
    December 2, 2018 at 7:04 am

    हिन्दु पुराण र पण्डित अनुसार “हिन्दु धर्म सनातन काल अर्थात सति युग भन्दा पहिला देखिको हो र पुराण र पण्डितको भनाई अनुसार पृथ्बीमा ब्रम्हाले नै मानवको शिर्जना गरेको हो/ पण्डितहरु मानवको बिचार र ब्यबहार सबै इस्वरकै इछ्या अनुसार हुन्छ/ पण्डितहरु यो पनि भन्छन कि इस्वरको भाषा संस्कृत हो/ यो भनाई सत्य हो भने अहिले अनेकौं धर्म बिचार मान्ने र फरक फरक तरिकाको ब्यबहार शैली ले जिउने सबै मानवहरु ब्रम्हाज्युले नै शिर्जना गरेको हो र उनीहरुको फरक बिचार धर्म र आचरण पनि हिन्दु देवताकै इछ्या अनुसार भयको हो/ त् को क्रिस्चियन को मुस्लिम को हिन्दु सबै ब्रम्हाज्युकै शिर्जना हो/ पन्दितहरु यो कुरा मान्दैनन भने उनीहरुले समस्स्त मानवहरु ब्रम्हाज्युले शिर्जना गरेको होईन; क्रिस्चियन मुस्लिम बसोबास गर्ने प्रिथ्बिको भूभाग पनि इस्वरको शिर्जना होईन मात्र हिन्दु धर्म मान्ने मानव र हिन्दुहरु बसोबास गर्ने प्रिथ्बिको भूभाग मात्रै हिन्दु देवताले शिर्जना गरेको हो; क्रिस्चियन र क्रिस्चियन बसोबास गर्ने भूभाग जिजसले र मुस्लिम र मुस्लिम बसोबास गर्ने पृथ्बीको भूभाग अल्लाहले शिर्जना गरेको हो भन्न सक्नु पर्छ/ यदि यसो भन्न र मान्न पन्दितहरु मान्नु हुन् भने “छोड्नुस मुस्लिम क्रिस्चिय र बुद्धिस्त्को बिरोध गर्न/ सक्नु हुन्छ भने आफ्नो हिन्दु धर्म नै उत्कृस्ट हो भनेर प्रमाणित गरेर क्रिस्चियन मुस्लिम बुद्धिस्तलाइ पनि हिन्दु बनाउनुस सक्दैनौ भने जसले जे धर्म मान्न चाहन्छ तेस्मा बिरोध नगर्नुस/ आफ्नै हिन्दु धर्ममान्ने सारको पोडे च्यामे आदि र भगवानको मुर्ति र मन्दिर बनाउने बिस्वकर्मा लाई पनि अछुत मान्ने, अनि क्रिस्चियनलाई हिनु बनाउँदा र क्रिस्चियनको भूमिमा हिन्दु धर्मको प्रचार गर्दा दंग हुने तर कुनै हिन्दु आफु खुसि क्रिस्चियन बन्दा र नेपालमा क्रिस्चियनले आफ्नो धर्म प्रचार गर्दा चाहि चिच्याउने के ठिक हो? पन्दितहरुले जसरि हिन्दु धर्मको व्याख्या र ब्यबहार गर्दै आयको छ तेही नै हो कारण कोहि हिन्दुले आफ्नो धर्म परिबर्तन गर्नुको कारण/

    माथि सुर्य ज्युले पसुपतिको … भन्नु भयो मानौ कि पसुपतिको महादेव समस्त मानवको देवातानै होईन र त्यो पशुपति आफुलाई सबै भन्दा उच्च जातको भन्नेले नै बनायको उनीहरुको ममात्रै बपौति हो/ नेपालमा मुर्ति मन्दिर पन्दितहरुले अछुत भनिने बिस्वकर्मा जाताकोले र बुद्ध धर्म मान्ने नेवार जातिको लोहकमि अर्थात ढुंगाको मुर्ति मन्दिर बनाउने समुदायकोले बनाउँछ कुनै पण्डितले होईन/ पशुपतिमा अहिले भारतको हिन्दु ब्राम्हण पुजारी बनेको छ तर त्यो भन्दा पहिला पसुपतिको पुरोहित बुद्धिस्ट बज्राचार्य हुन्थ्यो/ तेस्तो फरक धर्मको समेत पुरोहित हुने फरक धर्मको पनि प्रवेश गर्न सक्ने पशुपतिमा आज पण्डितले “ताला” लगायको छ/ सच्चिनुस पन्दितहरु, छोड्नुस सबै मानवले मान्न सकिने हिन्दु धर्मलाई पण्डित बाहेक अरुले मान्न पनि नसकिने गरि हिन्दु धर्मको मनपरी व्याख्या गर्न/ नभय अछुत भनेर पिडित बनायको मात्रै होईन पण्डित खलक र समुदायकाले पनि ……गर्ने छन्; उदाहरण त् माधवकै लिनुस/

    Reply
  5. बल says:
    December 2, 2018 at 6:48 am

    नेपाल भनेको अहिले आएर यस्तो मुलुक बन्दै गैरहेको छ जल्ले जुन बेला मन लाग्यो त्यै गरे पनि हुन्छ, सानो भन्दा सानो स्तर देखि उच्चस्थ स्तर सम्म| बस पैसा र इन्फ़्लुएन्स सही ठाउमा हुनपर्छ, पुगो|
    राजधानीमा हिज मात्र आएको, आजै देखि नाङ्ग्लो र साइकलमा पसल खोले हुन्छ र बाटोको जहि बसे नि हुन्छ|
    कामनपा भनेको काम नपाएको बेकारको संस्था हो| साथीभाई गफ गर्ने क्लब हो र ठालु र टाठाबाठाहरुको विदेश भ्रमण गर्ने अवसर हो|
    मगन्तेहरु बाटाभरि छन, कानुन छ तर अनुगमन र निगरानीको जाँगर नाई|
    नक्सालको भाट्भाटेनिमा दैनिक गेरुवा बस्त्र लगाएर कमण्डलु थापेर माग्नेहरु धर्मको नाउमा आलस्य पालेका ढोंगीहरु हुन्, जोगी होइनन|
    नेपाली जनता धर्मको नाउँले थकित र ठगित दुवै छन| ज्ञाने विष्णु अवतार रुपधारी र उनको आसेपासे खासेहरुले छदाखदाको हिन्दु धर्मलाई चरम र अतिवाद अप्नाएपछि राजगद्दी नै ग्वार्लाम्म ढलेको सबैले देखेका छन| अधिकांश नेपाली जनता सहिष्णु र यथार्थवादी छन, सबै धर्मलाई सम्मान आदर गर्छन तर कुनै एउटा लादेको र प्रलोभन र झुटो आस्वासनमा बिक्रय गरेको हेर्न चाहदैनन्|

    सुर्यजी, तपाइले धेरै कडा प्रश्नहरु उठाउनुभएको छ| जवाफ दिने को होला?

    यो युनिफिकेसन चर्च र यसका सयन्त्र मार्फत गत तीन बर्षमा नेपालमा र बिदेशमा बस्ने नेपालीहरु ककसले फायदा पाए, यहाबाट को को विदेश भ्रमणमा गए, को को आए, त्यसको फेहरिस्त तयार पारेर हेरे छर्लंग हुन्छ कसरि समर्थन जुटेका रहेछन|
    गुलियोमा कत्ति भुलिन सकेका यी मुफ्तखोर प्यारासाइटहरु !
    सर्ब धर्म समायोजन र शान्तिको प्रस्ताव राम्रै हो| सबै मिलेर गर्नु थप राम्रो| शान्तिका अग्रदुत र एसियाका ज्योती भनिने बुद्ध नेपालका हुन् भनेर चिनाउन पर्ने खाँचो छ कि छैन? बुद्ध वाज बर्न इन नेपाल भनेर नथाक्ने तर चिनाउने काम चै नगर्ने भीड कता कुन दुलोमा हरायो?
    मुलुकलाई र आम नेपालीलाई यसले के फायदा पुगेको छ र पुर्याउला त्यो बुझ्न सकिएको छैन|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme