Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निर्मला प्रकरण : ‘रे’ को भरमा हल्ला चलाउने, हल्ला पत्याउने अनि अनुगमन प्रतिवेदन दिने, ‘हरे!’

Posted on November 30, 2018February 10, 2020 by Salokya

गएको हप्ता केही दिन माइसंसार अपडेट भएको थिएन। खासमा म साथी सविन ढकालसित धनगढी हुँदै कञ्चनपुर पुगेको थिएँ-निर्मला बलात्कार तथा हत्या प्रकरणबारे केही नयाँ कुरा थाहा पाइन्छ कि भनेर। नोटकपी, विभिन्न डकुमेन्ट अगाडि राखेर घोत्लिएर पहिलोपोस्टमा यो बारे #WhoKilledNirmala सिरिजमा हरेक दिन लेखिरहेका छौँ। अरु समाचार जस्तो सजिलो छैन। गाह्रो छ लेख्न, दिनभर लाग्छ फाइनल टच दिँदासम्म। आज छैटौँ दिनमा हाम्रो सिरिज केही ‘रे’ को जवाफ खोज्नुमा थियो।

बम दिदीबहिनीको चरित्र ठीक छैन रे। घरमा जिल्लाका ठूलाठालु आउँथे रे। एसपी, एसपीका छोरा, आर्मी आदि आउँथे रे। दिदी बबिता बम डान्सबारमा काम गर्थे रे। उनी निर्मलालाई डान्सर, मोडल बनाउन चाहन्थे रे। तपाईँहरुले पनि सुन्नुभएको कुरा यस्तै होला। हामीले पनि यस्तै सुनेका हौँ। झारेदेखि मूलधारे मिडियामा पनि यस्तै कुरा आएका हुन्। युट्युब च्यानलहरुमा यस्तै सनसनीपूर्ण हेडलाइन देखेका हौँ। के रहेछ कुरा भनेर बुझ्न नै हामी कञ्चनपुर पुगेका थियौँ। त्यहाँ पुगेपछि लाग्यो, ‘रे’को भरमा हावामा कुद्‍ने हामी कति हावा रहेछौँ। सामान्य मानिस त उस्तै अनुगमन गरेर प्रतिवेदन लेख्नेले समेत त्यस्तै पो गर्ने रहेछन्।

नेपाल मानवअधिकार संगठन (ह्युरोन) ले असोज १० गते सार्वजनिक गरेको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदनको यो अंश हेरौँ-

यसमा बबिता बम डान्सबारमा डान्सरको रुपमा कार्यरत छिन् भनेर लेखिएको छ। अनि घटना भएको दिन निज कार्यरत ओपेरा होटलमा एक बर्थ डे पार्टी भएको भनिएको छ। त्यसमा स्थलगत अनुसन्धान र स्थानीयको भनाई मेल खाएको भनिएको छ।

हैन के अनुसन्धान गरेछन् यिनीहरुले ! गजब छ। हामीले हेर्न गएको त ओपेरा होटलमा डान्सबार नै रहेनछ। हुँदै नभएको होटलको डान्सबारमा बबिताले कसरी काम गर्ने रहेछन्?

ओपेरा होटलको चारै तल्ला चहार्‍यौँ कतै डान्सबार देखेनौँ। त्यहाँ काम गर्ने  रविन्द्रप्रसाद तिवारीलाई हामीले सोध्यौँ। उनले भने, ‘खै मैले काम गरेको ८/९ वर्ष भइसक्यो। अहिलेसम्म त यहाँ डान्सबार देखेको छैन।’

मैले यही प्रतिवेदन उनलाई देखाउँदै सोधेँ, यहाँ त बकाइदा लेखेको छ त डान्सबार छ र त्यहाँ बबिताले काम गर्ने भनेर। तपाईँ कसरी भन्न सक्नुहुन्छ यहाँ डान्सबार छैन भनेर।

‘खै मैले त देख्या छैन है। ओपेरामा डान्सबार भन्ने कुरो शतप्रतिशत गलत हो।’

सुन्नुस् उनको भनाई अडियोमा-

संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्याललाई काठमाडौँमा सोध्दा भने उनले ओपेरामा डान्सबार छैन भन्ने स्वीकारे। तर अरु नै डान्सबारको हो भने। तर कुन नाम चाहिँ खुलाउन सकेनन्।

बबिता फारवेस्टर्न युनिभर्सिटीमा ब्याचलरमा पढ्छिन्। न उनी कतै डान्सरको रुपमा काम गर्छिन् न अरु नै केही काम गर्छिन्। यसरी सुनेको भरमा रिपोर्ट लेख्ने मानवअधिका संगठन रहेछ हाम्रोमा। एउटा समूह रे भनेर हल्ला गर्ने, अर्को समूह त्यसैलाई डकुमेन्ट बनाउने अनि हामी भेडा भएर त्यही पत्याउने। मैले पनि त्यहाँ जानु अघि पत्याएकै थिएँ भेडा भएर।

अनि कतिलाई यस्तै समाचारले कमाउनु परेको छ। फेसबुकमा यस्तै समाचार आउने।

युट्युबमा यस्तै आउने

साँचो कुरा खोज्ने फूर्सद पो कसलाई छ र।

यही प्रतिवेदनको अर्को अंश हेर्नुस्

यहाँ  बम दिदी बहिनीको छिमेकमा भैँसी ब्याउन लागेको र त्यहाँ मान्छे जम्मा भएको उल्लेख छ। र, त्यहाँ भेला भएका मानिसले नै त्यहाँ ‘लाश/शव’ भन्ने शब्द सुनेको उल्लेख छ। बिहान ४ बजेतिर त्यो घरमा ट्याम्पु/टुकटुक आएको पनि उल्लेख छ।

नयाँ पत्रिका दैनिकमा पनि यस्तै समाचार छापिएको छ-

त्यहाँ गएर बुझ्दा त थाहा भो, भैँसी ब्याएकै रहेछ तर एक वर्षअगाडि। कुन घरमा भैँसी ब्याएको थियो, को मान्छेले लाश र शव भन्ने सुनेको थियो खोजे हुन्थ्यो नि। स्थलगत अनुगमन प्रतिवेदन भन्ने अनि कोठामा अरुले भनेको रेका आधारमा बनाएर भो त।

हामीले त हेर्‍यौँ। भैँसी पालेकै छैन वरपर। तलको गुगल म्याप हेर्नुस्। १ नम्बर बम दिदीबहिनी। २ नम्बरकोमा मात्र भैँसी पालिन्छ। अब कुन ठाउँको भैँसी ब्यायो र को को मान्छे भेला भएका हुन् खोज्न सकिन्छ त।रे को भरमा लेखेर भो?

अब त्यो घरमा को को भिआइपी आउने भन्ने कुरा। अनलाइनखबरको समाचार हेर्नुस्-

दुई जना केटा त्यो घरमा आवतजावत गरिरहन्थे। एसपीका छोरा र मेयरका भतिजा। कसैले देखेको हो त? हैन स्थानीयका अनुसार रे। हो, स्थानीयले भन्छन्। हामीलाई पनि भने। तर रे भनेर।

हामी काठमाडौँबाट गएकालाई त कञ्चनपुर जिल्लाबासी सबै स्थानीय नि। तर कताको स्थानीय त्यो पनि हेर्नुपर्ला नि। छरछिमेकीहरुले त्यस्तो छैन भन्छन् त। कोही पनि त्यो घरमा आउँदैनन् बाहिरका भन्छन् त। रेको भर नगरेर त्यहाँ नजिकैका घरका छिमेकीहरुलाई सोध्न जानुस्। जो पनि त्यही भन्छन्। त्यस्ता घरका छिमेकीहरु जसको घरबाट उनीहरुको घरका गतिविधि प्रष्ट देखिन्छ, कोठाभित्रको बाहेक।

३ नम्बरको घरका पुराना बासिन्दा गणेश र उनकी श्रीमती सुमित्रा गुरुङसँगको कुराकानी अडियो सुन्नुस्।

सब हावा कुरा। हल्लामात्र हो। हामी यहाँ बसेको कति भयो, एक जना पनि आएका छैनन्। एक जनामात्र आएको देखेको मात्र भए हामी पनि यिनीहरुलाई धपाउँथ्यौं। मिडियामा आएको जस्तो भए त हामी यिनीहरुलाई धपाउँथ्यौँ नि समाज बिगार्नेहरुलाई किन राख्ने। हाम्रो नजरमा कति पनि दोषी छैनन्। जिरो पनि दोषी छैनन्। हामी नजिकैको घरकाले थाहा नहुने अनि मिडियामा चाहिँ कत्ति न उनीहरुले नै देखे झैँ गरी कुरा गर्छन्। अरु पनि के के भनेका छन् अडियो सुन्दा थाहा पाइन्छ। सुन्नुस् न।

यो अर्को अडियो चाहिँ ४ नम्बरको घरका देवी पाण्डेसँगको कुराकानी हो।

हो त नि, छिमेकीलाई कोही सोध्न गए? सब ‘रे’ को पछि कुदेका छन्। खै वरपर घर भएका छिमेकीहरुले केही त भन्नुपर्ने हो नि देखेको भए। कति जनाको मुख थुन्न सक्छन् र। फेरि त्यस्तो समाज बिगार्ने चरित्रहीनहरुलाई त टोलमा राख्नुभन्दा नराख्नु ठीक हुन्छ नि। जेलै गए हुन्थ्यो भन्ने लाग्ला नि छिमेकीहरुलाई त।

सब हल्लैहल्लामा कुदेका छन्। ठीकै हो। त्यसैले त भूपी शेरचनले लेखेका-
‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो।

कतिलाई यो कुरामा विश्वास नलाग्ला। किनभने हल्लै प्यारो। हल्लाको देशमा हल्ला प्यारो हुनुपरेन?

#WhoKilledNirmala शृङ्खला

शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने ‘आइकनिक’ फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : ‘रे’ मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर

8 thoughts on “निर्मला प्रकरण : ‘रे’ को भरमा हल्ला चलाउने, हल्ला पत्याउने अनि अनुगमन प्रतिवेदन दिने, ‘हरे!’”

  1. madan bajracharya says:
    December 1, 2018 at 12:58 pm

    मलाई त् यस्तो लागि सक्यो कि यो निर्मला माथि अत्याचार कुनै अपराधिक र मति बिग्रेका कुनै यौन पिपासु बात गरेको भन्दा कसैलाई जसरि भय पनि असफल र आलोचित बनाउन महा ग्रयाण्ड डिजाईन गरेरै आफ्ना पट्टिको सबै कर्मचारी लगायत प्रयोग गरेर गरायको जस्तै देखिन थालि सक्यो/अहिले निर्मला काण्डमा निर्मलाको परिबारलाई न्याय दिलाउनमा र निर्मला माथि अत्याचार गर्नेलाई कानुनि कार्यवाहीमा ल्याउन सहयोग गर्नुमा भन्दा यो घटनालाई ओली अयोग्य र असछ्यम भयको देखाउनमा मात्रै केन्द्रित हुनु बडो संखा स्पस्त देखिन्छ/

    कुनै बेला प्रशासन र प्रहरी जति सुकै सछ्यम भय पनि कुनै कुनै अपराधको घटना कसले गरेको हो भनेर पत्ता नलाग्न सक्छ र यस्तो हुँदैमा यसको कारण देसको प्रधान मन्त्रि र सत्ताको नेतृत्व गर्ने दलनै असफल भयको भन्न सकिंदैन/ कयौं अपाराधिहरु दसौ बिसौ बर्ष सम्म पनि कानुनको आखा बात टाढै रहेको यक होईन अनेकौं उदाहरनहरु नेपालमा मात्रै होईन बिस्वको अनेकौं देसहरुमा पनि देखियकै छ/ उच्च राजनैतिक पदको व्यक्ति सछाय्म बा असछ्यम भन्ने कुरा राजनैतिक उसको नीति र निर्णय बाटै मात्र ठम्याउन सकिन्छ/ यो आधारमा को असछ्यम थियो र छ भनेर ठम्याउने हो भने यो घटनाको आधारमा आफु बस्न खोजेको कुर्सीमा बसेकोलाई अयोग्य भन्ने नै सबै भन्दा अयोग्य थियो असछ्यम थियो भन्ने कुरा अरुले किन उसैकोले भन्छन मात्रै होईन भन्दै आयकै छ/

    अहिले सम्मको कुरा सुन्दा अब निर्मलाको परिवारले न्याय पायको अनुभूति दिलाउन नागरिक स्तरमै सक्ने सबै लाग्नु पर्ने देखियो/

    Reply
  2. राजन says:
    November 30, 2018 at 11:45 pm

    तपाईले लेखेको कुरा पनि मेरो लागि “रे” भन्दा केही हैन । एक बर्ष अघाडी भैंसी बिहाएको तपाईले अवश्य देखेको होइन ।
    रह्यो छिमेकीको कुरा, निर्मलाको शकुनी मामा जस्ता स॔ग त कुरा गर्नु भएन ?

    Reply
    1. Salokya says:
      December 1, 2018 at 1:35 am

      तपाईँलाई जुन रेमा विश्वास लाग्छ, त्यही रेमा गर्नुस्। मैले मेरोमा गर्नुपर्छ भनेको छैन। एक वर्ष अगाडि भैँसी ब्याएको मैले देखेको छैन। तर भैँसी पाल्ने त्यता वरपरको घर कुन हो र त्यहाँ भैँसी recently ब्याएको छ कि छैन भनेर चाहिँ मैले हेरेर आएको छु।

      Reply
  3. Ramesh Adhikari says:
    November 30, 2018 at 2:37 pm

    सालोक्य जी तपाइले हल्का भएनी रे र अरे का कुरा बाहिर ल्याउनु भो, अनुसन्धान को लागि तपाईलाई पठाउने हो भने साएद केहि कुरा बाहिर आउथ्यो कि जस्तो लाग्छ मलाई त,
    माथि एकठाउमा गल्ति भाछ कृपया सुधार्नु होला :
    ” १. यो अर्को अडियो चाहिँ दुई नम्बरको घरका देवी पन्तसँगको कुराकानी हो। ” तर Video मा देवी पाण्डे, यो अलि फितलो अनुसन्धान भो 😛 😛
    “मलाई तपाइको ब्लग निकै मन पर्छ”, फेरी धेरै मख्ख नपरीहाल्नु यो मेरो थेगो हो 😛

    Reply
    1. Salokya says:
      November 30, 2018 at 10:43 pm

      रातको २ बजे टाइप गरेको । सेभ भएनछ। फेरि लेख्दा निद्रामा चुर थिएँ। गल्ती भएछ। अब सच्याउँछु। धन्यवाद।

      Reply
  4. Shankar says:
    November 30, 2018 at 9:32 am

    कास!! निर्मला को बलात्कार र हत्या पनि हल्ला मात्र हुन्थ्यो | तर दुख को कुरा अरु सब हल्ला भएपनि उनि बलात्कार भएको र मारिएको त् साँचो हो नि |

    अब अपराधी पत्तालागाउन सर्लक होल्मस लाइ नै लेउन पर्छ जस्तो छ |

    Reply
  5. gagan says:
    November 30, 2018 at 7:03 am

    Thanks @umesh ji for bringing out this news to us. I have read thoroughly your series of article published in PahiloPost. I am very sad to see these two girls are demonised/victimised without any proof. They are scapegoat. And they need moral support now. Please let us know how can we help them/ connect us with them.

    Having said that, nirmala needs justice. We all need to push police and government to work harder to find truth.

    Reply
  6. Gopal Gurung says:
    November 30, 2018 at 4:23 am

    आरोपितहरु कोसंग् सम्बन्धित छ भन्ने थाहा भएपछि स्थानीयहरु किन बोल्छन र?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme