Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकामा त्यत्रो १९ वटा सिरियस चार्ज लागेर पनि कसरी सफाइ पाए तेक्वान्दो गुरु शुद्धोदन रञ्जितले?

Posted on November 18, 2018November 18, 2018 by Salokya


पहिला अमेरिकाका टप क्रिमिनल डिफेन्स लयरहरुसित भेट्न खोज्दा टाइम पनि दिँदैन थिए। भेटे पनि अहो, चाइल्ड एब्युज, सेक्सुअल ह्यारेसमेन्टका यति धेरै १९/१९ वटा आरोप ! नो होप भन्दै पन्छिन्थे। अहिले उनीहरु नै यो मुद्दामा मेरो जित कसरी भयो भनी मसित कुरा गर्न खोजिरहेका हुन्छन्। मसित टाइम मागिरहेका हुन्छन्। अनि मलाई मेरा साथीहरुले सल्लाह दिएका छन्- पहिला उनीहरुले भेट्नका लागि मिनेटको कति सय डलर चार्ज लगाउने भन्थे। अब तिमीले उनीहरुलाई चार्ज लिनुपर्छ।

५१ वर्षीय शुद्धोदन रञ्जितले जैसिदेवल छेवैको किलाबहालमा रहेको आफ्नो पुरानो घरको कोठामा हाँस्दै मलाई सुनाए। उनको हाँसो बल्ल खुलेको हो। त्यसअघि एक वर्ष त उनले अमेरिकामा नरकको जस्तो जीवन बिताउनु परेको थियो। यसबारे कुरा गरेर केही फिचर बन्न सक्छ कि भनेर म फोटो खिच्ने साथीलाई लिएर गएको साता त्यहाँ पुगेको थिएँ। त्यसअघि मलाई उनका भान्जा सुमन रञ्जितले यसबारे सबै जानकारी दिइसकेका थिए।


सुमनले नै यसबारे माइसंसारमा ब्लग पनि लेखेका थिए- अमेरिकामा नेपालीलाई यौन दुर्व्यवहारको केस : आरोप लाग्दा सबले समाचार लेख्‍ने, सफाइ पाउँदा लेख्नु पर्दैन? उनको यो ब्लग पढेपछि नै मलाई उनले भोगाइ सुन्न मन लागेको थियो।

झण्डै डेढ घण्टा हामीले कुरा गर्‍यौँ। उनले आफूले भोगेको सबै कुरा बताए। कस्तो फिल्मी कथा जस्तो लाग्ने हामीलाई। तर उनले वास्तविक जीवनमा भोगेका कुरा। उनका कुराहरु समेटेर मैले पहिलोपोस्टमा स्टोरी पनि लेखेँ- ‘अमेरिकामा एक वर्ष नर्क जस्तो जीवन बिताएँ’ : यौन दुर्व्यवहारका १९ आरोप खेपेका नेपालीको कहालिलाग्दो अनुभव।

१५ वर्ष मुनिका तीन किशोरीहरुले उनले यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए। कानुनी रुपमा उनलाई १५ वटा चार्ज लागेको थियो। पछि अर्का दुई आरोपी थपिएपछि कूल १९ वटा चार्ज थियो जसमध्ये एउटामात्रै दोषी साबित भएको भए ७५ महिना जेलमा बस्नुपर्थ्यो।

युएस वर्ल्ड क्लास तेक्वान्दो स्कूलका सञ्चालक शुद्धोदनमाथि लागेका आरोप यो राज्यको ‘मेजर ११’ अपराध भित्र पर्थ्यो। मतलब, न न्यायाधीशले सजाय तोकिएको भन्दा कम दिन सक्ने, न राम्रो व्यवहार देखायो भन्दै घटाउन नै मिल्ने।

१९/१९ वटा चार्ज। सबै गम्भीर। सबै बाल यौन दुराचारका जसमा प्रमाण भन्ने नै हुँदैन। पीडित बालबालिकाको बोली नै प्रमाण हुन्छ। अनि अहिले यौन दुर्व्यवहारविरुद्ध अमेरिकामात्र हैन विश्वमा चलिरहेको लहर। हलिउडमा कत्रा कत्रा धनी कलाकारहरुसमेत जेलमा पर्नुपरेको स्थिति।

कसरी चाहिँ उनले सबै आरोपबाट सफाइ पाए त? मैले देखेका पाँच कारण

१) गर या मरको स्थिति
शुद्धोदनसित अरु केही विकल्प थिएन। अहिले ५१ वर्ष भइसके। एउटा मात्र आरोप प्रमाणित भए पनि उनी ८/१० वर्ष जेल त बस्नै पर्ने हुन्थ्यो। सबै आरोप प्रमाणित भयो भने त झन् जिन्दगी नै जेलभित्रै। त्यसैले उनको लागि आफूलाई डिफेन्ड गर्नुको अर्को विकल्प थिएन। लाइफ एन्ड डेथको सिचुएसन थियो मेरो भनेर उनले मलाई भने। त्यसैले आरोप स्वीकार, सजाय कम हुन्छ भनेर वकीलहरुले भने पनि उनले मानेनन्। यहाँसम्म कि उनकै छोरीले समेत ‘ड्याडी तपाईँ किन जिद्दी गर्नुहुन्छ, वकीलहरुले नै त्यस्तो सल्लाह दिइरहेका छन्’ भन्दा उनले नकारे र साथमा हकारे, अहँ छोरी, मैले केही गलत गरेकै छैन भने म कसरी गल्ती स्वीकार्नु?

‘मलाई पनि थाहा छ ड्याडी तपाईँले त्यसो गर्नुभएको छैन। तर यहाँको नियमै त्यस्तो छ,’ छोरीले भनिन्।

तर उनले मानेनन्। भने, ‘नियम छैन भने नियम बनाउनु पर्‍यो। मैले केही गरेकै थिइनँ। नखाएको विष त लाग्दैन नि।’ उनको लागि गर या मरको स्थिति थियो त्यो। उनी गलेनन्, आत्मविश्वासले साथ दियो। उनलाई पत्नीले पनि एकदमै साथ दिइन्।

२) कमजोर मुद्दा
बाल यौन दुर्व्यवहार गरेको भनी ४ जना किशोरी र एक बालकले उजुरी गरेका थिए। दुई तीन वर्ष पुरानो घटना। पीडितहरुले राम्रोसँग आफूलाई भएको भनिएको आरोपका कुरा भन्नै सकेनन्। ‘भएको कुरा भए पो भन्थे त, सिकाएको कुरा त बच्चाहरुले कति सम्झोस् कति भनोस्’, शुद्धोदनले सुनाए। अनि उनीहरुको साक्षी पनि कमजोरहरु भए। यता शुद्धोदनको पक्षमा उनी राम्रा तेक्वान्दो शिक्षक हुन्, यस्तो व्यवहार गरेको थाहा भएन भनेर साक्षी बक्नेहरु प्रशस्त भए। त्यो पनि प्रतिष्ठितहरु। उनले तेक्वान्दो सिकाएका कतिपय विद्यार्थीहरु अहिले डाक्टर, इन्जिनीयर, पाइलट यहाँसम्म कि गभर्नरसम्म भएका छन्। यसले पनि मुद्दामा प्रभाव पार्‍यो। अर्को पक्षले पीडित भएर हैन, हर्जाना रकम पाउने लोभमा मुद्दा गरेको नियत देखाउन प्रतिवादीहरु सफल भए।

३) अमेरिकाको न्याय प्रणाली
यो स्टोरीमा लागेर नखोज्दासम्म मलाई अमेरिकाको न्याय प्रणालीका बारेमा थाहा थिएन। अमेरिकामा त नेपालमा जस्तो प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले जिल्ला अदालतमा मुद्दा चलाउने र मुद्दामा सुनुवाई गरेर न्यायाधीशले फैसला गर्ने नहुने रहेछ। त्यहाँ प्रहरीको अनुसन्धान हेरेर अपराधमा चार्ज गर्न ठीक हो कि हैन भन्ने निर्णय जुरीले गर्ने रहेछ। जुरीमा नागरिकहरु हुन्छन्। वासिङटन काउन्टीमा बस्ने योग्य अमेरिकी नागरिकहरुबाट छानिएका १२ जना उनको केसमा जुरी बसेका थिए। नागरिकलाई न्याय प्रणालीमा सहभागी गराउने यस्तो व्यवस्था नेपालमा छैन।

यस्तो प्रणाली उनका लागि प्रतिकूल पनि हुनसक्थ्यो। १२ जना जुरीमा ९ जना महिला। तीन जना मात्रै वृद्ध पुरुष। ‘ओह माइ गड’, उनी फेरि अत्तालिएका थिए, ‘महिलाको त महिलाप्रति सिम्प्याथी होला।’ त्यसो त जुरी ट्रायल हुँदा सबै अमेरिकी नागरिक हुने र आप्रवासीहरुप्रति उनीहरु बायस हुने, तिमी जित्दैनौ भनेर उनलाई पहिल्यै हतोत्साही बनाउन खोज्ने धेरै थिए। तर उनले जुरीलाई विश्वस्त बनाउन सके।

४) सत्यको जित
उनको सत्य नै उनको ठूलो हतियार भयो। उनले हैन भनेर ढाँटेनन्। ‘सानो सानो बच्चाहरुको मैले लुगा लगाइदिँदा, बेल्ट बाँध्दा खेरी ती अङ्गहरुमा टच भयो होला,’ उनले ट्रायलमा भनेको सम्झिएर सुनाए, ‘यदि मैले त्यसो गरेको भए पनि ड्याट्स पार्ट अफ माइ जब।’

सरकारी वकिलले उनलाई अँठ्याए- हो कि हैन भनेरमात्र जवाफ दिनुस्। उनले ठूलो स्वरमा प्रतिवाद गरे- ‘म किन हो कि हैन मात्र भनूँ? हो भन्दा पनि त्यसमा केही कारण हुन्छन्, हैन भन्दा पनि कारण हुन्छन्।’ उनको बोल्न सक्ने शक्तिले नै उनलाई डिफेन्ड गर्न सक्ने बनायो। उनी पहिलेदेखि नै यसरी नै बोल्थे।

५) पैसा
त्यसो त कति धेरै पैसा भएकाहरु पनि यस्तो केसमा फँसेका छन्। माइक टाइसनसँग पैसा कम्ता थियो होला र, तर फँसे। तर सामान्य कोही नेपाली भएको भए जति छिटो र जसरी उनले सफाइ पाए, त्यस्तो सम्भव हुन्न थियो। सामान्य भएको भए सरकारले दिने वकीलमा भर पर्नुपर्थ्यो। उनले पर्सनल डिफेन्स लयर हायर गरे। हजारौँ डलर धरौटी तिरेर छुटे दुई पटक। उनले लयरलाई अरु केस नहेर्नु, मेरो छिटो टुङ्ग्याउनु भनेर दबाब दिन सके पैसाकै कारण।

तपाईँको यसमा के धारणा छ? तल कमेन्टमा लेख्न सक्नुहुन्छ।

9 thoughts on “अमेरिकामा त्यत्रो १९ वटा सिरियस चार्ज लागेर पनि कसरी सफाइ पाए तेक्वान्दो गुरु शुद्धोदन रञ्जितले?”

  1. Sunil, London says:
    November 23, 2018 at 3:16 pm

    RAW जी केटाकेटी को गाला छुने त कुरै छाड्नोस, कुनै आइमाई लाई तपाई को जुत्ता वा लुगा कति राम्रो भन्नु पनि ” Sexual Harrasment ” भित्र पर्छ अमेरिका मा, कुनै नया काम मा जाँदा Orientation कार्यक्रम मा यी सबै कुरा बताइन्छ !

    Reply
  2. madan bajracharya says:
    November 23, 2018 at 3:55 am

    अमेरिकामा अपराध र अपराधमा संलग्न भयको प्रमाणको विवरण सहित आरोपितलाई अदालतमा प्रस्तुत गर्छ, फलानाले यो अपराध गरेकोले यस्तो सजाय दिलाउनु पर्छ भनेर पेश गर्दैन/ फेरी प्रहरीले कसैलाई समय पछि प्रहरीको जत्ति सुकै उच्च अधिकृतको बा कुनै नेता बा प्रभावशाली “….”ले भने भन्दैमा छोड्न सक्दैन/ प्रहरीले समायको व्यक्तिलाई प्रहरी आफैले कुनैको आदेश निर्देशन बा मिलापत्र सम्झौता गरे गरायर छोड्न सक्दैन/ प्रहरीले समायको व्यक्तिलाई अदालतले मात्र छोड्न सक्छ/ यदि प्रहरीले कुनै निर्दोष व्यक्तिलाई समायको छ बा झुठो आरोप लगायको छ भने प्रहरीलाई पनि अदालतले कार्यवाही गर्छ/

    हामि कहा तेस्तो छैन/ प्रहरीले चाह्यो भने कुनै पनि निर्दोष व्यक्तिलाई समाउन सक्छ, ठोक्न सक्छ/ अपराधिनै भयकोलाई ठुला बडाको आदेश बा सिफारिशमा छोड्न सक्छ/ अपाराधि बात पिडित भयाकोलाई अपराधि सिट मिलापत्र गरायर अपराधीलाई अदालतमा पेसी नगरी छोड्न सक्छ/ फेरी प्रहरीले प्रमाण सहित अपराध गरेकालाई के अपराध गरेको हो भनेर ठम्याउने जिम्मेवारी लियको महान्यायाधिवक्ताले गल्ति गर्यो बा प्रभाव र दवावमा परेर गलत आरोप लगायो भने अदालत बात त्यो अपाराधि छुट्छ/ नेपालमा महान्यायाधिवक्ता सत्तामा रहेको दलको सिफारिशमा नियुक्त हुन्छ/ त् जे पनि हुन् सक्छ/ उ बात भुल पनि हुन् सक्छ र उ प्रभाव र दवाव मा पनि पर्न सक्छ/ उसले भुलवस बा प्रभावमा परेर हत्यानै गरेको अकाट्य प्रमाण सहित प्रहरीले समायको व्यक्तिलाई पनि “ठगि” गरेको आरोप लगायो भने उ अदालत बात निर्दोष ठहर हुन्छ/ फेरी नेपालमा प्रहरी बा अदालतले नै कुनै निर्दोष व्यक्तिलाई झुठो आरोप लागाय बा सजाय दियमा पछि उ निर्दोष पायमा सरकार बा जिम्मेवार निकाय बा व्यक्तिले ठुलै छ्यतिपूर्ति तिर्नु पर्ने हुन्छ/ हामि कहा दोषीलाईनिर्धोस र निर्दोषलाई दोषी बनायर १२ बर्ष जेल राखे पनि सुको छ्यतिपूर्ति कसैले तिर्नु पर्दैन/यस्तो अमेरिकामा हुँदैन, अदालतले नै प्रमाण हेरेर के अपाराध भय गरेको छ र के सजाय दिने निर्णय गर्छ/ प्रहरीले कसैले सिरियस अपराध गरेको भनेकै भरमा सजाय हुँदैन/

    Reply
  3. Milan says:
    November 22, 2018 at 11:19 pm

    धन्यवाद, धेरै राम्रो ब्लग हाल्नु भएकोमा । आरोप लागेको वेलामा च्याउ सरी समाचार लेख्ने हरु कता हराए! रन्जीत जी र परिवार लाई बधाई तथा शुभकामना!

    Reply
  4. bijay says:
    November 20, 2018 at 3:12 am

    Happy that he was able to prove himself innocent in this real uphill battle.

    Reply
  5. Basant says:
    November 19, 2018 at 1:19 pm

    नागरिकलाई न्याय प्रणालीमा सहभागी गराउने यस्तो व्यवस्था बेलायत मा पनिं छ, यहाँ पनि कुनै फौजदारी अभियोग या अन्य कुनै अपराधिक गतिविधिमा नलागेको जो कोहि योग्य बेलायती नागरिकलाई रेनडोम्ली छानेर जुरीको काम दियिन्छ जुन काम को छनोट अदालत ले हुलाक बाट पत्र पठाएर आदेश सहितको निमंत्रना दियिन्छ जो स्वास्थ्य को कारण बाहेक नकार्न सकिदैन यस्तो गरे दण्ड सहित जेल चलन सम्म हुने गर्दछ यो पब्लिक जुरी सेवा (एउटा केश ) प्रकृति हेरेर सामान्यतया २/३ दिनको हुन्छ र त्यो तेस्मा बहुमतको निर्णयलाई स्वीकृत गरिन्छ यो जुरी सेवा गर्ने हरेक ले काम बाट अनिवार्य बिदा दिएर सम्बन्धित कार्यालयले जुरी सेवामा सहभागी गराउनै पर्दछ जस बापत अदालतले पारिश्रमिक स्वरुप न्युनतम ज्याला समेत उप्लाब्ध्ह गराउने गर्दछ

    Reply
  6. raw says:
    November 19, 2018 at 12:06 am

    फिल्म मा त रंगिन दुनिया देखौचा बस्ताब मा चै साउदी भन्दा कडा निया रहेछ ? के अब उता बच्ची लाइ कस्तो राम्रो भनेर गाला छुन पनि नहुने रहेछ ? होइत बाल यौन दुर्व्यवहार कहीं नभाको नियम

    Reply
  7. Kumar says:
    November 18, 2018 at 10:59 pm

    Wonderful स्टोरी सालोक्य Ji . Thanks

    Reply
  8. Sanjay M says:
    November 18, 2018 at 1:23 pm

    समाचार पढेर खुसि लग्यो, सत्यको जीत,

    Reply
  9. Shankar says:
    November 18, 2018 at 5:57 am

    नेपाल को जस्तो पैसा मा बिक्ने न्याय ब्यबस्था भएको भए सुद्दोधन फसेको फ़सेइ हुन्थे |
    तर जुरी मा बस्ने मान्छेहरु बिबेकसिल रहेछन , सुद्दोधन ले सफाई पाए |
    सायद कल्चरल दिफ़िरेन्स ले मिस अन्दर्स्त्यन्दिङ्ग भएको ले उनि फसेका हुनसक्छन | त्यो कुरा जुरीले बुझेको जस्तो लाग्यो |

    स्कुले बच्चाको टॊइलेत मा बिर्सेर पिसाब फेर्न छिरे पनि जब बाट फायर हुने ठाउ हो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme