Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नागरिक, अन्नपूर्ण र समाचारपत्रमा एउटै हुबहु समाचार, आखिर लेख्यो कसले?

Posted on November 13, 2018 by Salokya


नागरिक, अन्नपूर्ण पोस्ट र नेपाल समाचारपत्र नेपालका मुख्य ब्रोडसिट दैनिकहरु हुन्। प्रेस काउन्सिलको वर्गीकरणमा पनि नागरिक र अन्नपूर्ण पोस्ट त क प्लस अर्थात् सर्वोत्कृष्टमै पर्छन्। तर तपाईँ पत्याउनु हुन्छ, यी तीन वटै ठूला आकारका दैनिक पत्रिकाहरुमा मिति बिराएर एउटै समाचार हुबहु छापियो। अझ एउटा पत्रिका (अन्नपूर्ण) मा त समाचार लेख्ने भनेर बाइलाइनसमेत छापिएको छ। तीन वटा ब्रोडसिट बाहेक एउटा अनलाइन नेपाललाइभले पनि सुरुमा बाइलाइनसहित र पछि त्यसलाई हटाएर ठ्याक्कै उही समाचार राखेको छ। आखिर एउटै व्यहोराको समाचार कसरी आयो त? यो समाचार लेख्यो कसले? यसो सोधिखोजी गर्दा रमाइलो नतिजा भेटियो।

सबैभन्दा पहिला समाचार कसरी हुबहु छापियो त्यो हेरौँ। यो समाचार सबैभन्दा पहिला नेपाल समाचारपत्रले कात्तिक २० गते पाँचौँ पेजमा छापेको थियो। पत्रिकाको अनलाइनमा यो समाचार पढ्न यहाँ क्लिक गर्नुस्।

त्यसको भोलिपल्ट कात्तिक २१ गते नेपाललाइभ अनलाइनमा यही समाचार हुबहु प्रकाशित भयो- बाइलाइनसहित। अहिले भने बाइलाइन हटाइएको छ। समाचार हेर्न यहाँ क्लिक गर्नुस्। 

यो बीचमा तिहारको विदा भयो। पत्रिकाहरु निस्किएनन्। पत्रिका निस्कन थालेपछि नागरिकले कात्तिक २५ गते तेस्रो पेजमा यही समाचार हुबहु छाप्यो। यसमा भने बाइलाइन थिएन। अनलाइन संस्करणमा यही समाचार पढ्न क्लिक गर्नुस्।

नागरिकले  छापेको दुई दिनपछि यही समाचार फेरि आज अर्थात् मंगलबार कात्तिक २७ गते अन्नपूर्ण पोस्टले तेस्रो पेजमा छापेको छ। यो समाचारमा त समाचार लेख्नेको नाम अर्थात् बाइलाइनसमेत छ। अनलाइन संस्करणमा यही समाचार पढ्न क्लिक गर्नुस्।

तीन वटा ब्रोडसिट राष्ट्रिय दैनिक र एउटा अनलाइनमा एउटै समाचार हुबहु छापियो कसरी त? समाचार राम्रोसँग हेर्नुभएको भए याद गर्नुभएको होला- सबैको समाचार अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलबाट सुरु भएको छ। फिचर स्टाइलको यस्तो समाचारको सुरुवातमा सबैतिर एउटै पात्र हुनु नै अचम्मको कुरा भइहाल्यो। अझ गहिरिएर हेर्नुभो भने त लाइनका लाइन उस्तै छ। समाचारमा प्रहरीका हाकिमहरुको भनाई (‘कोट’) पनि उस्तै छ। समाचार टुङ्ग्याउने कुरा भने पत्रिकाहरुले आफ्नो पेजमा चाहिने स्थान हेरेर गरेका छन्। कसैको कता टुङ्गिएको छ कसैको कता।

चार चार वटा मिडियाले यसरी हुबहु त लेख्न नपर्ने। के रहेछ कुरा? साह्रै खसखस लाग्यो र सोधखोज गरेँ। अनि पत्ता लाग्यो, जसले जुन मिडियामा जसको बाइलाइन राखेर लेखेको भए पनि यो समाचारको मुख्य स्रोत त केन्द्रीय प्रहरी समाचार कक्ष रहेछ। यो भनेको पुलिसको पत्रकार शाखा भनेर बुझे हुन्छ सजिलो भाषामा। पुलिसका विभिन्न समाचार यहाँबाट रेडिमेड पठाइन्छ।



प्रहरीको वेबसाइटमा पनि यो समाचार छ। हेर्न यहाँ क्लिक गर्नुस्।

प्रवासमा बसेका नेपालीलाई यो राम्रै खबर भयो। विदेशमा बसेर नेपालको पुलिस रिपोर्ट इमेलमै पाउन सकिने। यसबारे माइसंसारले अप्रिलमै ब्लग लेखेको थियो- विदेशमा रहेका नेपालीले इमेलबाटै पुलिसको क्यारेक्टर सर्टिफिकेट पाउने कसरी? पढ्न यहाँ क्लिक गर्नुस्। प्रहरीलाई पनि राम्रै भयो- आफूले लेखेको खबर जतिसक्दो धेरै मिडियामा आयो। निर्मला काण्डमा विश्वास गुमाइरहेको प्रहरीलाई यस्ता सकारात्मक समाचार जति धेरै मिडियामा आयो उति राम्रो। तर यस्ता रेडिमेड समाचारमा स्रोत राख्ने कि नराख्ने भनेर पत्रकारहरु अन्यौलमा भएको हुँदा केन्द्रीय प्रहरी समाचार कक्षबाट आएको समाचार भनेर लेखिएन। अलि नैतिक प्रश्न चाहिँ प्रहरीको रेडिमेड समाचारलाई आफूले लेखेको भनेर ‘बाइलाइन खाने’ पत्रकारहरुमाथि उठ्न सक्ने हो। तर यसमा पनि पत्रकारहरु बाइलाइनका लोभी कि डेस्कले बढी जान्ने भएर बाइलाइन हाल्दिएको हो बुझ्नुपर्छ। यस्तो हुबहु समाचारको अनुगमन प्रेस काउन्सिलले गर्ने हो। काउन्सिललाई चाहिँ यो कुरा थाहा भयो कि भएन होला?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme