दुई तिहाई बहुमत भएको सरकारलाई नयाँ नयाँ काम गर्न मन लागेर उधुम छ। त्यसैले नेपालको इतिहासमै पहिलो पल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले दशैँमा चतुर्दशीसम्म ‘सर्वसाधारण’लाई टीका लगाइदिए। राष्ट्रपतिले अरुलाई घुँडा टेकाएर टीका लगाइदिएकोमा आलोचना भयो। जति आलोचना भए पनि राष्ट्रपतिलाई त्यसले केही छोएन क्यारे।
नयाँ काम गर्न मन लागेको सरकारले दशैँमा जस्तै भाइटीकामा पनि दिदीबहिनी वा दाजुभाइ नभएकाहरुलाई टीका लगाइदिए कस्तो हुन्थ्यो होला? आखिर दाइभाइ वा दिदीबहिनी मानेर टीका लगाउने चलन नभएको हैन क्यारे।
काष्ठमण्डप भत्किसक्दा पनि बाहिर अञ्जली दिदीले दाजुभाइहरुलाई टीका लगाइदिन हुने, राष्ट्रकै अभिभावकले लगाइदिन नहुने त हुन्न होला। तर यसो गर्ने आँट प्रधानमन्त्री र राष्ट्रपतिलाई हुने छैन। किनभने दशैँमा त शक्ति देखाउने हो, आफू माथि, अरु तल। मसित आशीर्वाद माग्न र टीका थाप्न आएका भन्ने अहं।
भाइटीका भने त्यसो हैन। भाइटीकामा त समान हैसियतको मायाप्रेम, स्नेह हुन्छ। राष्ट्रपति र प्रधानमन्त्री त ठूलाठालू पो त। सर्वसाधारणहरुको समान हैसियतमा टीका लगाउने हैसियत नै के छ र- शायद् यस्तै सोच्दा हुन् उनीहरु।
प्रधानमन्त्रीको त स्वास्थ्यले पनि साथ दिँदैन। चतुर्दशीसम्म टीका लगाइदिँदा धपेडी भएर बिरामी भएकोले हस्पिटलमै भर्ना हुनुपरेको थियो। तैपनि कुनै अनाथ, असहायलाई बहिनी मानेर वा कुनै ज्येष्ठ नागरिकलाई दिदी मानेर भाइटीका लगाइदिए त सन्देश राम्रो जान्थ्यो होला नि। तर यस्तो सल्लाह कसले दिने?
राष्ट्रपतिको त कुरै छाडिदिउँ। दशैँमा टीका लगाउँदा कुर्सी भयो भने समान हैसियत हुन्छ भनेर घुँडा टेकाएर टीका लगाइदिएको देखियो। राष्ट्रपतिले पनि देशकै अभिभावक हुँ भन्ने सन्देश दिन यसरी नै कसैलाई भाइ बनाएर टीका लगाइदिएको भए….कल्पनामात्रै गर्न सक्छौँ हामी। यथार्थमा यो सम्भव छैन।