राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पूर्व सिइओ डा. गोविन्द पोखरेल, पत्रकारहरु हस्त गुरुङ र राजेन्द्र दाहालसमेत एउटा फेसबुक एपले अटोमेटिक जेनेरेट गर्ने राष्ट्रिय परिचयपत्रको नमूनाबाट झुक्किएर ट्विटरमा बहस गरिरहेको भर्खरै हेर्न पाइएको छ।
हस्त गुरुङले ४ नोभेम्बरमा ‘म्याद गुज्रने गरि दिइने आवधिक राष्ट्रिय परिचयपत्र बाँड्न लागेछ सरकारले। नवीकरण गरिरहनु पर्ने राष्ट्रिय परिचयपत्र लिने कि नलिने सोच्नुहोला। परिचयपत्रको म्याद सकिएपछि राष्ट्रिय परिचय हराउला भन्ने त्रास भयो। राष्ट्रिय परिचय पनि म्यादी हुन्छ र ?? वाहियात खर्च’ लेख्दै ट्विट गरे। उनको यो ट्विट ४७ जनाले रिट्विट गरेका छन्। १०१ जनाले लाइक गरेका छन्।
उनकै ट्विटको जवाफमा वरिष्ठ पत्रकार राजेन्द्र दाहालले ट्विट गरेका छन् – ‘कथित राष्ट्रिय परिचयपत्रको यो नै नमुना हो भने यसको भाषा अापत्तिजनक छ। यस्तो खिचडी पनि कहीं ‘राष्ट्रिय’ हुन्छ ?! अंग्रेजी पाटो शुद्ध अंग्रेजीमा हुनुपर्छ, नेपाली पाटो शुद्ध नेपाली भाषा र वर्णमा हुनुपर्छ।’
यी दुई ट्विट यो ब्लग लेख्दासम्म पनि हेर्न सकिन्छ। त्यसैगरी राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पूर्व सिइओ डा. गोविन्द पोखरेलले पनि यही फेसबुक एपको हावा राष्ट्रिय परिचयपत्रको आधारमा आलोचनात्मक ट्विट गरेका थिए। तर पछि उनले त्यो डिलिट गरे।
खासमा यो दिनेश खड्का नामसहितको राष्ट्रिय परिचय पत्रको नमूना चाहिँ वेलफिङ्गर नामको एपले बनाएको हो। फेसबुकसँग कनेक्ट गरेर यसमा आफ्नै नामको नमूना बनाउन सकिन्छ।
यही हेरेर वरिष्ठहरु झुक्किएका हुन्। राष्ट्रिय परिचय पत्रबारे गलत खबरले भ्रम भएको यो पहिलो पटक हैन। गएको अक्टोबर १ मा माल्भिका सुब्बाले पनि राष्ट्रिय परिचयपत्रमा आमाको नाम भएन भन्दै इन्स्टाग्राममा विरोध गरेकी थिइन्।
कान्तिपुर दैनिकले समेत साउन ७ गते राष्ट्रिय परिचयपत्रको बारेमा हुँदै नभएको समाचार छाप्यो भन्दै गृह मन्त्रालयले विज्ञप्ति निकालेको थियो। संसदमा त्यतिबेलाका गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय परिचय पत्रमा आमाको नाम छुटाइएको भन्ने समाचार गलत र भ्रामक हो भनेका थिए।
त्यो विज्ञप्तिमा मन्त्रिपरिषद्बाट स्वीकृत परिचयपत्रको नमूना पनि सार्वजनिक गरेको थियो।
तर वरिष्ठ नेता, कलाकार, पत्रकारहरुलाई यो हेर्ने र बुझ्ने फूर्सदै भएन। फेसबुक र ट्विटरमा जे देखियो, त्यही पत्याएर धारणा बनाइहाल्यो।
गृह मन्त्रालयले बनाएको ब्रोसरमा पनि नमूना यस्तो देखाइएको छ-
तर गुगलमा नेपाल नेसनल आइडी भनेर खोज्यो भने धेरै वेबसाइटले यस्तो नमूना राख्ने भएकोले फेरि केही वरिष्ठहरु नझुक्किएलान् भन्न सकिन्न।