त्यतिबेला म आरआर क्याम्पसमा पत्रकारिता पढ्दै थिएँ। क्लासमा रिपोर्टिङ गर्ने असाइनमेन्ट हुन्थ्यो। एक दिन संसदको रिपोर्टिङ गर्न मन लाग्यो। प्रतिनिधि सभा त्यतिबेला सिंहदरबारमा थियो, सिंहदरबार छिर्न अहिले जस्तो गाह्रो थिएन। पत्रकारिताको विद्यार्थी हुनाले प्रेस कार्ड हुने त कुरै भएन। संसदभित्र प्रवेश गर्न कि त प्रेस कार्ड हुनुपर्यो। कि चाहिँ दर्शक बनेर जानुपर्यो। दर्शक बनेर जानका लागि आफ्नो क्षेत्रका सांसदले सिफारिश गरिदिनु पर्थ्यो। एउटा चिटमा आफ्नो क्षेत्रका सांसदको नाम र सन्देश लेख्ने र त्यसलाई त्यहाँ कर्मचारीले सांसदलाई पुर्याइदिने सुविधा रहेछ। मैले पनि अरुले जस्तै आफ्नो क्षेत्रका सांसदको नाम लेखेर सन्देश लेखी पठाएँ। अरुहरुका सांसद बैठक कक्ष बाट निस्कँदै प्रवेश पासको सिफारिश दिन ल्याए। मेरा सांसद चाहिँ आउँदै आएनन्। अनि मैले फेरि आफ्नो क्षेत्रका सांसद नभए पनि पद्मरत्न तुलाधरको नाममा चिट पठाएँ। अचम्म, आफ्नै सांसदले बेवास्ता गरे पनि तुलाधर बैठक कक्षबाट बाहिर निस्किएर कसले चिट पठाएको हो खोज्दै आए। मैले आफ्नो परिचय दिएँ र उनले गरिदिएको सिफारिश बोकेर संसदभित्र प्रवेश पाएँ। र, क्लासका लागि रिपोर्टिङ पनि भयो।
उनै तुलाधरको ७७ वर्षको उमेरमा आइतबार निधन भयो। उनको अन्त्येष्टि सोमबार शोभाभगवतीमा गरिँदैछ। हाल चर्चामा नरहेकाले नयाँ पुस्ताले उनलाई खासै चिन्दैन। उनलाई चिन्न सघाउने उनको जीवनका तथ्य जुन तपाईँलाई थाहा नहुनसक्छ।
१) प्रचण्ड हुन् भन्ने आरोप
नेकपा माओवादीका नेता प्रचण्ड भूमिगत थिए। उनलाई चिन्ने कोही थिएनन्। बेलाबेलामा हल्ला चल्थ्यो फलाना प्रचण्ड हुन्। यस्तो हल्ला दरिलैसँग एकताका पद्मरत्न तुलाधरबारे पनि चल्यो। जसले हल्ला चलायो शायद् उसलाई तुलाधरको कमलो मनबारे थाहै थिएन। उनी भाषण गर्दागर्दै भावुक भएर रोइदिन्थे। जनआन्दोलनका बेला मान्छे मरेको खबर सुनेपछि रोएर छाकै छोड्थे। २०५६ सालको चुनावमा तुलाधर मालेको तारा चिह्न लिएर लडेका थिए। त्यसबेला खिचेको फोटोलाई प्रचण्ड भनेर हल्ला गरिएको थियो। हुँदाहुँदा टाइम्स अफ इन्डिया लगायतका भारतीय मिडियाले त प्रचण्ड भनेर पद्मरत्नकै फोटो समेत छापेको थियो। पढ्नुस् पुरानो ब्लग पद्मरत्न तुलाधर माअोवादी कमान्डर ?
२) भाइरल भाषण
पद्मरत्न तुलाधरका भाषण भाइरल हुन्थे। सामाजिक सञ्जालको के कुरा, इन्टरनेटसमेत नभएको त्यो युगमा पद्यरत्न तुलाधरका भाषण कसरी भाइरल हुन्थ्यो भन्ने तपाईँलाई लाग्ला। त्यतिबेला उनको भाषण रेकर्ड हुन्थ्यो। अनि त्यसलाई क्यासेट चक्कामा सारिन्थ्यो। एउटा क्यासेटबाट अर्को क्यासेट हुँदाहुँदा भाषणको क्यासेट चक्का गाउँगाउँसमेत पुगेका थिए। खासगरी पञ्चायत कालमा जनपक्षीय उम्मेदवारका रुपमा उनी २०४३ सालको चुनावमा उठ्दा ताका उनले गरेको भाषण भाइरल भएको थियो। त्यसमध्येको एउटा भाषणको अडियो
३) गृहमन्त्री जोगमेहर हराउने पद्मरत्न
त्यतिबेला दलहरुमाथि प्रतिबन्ध लगाइएको थियो। २०४३ सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा उनी प्रतिबन्धित दलहरुको समर्थनका उम्मेदवार बने। त्यतिबेला काठमाडौँमा दुई निर्वाचन क्षेत्र थिए। एउटामा उनी उम्मेदवार थिए। उनका प्रतिस्पर्धी थिए तत्कालीन गृह पञ्चायत मन्त्री जोगमेहर श्रेष्ठ। भाषणमा खप्पीस तुलाधरको चुनावी सभामा सयौँको उपस्थिति हुन्थ्यो। निर्वाचन परिणाममा पनि ८० हजारभन्दा बढी मतका साथ तुलाधरले नै बाजी मारे।
४) राष्ट्रिय पञ्चायतको बैठकमै बहुदलको माग
राजाको शासनकाल। पञ्चायती व्यवस्था। बहुदल माग्नेहरुमाथि दमन र दलहरुमाथि प्रतिबन्ध थियो। यस्तो अवस्थामा राष्ट्रिय पञ्चायतको बैठकमा रोष्ट्रममा उभिएर पद्यरत्न तुलाधरले बहुदलीय व्यवस्थाको माग गरेर सबैलाई अचम्ममा पारेका थिए। उनले भनेका थिए, ‘पञ्चायत व्यवस्था केही मुठीभर व्यक्तिको हित साँध्न प्रयोग भयो। यसको अन्त्य हुनुपर्छ र बहुदलीय व्यवस्था स्थापना हुनुपर्छ।’
५) सूर्य चिह्न लोकप्रिय बनाउने उम्मेदवार
२०४३ सालको चुनावमा उनको चुनाव चिह्न सूर्य रहेको थियो। पछि यो चुनाव चिह्न तत्कालीन नेकपा एमालेले लियो। हाल माओवादीसित एकता गरेको नेकपाको चुनाव चिह्नसमेत सूर्य नै रहेको छ। २०४८ सालको चुनाव र २०५१ सालको मध्यावधि चुनावमा उनी सूर्य चिह्न लिएरै उम्मेदवार बनेका थिए। तर उनी एमालेका सदस्यका रुपमा हैन स्वतन्त्र वामपन्थी नेताका रुपमा चुनाव लडेका थिए। एमालेले उनलाई सहयोग गरेको थियो। सूर्य चिह्नमा चुनाव लडेका कारण प्राविधिक रुपमा भने उनी एमालेकै सांसद हुन्थे।
६) गाई काण्ड
मनमोहन अधिकारी नेतृत्वको २०५१ सालको एमालेको अल्पमतको सरकारको पालामा वतर्मान प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री थिए। त्यही मन्त्रिपरिषद्मा उनी श्रम तथा स्वास्थ्यमन्त्री भएका थिए। सरकारी पदमा रहेको उनी त्यही एक पटक हो। त्यतिबेला उनले गाई काट्न पाउनु पर्छ भनेर भाषण गरेको भन्दै विरोध भएको थियो। वास्तवमा उनले मानवअधिकारको कुरा उठाउँदै भाषणमा राजनीतिक अधिकार प्राप्त भयो, सामाजिक, सांस्कृतिकरुपमा भने मानवअधिकार प्राप्त भइसकेको छैन। मुस्लिम समुदाय वा गाईको मासु खाने जनजाति समुदाय आएर, हामीले आ-आफ्नो क्षेत्रमा गाईको मासु खान पाउनु मानवअधिकार हो कि होइन भनेर सोध्यो भने मैले मानवअधिकारकर्मीको नाताले पाउनुपर्छ भन्छु भनेका थिए। यसैलाई उचालेर पद्मरत्न तुलाधरले गाई काटेर खान पाउनु पर्छ भन्यो भन्दै चर्को विरोध भयो।
७) शेरबहादुरले सरी पर्खेर बसेका पद्मरत्नले समवेदना चाहिँ पाए
माओवादी र सरकारबीच पहिलो वार्ता असफल भएको एक/दुई दिनपछि उनी दिल्ली जानुपर्ने थिए। विमानस्थलमा बोर्डिङ पास लिएर बसिरहेको बेला प्रहरीले लगेर हनुमान ढोका खोरमा लगेर कोचिदिए। त्यतिखेर शेरबहादुर देउवा प्रधानमन्त्री थिए। अनलाइनखबरसितको अन्तर्वार्तामा उनले भनेका थिए, ‘म मुटुको विरामी उपचारका लागि दिल्ली जान लाग्दा हनुमान ढोका खोरमा पुगेँ। त्यो खोरमा म धेरैचोटि पुगेको थिएँ । तर, त्यसपटक साँच्चै चित्त दुख्यो । पञ्चायत फेरि फर्केछ जस्तो लाग्यो । एउटा सानो झ्याल मात्रै भएको अँध्यारो कोठामा राख्दा अचम्मित भएको थिएँ । देशको शान्ति प्रक्रियामा सहभागी हुँदा म त्यसरी खोरमा जाकिएको थिएँ । धन्न छोरो साथमा भएकाले दमननाथजी र गौरी प्रधानलाई फोन गरेछ र म छुटेँ। त्यतिबेला शान्ति प्रक्रियाका लागि शेरबहादुरजीलाई मैलेजति कसले सहयोग गर्यो होला ? मेरो एक मात्र उद्देश्य शान्ति कायम होस् भन्ने थियो । पछि दमनजीले सोध्दा उहाँ भाग्न लाग्नुभएकोले प्रहरीले समातेको रे भनेछन् । जबकि मेरो उपचारको विषयमा शेरबहादुरजी पूरापूर जानकार हुनुहुन्थ्यो । म भाग्नुपर्ने कारणै छैन भन्ने पनि उहाँलाई थाहा थियो। यत्तिका वर्ष भयो, शेरबहादुरजीले मलाई अहिलेसम्म ‘सरी’ भन्नुभएको छैन।
तर शेरबहादुरले सरी भनेनन्। बरु उनको मृत्युको खबरपछि समवेदना भने दिए ट्विटमार्फत्।
मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन काे खवरले दुःखी भएकाे छु । नेपालको मानवअधिकार र भाषा अान्दाेलनमा उहाँकाे याेगदान स्मरणीय रहनेछ । उहाँकाे अात्माकाे चिर शान्न्तिकाे कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।
— Sher Bahadur Deuba (@DeubaSherbdr) November 4, 2018
८) साम्प्रदायिक नेता Vs उत्पीडितका नायक
पद्यरत्नलाई उनको अडानका कारण साम्प्रदायिक नेताको रुपमा धेरैले आलोचना गर्छन्। तर धेरै उत्पीडितहरुले उनलाई आफ्नो आवाज बोलिदिने नायकका रुपमा प्रशंसा पनि गर्छन्। उनले सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा सुनाएका थिए, उनी एक पटक जेलमा रहँदा आमा भेट्न आएका थिए। आमालाई नेवार बाहेक अरु भाषा आउँदैन थियो। तर प्रहरीहरुले नेपाली भाषामा बोल नभए हामी बुझ्दैनौँ, पाइँदैन भनेर भने। म मृत्युदण्ड सहन तयार छु तर मेरो आमासँग मलाई मातृभाषा बोल्न दिनुहोस्। आमाछोरा बोल्नै नपाउने गरी प्रतिबन्ध लगाइएपछि आमा रुँदै जेलबाट बाहिरिए।
९) मरिचमान सिंहसित चुनावमा पराजित
नेकपा एमाले टुक्रिएर माले बन्यो। उनी २०५६ सालको चुनावमा पहिलो पटक सूर्य चुनाव चिह्नबाट लड्न पाएनन्। काठमाडौँ क्षेत्र नम्बर ४ मा उनले मालेको तारा चुनाव चिह्नबाट चुनाव लडे। चुनाव परिणाम अचम्मको आयो। पञ्चायत कालमा २०४३ साल, बहुदल आएपछि २०४८ साल र मध्यावधि निर्वाचन २०५१ सालमा लगातार तीन पटक चुनाव जितेका उनी २०५६ को संसदीय निर्वाचनमा पराजित भए। पराजित मात्र हैन पञ्चायत कालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंहको भन्दा कम भोट आयो उनको। त्यसपछि उनले कहिल्यै चुनाव लडेनन्।
१०) पत्रकार ‘परतु’
उनी नेपाल भाषा दैनिकका सम्पादक, राजमति साप्ताहिकका वरिष्ठ अतिथि सम्पादक, युगधारा साप्ताहिकका सम्पादक थिए। युगधारा साप्ताहिकको अन्तिम पृष्ठमा ‘परतु’को स्तम्भ छापिन्थ्यो। परतु उनकै नामको संक्षिप्त रुप थियो।
११) साहित्यकार तुलाधर
पद्मरत्न तुलाधर साहित्यकार पनि हुन्। आफ्नो मातृभाषा नेपालभाषामा उनले थुप्रै ख्यालः, चिनाखँ लेखेका छन्। उनका १६ पुस्तक प्रकाशित छन्। भाषा आन्दोलनका पनि अगुवा हुन् उनी। पछिल्लो समय पहिचानको आन्दोलनका अगुवा पनि उनलाई बनाइएको थियो। तर आन्दोलनले गति नपाएसँगै उनी पनि पछिल्लो समय निष्क्रिय थिए। उनको स्वास्थ्य पनि कमजोर हुँदै थियो।
जता पनि मिल्ने, हो पनि होइन पनि भन्न सक्ने, नेपाल तिर फर्केर भारत सग सुरुंग युद्ध गर्नु पर्छ भन्ने अनि भारत को पैसा खाएर नेपालि हरु लाइ भेडा बनाएर नेपाल टुक्र्याउने, स्वाङ्ग रचेर रोए जस्तो गर्ने अनि मान्छे लाइ कुटी कुटी चिमोटी चिमोटी मार्ने, बम हानेर सयौ लाइ सोतर पार्ने फेरी पैसा देखाएर चुनाव पनि आफै जित्ने, टाइ सुट लगाएका सुकिला मुकिला भुन्टे भुडी का मालिक नया नेपाल का महान नेता छबिलाल “प्रचण्ड” र इमान्दार भावना र उच्च बिचार का मालिक पद्मरत्न मा आकाश पाताल को फरक छ !
नेपाल को ठुलो नेता बन्न इन्डिया को आसिर्बाद चाहिन्छ , नेपालि तिर फर्केर नेपालि रास्त्रबाद को कुरा गर्ने , भारत तिर फर्केर भारतमाताकी जय भन्ने ( जस्तो कि गिरिजाले धेरै इन्डियन लाइ नेपालि बनाउन मदद गरे )| त्यो बानि यिनमा थिएँन र सायद सिर्स नेता बनेनन् | न भए पछिलो समय मा सिटौला , अमरेस सिङ्ग हरु समेत र अहिले लालबाबु राउत चम्के भने पदम रत्न ति भन्दा धेरै माथिल्लो कोटिका नेता थे|